icon/64x64/regionalcooperation क्षेत्रिय सहयोग

सलह आक्रमणका कारण पाकिस्तान र दक्षिण एसियामा खाद्य सङ्कटको खतरा

राष्ट्र संघिय खाद्य तथा कृषि सङ्गठनले खाद्य आपूर्तिमा ठूलो धक्का पुर्याउन सक्ने चेतावनी दिँदै गर्दा कृषकहरू भने सलहले उनीहरूको बाली अहिले नै सखाप पारिसकेको र त्यी कीराहरूको झुण्ड समग्र दक्षिण एसियामै फैलिन एकतृत हुँदै गरेको बताउँछन् ।
A farmer displaying a locust in Okara district in eastern Pakistan's Punjab province. Locust attack on crops incurred heavy financial losses to farmers in some areas of the country [image:  Str/Xinhua/Alamy Live News]
A farmer displaying a locust in Okara district in eastern Pakistan's Punjab province. Locust attack on crops incurred heavy financial losses to farmers in some areas of the country [image: Str/Xinhua/Alamy Live News]

पाकिस्तानको दुर्गम भूभागमा पर्ने दक्षिण-पश्चिम बलोचिस्तानमा मरुभूमिमा पाइने सलह कीराहरू बाली खानमा व्यस्त छन् । इरानबाट केही सय किलोमिटर मात्र पर रहेको वासुक जिल्लामा पर्ने एउटा गरिब, कम जनघनत्व भएको गाउँ गराङका बासिन्दाहरूका अनुसार, बोलीचालीको भाषामा मरुभूमि सलह भनिने स्किस्टोसेर्का ग्रेगारिया प्रजातिका सलहहरूको झुण्ड दिन प्रति दिन ठूलो हुँदै गइरहेको छ ।

‘विस्तारै तर निरन्तर सलहहरूले खेती गरेको जमिनमा भएको सबै थोक खाँदैछन् । अब उनीहरू छिमेकी गाउँको अरू खेत तिर सोझिँदै छन्’, एक किसान मौलभी सतरा बलोचले द थर्डपोल डट नेटलाई बताए ।

घाँसे मैदान र खेतहरू भएको छिमेकी जिल्ला खरानमा पनि स्थिति उस्तै छ । किटनासक औषधि छर्किए पनि सलहहरू पात पतिङ्गर खान पाइरहेका छन् र उनीहरूको सङ्ख्या बढ्दो छ । हरियो कुरा त उनीहरूले देख्नै हुँदैन ।

दशकौँकै खराब भनिएको गत वर्ष अफ्रिका, अरब  र दक्षिण एसियामा भएको सलह आक्रमणकै निरन्तरताको रुपमा यो वर्षको सलहलाइ हेरिएको छ । जति खाए पनि नअघाउने कीराको अभूतपूर्व उपस्थितिका बारे कृषकहरूले बयान गर्दै गर्दा खाद्य तथा कृषि सङ्गठनले गम्भीर हमला भएमा देशको खाद्य सुरक्षामा खतरामा पर्ने चेतावनी दिएको छ ।

हालै प्रकाशित भएको पाकिस्तान बारेको रिपोर्टमा खाद्य सङ्गठनले सलहको आक्रमणको चेतावनी दिएको छ ।

‘यो जाडो याममा धेरै पानी परेका कारण पनि यी क्षेत्रहरूमा सलहको प्रजनन हुनसक्ने सम्भावना छ र इरान र पाकिस्तान जोखिममा छन् । पाकिस्तानको ३८ प्रतिशत भूभाग ( बलोचिस्तानको ६० प्रतिशत, सिन्धको २५ प्रतिशत र पन्जाबको १५ प्रतिशत भूभागमा मरुभूमि सलहको प्रजनन गर्ने जमिन छ भने प्रजनन क्षेत्रहरूमा सलहहरूलाई सीमित गर्न सकिएन भने पुरै देश नै आक्रमणको जोखिममा छ ।’

मार्च १, २०२० मा खिचिएको तस्विरमा पाकिस्तानको मध्य पन्जाब प्रदेशको खुसाबमा रहेका सलहहरू देखिन्छन् । हालैका दिनमा पाकिस्तान गम्भीर सलह आक्रमणले ग्रसित छ । (फोटोः लिउ तियान /सिन्ह्वा / अलामी लाइभ न्यूज)
मार्च १, २०२० मा खिचिएको तस्विरमा पाकिस्तानको मध्य पन्जाब प्रदेशको खुसाबमा रहेका सलहहरू देखिन्छन् । हालैका दिनमा पाकिस्तान गम्भीर सलह आक्रमणले ग्रसित छ । (फोटोः लिउ तियान /सिन्ह्वा / अलामी लाइभ न्यूज)

यी सलहहरू जति पनि खान सक्छन् । कुनै पनि सलह आफ्नो जिवन चक्रको कुन चरणमा छ भन्ने कुराले त्यसको लम्बाइ निर्धारण गर्दछ । एउटा सलह १० देखि ७० मिलिमीटर सम्मको हुन सक्दछ र एउटा वयस्कले हरेक दिन आफ्नो तौल बराबरको (करिब २ग्राम ताजा घाँस पात ) खाना खान सक्दछ । धेरै पानी पर्ने र हराभरा भएको ठाउँमा सलहहरू फस्टाउँछन् र छिट्टै प्रजनन गरेर आतङ्क सिर्जना गर्ने जत्था बनाउँछन् ।

खाद्य आपूर्तिलाई धक्का

यी कीराहरूले निम्त्याउन सक्ने क्षतिको विस्तार आकलन प्रस्तुत गर्न रिपोर्टमा सलहका कारण सिर्जना हुन सक्ने सबै भन्दा खराब अवस्थाको भविष्यवाणी गरिएको छ । त्यस्तो अवस्थामा गहुँ, चना र तोरी जस्ता हिउँदे बाली लगाइएका क्षेत्रमा ‘गम्भीर असर’ पर्नेछ । यदि १५ प्रतिशत गहुँ, चना र आलु नास भयो भने कृषिमा बेहोर्नु पर्ने क्षति पाकिस्तानी रु २०५ अर्ब (१ अर्ब ३० करोड डलर) पुग्न सक्ने देखिएको छ । तर क्षतिको स्तर २५ प्रतिशत पुग्यो भने खाद्य सङ्गठनको आकलन अनुसार हिउँदे बालीमा मात्रै पाकिस्तानी ३५३ अर्बको नोक्सान हुनेछ र गर्मी याममा रोपिने बालीमा यो आँकडा ४६४ अर्ब पुग्न सक्नेछ ।

‘कोभिड‍-१९ले पाकिस्तानका सबैभन्दा जोखिममा रहेका समुदायहरूको स्वास्थ्य, जिविकोपार्जन, खाद्य सुरक्षा र पौष्टिक तत्वको उपलब्धतामा असर पारिरहँदा, मरुभूमि सलहहरूको आक्रमण सीमित गर्नु र यसको रोकथाम गर्नु अझै महत्वपूर्ण हुन गएको छ,’ सङ्गठन भन्छ ।

अन्तर्देशीय झुण्डहरू खानाको खोजीमा

कीराको रुपमा देशले थुप्रै चुनौतीको सामना गर्नु परेको पाकिस्तानका सलह नियन्त्रण संयोजक तथा खाद्य तथा कृषि सङ्गठनको रिपोर्टका एक लेखक मुबारिक अहमद बताउँछन् ।

कृषकहरूले बताए झैँ पहिलो चुनौती गत वर्ष देखि बाँकी रहेका सलहहरूको स्थानीय प्रजननले पैदा गरेको छ । गत वर्ष सलहले सिन्धमा ४० प्रतिशत बाली सखाप पारेको थियो ।

‘हामीले २०१९ मा देखेको दृश्य १९९३ पछि देखेका थिएनौँ,’ अहमदले भने । दशकौँ पछि पाकिस्तानका हरेक परदेशमा यी किराहरू देखिएको उनले बताए । ‘यो भन्दा पहिले सलहहरू गर्मी महिनामा पन्जाबको चोलिस्तान मरुभूमि वा सिन्धको थरमा स्थानीय रूपमा देखिन्थे । तर गत वर्ष ति सिन्ध, पन्जाब र खाइबर पाख्तुन्वाका उत्तरी क्षेत्रहरूका खेती गरिएका क्षेत्रमा बसाइँ सरे । यस्तो भएको हामीले पहिले कहिल्यै सुनेका थिएनौँ । उनीहरूले नयाँ रुटहरू विकास गरे र अफगानिस्तान छिरे ।’

सन् १९५२ मा पाकिस्तानमा देखिएका सलह । (फोटोः अलामी)
सन् १९५२ मा पाकिस्तानमा देखिएका सलह । (फोटोः अलामी)

यी सलहहरू ओसिलो जमिन र वर्षको पानी बग्ने भूबनोट भएका ठाउँ मन पराउँछन् । ‘बलोचिस्तानमा यस्तो पानी बग्ने चिराहरूको ठूलो सञ्जाल छ जहाँ २०१९ का कीराहरू प्रजनन गरिरहेका छन् । यसपाटक इरानबाट त सलहहरू आएकै छैनन् ।’

इरानबाट बसाइँ सर्दै आउने सलहको खतरा भने अझै टरेको छैन । अहमद भन्छन् ‘सलहहरू इरानको सिस्तान बलुिचस्तान र बुसेर प्रान्तहरू बाट गत वर्ष आएका थिए र उनीहरू यो वर्ष फेरि फर्कन सक्छन् ।

उनी भन्छन्, उनीहरू जति ढिलो आउँछन् त्यति नै ठूलो झुण्डमा आउनेछन् । समय बित्दै जाँदा उनीहरूको पुस्तान्तरण हुन्छ र प्रजनन गर्ने धेरै मौका उनीहरूले पाउँछन् ।

त्यस्तै गत वर्ष सलह आतङ्क सुरु भएको ओमान र हालैका दिनहरूमा अधिक वर्षाका कारण सलहहरूको सङ्ख्यामा ठूलो वृद्धि भइरहेको पश्चिमोत्तर अफ्रिकाबाट सलहको हमला सुरु हुन सक्ने अनुमान गर्न सकिन्छ।

रिपोर्टले आफ्नो निष्कर्षमा सलहको झुण्ड वसन्त ऋतुमा प्रजनन गर्ने बलुचिस्तान र दक्षिण-पूर्वी इरानबाट गर्मी महिनामा प्रजनन गर्न सक्ने भारत-पाकिस्तान सीमाका दुवै तर्फ सर्न सक्ने जनाएको छ । यस्तो स्थानान्तरण जून महिनासम्म जारी रहनेछ । मनसुन सुरु हुनु ठीक अगावै किट नासक प्रयोग नगरिएका झुण्डहरू सिन्धु उपत्यका पार गरेर थरपर्कर, नारा र चोलिस्तानका मरभूमी क्षेत्रमा आइपुग्ने छन् । रिपोर्टले पूर्वी अफ्रिकामा जूनको अन्त्य र जुलाईमा छुट्टै आक्रमण हुन सक्ने चेतावनी पनि दिएको छ ।

सलहका लार्भाको पखेटा हुँदैन । लार्भाहरू एकै ठाउँमा एकतृत भएर बस्दै गर्दा उनीहरू समूह बनाउँदछन् । लार्भा अवस्था पार गरिसकेपछि नयाँ वयस्कहरूको पखेटा कमलो हुन्छ र उनीहरू उड्न सक्नु भन्दा पहिले उनीहरूका पखेटा सुक्नु पर्छ । वयस्क सलहहरू झुण्ड बनाउँछन् र उनीहरूको यो झुण्डले केही किलोमिटर क्षेत्र ओगट्न सक्छ । (स्रोत खाद्य सङ्गठन)
सलहका लार्भाको पखेटा हुँदैन । लार्भाहरू एकै ठाउँमा एकतृत भएर बस्दै गर्दा उनीहरू समूह बनाउँदछन् । लार्भा अवस्था पार गरिसकेपछि नयाँ वयस्कहरूको पखेटा कमलो हुन्छ र उनीहरू उड्न सक्नु भन्दा पहिले उनीहरूका पखेटा सुक्नु पर्छ । वयस्क सलहहरू झुण्ड बनाउँछन् र उनीहरूको यो झुण्डले केही किलोमिटर क्षेत्र ओगट्न सक्छ । (स्रोत खाद्य सङ्गठन)

सन् १९६४ मा दक्षिण पश्चिमी एसियामा मरुभूमि सलह नियन्त्रण आयोग बनाएको खाद्य सङ्गठनले अफगानिस्तान, भारत, इरान र पाकिस्तानको अवस्थालाई नजिकबाट नियाली रहेको छ ।

अहमदले भने, ‘विगतका केही दिनहरूमा, सलहहरू बलोचिस्तानको फजिल्काबाट भारतको राजस्थान तर्फ उडेका छन् । उनीहरू खानेकुरा खोज्दैछन् ।’

भारतमा सलहको खतराका बारे रिपोर्टहरू आइसकेका छन् र अधिकारीहरू पश्चिमोत्तर अफ्रिकाबाट आउने ठूलो सलह आँधी आउने र यसले खाद्य सुरक्षामा असर पुर्याउने आकलन गर्दैछन् ।

पाकिस्तानसितको सिमानासित जोडिएको जैसलमेर मरुभूमि जिल्लामा गाईवस्तु पालेर बसेका कैलाश मेघवालले भने, राजस्थान सरकारले किटनासक औषधि र यसलाई छर्किने उपकरण सबै किसानहरूलाई वितरण गर्ने बताएको थियो । तर कोभिड-१९ रोकथामका लागि जारी गरिएको लकडाउनका कारण त्यो कार्यक्रम बिचैमा रोकिएको छ ।

‘हामीलाई पनि किटनासक चाहिएको छ,’ मेघवालले भने । ‘सलहले हाम्रा भेडा बाख्राले खाने सबै घाँस खाइदिन्छ । सबै जनाले सलह आक्रमणका कारण कृषकमा पर्ने मारका बारे कुरा गर्छन् तर उनीहरूले हामीलाई पनि उत्तिकै असर गर्छन् ।’

कारकका रुपमा जलवायु परिस्थिति

द थर्डपोल डट नेटलाई दिइएको एउटा विवरणमा खाद्य तथा कृषि सङ्गठन कि किथ क्रेसमानले जलवायु परिवर्तनकै कारण सलह आक्रमण भएको हो भनेर भन्न नसकिए पनि जलवायु परिस्थितिहरूले सलहहरूको सङ्ख्यामा असर पार्ने गरेको बताए ।

‘वर्षाले सलहहरूको प्रजनन् मा मद्दत गर्दछ । अनुकूल वातावरण पाएमा हरेक तीन महिना सलहको सङ्ख्या २० गुणा बढ्न सक्छ’, विवरणमा उनले लेखेका छन् ।

‘विगत ३ वर्षहरूमा हिन्द महासागरमा चक्रवातहरूको सङ्ख्यामा वृद्धी भएको छ र यसका कारण सलहहरूको प्रजनन दर बढेको छ,’ क्रेसमानले भने । ‘जलवायु परिवर्तनको सजिलै नदेखिने प्रभाव भने यसले कीराहरू प्रजननमा कसरी असर पार्छ भन्ने पनि हो । मरुभूमि सलहहरूको खतरा पहिले देखि नै रहे पनि यसमा केही परिवर्तन भइरहको हाम्रो आशङ्का रहेको छ ।’

पाकिस्तानको पूर्वतयारी

कृषक हाजी गुलाम हुसेनले कृषकहरूलाई जम्मा गरेर बलोचिस्तानका जिल्लाहरूको अतिक्रमित खेतहरूमा किटनासक छर्ने बताए । ‘मैले आग्रह गरेपछि कृषि विभागले हामीलाई औषधि छर्कन दुईवटा गाडी दिएको छ’, उनले भने ।

देशमा वसन्त ऋतुमा हुने सलह प्रजनन जारी रहँदा थुप्रै लार्भाहरू वयस्क हुँदैछन् र उनीहरूको झुण्डहरू बनाउँदैछन् । मुबारिक अहमदका अनुसार वयस्क सलहहरूले अरू भन्दा धेरै खान सक्छन् र यसै कारण धेरै हानि पुर्याउँछन् ।

बाली कुन चरणमा छ भन्ने कुराले पनि सलहले कति नोक्सानी गर्छ भन्ने निर्धारण गर्छ, अहमदले भने । भर्खरै हुर्कँदै गरेको बाली सलहले पुरै खान्छ भने अलि छिपिसकेको बालीले आफ्नो पातहरू मात्रै गुमाउँछ ।

‘अहिले प्रदेशको नासिरबाद बेल्टमा बाली पाक्न थालेका छन्’, बलोचिस्तानका आर्थिक चुनौतीहरूमा केन्द्रित रहेका अर्थशास्त्री महफुज अलि खानले बताए । ‘बलोचिस्तानका ४० प्रतिशत श्रमिकहरू कृषि क्षेत्रसित सम्बन्धित छन् । सलहहरूले बाली नास गर्दैछन्, अधिकारीहरू कोभिड-१९मा केन्द्रित छन्, र हामी भने सलह नियन्त्रणका लागि केही नगरी बसिरहेका छौँ ।’

कोरोनाभाइरसका कारण लागू गरिएको निषेधआज्ञाका कारण प्रताडित स्थानीयहरू सलहले आफ्नो बाली खाएको हेरेर बस्न बाध्य भएका छन् ।

सलह आक्रमण सुरु भए पश्चात् पाकिस्तानका प्रधानमन्त्री इमरान खानले फेब्रुअरीमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए । तर संघिय र प्रादेशिक सरोकारवालाहरू यो विषयमा एकजुट हुन सकेनन् । सिन्ध सरकारले केन्द्रले ‘प्रदेशहरूलाई मरुभूमि सलहसित एक्लै जुझ्न छोडिदिएको’ आरोप लगाएको थियो भने केन्द्र सरकारले यो सलह नियन्त्रण गर्ने जिम्मेवारी प्रादेशिक सरकारको रेहेको बताएको थियो ।

कानुन निर्माताहरू र कृषि क्षेत्रमा काम गरेकाहरू सिन्ध, पन्जाब र खाइबर पाख्तुन्वामा गत वर्ष सलहले गहुँ, कपास र मकै कसरी नास गरेको थियो भन्ने बारेमा सजग हुँदै गर्दा खाद्यान्न सङ्कटको त्रास अहिलेसम्म कै उच्च अवस्थामा पुगेको छ ।

पन्जाबमा मन्त्रीहरूले सलहको जोखिमका बारेमा चिन्ता व्यक्त गरे पनि विपक्षी राजनीतिज्ञहरूले सरकारले चाहिने जति काम नगरेको आरोप लगाएका छन् ।सलहका लागी अहिले विशेष गरी दक्षिणी पन्जाबमा अनुकूल मौसम रहेको किसान बोर्डका केन्द्रीय महासचिव  जाम हजूर बक्सले बताए । ‘केही समय अघिसम्म पानी पर्यो अहिले अब गर्मी याम सुरु भएको छ । यो अवस्था सलहका लागि निकै अनुकूल हुन्छ । प्रदेशभरका सबै बाली सखाप हुनेछन्’, उनले भने। कोभिड-१९ को जोखिमका कारण पुरै क्षेत्रमा सलह आक्रमणको समस्या झन् गिजोलिएको खाद्य सङ्गठनका पाकिस्तान विज्ञ सकिल अहमदले बताए ।

चिनियाँ मद्दत

खाद्य सङ्गठन र चिनिया सरकारको सहयोगमा रोकथाम योजना तयार भएको छ र योजना अन्तर्गत कृषकहरूलाई किटनासक औषधि र औषधि छर्कने उपकरण प्रदान गरिएको छ । ‘चीन संसारकै सबैभन्दा ठूलो किटनासक उत्पादक मध्येको एक हो र उसले पाकिस्तानलाई किटनासक दिएको छ,’ अहमदले भने । खाद्य तथा कृषि सङ्गठनले पनि किटनासक छर्कने उपकरण प्रदान गरेको छ र कृषकहरूलाई यसबारे तालिम पनि दिएको छ ।

सलहको आक्रमणको जानकारी लिन एउटा चिनिया टोलीले पनि मार्चमा पाकिस्तानको भ्रमण गरेको थियो ।

पाकिस्तानको पन्जाब प्रदेशमा पर्ने खुसाबमा चिनिया विज्ञ झाङ लोङ मार्च २, २०२० मा सलहको अण्डा खोज्दै । पाकिस्तानमा सलह आक्रमण नियन्त्रण गर्नका लागि चीन सरकारले विज्ञहरूको आपत्कालीन टोली पठाएको थियो । विज्ञहरूले सलह आक्रमणबाट पिडित थरपर्कर मरुभूमि, सिन्ध; दक्षिण पश्चिम बलोचिस्तान र पन्जाबला जस्ता विभिन्न जिल्लाहरूको भ्रमण गरेका छन् जहाँ सलहले अण्डा पारिसकेका छन् । (फोटोः लिउ तियान / सिन्ह्वा / अलामी लाइभ न्यूज )
पाकिस्तानको पन्जाब प्रदेशमा पर्ने खुसाबमा चिनिया विज्ञ झाङ लोङ मार्च २, २०२० मा सलहको अण्डा खोज्दै । पाकिस्तानमा सलह आक्रमण नियन्त्रण गर्नका लागि चीन सरकारले विज्ञहरूको आपत्कालीन टोली पठाएको थियो । विज्ञहरूले सलह आक्रमणबाट पिडित थरपर्कर मरुभूमि, सिन्ध; दक्षिण पश्चिम बलोचिस्तान र पन्जाबला जस्ता विभिन्न जिल्लाहरूको भ्रमण गरेका छन् जहाँ सलहले अण्डा पारिसकेका छन् । (फोटोः लिउ तियान / सिन्ह्वा / अलामी लाइभ न्यूज )

यस्तो सहयोगको सदुपयोग गरेर सरकारले सरोकारवालाहरूसित समन्वय गर्दै राष्ट्रिय खाद्य सुरक्षाको जगेर्ना गर्न, समयमै स्रोतको परिचालन गर्न, र उचित निगरानी, नियन्त्रण र जनसचेतनाका कार्यक्रम सञ्चालन गर्न ‘मरुभूमि सलह निगरानी तथा नियन्त्रण राष्ट्रिय कार्ययोजना’ तयार पारेको छ ।

राष्ट्रिय खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्रालय अन्तर्गतको बाली संरक्षण विभागका प्राविधिक निर्देशक तारिक खानले भने, ‘सलहको आक्रमणसित जुझ्न एउटा तीन चरणको योजना बनाइएको छ, तर यो नियन्त्रण नभएमा यो अतिक्रमण ‘पुरै दक्षिण एसियाका लागि एउटा गम्भीर खतरा हुनेछ ।’

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.