icon/64x64/regionalcooperation क्षेत्रिय सहयोग

चीनमा अन्तर्देशीय नदीहरूको डाइभर्सन छलफलले उब्जाएका नयाँ चिन्ता

चिनियाँ प्रधानमन्त्रीको आव्हान पश्चात् दक्षिणबाट उत्तरतिर नदी फर्काउने योजनाको बहुचर्चित पश्चिमी रुट अघि बढ्नसक्ने
Mapcha Khambab River in Tibet, China. Mapcha Khambab means peacock’s mouth in Tibetan and is named after a spring which is the spiritual source of the river. The river becomes the Karnali in Nepal and the Ghaghara in India [image by: Nabin Baral]
Mapcha Khambab River in Tibet, China. Mapcha Khambab means peacock’s mouth in Tibetan and is named after a spring which is the spiritual source of the river. The river becomes the Karnali in Nepal and the Ghaghara in India [image by: Nabin Baral]

तल्लो तटीय छिमेकीहरू माझ धेरै वर्ष देखि चीनले अन्तर्देशीय नदीहरूको आफ्नो सीमाभित्रको पानीको धार परिवर्तन गर्नेछ भन्ने डर रहि आएको छ । ती डरहरू मध्ये केही चाहिँ यी अन्तर्देशीय नदीहरूमा कहाँबाट पानी आउँछ भन्ने विषयमा सतही ज्ञान हुनुका कारणले उत्पन्न भएका छन् । जस्तैः धेरैलाई थाहा नहोला यार्लुङ त्साम्पो / ब्रह्मपुत्र नदीले सिञ्चित गरेको क्षेत्रको अधिकांश पानी चीन बाहिरबाट आउने गर्दछ ।

धेरै वर्ष देखि चिनियाँ विशेषज्ञहरूले नदीको धार परिवर्तन गर्ने योजनालाईअतिरञ्जनाभनेर त्यसका बारेमा सोच्न समेत नहुने बताउँदै आएका थिए । तर चिनियाँ प्रधानमन्त्रीको हालैको वक्तव्यले यस बारेमा छलफल अर्को तहमा पुर्याइदिएको छ ।सं

चिनियाँ प्रधानमन्त्री ली खच्याङले हालै दक्षिणबाट उत्तरतिर पानीको बहाव मोड्ने परियोजनाको महत्त्वाकाङ्क्षी पश्चिमी हिस्सासँग सम्बन्धित सबै विकल्पहरूको जाँच गर्न आव्हान गरेका छन् । पानीको धार परिवर्तन गरी चीनको चिस्यान भएको दक्षिण बाट सुक्खा उत्तरमा लान पहिलो पटक सन् १९५२ मा प्रस्ताव गरिएको थियो । आजको मितिमा यो परियोजनाका पूर्व, मध्य र अनेकौं पश्चिमी रुटहरूको पहिचान गरिसकिएको छ । । मध्य रुटको काम सन् २०१४ मा समापन गरिसकिएको छ । यस रुट अन्तर्गत पानीलाई हुबेई प्रान्तबाट बेइजिङ र तियानजिनसम्मको १५ दिन लाग्ने, १,४०० किमी यात्रामा लगिन्छ । पूर्वी रुट मार्फत् सन् २०१३ देखि जिगान्सू देखि सान्दोङ र तियान्जिनसम्म पानी लगिएको छ ।

तर याङ्जी तथा येलो नदीहरूलाई तिब्बती पठारको एउटा कुना देखि अर्को कुनासम्म पुर्याउने अझ बढि चुनौतीपूर्ण पश्चिमी रुट भने वातावरणीय र सामाजिक प्रभावहरूको चिन्ताका कारण योजना कोर्ने चरण भन्दा पर पुग्न सकेको छैन । चीनको आर्थिक मन्दीका कारण यसको बारेमा चर्चा फेरि सल्बलाएको छ । यसको निर्माणले अर्थतन्त्रलाई चलायमान त बनाउला तर पश्चिमी रुटलाई लामो समय देखि सुषुप्त अवस्थामा राख्नुका केही राम्रा कारणहरू पनि छन् ।

विविध सम्भावनाहरू

चीनको सन् १९४९ देखिको इतिहासमै ‘दक्षिण-उत्तर पानी डाईभर्सन’ सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको र सबैभन्दा महँगो पूर्वाधार परियोजना हो । यसको निर्माणको सुरुवात हजारौं मानिसहरूको स्थानान्तरण गरेर सन् २००२ गरिएको थियो । यसले दुवै याङ्जी र यलो नदी प्रणालीको जल तथा पारिस्थिक प्रणालीमा उथलपुथल ल्याएको थियो । हाल सञ्चालनमा रहका दुई रुट (पूर्वी र मध्य) अन्तर्गत याङ्जीको तल्लो तथा मध्य क्षेत्रहरूबाट निकाल्ने गरिएको छ । पश्चिमी रुट कस्तो हुनुपर्छ भन्ने विषयमा सार्वजनिक भएका प्रस्तावहरूलाई भने दुई भागमा वर्गीकरण गर्न सकिन्छ : जनस्तरबाट आएका अति महत्त्वाकाङ्क्षी प्रस्तावहरू र सरकारले प्रस्ताव गरेका अलि कम महत्त्वाकाङ्क्षी प्रस्तावहरू ।

सरकारी प्रस्तावको प्रादुर्भाव जलश्रोत मन्त्रालय अन्तर्गतको यलो नदी आयोगमा सन् २००१ मा भएको थियो । प्रस्ताव अन्तर्गत सिचुवान नदीका सहायक निहारबाट पानी लिएर याङ्जीको माथिल्लो तटमा पर्ने यालोङ र दादू जस्ता सहायक नदीहरूमा मिसाइने छ । त्यस्तै एउटा ठूलो तटबन्ध प्रणाली बनाइनेछ जसका माध्यमबाट याङ्जीको माथिल्लो तटको पानी चिङ्घाई, गान्सू, निङसिया, भित्री मङ्गोलिया, साङ्सी र सङ्सी सम्म पुर्याइनेछ । अन्ततः पानीको अभाव हुन सक्ने आकलन गरिएको यलो नदीको माथिल्लो र मध्य तटमा सन् २०५० सम्म वार्षिक रुपमा १७ अर्ब घन मिटर पानी पुर्याइनेछ ।

सरकारी प्रस्ताव भन्दा अझ खर्चालु अनौपचारिक प्रस्तावहरू पनि सार्वजनिक भएका छन् । उदाहरणका लागि : तिब्बतमा रहेको सुओमातान क्षेत्र र तियान्जिनका विचमा कुलो बनाउने र तियान्जिन बाटै सिन्जियाङसम्म पानीको बहाव मोड्ने । यस्ता परियोजनाहरूले चीनको उत्तरमा बग्ने याङ्जी सहित चीनको सीमा पार गरिसकेपछि ब्रह्मपुत्र, साल्विन र मेकङ बन्ने यार्लुङ, नू र लकाङ जस्ता अन्तर्देशीय नदीहरूमा परिणत हुने नदीहरूबाट पनि पानी झिक्ने प्रस्ताव गरेका छन् । तिब्बत र तियान्जिनलाई जोड्ने कुलो को निर्माण गर्ने प्रस्ताव एकजना सेवा निवृत्त प्राविधिक गुओ काईबाट आएको थियो । जस अन्तर्गत २०० अर्ब घन मिटर पानी (चार वटा यलो नदी बराबरको पानी) ब्रह्मपुत्रको माथिल्लो तटमा पर्ने यार्लुङ साङ्पो बाट यलो नदीमा मिसाइनेछ ।

सिन्जियाङ तर्फ पानी मोड्ने प्रस्ताव चाहिँ सन् २०१७ मा यस विषयमा विज्ञता नभएका गाओ गान बाट आएको थियो । यो ‘रातो झण्डा नदी परियोजना’ अन्तर्गत ६,१८८ किलोमिटर लामो कुलो (याङ्जी भन्दा अलिकति मात्रै छोटो) बनाइनेछ र यलो नदीको वार्षिक बहाव भन्दा बढि हुन आउने ६० अर्ब घन मिटर पानीको बहाव परिवर्तन गरिनेछ ।

विविध दृष्टिकोण

सन् २०१८मा यलो नदी आयोगले पश्चिमी रुटको घोषणा गरेपछि त्यसका बारेमा अध्ययन सुरु गरिएको थियो । अध्ययनको क्रममा यलो नदी तटीय क्षेत्रमा पानीको माग तथा आपूर्तिको अवस्था र पानीको खपत घटाउने संभावनाको पनि मूल्याङ्कन गरिएको थियो । आधिकारिक रुटको गहिराइमा पुगेर अध्ययन भइरहेको छ भने महत्वकाङ्क्षा विकल्पहरूको प्रारम्भिक परीक्षण मात्रै हुँदैछ ।

आधिकारिक पश्चिमी रुटले ३,०००-४,००० मी उचाइमा रहेका पहाडहरू छिचोल्नुपर्नेछ । भूकम्पिय दृष्टिकोणले संवेदनशील, वातावरणीय दृष्टिकोणले जोखिमयुक्त र अल्पसङ्ख्यकहरूको बसोवास रहेको क्षेत्र हुनुका कारण यहाँको भूबनोट जटिल छ । परियोजना सञ्चालनमा आएपछि पनि यहाँ निर्माण र मर्मत सम्भार गर्नु निकै महँगो हुनेछ । अन्तराष्ट्रिय पाटोलाई पनि छुने भएकाले औपचारिक प्रस्तावहरू अझै बढि चुनौतीपूर्ण देखिन्छन् ।

विज्ञहरूको भने दुवै दृष्टिकोणका बारेमा भिन्न धारणा छ । प्रस्तावहरूको सबैभन्दा कडा आलोचकले अनौपचारिक रुपमा प्रस्ताव गरिएका परियोजनालाई यथार्थ भन्दा पर रहेको जिकिर गरेका छन्। चिनियाँ इन्जिनियरिङ प्रतिष्ठानका चियान झेङयिङ र झाङ गुआङदौले सन् २०१२ मा राज्य परिषदलाई बुझाएको प्रतिवेदनमा हालको अवस्थामा आँकलन गर्न सकिने भविष्यसम्मका लागि यी योजनाहरूको सम्भाव्यता र आवश्यकता दुवै नरहेको बताएका थिए ।

सन् २००६ मा हङकङ विश्व विद्यालयमा बोल्दै पूर्व जलश्रोत मन्त्री वाङ सुचेङले पाँचवटा कुलोको प्रयोग उतिकै सङ्ख्याका नदीहरूको पानी यलो नदीमा झार्ने तिब्बत-तियान्जिन परियोजनालाई ‘अनावश्यक, सम्भाव्यता नभएको र अवैज्ञानिक’ संज्ञा दिएका थिए । यलो नदीमा पानी पर्ने याममा अहिले नै बाढी आउँछ, यसमा झन् २०० अर्ब घन मिटर पानी मिसाइयो भने यसले नदीको तटमा रहेका तटबन्ध, जलविद्युत परियोजनाहरू र शहरहरूका लागी ठूलो समस्या खडा गर्न सक्छ , उनले भने । परियोजनाको उच्च आर्थिक तथा वातावरणीय लागतका कारण यो अव्यवहारिक छ, उनले भनेका थिए ।

चिनियाँ जलविद्युत इन्जिनियरिङ समाजका सहायक सचिव झाङ बोतिङ भने विस्तारित पश्चिमी रुटका समर्थक हुन् । उनी भन्छन् यार्लुङ साङ्पो, नू र लकाङ को पानीले चीनको पानी अभावलाइ निकास दिन सक्छन् । उनी भन्छन्, चीनले अन्तर्देशीय नदीहरूबाट पानी लिएको छैन तर उसले आफ्नो भूभागमा पर्ने नदीको लम्बाइको अनुपातमा पानी लिनु पर्छ । ‘चीनको भूभाग भित्र पर्ने यार्लुङ स्याङ्पो बाट हरेक वर्ष औसतमा १०० अर्ब घन मिटर पानी बग्ने गर्दछ , तर हामीले यसको केही उपयोग गरेका छैनौँ। यलो नदीमा करिब ५० अर्ब घन मिटर पानी बहने गर्दछ तैपनि यसले आधा देशको पानीको आवश्यकताको पूर्ति गर्दछ । हामीले अन्तर्देशीय नदीहरुबाट पनि पानी लिनुपर्छ । ‘

झाङलाई भने कम महत्त्वाकाङ्क्षी योजनाहरू अव्यवहारिक लाग्दछन् । याङ्जी नदीबाट पानी निकाल्दा थ्री गोर्जेज जस्ता जलविद्युत आयोजनामा असर पर्ने भएकाले त्यसको धेरै विरोध हुनेछ भन्ने उनलाई लाग्दछ ।

सिचुवान भूगर्भ विभागका क्षेत्रीय नापी इकाईका वरिष्ठ इन्जिनियर फान सियाओको भने फरक मत छ । ‘पानीको सदुपयोग गर्न त्यसलाई झिक्नु जरुरी छ । त्यहाँको पानीले क्षेत्रीय पारिस्थितिक प्रणालीलाई धानेको छ । यो पनि त महत्वपूर्ण काम हो । लकाङ नदीमा बन्दै गरेको तटबन्धले तल्लो तटीय मेकोङमा अहिले नै असर देखिन थालिसकिएको छ ।’

सबै संरचनालाई अहिलेकै अवस्थामा किन नछोड्ने ?

असहमतिको मुख्य मुद्दा हो पानीको प्रयोग र वातावरणको संरक्षणविचको सन्तुलन । सन् २००६ देखि स्वतन्त्र भूगर्भविद् याङ योङले स्थापना गरेका एक समूहले पानी झिकिने, कुलो बनाइने र पानी मिसाउने क्षेत्रहरूको अध्ययन गरिरहेको छ । परियोजनाका थुप्रै समस्याहरू छन् र यी समस्याहरूको पूर्ण रुपमा सम्बोधन गरिएको छैन, समूहको निष्कर्ष छ । याङ्जी नदीको उद्गम थलोको प्राकृतिक सन्तुलन, यलो नदीमा बाढी आउने मौसम र यी क्षेत्रको जलवायुमा पर्ने असर त्यी मुद्दा मध्ये कहि हुन् ।

तेह्र वर्षको अध्ययन पछि याङ योङ भन्छन्, पश्चिमी रुट कुनै पनि हालतमा अनावश्यक छ । उनी भन्छन्, जलवायु परिवर्तनका कारण चीनको उत्तर-पश्चिम भूभाग पहिले भन्दा न्यानो भएको छ र यहाँ पहिले भन्दा धेरै पानी पनि पर्छ । यसका कारण मानिसहरू पूर्व तिर बसाइँ सर्ने छन् र औद्योगिक क्षेत्रहरूमा जनसङ्ख्याको चाप कम भएर पानीको अभाव हुने समस्या कम हुँदै जानेछ । याङका अनुसार इन्जिनियरिङको माध्यमबाट हासिल गरिने समाधानहरू भन्दा जलवायु, जनसङ्ख्या, समाज, वातावरण र प्रविधिको बुझाइमा आधारित समाधानहरूलाई प्राथमिकता दिनुपर्दछ ।

चीनको उत्तर-पश्चिममा पहिले भन्दा न्यानो भएको छ र यहाँ पहिले भन्दा धेरै पानी पनि पर्छ भन्ने कुरामा फान सिआओ विश्वस्त छैनन् तर उनको विचार पनि याङसित मिल्दोजुल्दो छ । उनको विचारमा पश्चिमी रुटले पानीको अभावको समाधान गर्न सक्दैन र नदीहरूमा थप पानी ल्याउनु भन्दा अघि भएकै पानीको उचित संरक्षण गर्न जरुरी छ । ‘हामीले पानीको उचित संरक्षण गर्यौँ भने, कति पानीको बहाव परिवर्तन गर्नु पर्ला ? के त्यसो गरिरहन आवश्यक नै पर्ला ?’

गाओ बाइयू चाइना डाइलगको बेइजिङ सम्पादकीय टोलीका सदस्य हुन् । यो आलेख चाइना डाइलगबाट साभार  गरेर द थर्ड पोलमा छापिएको हो।

 

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.