icon/64x64/nature जैविक विविधता

हिमाली क्षेत्रमा नयाँ भ्यागुता र हाब्रेहरू: जैविक विविधताको संरक्षणमा आनुवंशिक विज्ञानकाे सहयाेग

हिमाली क्षेत्रका वैज्ञानिकहरूले आनुवंशिक प्रविधिको प्रयोग गरेर नयाँ प्रजातिहरू पत्ता लगाउँदै छन् र आनुवंशिक विविधताको उजागर पनि गर्दैछन् । उनीहरूले पत्ता लगाएका कुराहरूले हिमाली क्षेत्रमा पाइने जैविक विविधताको संरक्षणसित सिधा सम्बन्ध राख्दछन् ।
सन् २०१५मा पूर्वी नेपालमा फेला परेको भ्यागुतोका नयाँ प्रजाति स्कुटिगर घुन्साको एक सदस्य । (तस्विर : जनक खतिवडा)
सन् २०१५मा पूर्वी नेपालमा फेला परेको भ्यागुतोका नयाँ प्रजाति स्कुटिगर घुन्साको एक सदस्य । (तस्विर : जनक खतिवडा)

सन् २०१५को गर्मी याममा वन्यजन्तु वैज्ञानिक जनक खतिवडाले नेतृत्व गरेको टोलीले अरुण नदीको किनारैकिनार उत्तरतर्फ चार हप्ता हिँडेर नेपालको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्ने उच्च पहाडी क्षेत्रसम्म यात्रा गरेको थियो । टोलीको उद्देश्य नेपालको पूर्वी क्षेत्रमा रहेका ‘हेरेप्टोफाउना’ (घस्रने जीव तथा उभयचरहरू) को सर्वेक्षण गर्नु थियो । यात्रामा अघि बढ्दै गर्दा टोलीको काम भनेको रातभर ठूलाठूला ढुङ्गाहरू ओल्टाइपल्टाई गर्नु र केही भेटिएमा तिनको पहिचान गर्नु अनि केही अंश नमुनाको रुपमा सङ्कलन गर्नु थियो ।

यस क्रममा टाेलीले ताप्लेजुङ जिल्लाको घुन्सा क्षेत्रमा अचम्मको भ्यागुतो भेट्यो । भ्यागुताको पछाडिको भागमा रहेको विष ग्रन्थी, लुकेको कानको जाली र नजोडिएका औँलाहरू हेरेर खतिवडाले त्यो भ्यागुतो स्कुटिगर वंशको एक प्रजातिको हुनुपर्ने ठम्याए । तर उनले यो जनावर कुन प्रजातिको हो भनेर ठ्याक्कै भन्न सकेनन् । त्यसैले टोलीले केही भ्यागुतोका मांसपेशी तन्तुको नमुना सङ्कलन गर्‍याे ।

प्रयोगशालामा फर्किएपछि खतिवडा र उनको टोलीले भ्यागुतोका मांसपेशी तन्तुबाट त्यसको डीएनए निकालेर सिक्वेन्सिङ (अनुक्रम निर्धारण) गरेर त्यसमा रहेका जिन (क्रोमोसोममा हुने र जीवको आनुवंशिक चरित्रको प्रतिनिधित्व गर्ने एकाइ)लाई विशेष प्रविधिको प्रयोग गरेर एम्प्लिफाई गरेका (विश्लेषण गर्न सजिलो हुने गरी त्यसलाई ठूलो बनाएका) थिए । एउटै वंशका तर भिन्न प्रजातिका जनावरहरूको जिनमा कम्तीमा पनि २ प्रतिशत फरक हुने गरेको पाइएको छ । घुन्सामा भेटिएको भ्यागुतो र नेपालमा पहिले भेटिएका स्कुटिगर वंशका प्रजातिका भ्यागुताहरूको जिनका बीच १०-११ प्रतिशत भिन्नता भेटिएकाले त्यो भ्यागुतो नेपालमा अहिलेसम्म आधिकारिक रूपमा भेटिएका भ्यागुताहरूभन्दा नयाँ प्रजातिको रहेको पत्ता लागेको थियो ।

‘आनुवंशिक सूचनाले यस्तै गर्छ,’ खतिवडाले भने । ‘यसले (जीव तथा वनस्पतिहरूको) पहिचानमा लाग्ने मेहनतलाई करिब ९० प्रतिशतले घटाइदिन्छ ।‘ उनीहरूले पत्ता लगाएका नयाँ प्रजातिलाई संरक्षण गर्नुपर्छ भन्ने भावना स्थानीयबासीमा जागोस् भनेर यसको नाम ‘स्कुटिगर घुन्सा’ राखियाे ।

आनुवंशिक तथ्याङ्कले जीव तथा वनस्पतिहरूको पहिचानमा लाग्ने मेहनतलाई करिब ९० प्रतिशतले घटाइदिन्छ ।
जनक खतिवडा, वन्यजन्तु वैज्ञानिक

हिमाली क्षेत्र संसारकै सबैभन्दा धैरै जैविक विविधता भएका क्षेत्रमध्येको एक हो । यहाँका हिमालहरू बन्दै गर्दा भौगर्भिक अवस्थाका कारण विविध वासस्थान र जलवायुको सिर्जना भएको छ । यहाँका खोँच र उपत्यकाहरूमा थुप्रै प्रजातिहरूको इभोलुसन (विकास) भएको छ । इभोलुसन एउटा निरन्तर चल्ने प्रक्रिया हो । कुनै स्थानविशेषमा रहेका जीवहरू नयाँ प्रजातिको रूपमा विकास हुने दिशातर्फ लम्किरहेका हुन्छन् तर उनीहरूको पुरानै प्रजातिसित आनुवंशिक सम्बन्ध रहिरहन्छ । त्यस्तै कुनैकुनै दुई वा दुईभन्दा बढी प्रजातिका सदस्यहरू हेर्दा उस्तै देखिए पनि आनुवंशिक रूपमा निकै फरक हुन सक्छन् । आनुवंशिक चरित्रका आधारमा गरिने प्रजातिको पहिचानले हिमाली क्षेत्रमा लुकेर बसेको जैविक विविधतालाई उजागर गर्न मद्दत गर्न सक्छ । यसो गरिनु जैविक विविधताको संरक्षणका दृष्टिकोणले पनि महत्त्वपूर्ण छ । नेपालको राष्ट्रिय चरा डाँफे भारतको उत्तराखण्ड राज्यको पनि प्रादेशिक चरा हो । डाँफेले हिन्दुकुश हिमालय क्षेत्रमा रहेको जैविक विविधताको प्रतिनिधित्व गर्दछ ।

हाब्रेका प्रजाति : एक कि दुई?

Red Panda Himalayas
हाब्रे (तस्बिर : पिक्साबे)

सन् २०२०सम्म नेपालदेखि दक्षिणपश्चिम चीनसम्म पाइने हाब्रेलाई एउटै प्रजातिका रूपमा हेरिन्थ्यो । टाउकाकाे आकार, पुच्छरमा भएका चक्रहरू र छालाको रङलाई हेर्दा हाब्रेका दुईटा प्रजाति हुन सक्ने शङ्का वैज्ञानिकहरूलाई लागेको थियो । तर यी कुराहरूमा देखिएका भिन्नताहरू खासै ठूलो मानिएकाे थिएन र यसैलाई आधार मानेर हाब्रेको पुनः वर्गीकरण हुनुपर्छ भन्ने अवस्था पनि थिएन ।

ट्याक्सोनोमी के हो?

प्राणी वर्गीकरण विज्ञान वा जीव वर्गीकरण विज्ञान (ट्याक्सोनोमी) जीवविज्ञानको एउटा शाखा हो। यसमा जीवहरूको विकास क्रममा देखिएको सम्बन्धअनुसार वर्गीकरण गरिन्छ । मूल धारको ट्याक्सोनोमीअन्तर्गत एउटा प्रजातिलाई त्यसका सदस्यहरूसित नजिकको सम्बन्ध रहेको अर्को प्रजातिसित राखेर एउटा वंश (जिनस)का रूपमा वर्गीकरण गरिन्छ । वंशहरू मिलेर कुल (फ्यामेली) बन्छन् । फेरि कुलहरूको समूहलाई थप वर्गीकरण गरिन्छ ।

हाब्रेको वर्गीकरणमा देखिएको अस्पष्टतालाई ध्यानमा राखेर चाइनिज अकाडेमी अफ साइन्सेसका अर्जुन थापाले सन् २०२०को सुरुतिर हाब्रेको पूरै भौगोलिक वासस्थानको प्रतिनिधित्व हुने गरी ६५ वटा नमुना सङ्कलन गरेर तिनको आनुवंशिक विश्लेषण गरेका थिए । उनको अध्ययनले साँच्चै नै हाब्रेका दुईटा प्रजाति (हिमाली र चिनियाँ हाब्रे) रहेको पत्ता लगाएको थियो ।

एउटा प्रजातिलाई अर्कोबाट छुट्याउनुबाहेक आनुवंशिक चरित्र अध्ययनको अर्को फाइदा पनि उजागर गरेकाे छ ‍- जीवहरूले सामना गर्नुपरेको सुषुप्त खतराको पहिचान । अध्ययन अन्तर्गत गरिएको विश्लेषणले हाब्रेमा आनुवंशिक विविधता निकै कम रहेको र यसका कारण उनीहरू लोप भएर जाने खतरा बढेको बताइएको थियो । उदाहरणका लागि, कुनै महामारीका बेला आनुवंशिक विविधता कम भएका जीवहरू सखाप हुने खतरा बढेर जान्छ ।

‘हाब्रेका दुबै प्रजातिको विश्व संरक्षण सङ्घ (आइयुसिएन)ले तयार पारेको विधिअन्तर्गत सर्वेक्षण गर्नु निकै जरुरी भइसकेको छ,’ थापाले भने ।

लाैठसल्लाका कुरा

तर आनुवंशिक अध्ययनबाट प्राप्त नतिजा सधैँ सबैलाई चित्त बुझ्छ भन्ने छैन । सन् २०१०को दशकको प्रारम्भतिर नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का वरिष्ठ वैज्ञानिक रामचन्द्र पौडेलले लाैठसल्लाको अध्ययन गर्न लागेका थिए । यसै क्रममा उनले नेपालमा पहिले नभेटिएको प्रजाति ट्याक्सस माइरे भेटेका थिए । पौडेल र उनका सहकर्मीहरूले सियोजस्तो पात हुने यो प्रजातिको बिरुवाको बाहिरी आकार तथा बनोट, यसको वासस्थानको जलवायु र आनुवंशिक चरित्रको अध्ययन गरेर यो प्रजाति नेपालमा त्यति बेलासम्म रेकर्ड गरिएको लाैठसल्लाभन्दा फरक प्रजातिको भएको पुष्टि गरेका थिए । उनीहरूले आफूले पत्ता लगाएको कुरा एउटा समकक्षीहरूले पुनरवलोकन गर्ने वैज्ञानिक जर्नलमा प्रकाशित पनि गरेका थिए ।

तर, नेपालकाे वनस्पति विभाग र केही वरिष्ठ वनस्पतिशास्त्रीहरू यो कुरा मान्न तयार छैनन् । उनीहरूले नयाँ भनिएको प्रजातिको बाहिरी बनोट हेरेर पौडेलले इस्टर्न हिमालयन यिउ (टाक्सस वालीचीआना) कै अर्को सदस्यलाई नयाँ प्रजातिको भनेर पहिचान गरेका हुन् भन्ने गरेका छन् ।

‘वरिष्ठ ट्याक्सोनोमिस्टहरूले नै नयाँ प्रजाति भन्न हिच्किचाउनुका पछाडि कुनै वैज्ञानिक कारण छजस्तो मलाई लाग्दैन,’ पौडेलले भने । ‘स्थानीय मानिसहरू र व्यापारीहरूले समेत प्रजातिहरूको बाहिरी बनोट र पारिस्थितिक प्रणालीमा खेल्ने भूमिकाका आधारमा प्रजातिहरू छुट्याउन सक्छन् ।’ उनले पत्ता लगाएको नयाँ प्रजाति नेपालमा लोपोन्मुख छ, यसका खालि ५०० ठूला रुखहरू मात्र बाँकी छन् । त्यसैले यसलाई फडानी हुनबाट बचाउन एउटा कार्य योजना तुरुन्तै चाहिएको छ, उनले भने ।

लाैठसल्लामा क्यान्सरको उपचार गर्न प्रयोग गर्न सकिने तत्त्व पाइनाले वनस्पतिहरूको विविधता संरक्षण गर्नु महत्त्वपूर्ण रहेको देखिन्छ ।

Maire’s yew Nepal
आनुवंशिक अध्ययनबाट नेपालमा पत्ता लागेको लाैठसल्लको नयाँ प्रजाति लोप हुने अवस्थामा पुगिसकेको छ । (तस्विर : सञ्जय पौडेल, ग्रिनहुड नेपाल)

संरक्षणका लागि आनुवंशिक विज्ञान

कुनै स्थानमा पाइने जीव तथा वनस्पतिले छुट्टै प्रजातिको मान्यता पाए भने तिनीहरूको संरक्षणमा चासाे बढ्न सक्दछ । पहिले नै थाहा भइसकेको भए पनि आनुवंशिक अध्ययनबाट भेटिने ‘नयाँ प्रजातिका’ बारेमा मिडियामा निकै चर्चा हुन सक्छ र यसका कारण तिनमा नीतिनिर्माताहरू, संरक्षणविद्हरू र स्थानीय समुदायको चासो बढ्न सक्छ ।

त्यस्तै, संरक्षणसित सम्बन्धित धेरै संरचनाहरू प्रजातिको पहिचान र सूचीकरणसित सम्बन्धित हुने गर्दछन् । नेपाल र अरू देशहरूमा पनि विभिन्न प्रजातिलाई भिन्न प्रकारको संरक्षण प्रदान गर्ने गरिएको छ । उदाहरणका लागि, कुनै प्रजाति ‘संरक्षित’ सूचीमा परेको छ भने त्यसलाई मार्न वा ओसारपसार गर्न पाइँदैन र त्यसको वासस्थान नाश गर्न पनि पाइँदैन । एउटा लोपोन्मुख प्रजातिले ‘प्रजाति’को दर्जा पायो भने त्यसलाई त्यस्तो सूचीमा राखिने सम्भावना बढेर जान्छ । त्यसले यस्तो दर्जा पाएन भने कुनै ‘असंरक्षित’ प्रजातिको एउटा रूप भनेर त्यसलाई हेरिने गरिन्छ ।

 त्यस्तै, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)को (खतरामा रहेका प्रजातिहरूकाे) रातो सूची पनि प्रजातिहरूको संरक्षणमा नै केन्द्रित छ । सम्भव भएसम्म आइयुसिएनका वैज्ञानिकहरूले खतरामा रहेका प्रजातिहरूको वितरण, सङ्ख्या र सम्भाव्य जोखिमहरूका बारेमा आवधिक रूपमा पुनरावलोकन गर्दछन् र यस्तो पुनरावलोकनले संरक्षण कार्य कसरी अघि बढाउने भन्ने विषयमा मार्गनिर्देशन गर्छ । खतिवडा र उनको टोलीले पत्ता लगाएको स्कुटिगर घुन्सा भ्यागुतो आइयूसिएनको रातो सूचीमा परिनसके पनि उनीहरूको कामले यो प्रजातिको अवस्थाबारे लेखाजोखा गर्न सजिलो बनाइदिएको छ ।

तर यो प्रजातिले आधिकारिक मान्यता पाउला र यसलाई संरक्षण गर्न योजना बन्ला भन्ने कुरा चाहिँ अझै परको विषय रहेको खतिवडा बताउँछन् । नेपालमा यो नयाँ प्रजातिका आधारभूत तथ्याङ्कहरू सङ्कलन गर्न सक्ने तथा भ्यागुताहरूको अध्ययन गर्ने हेरेप्टोलोसजिस्टहरू छैनन् ।

जैविक विविधताका तीन तह

विभिन्न वनस्पति, जीव, ढुसी र आँखाले देख्न नसकिने जीवहरूका प्रजातिहरूको विविधतालाई प्रजातिगत विविधता भनिन्छ ।

आनुवंशिक विविधता भनेको एउटै प्रजातिका सदस्यहरूका जिनमा रहेको विविधता हाे । कहिलेकाँहि यस्तो खालको विविधता बाहिरबाटै देखिन्छ : पुडल, जर्मन सेफर्ड र गोल्डेन रिट्रिभर सबै घरपालुवा कुकुरहरू हुन्, तर सबै एकअर्काबाट फरक देखिन्छन् ।

पारिस्थितिक प्रणाली तहको विविधताले विभिन्न वासस्थान (जस्तै : उष्ण वा समशीतोष्ण वन, ताता र चिसा मरुभूमि, रामसार क्षेत्रहरू, नदीहरू, पर्वत र कोरल रिफहरू)मा बस्ने सबै जीव तथा वनस्पतिहरूलाई समेट्दछ । हरेक पारिस्थितिक प्रणालीमा जीवित (वनस्पति तथा जनावरहरू) र निर्जीव पाटाहरू (सूर्यको ताप, हावा, पानी, खनिज पदार्थ तथा पोषक तत्त्वहरू)का बीचमा जटिल सम्बन्ध हुने गर्दछ ।

आनुवंशिक विज्ञानलाई संरक्षणमा उपयोग गर्न सहज छैन

‘पश्चिमा विश्वमा प्रजातिहरूको पहिचानका लागि आनुवंशिक तथ्याङ्क तथा सूचनाको प्रयोग हुन थालेकाे पाँच दशक भइसकेको छ,’ भारतको ब्याङ्गलोरमा रहेको राष्ट्रिय जैविक विज्ञान केन्द्रकी वैज्ञानिक उमा रामकृष्णन् भन्छिन् । अहिले आएर दक्षिण एसियामा यस्ता अध्ययनहरू किन भइरहेका छन् भने ‘हामी उनीहरूभन्दा पछि छौँ र उनीहरूलाई भेट्टाउन खोजिरहेका छौँ ।‘

आइयुसिएनको रातो सूचीका लागि गरिने अध्ययनहरू हाल आनुवंशिक विविधताभन्दा पनि प्रजातिहरूको सङ्ख्या र उनीहरूको वितरणमा आधारित हुने गरेका छन् । अमेरिकाको मोन्टाना विश्‍वविद्यालयकी जैविक संरक्षण वैज्ञानिक ब्रिटानी गार्नरको टोलीले गरेको एक अध्ययनको प्रतिवेदनमा कुनै पनि प्रजातिलाई रातो सूचीमा राख्ने कि नराख्ने भन्ने कुरा त्यसको आनुवंशिक विविधतामा आधारित हुने हो भने थप प्रजातिहरू खतराको सूचीमा पर्न सक्ने बताइएको थियो । सन् २०२०मा आइयूसिएनको बृहत् बैठकले समेत आफ्ना योजना र काममा आनुवंशिक विविधताको पाटोलाई पनि समेटोस् भन्ने प्रस्ताव पारित गरेको थियो ।

आइयूसिएनको सूचना प्रणाली निकै नै ठूलाे छ र यसका समितिहरूमा संसारभरका हजारौँ वैज्ञानिकहरू रहने गर्दछन् । पहिलेदेखि चलिआएको कुनै पनि कुरालाई परिवर्तन गर्नु त्यति सजिलो हुँदैन, गार्नरले द थर्ड पोललाई बताइन् । रातो सूचीको अवधारणा आनुवंशिक सूचनालाई कुनै पनि प्रजातिको संरक्षणको स्थिति आकलन गर्न प्रयोग गर्न सकिन्छ भन्ने सोचको विकास हुनुअघि नै तयार भएको थियो । तर छिटोछिटो बदलिने वातावरणमा प्रजातिहरू कसरी बाँचिरहेका छन् र उनीहरूले भविष्यमा कस्ता जोखिमहरूको सामना गर्नुपर्ने हुन सक्छ भन्ने कुरा बुझ्न आनुवंशिक परीक्षणको सहायता लिन सकिन्छ ।

गार्नर भन्छिन्, सरकारहरूले जोखिममा रहेका प्रजातिहरूको संरक्षण गर्नका लागि कार्य योजना बनाउन रातो सूचीलाई नै कुरेर बस्नुपर्दैन । ‘आइयुसिएनले कार्यक्षेत्रमा पत्ता लागेका कुराहरूको जानकारी तुरुन्तै पाउँदैन,’ उनले भनिन् । यदि नयाँ प्रजाति भेटिन्छ र त्यो प्रजाति जोखिममा छ भने स्थानीय निकाय, सरकारहरू र सोधकर्ताहरूले तिनको संरक्षण गर्न हातेमालो गर्न जरुरी छ ।

जैविक संरक्षणसित जोडिएका विभिन्न मानिस तथा संस्थाहरूले आनुवंशिक विज्ञानमा भएको प्रगतिलाई पछ्याउँदै गर्दा पत्ता लागेका नयाँ कुराहरूले साँच्चिकैको दुनियाँमा संरक्षणका कार्यहरूलाई प्रेरणा दिएका छन् । रामचन्द्र पौडेलले गरेको अध्ययनलाई आधार मानेर ग्रिनहुड नामक गैरसरकारी संस्थाले लाैठसल्लाको अवस्थाबारे अध्ययन गर्दै छ र स्थानीय बासिन्दालाई दिगो रूपमा यसको प्रयोग गर्न पनि सिकाउँदै छ ।

हामीले यसलाई जे भनेर बोलाए पनि, वनमा हुने रुख त रुखै रहन्छ, जसको भविष्य चुनौतीपूर्ण छ
कुमार पौडेल, ग्रिनहुड नेपाल

‘आनुवंशिक उपकरणहरूले प्रजातिहरूको विस्तृत पहिचान गर्न र जङ्गली जीव तथा वनस्पतिहरूले वातावरणमा हुने परिवर्तनको कसरी सामना गर्छन् भनेर बुझ्न अनि एउटै प्रजातिमा रहेको विविधताको लेखाजोखा गर्न सहयोग गर्दछन्,’ ग्रिनहुड नेपालका निर्देशक कुमार पौडेलले भने । ‘जैविक विविधताको व्यवस्थापन र संरक्षणमा यी उपकरणहरूको महत्त्व र फाइदाका बारेमा नीतिनिर्माताहरूलाई बुझाउन हामी सबैले एकीकृत रूपमा काम गर्न जरुरी छ,’ उनले भने ।

लौठसल्लाबारे पौडेलले भने, ‘हामीले यसलाई जे भनेर बोलाए पनि, वनमा हुने रुख त रुखै रहन्छ, जसको भविष्य चुनाैतीपूर्ण छ ।’

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.