icon/64x64/nature जैविक विविधता

पूर्वोत्तर भारतमा सुँगुरमा स्वाइन फ्लू महामारी

निकै नै सङ्क्रामक अफ्रिकी स्वाइन फ्लूको न त खोप छ न त कुनै उपचार नै । पूर्वी र दक्षिण पूर्वी एसियामा ठूलो सङ्ख्या सुँगुर मारेको यो रोग सम्भवतः चीनका मृत सुँगुरहरू पानीमा बगेका कारण पूर्वोत्तर भारतमा आइपुगेको हो ।
A diseased pig in Gogamukh on the bank of Subansiri in Lakhimpur district, on April 27 [image by: Farhana Ahmed]
A diseased pig in Gogamukh on the bank of Subansiri in Lakhimpur district, on April 27 [image by: Farhana Ahmed]

संसारकै ठूलो नदी टापु मजुलीको वरपर बग्ने अन्तर्देशीय नदी ब्रह्मपुत्रमा डुङ्गा चलाउँदै गर्दा मुक्ति डोले र उनका तीन साथीहरूले आफ्नो अनुहार छोपेका छन् । तुलनात्मक रुपमा विकट मानिने भारतको पूर्वोत्तर राज्य असमसहित धेरै ठाउँहरूमा मानिसहरूले कोभिड-१९ का कारण मास्क लगाएको देखिन्छ । तर यी माझीहरूले भने अर्कै कारण मुख छोपेका हुन् । उनीहरूले नदीको तट नजिकै पलाएको जलकुम्भीमा फसेका र सडेका मृत सुँगुरहरूको गन्धबाट बच्न मास्क लगाएका हुन् ।

माछा मार्नुको सट्टा डोले र उनका अरू माझी साथीहरू मृत सुँगुरहरू नदीले बगाएर लगोस् भनेर जलकुम्भी हटाउनमा व्यस्त छन् ।

चीनको तिब्बतबाट आउने ब्रह्मपुत्र नदीमा बगेर आएका सङक्रमित मृत सुँगुरहरूबाट फेब्रुअरीमा सरेको अनुमान गरिएको अफ्रिकी स्वाइन फ्लू महामारीले धेमाजी र लखिमपुर जिल्लाहरूमा सुँगुरलाइ सोत्तर बनाएको छ । धेमाजी जिल्लाका ताङ्गोनी, सिमेन, चपोरी, तेलम र जोनाई इलाकाहरूमा सबै भन्दा धेरै सङ्ख्यामा परम्परागत रुपमा पालिएका सुँगुरहरू मरेका छन् ।

अप्रिल २५ मा लखिमपुर जिल्लाको रङ्गानदीमा देखिएको एक मृत सुँगुर । (फोटोः फरहाना अहमद)

विस लाख सुँगुर  र करिब भारू ८० अर्ब-१ खर्ब बराबरको वार्षिक सुँगुर व्यापार हुने असममा १३,००० भन्दा बढी सुँगुर मारिसकेको छ ।

ब्रह्मपुत्रको तटमा हजारौं मृत सुँगुरहरू तैरिरहेका छन् । सुबन्सरी, रङ्गानदी, दिक्रोङ, जियाधल, सिसि-तोङ्गानी, चारीकोदिया, गाईनदी तथा सिमेन जस्ता सहायक नदीहरूमा बग्ने मृत सुँगुरहरू करिब १०० किमी तल पर्ने जोरहाटसम्म पुग्ने गरेका छन् । कुनै कुनै त ३०० किमी तल पर्ने तेजपुर सम्म पनि पुगेका छन् ।

नदीमा बग्ने गरेका मृत सुँगुरहरूले ब्रह्मपुत्र उपत्यकाका धेरै भागहरूमा तनाव सिर्जना गरेको छ । डोले र उनका साथीहरूले माछा मारिनै हालेछन् भने पनि सड्दै गरेको मृत जनावरले माछामा पनि विषादी फैलिएको हुनसक्ने डरका कारण त्यसलाई कसैले किन्ने छैन । सुँगुरको मासु उद्योगलाई यो रोगले असर गरेको त छ नै, मृत जनावरहरूको अव्यवस्थित रुपमा नदीमा गरिने विसर्जनका कारण जैविक विविधतामा धनी नदीहरूमा पनि नराम्रो असर परेको छ । नदीमा रहेका जलचर र नदीको तटमा चर्ने गाईवस्तुका लागि पनि मृत जनावरहरू हानिकारक छन् । अफ्रिकी स्वाइन फ्लूले मानिसमा असर देखाउँदैन ।

नयाँ किसिमको स्वाइन फ्लू

पहिला जनावरहरूको आँखाबाट एक किसिमको पानी बग्छ, त्यसपछि ज्वरो आउँछ र खाना रुच्दैन । अनि जनावर मर्छ,’ २५ वटा जनावर गुमाइसकेका धेमाजीको जोनाई सब डिभिजनमा पर्ने लाईमेकुरी गाउँका सुँगुर कृषक जोगेन ताइडले भने । हामीले सुँगुरमा यस्तो खालको समस्या पहिले कहिल्यै देखेका थिएनौँ ।

अप्रिल २७ मा लखिमपुर जिल्लाको सुबन्सरी नदीको तटमा पर्ने गोगामुखमा देखिएको एउटा रोग ग्रस्त सुँगुर । (फोटोः फरहाना अहमद)

रोगका लक्षणहरूमा अत्यधिक ज्वरो आउनु, बेहोस हुनु, स्वासप्रस्वासमा समस्या आउनु, बान्ता आउनु, पखाला लाग्नु, खाना नरुच्नु, र कान, मुख, खुट्टा, कम्मर र तिघ्राबीचको भाग तिर रातो फोका देखिनु आदि प्रमुख छन् । लक्षण देखिन थालेको २-७ दिन भित्र सुँगुर मर्छ,’ सुँगुर पालेका रमेश कुलीले बताए ।

सिमेन चपोरीका अर्का सुँगुर कृषक फिरोज डोलेले स्वतन्त्र रुपमा हिँडडुल गर्ने र जे पनि खाने जनावरहरू भन्दा थुनुवा जनावरहरूमा मृत्यु दर तुलनात्मक रुपमा कम रहेको बताए ।

महामारी देखिनासाथ असम सरकारको पशु पालन तथा पशु स्वास्थ्य विभागले सुँगुरहरूलाई यस क्षेत्रमा देखिने परम्परागत स्वाइन फ्लू वा झाडापखालाको खोप दिएको थियो । तर खोप लगाएका जनावरहरू बिरामी भएर मर्न थाले पछि, विभागले अप्रिल २९ मा जनावरहरूको रगतको नमुना भोपालमा रेहको राष्ट्रिय उच्च सुरक्षा पशु रोग संस्थानमा पठाएको थियो ।

मे १ मा आएको नतिजाले असम र छिमेकी राज्य अरुणाञ्चलमा सुँगुरहरूमा अफ्रिकी स्वाइन फ्लूको प्रकोप रेहको पुष्टि गरेको थियो । भारतमा यो रोग देखिएको पहिलो पटक हो ।

विश्व पशु स्वास्थ्य सङ्गठनका अनुसार, अफ्रिकी स्वाइन फ्लू एउटा यस्तो सङ्क्रामक भाइरल रोग हो जसले घर पालुवा र जङ्गली सुँगुर दुवैलाई असर गर्छ । अस्फारभिराडे परिवारको एउटा  डिएनए भाइरसका कारण लाग्ने रोग ओर्निथोडोरोस प्रजातिका कीरामा पनि देखिन्छ । रोग जीवित वा मृत, घर पालुवा वा जङ्गली सुँगुर र यीनका मासुबाट सर्छ, सङ्गठनले भनेको छ । उच्च प्रतिरोधी क्षमता भएकाले सङ्क्रमित खुराक र जुत्ता, लुगा, गाडी, चक्कु र अन्य उपकरण जस्ता निर्जीव वस्तुका कारण पनि यो रोग सर्ने देखिएको छ । यो रोगका विरुद्ध कुनै स्वीकृत खोप छैन ।

पूर्वी र दक्षिण पूर्वी एसियामा स्वाइन फ्लूको कहर

संयुक्त राष्ट्र संघिय खाद्य तथा कृषि संस्थाले सन् २०१८ देखि नै एसियामा अफ्रिकी स्वाइन फ्लूको अनुगमन गर्दै आएको छ । अगस्ट २०१८ मा चीनमा पहिलो पटक देखिए पछि देशमा ११ लाख २० हजार सुँगुर मारिएको छ । रोग मङ्गोलिया, भियतनाम, लाओस्, म्यानमार, फिलिपिन्स, उत्तर कोरिया, दक्षिण कोरिया, पूर्वी टिमोर र इन्डोनेसियासम्म फैलिसकेको छ ।

अफ्रिकी स्वाइन फ्लूलाई अभूतपूर्व अन्तराष्ट्रिय खतराखाद्य सुरक्षा र वन्यजन्तु व्यवस्थापन तथा संरक्षणका लागि गम्भीर चुनौतीका रुपमा व्याख्या गर्दै राष्ट्र संघिय खाद्य तथा कृषि सङ्गठनले सेप्टेम्बर महिनामा प्रभावित देशहरूका प्रतिनिधिहरू सम्मिलित एउटा सम्मेलन आयोजना गर्ने तयारी गरेको थियो । त्यो बेला भारत प्रभावित देशहरू मध्ये पर्दैनथ्यो ।

स्वाइन फ्लू भाइरस लामो समयसम्म बाँच्न सक्छ र यसका कारण यो चाँडै फैलिन सक्छ । खाद्य तथा कृषि सङ्गठनका अनुसार सुँगुरको मासुमा यो भाइरस महिनौँसम्म सङ्क्रामक अवस्थामा रहन्छ भने चिसोमा जमाइएको मासुमा १ हजार दिनसम्म बस्न सक्छ । भाइरसलाई लामो र छोटो दुरीमा फैलाउनुमा मानिसहरूको प्रमुख भूमिका रहको सङ्गठनले जनाएको छ ।

जून १०, २०१९ मा भारतको केन्द्रीय कृषि मन्त्रालयले सबै राज्य सरकारहरूलाई अफ्रिकी स्वाइन फ्लूबारे चेतावनी पठाएको थियो । जिउँदो सुँगुर र यसको मासुका प्रोडक्टहरूको भारत र उसका छिमेकी देशहरूबाट ओसारपसार हुने गरेकाले अफ्रिकी स्वाइन फ्लू भारतका लागि चिन्ताको विषय हो, मन्त्रालयले आफ्नो चेतावनीमा भनेको थियो । भारतका राज्यहरू आफ्नो क्षेत्रमा जीवित सुँगुर र मासुको  ओसारपसार गर्दा सजग रहनु पर्छ, मन्त्रालयले भनेको थियो । यस सन्दर्भमा विशेष गरी पूर्वोत्तर भारतसहितका सीमा क्षेत्रमा बस्ने मानिसहरूमा जनचेतना फैलाउन जरुरी छ, मन्त्रालयको कथन थियो ।

चीनसितको सम्बन्ध

धेमाजीका केही बासिन्दाहरूले भारत-चीन सीमामा काम गर्दै गर्दा फेब्रुअरीमा नै तिब्बतमा फैलिएको महामारीका बारे सुनेका थिए । उनीहरूलाई चीनबाट भारत तर्फ बग्ने ब्रह्मपुत्र नदीको मुख्य सहायक नदी सियाङमा मृत सुँगुर तैरिरहको बताईएको थियो । ब्रह्मपुत्रका धेरै जसो उत्तरी सहायक नदीहरूको उद्गम थलो पनि तिब्बतमै पर्दछ । सियाङमा मृत सुँगुर देखिएको केही दिन भित्रै अरुणाञ्चल प्रदेश र असममा अफ्रिकी स्वाइनफ्लूको महामारी देखा परिसकेको थियो ।

अरुणाञ्चल प्रदेशको पूर्वी सियाङ जिल्लामा पर्ने सिल्ले नदीको माथिल्लो पर्वत श्रेणीमा रहेको लिदोर सोयित जस्ता क्षेत्रमा जङ्गली बङ्गुरको मृत्युका रिपोर्टहरू आउन थाले पछि अन्तर्देशीय नदीको माध्यमबाट रोग सरेको हुन सक्ने अनुमानलाई थप बल पुगेको थियो । रिपोर्ट मे १४ मा आएको थियो ।

अफ्रीकी स्वाइन फ्लू जङ्गली बङ्गुर र उनीहरूमा पर्ने एक प्रकारको जुम्राका कारण पनि फैलिन सक्छ । जङ्गली बङ्गुरहरूको माध्यमबाट सङ्क्रमण फैलिएको पनि हुन सक्छ ।

काजीरङ्गाका लागि खतरा

लिदोर सोइतमा देखिएको सङक्रमणका कारण विश्व प्रसिद्ध एक सिङ्गे गैँडा पाइने काजिरङ्गा राष्ट्रिय निकुञ्जका जङ्गली बङ्गुरहरु खतरामा परेका छन् । ब्रह्मपुत्र निकुञ्ज भएर बग्छ । निकुञ्जको अगोरातिली क्षेत्र वर परका अधिकांश परिवारहरूले सुँगुर पालेका छन् र जङ्गली बङ्गुरहरू यहाँ आवत जावत गर्छन् । बङ्गुरहरूलाई सुँगुरहरूबाट अलग राख्न निकुञ्जका अधिकारीहरूले निकुञ्ज वरपर २ किमी लामो र २ मी गहिरो सुरुङ खनेका छन् ।

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.