icon/64x64/nature जैविक विविधता

तिब्बतीहरूले जैविक विविधताको जगेर्ना गरेका थिए, उनीहरूमाथि प्रतिबन्ध लगाइए वनको स्तर खस्कनेछ

ऐतिहासिक रुपमा नै तिब्बतीहरूले स्थानीय जङ्गलमा मिश्रित प्रजातिका रुख हुर्काएर र आफ्ना घाँसे मैदानहरूलाई खुला राखेर स्थानीय जैविक विविधताको जगेर्ना गर्ने गरेको प्रमाण पश्चिमी चीनको सिचुआन प्रान्तमा पाइएको छ ।
Shuzheng village, Jiuzhaigou, on the edge of the Tibetan Plateau in China's Sichuan province (Image: Alamy)
Shuzheng village, Jiuzhaigou, on the edge of the Tibetan Plateau in China's Sichuan province (Image: Alamy)

चिउचाइगो राष्ट्रिय प्रकृति आरक्ष चीनको सबैभन्दा लोकप्रिय पर्यटकीय आकर्षणमध्यको एक हो । तिब्बती पठारको किनारामा पर्ने र थोरै मानिस बसोवास गर्ने पश्चिमोत्तर चीनको सिचुआन प्रान्तका पर्वतहरूले हरेक वर्ष ५० लाख आगन्तुकहरूलाई स्वागत गर्ने गरेका छन् । अहिले आरक्ष भएको ठाउँमा हजारौं वर्षदेखि कृषक र गोठालाहरू बस्दै आएका थिए । तर यहाँको जैविक विविधता  संरक्षण गर्नका लागि आरक्षले यहाँ खेती गर्न, गाई वस्तु चराउन र काठ काट्न प्रतिबन्ध लगाएको छ ।

के यो संरक्षण गर्ने सहि तरिका हो त ? भूगर्भ विद्, पारस्थितिक प्रणाली विज्ञ, पुरातत्व विद् र सामाजिक मानवशास्त्रीहरूको एक समूहले हालै गरेको एक अध्ययनले त्यो तरिका सहि नहुनपनि सक्ने सुझाव दिएको छ । लामो समयसम्म एकै ठाउँमा रहेको मानव वस्तीले यस क्षेत्रको जैविक विविधता प्रवर्द्धन गरेको थियो र उनीहरूको निर्वाहका लागि गरिने गतिविधिमा रोक लगाउँदा त्यसको असर जैविक विविधतामा परेको छ, अध्ययनको निष्कर्ष छ ।

चिउचाइगोमा तपाईँ दुई तर्फी टिकटका लागि ३१० युआन (४४ डलर) खर्चेर प्राकृतिक ग्याँसबाट चल्ने ‘हरित’ बसहरू चढ्न सक्नुहुन्छ अथवा सफा र चिटिक्क पारिएका बोर्डवाकहरूबाट पर्वतहरू, सङ्लो ताल र हरिया सिमसार र सयौँ मिटर चौडा झरनाहरू अवलोकन गर्न सक्नुहुन्छ । यी सबै वस्तुहरूले शिशिर ऋतुको आगमनसँगै आकर्षक रङ् धारण गर्दछन्; सक्ने त बरफ जम्ने जाडोमा पनि आउँछन् । उपत्यकामा रहेका स-साना शहरहरूमा रोकिएर केही समय अघिसम्म कृषक र गोठाला रेहेका मानिसहरुले सञ्चालन गरेका  पसलहरूबाट तपाईँले स्थानीय कोसेली र सरसामान किन्न सक्नुहुन्छ । बेलुकीपख आरक्ष बाहिर रहेका  रेस्टुरेण्टहरूमा तपाईँ सिचुआन स्टाइल अथवा सुधारिएको तिब्बती स्टाइलको परिकार खान सक्नुहुन्छ र सरकारी कामकाजको चिनियाँ भाषामा प्रस्तुत गरिने तिब्बती सांस्कृतिक झाँकीको अवलोकन गर्न सक्नुहुन्छ ।

चीनका अरू भूभागमा रहेका भिडभाड हुने शहरहरू र अत्यधिक रुपमा मलखाद र मेसिनको प्रयोग गरिने खेतहरूबाट पर रहेकाले चिउचाइगोको प्राकृतिक भूपरिधिको बेग्लै आकर्षण छ । तर आरक्षलाई यस्तो स्थितिमा राखिराख्न स्थानीय अधिकारीहरूले यस क्षेत्रको नामकरण चिउचाइगो (नौ गाँउको उपत्यका) गरेका र यहाँ वर्षौँदेखि बस्दै आएका करिब १,००० अम्दो तिब्बतीहरूलाई आफ्नो निर्वाहमुखी कार्य गर्नमा रोक लगाएका छन् । सन् १९९९ देखि यहाँका स्थानीयले बाँच्नका लागि खाने गरेका जौ, फापर, गेडागुडी र मकै खेतमा लगाउन पाएका छैनन् । सन् २००१ देखि उनीहरूले गाईवस्तुलाई उच्च भूभागमा रहेका घाँसे मैदान वा वस्ती नजिकै वनको भूपरिधिमा पर्ने बाँझो खेतमा चराउन पाएका छैनन् । उनीहरूले घर न्यानो पार्न र खाना पकाउन चाहिने काठ सङ्कलन गर्न र घर बनाउन रुख काट्न समेत पाएका छैनन् ।

अधिकारीहरूले यो भूपरिधिमा जैविक विविधता बचाउने हेतुले यहाँको मानव गतिविधि बन्द गरेको जिकिर गर्छन् । यसो गर्नु सहि पनि लाग्छ । सिचुआनका थुप्रै संस्थाहरूसित आबद्ध भूगर्भ वैज्ञानिकहरूले चिउचाइगोमा गरेका एउटा अध्ययनमा सो क्षेत्रमा १,९५० प्रजातिका बिरुवा र कम्तीमा ५० प्रजातिका दुर्लभ र लोपोन्मख जनावरहरू फेला परेका थिए । यस्तो जैविक विविधता भएको ठाउँलाई त क्षेत्रीय र राष्ट्रिय गौरव घोषणा गरिनु पर्ने हो ।

मानिसहरूले स्थानीय प्रकृतिमा पारेको प्रभाव हेरेर यहाँका अधिकारीहरूले उनीहरू करिब ३०० वर्ष अघि देखि मात्रै यहाँ बस्न थालेका हुन् भन्ने धारणा बनाएका छन् । उनीहरूले अब त्यो बेला देखिएका सबै मानिसहरूको वनमाथीको प्रभाव निमिट्यान्न पार्न चाहन्छन् । सन् १९६० र ७० को दशकमा औद्योगिक स्तरमा रुखको कटान र अन्य स्रोतहरूको दोहनले गर्दा पर्वतीय भूपरिधिमा परिवर्तनहरू आएका छन् । यस्तो समस्याको पारिस्थितिक प्रणालीगत, शास्त्रीय र सौन्दर्यको हिसाबले आधिकारिक समाधान थियोः सबै खालको उत्खनन र निर्वाहमुखी कृषि र चरन बन्द गर्ने र घाँसे मैदानहरूमा वन पुनः स्थापना गर्ने । यसो गर्नाले यहाँको जैविक विविधता अर्को पुस्ताका लागि सुरक्षित राख्ने सकिने अधिकारीहरूलाई लागेको थियो ।

 

 

मानिसहरूले जैविक विविधता बढाउन सक्छन्

हाम्रो हालैको अध्ययनले यो दृष्टिकोणमाथि प्रश्न खडा गर्दछ । पहिलो कुरो त के हो भने यो स्थानमा मानिसहरू पहिले सोचिए भन्दा निकै अघि (कम्तीमा ३,५०० वर्ष अघि) देखि बस्दै आएका थिए । तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा के हो भने उनीहरूको परम्परागत भूउपयोग गर्ने तरिकाका कारण पत्झर रुखहरू, सदाबहार वनहरू, विभिन्न उचाइमा घाँसे मैदानहरू, खेत र सिमसार क्षेत्रहरू फस्टाए र यसैका कारण सायद जैविक विविधता बढेर गयो । यस्तो क्षेत्रलाई पुनः प्राकृतिक स्वरुपमा फिर्ता गर्नुले यहाँको जैविक विविधता बढाउने भन्दा घटाउने सम्भावना देखिन्छ ।

तिब्बती पठारमा गरिएको पुरातात्त्विक अनुसन्धानले के देखाएको छ भने खानाको खोजीमा निस्किएका मानिसहरूले यहाँका बुट्यानको उपयोग ३०,०००-४०,००० वर्ष अघि देखि गरेका थिए । पठारको पूर्वी किनारमा पाइएका जमिनमुनि फल्ने विरुवाहरू, बदाम, फलफूल र जङ्गली सागपात जस्ता स्रोतहरू पाइन्छन् जसलाई आदिम मानिसहरूले सङ्कलन गरेका हुन सक्छन् । यहाँ पाइने धेरै जसो विरुवाहरू मान्छेले खलबलाएका र आगो लगाएका ठाउँहरुमा पाइने जस्ता छन् । पुरातत्व विद्हरूले चिउचाइगुमा आदिम युगमा मानिसहरू खाना खोज्न हिँड्थे भन्ने विषयलाई सूक्ष्म रुपमा केलाएका त छैनन् तर प्राकृतिक स्रोतमा यति धनी स्थान उनीहरूको नजरमा परेन भन्न सकिन्नँ ।

हामीले चिउचाइगुको वस्ती कति पुरानो हो भनेर भर्खरै बुझ्न थाल्दैछौ । सन २००५ मा पुरातत्व विद्हरूले खालि गरिएका गाउँहरूमा कार्बनका अवशेष फेला पारेका थिए । पहिलो नमुना करिब ८०० वर्ष पुरानो भएको र दोस्रो २,००० वर्ष पुरानो भएको पाइएको थियो । यसले मानिसहरू हान वंशको शासनका बखत नै यहाँ बस्ने गरेको देखिन्छ । सन् २००८ मा सिचुआन विश्वविद्यालयका पुरातत्व विद्हरूले सन् १९९० सम्म खेती गर्ने गरिएको स्थानमा हान वंशको पालाको घर उत्खनन गरेका थिए । यही घरमा भेटिएका जौ र गहुँका अवशेषको रेडियो कार्बन डेटिङ गर्दा यहाँ ३,४०० वर्ष अघि नै खेती गरिन्थ्यो भन्ने पत्ता लागेको थियो । उत्खननका क्रममा अन्वेषकहरूले करिब ६,००० वर्ष अघि फैलिएका कोदो खेती गर्ने मजिआयो जातिले बनाउने हाँडीसित मिल्दोजुल्दो रङ पोतिएको हाँडीको टुक्रा फेला पारेका थिए । नजिकै एउटा कलश भेटिएपछि मजिआयोका मानिस यहाँ बसोवास गरेका थिए भन्ने सिद्ध भयो ।

सन् २०१९ मा सुरु गरिएको उत्खननको प्रारम्भिक नतिजाहरूले पनि नव पाषाण युग र ताम्र युगको सुरुवातमा यहाँ मानिसहरू बस्ने गरेको पुष्टि गरेको देखिन्छ । हालै उत्खनन गरिएको हान वंशको घरमा पाषाण युग र ताम्र युगका भाँडा भेटिएका छन् । जैविक अवशेषहरूको भने कार्बन डेटिङ हुन बाँकी नै छ ।

हामीलाई के थाहा छ भने चिउचाइगोमा मानिसहरू हजारौं वर्षदेखि बसोवास गर्दै आएका छन् । हामीलाई के पनि थाहा छ भने आरक्षमा मनमा छाप पार्ने जैविक विविधता छ ।  पारिस्थितिक प्राणालिको अध्ययनमा प्रयोग हुने ‘इन्टरमिडिएट डिस्टर्ब्यान्स’ हाइपोथेसिस (अनुमान)का मद्दतले यी दुई तथ्यलाई जोड्न सकिन्छ । एक छिनलाई मानौँ मानिसहरूले भूपरिधिलाई एउटा मात्रै बाली लगाउने खेत वा शहरमा रुपान्तरण गर्छन् । त्यसो भए त जैविक विविधतामा ह्रास आउँछ । अर्को चरम अवस्थामा भने मानौँ मानिसले आफ्नो भूपरिधिलाई कुनै पनि रुपमा खलबल्याउँदैन र यस कारण जैविक विविधता युक्त क्षेत्रहरू एकनासको हुन्छन् र बाहुल्यता भएको प्रजातिको सङ्ख्या ह्वात्तै बढेर अरू प्रजातिको सङ्ख्यामा कमी आउँछ । तर चिउचाइगोका मानिसहरूले जस्तो खेती, गाईवस्तु चरण, काठ कटान र आगोको सहि उपयोग जस्ता मध्यम स्तरका खलल पुर्याउने गतिविधि गरिएमा यसले जैविक विविधता अभिवृद्धि गर्न सक्दछ ।

रिमोट सेन्सिनङ, परिमाणात्मक रुपमा गरिएको पारिस्थितिक प्रणालीको अध्ययन र नृजातिवर्णनमा आधारित अन्तवार्ताहरूबाट प्राप्त प्रमाणपत्रहरूले यो अनुमानलाई सहयोग गर्दछन् । पहिलो, आरक्षमा व्यवस्थापनले कृषि, गाईवस्तु पालन र काठ कटान रोकेपछि यहाँ को विविधतामा ह्रास आएको छ । त्यसको असर  सन् २००५ देखि २०१५ को समयमा घाँसे मैदानमा देखिएको छ । गाउँलेहरूले परम्परागत रुपमा चक्रिय रुपमा खेती गर्ने र गाईवस्तु चराउने गरेका यी घाँसे मैदानको क्षेत्रफलमा ह्रास आएको छ । त्यस्तै सदाबहार पात नलाग्ने र आगो बाल्नका लागि उपयुक्त पत्झर रुखहरू र निर्माणमा प्रयोगमा आउने कोणधारी रुखहरू पाइने स्थानहरूमा कोणधारी रुखहरूको बाहुल्यता दखिन्छ ।

दोस्रो, आरक्षका धेरै जसो जनावर तथा विरुवाहरू यस्ता घाँसे मैदान (जङ्गल होइन) मा बस्छन् र उनीहरूको वासस्थान नास भएमा उनीहरूको अस्तित्वमाथि नै खतरा पैदा हुन्छ ।

तेस्रो र सबैभन्दा महत्वपूर्ण कुरा के हो भने गाउँलेहरू आफूले निर्वाहमुखि गतिविधि रोक्नु अघि आफ्नो जिवनचर्या कस्तो थियो भन्ने अझै सम्झन्छन् । उनीहरूले जानेरै आफ्नो वनमा मिश्रित प्रजातिका रुखहरू रोप्थे, घाँसे मैदान खुला राख्थे । उनीहरूले घाँसे मैदान गाईवस्तु चराउनका लागि मात्र नभएर, जडिबुटी उत्पादन गर्न, सिकार गरि जनावरहरू मार्न र “राम्रोसित उपयोग” भइरहेको भूपरिधि हेर्दा मिल्ने सुख पाउनका लागि खुला राख्थे । अहिले उिनहरु यस्तो मैदानको मृत्युको शोक मनाउँदैछन् ।

छिट्टै नै विलय हुन लागेको चिउचाइगोको विविधता युक्त भूपरिधिसँग उनीहरूको लगाव भए पनि, कोही पनि स्थानीय मानिस आफ्नो अघिल्लो जीविकोपार्जन विधितिर फर्केला भन्नेमा शङ्कै छ । पर्यटनबाट हुने आम्दानी र साना व्यवसाय सञ्चालन गर्ने अवसर पाएका यहाँका मानिसहरू धनी छन् । उनीहरूसित ठूला नव परम्परागत घर र गाडी छन् र उनीहरुका बालबच्चा चेङ्दुसम्मका धनी मानिसका छोराछोरी पढ्ने स्कूलमा पढ्छन् । खेती गर्दा लाग्ने परिश्रमको कसैलाई नियाँस्रो लाग्दैन तर धेरै मानिसहरू यी भूपरिधिका संस्कृतिहरूबारे सम्झेर भावुक हुन्छन् । उनीहरूलाई आफ्ना जनावर (कसै कसैले अझै पनि उच्च भूभागमा रहेका घाँसे मैदानमा चौंरी गाई र भेँडा पाल्छन्)  छाड्नु परेकोमा र आफ्नो परम्परागत खाना पकाउने चुल्हो बाल्न परबाट ऊन किनेर ल्याउनु परेकोमा पछुतो लाग्ने गर्छ ।

हामीले साना तर विविधता भएका पारिस्थितिक प्रणालीहरूबाट के सिक्न सक्छौ ? पहिलो, माओको पालोमा र चीनमा सुधारका सुरुका दिनहरूमा चीन राज्यले स्रोत उत्खननका लागि थुप्रै परम्परागत भूपरिधिहरूको दोहन गरेको थियो । तर अहिले राज्यको नीति पुरै विपरीत दिशामा घुमेको छ हरेक मानव गतिविधिलाई यसले ‘प्रकृति विरोधी ठान्छ । दोस्रो, मानिस र अरू प्रजातिका जीवहरूसँगै प्रयोग गर्ने पारिस्थितिक प्रणालीहरू स्थिर हुँदैनन् । प्रजातिहरूको गणना र दस्तावेजिकरण गर्नु बाहेक व्यवस्थापकहरूले यी प्रजातिहरूलाई पारिस्थितिक प्रणालीहरूको विभिन्न समय र स्थानमा जोडिने अङ्गको रुपमा हर्न जरुरी छ र प्रजातिहरूको विविधतालाई प्रभाव पार्ने प्रक्रियाहरू सिर्जना गर्ने प्रक्रियाहरूका बारे बुझ्नु पनि जरुरी छ ।

अन्त्यमा, विज्ञान एक किसिमको मात्रै हुँदैन । कहिलेकाहीँ परम्परागत ज्ञानले पनि सहि दिशा देखाउन सक्छ र धेरै अवसरहरूमा त अङ्कको लेखा जोखा गर्ने विज्ञानको परिपूरकको भूमिका निर्वाह गर्न सक्छ । कम्तीमा पनि ६,०० वर्षसम्म सफल र दिगो जीविकोपार्जनको सहायताले जीवित मानिसहरूलाई आफ्नो घरको बारेमा त पक्कै थाहा होला ।

जेड डेल प्वाइम गेड क्यलिफोर्निया विश्वविद्यालयकी पुरातत्व विद् तथा एथ्नोबायोलोजिस्ट हुन् । उनको अध्ययन जलवायु र पर्यावरणीय परिवर्तनमा मानव समानुकूलनमा केन्द्रित छ ।

स्टेभान हारेल ले हालै मात्र वासिङ्टन विश्वविद्यालयबाट अवकाश पाएको हुन् । जाति र शिक्षामा रूचि भएका उनी ग्रामीण चीनका एथ्नोग्राफर हुन् ।

काएला हागमान वासिङ्टन विश्वविद्यालयसित आबद्ध पारिस्थितिक प्रणाली अध्येता हुन् । उनी इतिहासको सहयोगमा आगोको जोखिममा रहेका पारिस्थितिक प्रणालीहरूको व्यवस्थापन बारेमा अध्ययन गर्छिन् ।

अमान्डा स्मिट ओबर्लिन कलेजकी भूगर्भ हुन् र उनको उनको रुचि मानव-भूपरिधि अन्तरक्रिया र संसारभरको भूक्षय नियन्त्रणमा छ ।

थमस हिङक्ली ले हालै वासिङ्टन विश्वविद्यालयबाट अवकाश पाए । पारिस्थिक प्रणालीका अध्येताका रुपमा उनी मानव जाति र पर्यावरणका बारेमा अध्ययन गर्छन् ।

यो आलेख चाइना डाइलग डट नेट बाट साभार गरिएको हो ।

 

 

 

 

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.