icon/64x64/nature जैविक विविधता

छाडा कुकुरहरूका कारण हिमालय क्षेत्रको जैविक विविधिता सङ्कटमा

छाडा कुकुरहरूको बढ्दो सङ्ख्याले आर्थिक कठिनाइ निम्त्याउँछ, रोग फैलाउँछ र संरक्षण प्रयासलाई खतरामा पार्छ । तर गैरसरकारी संस्था र केही राज्य सरकारहरूले यसमा कदम चालिरहेका छन् ।
हिमालय जीवन र संस्कृतिका अङ्ग हुन्, कुकुरहरू । ङारवाल, अन्नपूर्ण संरक्षण क्षेत्रस्थित कर्मा साम्तेन लिङ गुम्बाअगाडि सुस्ताउँदै गरेकाे एउटा कुकुर । (फोटो ः डेब्बी इङ)
हिमालय जीवन र संस्कृतिका अङ्ग हुन्, कुकुरहरू । ङारवाल, अन्नपूर्ण संरक्षण क्षेत्रस्थित कर्मा साम्तेन लिङ गुम्बाअगाडि सुस्ताउँदै गरेकाे एउटा कुकुर । (फोटो ः डेब्बी इङ)

जहाँजहाँ मानिस हुन्छन्, त्यहाँ कुकुर पुग्छन् । यसबारे पर्यावरणविद् चन्द्रिमा होमलाई अरूलाई भन्दा बढी थाहा छ ।

सन् २०१३ मा होमले आफ्नो पिएचडीका लागि भारतको उत्तरी राज्य हिमाञ्चल प्रदेशको स्पिटी उपत्यकाका छाडा छाडिएका घरेलु कुकुरहरूबारे अध्ययन गरेकी थिइन् । उनले जनवारहरूको प्रभाव बुझ्न हिमालय भेगमा व्यापक यात्रा गरेकी थिइन् ।

चार हजार वर्गकिलोमिटरमा फैलिएका २५ गाउँमा करिब १००० कुकुर भएको मैले आकलन गरेकी थिएँ,’ होमले भनिन् । भारतमा कुकुरहरूको सङ्ख्या छ करोड रहेको अनुमान गरिन्छ । तीमध्ये साढे तीन करोड कुकुर छाडा वा स्वतन्त्र छोडिएका छन् । हिमाली भेगमा कुकुरको सङ्ख्या कम होला । तर त्यहाँ तिनीहरूको अझ सशक्त प्रभाव छ ।

जनवरी २०२१ मा हिमाञ्चल प्रदेश सरकारले छाडा कुकुरको घनत्वलाई राज्यको पारिस्थितिकीय प्रणाली (इकोसिस्टम)का लागि ‘आसन्न सङ्कट’ भनेर व्याख्या गरेको थियो । यो सरकारद्वारा सञ्चालित सरंक्षण परियोजना सेक्युर हिमालय, वन विभाग र भारतीय प्राणी सर्वेक्षणले गरेको सर्वेक्षणको नजितास्वरूप आएको थियो । उक्त सर्वेक्षणले लाहौल र पाङ्गीको दुर्गम उच्च उचाइँ क्षेत्रमा प्रत्येक १०० वर्गकिमिमा औसत तीन छाडा कुकुर छन् भन्ने देखाएको थियो ।

स्थानीय (न्याटिभ) वन्यजन्तुलाई खतरा

प्रत्यक्ष सिकार, अन्य मांसाहारी जनावरसँग प्रतिस्पर्धा र सम्भावित रोग प्रसारणमार्फत कुकरहरूले स्थानीय वन्यजन्तुलाई खतरामा पार्छन्,’ भारतीय गैरसरकारी संस्था प्रकृति संरक्षण प्रतिष्ठान (एनसिएफ)का वैज्ञानिक कुलभूषण सूर्यवंशीले भने । उदाहरणका लागि, आफ्नो सिकार खान नदिइकन हिमचितुवाहरूलाई कुकुरहरूले टाढा लखेटेको अभिलिखित गरिएको छ ।

झारल, रातो पान्डा, कस्तूरी मृग, रातो फ्याउरो, नेवला, मार्टेन, पिका र गिलहरी जस्ता वन्यजन्तुलाई कुकुरहरूले खाने गर्छन् । ती जङ्गली जनावर र लोपान्मुख प्रजातिमाथि कुकुरहरूको प्रत्यक्ष प्रभाव आकलन गर्न कठिन भए पनि स्थानीय भारतीय प्रजातिमाथि हुने कुकुरहरूको सामूहिक आक्रमणहरूमध्ये ४८ प्रतिशत संरक्षित क्षेत्र वा त्यसको वरपर हुने गरेको होमको अनुसन्धानले देखाएको छ । यसरी आक्रमणमा पर्ने करिब आधा जनावरहरू त्यही आक्रमणका कारण मर्छन् । थुप्रै प्रजातिहरू सङ्कटग्रस्त रूपमा लोपोन्मुख भइसकेकाले कुकुरहरूसँगको द्वन्द्वले तिनको सङ्ख्या बढाउने प्रयासलाई गम्भीर रूपमा असर गर्न सक्छ ।

A yellow-throated marten is a small wild carnivore that is native to the Himalaya. Villagers had attempted to rescue this one form a pack of six dogs, but the marten died from its injuries soon after the dogs were chased away [image by: Bikram Gurung]

हिमाली क्षेत्रमा पाइने पहेंलो घाँटी भएको सानो वन्य मांसाहारी हो, म्यार्टेन । गाउँहरूले यसलाई छ ओटा कुकुरको समूहबाट बचाउने प्रयास गरेका थिए । तर कुकुरलाई लखेटिसकेपछि आफ्नो घाउँबाट तुरुन्तै यसको मृत्यु भएको थियो । (फोटो ः विक्रम गुरुङ)
जङ्गली कुकुरहरूको समूह हिंसात्मक हुन सक्छ र ठूला जनावरलाई समेत आक्रमण गर्न सक्छ । उनीहरू एक्लै घुम्ने, हिँड्ने साना पशुधन र जङ्गली जनावरमाथि हाबी हुन्छन्
थिन्ले एन भुटिया, सिक्किम एन्टी रेबिज एन्ड एनिमल हेल्थ (एसएआरएएच) कार्यक्रम

जङ्गली कुकुरहरूको समूह हिंसात्मक हुन सक्छ र ठूला जनावरलाई समेत आक्रमण गर्न सक्छ । उनीहरू एक्लै घुम्ने, हिँड्ने साना पशुधन र जङ्गली जनावरमाथि हाबी हुन्छन्,’ भारतको पहिलो राज्यव्यापी रेबिजविरोधी सरकारी कार्यक्रम सिक्किम एन्टी रेबिज एन्ड एनिमल हेल्थ (एसएआरएएच) का कार्यक्रम संयोजक र संयुक्त निर्देशक थिन्ले एन भुटियाले भने । 

पशुधनको नोक्सानले संस्कृतिमा परिवर्तन ल्याउँछ

हिमाली भेगका कुनै भूभागमा जङ्गली जनावरहरूको तुलनामा कुकुरहरूले धेरै पशुधन क्षति गर्छन् भन्ने अनुसन्धानले सङ्केत गर्छ । 

सन् २०१३ अप्रिलदेखि जुनसम्म स्पिटी उपत्यकाका २९ गाउँमा भएका कुकुर आक्रमणहरूलाई एउटा अध्ययनले विश्लेषण गरेको थियो । गोठाला र पशुपालकहरूसँग गरिएका अन्तर्वार्ताहरूका आधारमा गरिएको त्यस अध्ययनले करिब ६३.५ प्रतिशत पशुधन नोक्सानी विशेषगरी भेडा र बाख्राहरूमा भएको कुकुर आक्रमणबाट भएको देखाएको थियो । हिमचितुवा र ब्वाँसोहरूबाट २८.५ प्रतिशत र आठ प्रतिशत क्षति भएको थियो । सन् २०१३ मा आक्रमण र रोगका कारण भएको ४६,६६२ अमेरिकी डलर बराबरको पशुधन क्षतिमध्ये कुकुर आक्रमणबाट भएको क्षति १७,५२२ अमेरिकी डलर (४० प्रतिशत) थियो ।

It is people that bring dogs into the mountains [image by: Debby Ng]

 
माथिलो पिसाङ गाउँ, अन्नपूर्ण संरक्षण क्षेत्रस्थित एउटा घरको छानाबाट कुकुरलाई तल झार्न फुस्लाउँदै हिमालयन मट प्रोजेक्टका अनुसन्धान सहायक अजय नरसिंह राना । रोगको परीक्षण गर्न कुकुरबाट रगतको नमुना सङ्कलन गरिएको थियो । र पशु चिकित्सकहरूले त्यसको बन्ध्याकरण गरेका थिए ।  (फोटो ः डेब्बी इङ)

गएको एक दशकमा घरेलु कुकुरहरूको आक्रमणले पशुधन संरचनामा परिवर्तन ल्याएको कुरा होमले द थर्ड पोललाई भनिन् । यो र अन्य सामाजिक–आर्थिक कारण थुप्रै गाउँलेहरूले साना पशुधनलाई घटाएका छन् ।

रोगका संवाहकहरू

कुकुहरूले प्रायः रोगी बनाउन सक्ने भाइरस, जीवाणु र परिजीवीहरू बोक्ने गर्छन् । र वन्यजन्तु अनि पशुधनलाई  अप्रत्यक्ष रूपमा असर पार्छन् । जङ्गली कुकुरहरू लामो यात्रा गरेर दुर्गम ठाउँहरूमा समेत पुग्न सक्छन् । तिनले ब्वाँसो, हिमचितुवा र अन्य जङ्गली मांसाहारी जनावरलाई सङ्क्रमित गर्ने सम्भावना हुन्छ ।

सन् २०१२ मा सिक्किममा ‘क्यानाइन डिस्टेम्पर’ भन्ने कुकुरमा लाग्ने घातक भाइरल रोगको प्रकोपका कारण हजारौं कुकुर मरेका थिए । सन् २०१४ मा अनुसन्धाताहरूले त्यही भाइरसले उत्तर प्रदेश र पश्चिम बङ्गालमा बाघ र रातो पान्डालाई मारिरहेको छ भन्ने पत्ता लगाए ।

रेबिजका कारण मर्ने मानिसको मृत्यु मुख्यतः कुकुरको टोकाइबाटै हुन्छ । विश्वप्यापी रूपमा यसरी मर्नेमध्ये ३६ प्रतिशत हिस्सा भारतको छ । त्यहाँ प्रत्येक वर्ष २०,००० मानिस रेबिजबाट मर्छन् । स्वास्थ्य सेवामा पहुँच चुनौतीपूर्ण हुन सक्ने दुर्गम हिमालय क्षेत्रमा कुकुरमार्फत हुने रेबिज निराकरण गर्नु महत्वपूर्ण हुन्छ । 

अनुगमन र जनसङ्ख्या नियन्त्रण

हिमालय क्षेत्र जताततै कुकुरहरू छन्  । ५०००–७००० मिटरको उचाइमा हिमचितुवालाई रेकर्ड गर्न राखिएका क्यामेरामा कुकुर देखिएका छन् । तर हामीलाई थाहा छैन, ती कति धेरै छन्,’ वन्यजन्तु रोग पारिस्थितिकीविद् एवम् नेपालमा कुकुरहरूलाई निःशुल्क खोप लगाइदिने र बन्ध्याकरण गर्ने संस्था हिमालयन मट प्रोजेक्ट (एचएमपी)की डेब्बी इङले भनिन् ।

एनसिएफका सूर्यवंशीका अनुसार समस्या प्रायः सानैबाट सुरु हुन्छ । आफ्ना पशुहरूका बथानलाई सुरक्षा दिन कुकुर पाल्ने पशुपालकले आफ्ना पाल्तु जनावरलाई स्थानान्तरणका बेला छाडिदिन सक्छन् । यद्यपि सूर्यवंशी भन्छन्, ‘यसरी छाडा छोडिएका कुकुरहरू कचरामा फालिएका र पर्यटक एवं सैनिक शिविरहरूले छाडेका फुड वेस्टमा रमाउँछन् ।’

कुकुरहरू छिटो प्रजनन गर्छन् । तिनीहरूले वर्षमा तीन पटकसम्म बच्चा पाउन सक्छन् । र प्रत्येक पटक सात ओटा बच्चासम्म पाउन सक्छन् । ती आफैं पनि छिटोछिटो प्रजनन गर्छन् ।  

‘एक पटक घनत्व उच्च भएपछि कुकुरहरूको सङ्ख्या नियन्त्रण गर्न साह्रै गाह्रो हुन्छ,’ सूर्यवंशीले भने । यस क्षेत्रका कुकुर प्रायः तिब्बती म्यास्टिफ र स्थानीय नस्लका मिश्रण हुन्छन् । त्यसैले तिनीहरू समतल ठाउँका कुकुरभन्दा ठूला र बलिया हुन्छन्, जसले गर्दा उनीहरूलाई समात्न अलि कठिन हुन्छ ।    

यो समस्या हिमाचल प्रदेशलगायत जम्मु–काश्मीर, लद्दाख, उत्तराखण्ड र सिक्किमका केही भागमा भएको जनाइएको छ । नेपाल, तिब्बत र भुटानमा पनि यो गम्भीर समस्याका रूपमा रहँदै आएको छ  ।

मानवीय समस्याको मानवीय समाधान

सन् २०१४ कुकुरहरूको एउटा समूहको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि लद्दाखी अधिकृतहरूले २० कुकुरलाई मार्ने आदेश दिएका थिए (पशुअधिकारकर्मीको विरोधपछि यो निलम्बन गरिएको  थियो) ।

यस मुद्धाको समाधानका लागि क्रूर उपायहरूभन्दा बहुल, प्रणालीगत दृष्टिकोण आवश्यक छ भनेर विज्ञहरू जोड दिन्छन् ।     

पछिल्ला वर्षहरूमा कुकुर टोकाइका घटना कम हुँदै आएको एसएआरएएचका भुटियाले द थर्ड पोलसँग बताए ।    

कुकुरको स्वास्थ्य सुधार गरेर तपाईं मानवीय स्वास्थ्य पनि सुधार्न सक्नुहुन्छ,’ एसएआरएएचका स्वयम्सेवक र भेट्स बियोन्ड बोर्डर्सका पशु चिकित्सक हेलेन बर्नले भनिन् ।

नेपालमा समुदाय र कुकुरहरूबीचको द्वन्द्व घटाउन र कुकुरहरूको चयनात्मक वध रोक्न सन् २०१४ मा इङले एचएमपीको सहस्थपना गरेकी थिइन् । ‘(रेबिजलाई रोक्न र कुकुरहरूको सङ्ख्या स्थिर राख्न) विश्व स्वास्थ्य सङ्गठनले व्यवस्थित पशुजन्म नियन्त्रण र खोप अभियान सिफारिस गर्दछ,’ इङले औंल्याइन् ।

Dog being sterilised

बन्ध्याकरणका लागि कुकुरलाई तयार पार्दै गरेकी गिम गियोक इङलाई पिसाङ गाउँ, अन्नपूर्ण संरक्षण क्षेत्रका बच्चाहरूले झ्यालबाट हेर्दै छन् । (फोटो ः डेब्बी इङ)

नेपालको सबैभन्दा ठूलो संरक्षित क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रका गाउँहरूमा एचएमपीले काम गर्छ । यसले ६२१ कुकुरलाई बन्ध्याकरण गरेको छ, ८०० भन्दा बढीलाई खोप लगाएको छ ।

एसएआरएएच र एचएमपीको समान दृष्टिकोण छ । प्रशिक्षित प्रहस्तकहरूले समुदायको सहयोगमा कुकुरहरू पत्ता लगाउँछन्; अनुभवी पशु चिकित्सहरूले तिनीहरूलाई खोप लगाउँछन्, बन्ध्याकरण गरिदिन्छन् । र अपरेसनपछिको रेखदेखपश्चात् तिनीहरूलाई छाडिदिन्छन् वा तिनीहरूका मालिककहाँ फिर्ता पठाइदिन्छन् ।

बन्ध्याकरण गरिएका कुकुर बढी बलिया, सक्रिय र कम आक्रामक हुन्छन्,’ बर्नले भनिन् ।

सन् २००५ देखि भेट्स बियोन्ड बोर्डर्सका स्वयम्सेवक र फोन्डेसन ब्रिगिट बार्डोटसँगै एसएआरएएचले ३२०,००० कुकुरलाई खोप लगाएको छ; ७८,००० लाई बन्ध्याकरण गरेको छ । यसो गर्न स्थानीय जनतादेखि राज्यको पशुपालन वा पशु स्वास्थ्य विभागसम्मका विभिन्न तहमा सञ्चार तथा सहकार्य हुनुपर्छ ।

अनियन्त्रित कुकुर जनसङ्ख्या (रेबिज, पशुधनको क्षति, वन्यजन्तुलाई खतरा)बाट हुने आर्थिक घाटा ‘ट्रयाक–न्युटर–रिलज’ कार्यक्रम चलाउन लाग्ने लागतभन्दा धेरै बढी हुन्छ भनेर भुटियाले अथ्र्याए ।

नोक्सान अनुमान गरिसकेपछि कुनै पनि सरकारलाई व्यवस्थित राज्य स्तरको कार्यक्रम सुरु गर्न मनाउन सजिलो हुन्छ,’ उनले भने, ‘पाल्तु जनावरको स्वामित्वसम्बन्धी बलियो कानुन र तिनलाई उल्लङ्घन गरेबापत दण्ड तिर्नुपर्ने भएकाले सिक्किमले यो समस्यालाई सुदृढ तरिकाले सम्बोधन गर्न सकेको छ ।’  

तर रेबिजमुक्त राज्यको सुनिश्चितता गर्न र कुकुरको सङ्ख्यालाई नियन्त्रण गर्न थुप्रै बाधा छन् । सिक्किमको चीन, भुटान र नेपालसँग साझा सिमाना छ । र कुकुरहरू एक देशबाट अर्को देशमा सजिलै जान सक्छन् । नागरिकहरूले अर्को राज्यबाट कुकुरहरू ल्याउँछन् पनि ।

यी एक पटक मात्र सञ्चालन गरिने परियोजना होइनन् । यिनको सञ्चालन हामीले वर्षौंसम्म गर्नुपर्छ,’ भुटियाले भने ।

अर्को महत्वपूर्ण पक्ष भनेको फोहोर व्यवस्थापन हो,’ होमले औंल्याइन् ।

एनसिएफले केही फोहोर राखिने ठाउँमा कुकुरहरू जान नसक्ने बनाएको छ । र यस्तो गरिएको ठाउँका गाउँहरूमा थोरै कुकुर भएको पाएको छ ।

हामीले यसलाई यसलाई कुकुरको समस्या मात्र हो भनेर हेर्नुहुँदैन । यो साँच्चै मानव समस्या हो,’ इङले भनिन् । ‘मानिसले यी ठाउँहरूमा कुकुर ल्याउँछन् । मानव रोजाइले तिनको सङ्ख्या नियन्त्रणमा राख्न पनि सक्छ वा विस्फोट गराउन पनि सक्छ ।’

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.