icon/64x64/nature जैविक विविधता

किन बढिरहेको छ नेपालकाे बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ आक्रमण ?

बाघ र निकुञ्ज वरिपरि बस्ने मानिसबीच बढ्दो द्वन्द्वका मुख्य कारणमध्य एक निकुञ्जमा पानीको अभाव मानिएको छ ।
मार्च २०२० मा बर्दिया राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रको गाउँ हुँदै हिँडेको बङ्गाल टाइगर । (तस्बिर ः भवानी कँडेल)
मार्च २०२० मा बर्दिया राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रको गाउँ हुँदै हिँडेको बङ्गाल टाइगर । (तस्बिर ः भवानी कँडेल)

मार्चको अन्त्यतिर तरकारी खोज्न डल्ली रावत वर्दिया राष्ट्रिय निकुञ्जभित्र पसिन् । ६२ वर्षीय रावत निगुरो टिप्न घोप्टो मात्र के परेकी थिइन्, बाघले उनलाई आक्रमण गरिहाल्यो । उनीसँग भएका तीन जना आफ्नो ज्यान बचाउन भागे । सेनाका अधिकारीहरूसँग जब उनीहरू फर्किए, उनीहरूले रावतको आंशिक खाइएको शरीर मात्र फेला पारे ।

लोपोन्मुख पाटे बाघकाे सङ्ख्या नेपालमा बढ्दो छ । सन् २०१८ मा भएको बाघ गणनाअनुसार नेपालमा २३५ बाघ थिए, जुन सन् २००९ मा गरिएको पहिलो गणना गर्दा पाइएको १२१ बाट ९४ प्रतिशत वृद्धि थियो । सन् २०१८ को गणनाले देशको सबैभन्दा ठूलो बर्दिया राष्ट्रिय निकुञ्जमा करिब ८७ बाघ रहेकाे निष्कर्ष निकालेकाे थियाे, जब कि सन् २००९मा त्यहाँ बाघकाे सङ्ख्या जम्मा १८ थियो ।

सन् २०१० मा शुरु भएको ग्लोबल टाइगर इनिसिएटिभको छलफलमा बाघ पाइने १३ देशले निर्धारण गरेको बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य प्राप्त गर्ने पहिलो देश हुने क्रममा नेपाल छ । सन् २०१९ अघिको दशकमा मानव–बाघ द्वन्द्वसँग सम्बन्धित कुनै पनि मानवीय क्षति नेपालको दक्षिण–पश्चिममा पर्ने बर्दियामा रिपोर्ट गरिएको थिएन, जुन उल्लेख्य ‘संरक्षण सफलता’को कथा मानिएकाे थियाे ।

तर पछिल्लो समयमा त्यो स्थिति परिवर्तन भए झैं देखिन्छ । गत नौ महिनामा निुकञ्ज क्षेत्रभित्रमात्रै १० जना मानिस बाघबाट मारिएका छन् ।

Bhawana Rawat, daughter-in-law of Dalli Rawat, victim of a tiger attack in Bardia National Park, Nepal
मार्च २०२१ मा बर्दिया राष्ट्रिय निकुञ्जमा भएको बाघ आक्रमणमा मरेकी डल्ली रावतकी बुहारी भावना रावत । (तस्बिर ः तुलसी रौनियार)

रावत ठाकुरबाबा नगरपालिकाको मोहनपुर गाउँमा बस्थिन् । उनकी बुहारी भावना रावत अहिले शोक र आर्थिक कठिनाइसँग जुझ्दै छिन् । ‘वैदेशिक रोजगारीमा गएका लोग्ने मलेसियामा अड्किएकाले म असुरक्षित महसुस गर्छु,’ उनी भन्छिन्, ‘हाम्रो जीवन वनमा निर्भर थियो । तर अहिले म त्यहाँ नजिक जान पनि डराउँछु ।’  

मधुवन, गेरुवा र ठाकुरद्वारा नगरपालिकामा बस्ने गाउँलेहरूमा बाघको आवाज र पदचिह्नले डरमात्रै जगाएको छ ।  ‘हामीलाई लाग्छ, हामी निरन्तर खतरामा छौं,’ बेथली गाउँका देव चौधरी भन्छन्, ‘केही वर्षअघि हामी गैंडा र हात्तीसँग डराउँथ्यौं । अहिले बाघसँग ।’

बाघ आक्रमण रोक्न निकुञ्ज बन्द

अझ धेरै आक्रमण नहोस् भनेर निकुञ्ज अधिकारीहरूले स्थानीय बासिन्दाहरूमाथि धेरै प्रतिबन्ध लगाएका छन् । जनवरीदेखि पदयात्री र दुईपाङ्ग्रे साधनलाई निकुञ्जको अमरेनी–चिसापानी खण्डमा पर्ने राजमार्ग प्रयोग गर्न दिइएको छैन । खाता जैविक मार्ग तथा सम्झना सामुदायिक वनलगायत बारम्बार बाघ देखिने निकुञ्ज वरिपरिका सीमावर्ती क्षेत्रका भूभाग पनि बन्द गरिएका छन् ।

मध्यवर्ती क्षेत्र के हो?

संरक्षित क्षेत्र वरिपरिको भूभाग जहाँ मुख्य संरक्षित भूभागमा भन्दा बढी वन्य संसाधनमाथि गाउँलेहरूको अधिकार हुन्छ ।

बाघ आक्रमणबाट मर्ने १० जनामध्ये तीन जना गेरुवा नगरपालिकाको एकै गाउँका हुन् । अहिले त्यस गाउँमा २० किमि लामो तारबार लगाइएको छ । पर्यटक र गाइडहरूको सुरक्षाका लागि राष्ट्रिय निकुञ्जले पैदल सफारी जस्ता पर्यटकीय गतिविधि पनि रोकेको छ । र निकुञ्ज अधिकारीहरूले मानिसलाई घाँस र दाउरा लिन एक्लै जङ्गल जान निषेध गरेको छन् ।

जति धेरै बाघ, उति धेरै आक्रमण ?

बाघ आक्रमणबाट मृत्यु हुनु र मानव बस्तीमा बाघ अधिक देखिनु सँगसँगै भएको छ । यसका पछाडिका कारणहरुबारे संरक्षण विज्ञहरू भन्छन्, ‘धेरै जटिल मुद्दाहरू छन्  ।’

सबै बाघ मान्छे खाने हुँदैनन् । तर जब बाघको सङ्ख्या बढ्छ, आक्रमणको जोखिम पनि बढ्छ । किनकि बूढा र कमजोर बाघहरू नयाँ क्षेत्र र जङ्गली बँदेल, गाई, भैंसी र कहिलेकाहीँ मानिसको शिकारको खोजीमा यताउता भौंतारिनुपर्छ,’ बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकृत असीम थापा भन्छन्, ‘अरू आक्रमण भने मानिस बाघको क्षेत्रमा गल्तीवश प्रवेश गरेका कारण हुन्छन् ।’

मध्यवर्ती क्षेत्रको वन लगायत आफ्नो ९६८ वर्गकिमि भूभागमा बर्दियाले बाघको ठूलो सङ्ख्यालाई पाल्न सक्छ । अध्ययनले देखाएको छ, नेपालका वयस्क भाले बाघ ५–२० वर्गकिमिको आवास क्षेत्र (होम रेन्ज)मा आफूलाई अनुकूलन गराउन सक्छन् । ‘अन्य ठाउँका बाघलाई भने ६०–१०० वर्गकिमिको अलि फराकिलो क्षेत्र आवश्यक हुन्छ,’ थापा भन्छन् ।

आवास क्षेत्रका आधारमा बाघको सङ्ख्या दोब्बर बनाउन सकिन्छ,’ बर्दियामा मानव–बाघ द्वन्द्वमा काम गर्ने अक्सफोर्ड विश्वविद्यालयका वन्यजन्तु अनुसन्धाता एमी फिट्जमौरिस भन्छिन्, ‘नरभक्षी प्राणीको ठूलो सङ्ख्याका लागि त्यहाँ जङ्गली सिकार र क्षेत्र पर्याप्त भएको अनुसन्धानले देखाएको छ ।’

तपाईंलाई थाहा छ….

बर्दिया राष्ट्रिय निकुञ्ज सिङ्गापुरभन्दा १.३ गुना ठूलो

निकुञ्जलाई गाउँलेहरूको पीडा थाहा छ । बाघ आक्रमणबारे उनीहरूको विचार जान्न र उनीहरूले आफू र आफ्ना पशुलाई कसरी सुरक्षित राख्न सक्छन् भनेर सल्लाह दिन एउटा कार्यक्रम आवश्यक भएको पनि निकुञ्जले महसुस गरेको अधिकारीहरुले बताए । तर बाघ आक्रमणको सङ्ख्या केले बढाइरहेको छ भनेर अहिले नै भन्न हतार हुन्छ भन्ने निकुञ्जको ठम्याइ छ । ‘वास्तवमा धरातलीय यथार्थ अलि जटिल छ,’ प्रकृति संरक्षणका लागि राष्ट्रिय कोष (एनटिएनसी)का बर्दिया प्रमुख रविन कडारिया भन्छन्, ‘द्वन्द्व सम्भवतः विभिन्न कारककाे मिश्रित परिणाम हो । त्यसको कुनै एकल समाधान छैन । द्वन्द्वको खतरा कम गर्न कि त बाघहरूलाई अन्यत्र सार्न वा स्थानीय जनताको व्यवहारमा परिवर्तन ल्याउन तत्कालै निर्णायक कदम चाल्नु आवश्यक छ ।’

खडेरीले मानव–वन्यजन्तु द्वन्द्व बढाउँछ

बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिमी सीमा नै गेरुवा नदी हाे र याे वन्यजन्तुहरूको महत्वपूर्ण पानीको स्रोत हो । त्यही नदी किनारसँगैको वन उनीहरूको वासस्थान हो ।

 ‘विगत केही वर्षदेखि गेरुवा नदीले आफ्नो बाटो परिवर्तन गरिरहेको छ,’ थापा भन्छन् । केहि किलाेमिटर उत्तरमा चिसापानीमा जहाँ कर्नाली नदी भ‌गालिएर एउटा साखा गुरुवा नदी बन्छ, १५ वर्षदेखिको ढुङ्गा र बालुवाको निरन्तर उत्खनन भइरहेका कारण तल पानीको सतह शीघ्र घटेको छ ।”

सुक्खा मौसममा खडेरीले बाघलगायत जङ्गली जनावरहरूलाई पानीको खोजमा मानव बतीमा प्रवेश गर्न बाध्य पारेको छ । पानीको सतह घटेकाले गाउँलेहरूलाई नदी पार गरेर वनमा प्रवेश गर्न सजिलो भएको छ ।

Low water levels in the Geruwa river in Bardia National Park, Nepal
बर्दिया राष्ट्रिय निकुञ्जको गेरुवा नदीमा पानीको निम्न सतह । खेडरीका कारण जनावरहरू पानीको खोजीमा निकुञ्जबाट बाहिर निक्लन बाध्य भएका छन् । (तस्बिर ः तुलसी रौनियार) 

चालू पानी सङ्कटलाई सम्बोधन गर्न राष्ट्रिय निकुञ्जले सन् २०१५ देखि करिब १५२ ओटा कृत्रिम पोखरी र सौर्य पम्प बनाएको छ । 

तर पनि चालू सङ्कटलाई सम्बोधन गर्न ती पर्याप्त छैनन् । पानीको सङ्कट अझ विकराल हुँदै गइरहेकाे देखिन्छ । रानीजमरा सिँचाइ नहर र बर्दिया राष्ट्रिय निकुञ्जमाथि बबईमा निर्माण भइरहेको बहुजलाशय सिँचाइ र जलविद्युत् परियोजनाले भविष्यमा अझ सङ्कट बढाउनेछ,’ कडरिया भन्छन् ।

पानीको बहावलाई सुधार्न स्थानीय समुदायले अधिकारीहरूलाई गेरुवा नदीमा भइरहेको उत्खनन रोक्न माग गरेका छन् । नगरपालिकाहरूका अधिकारीहरूले चलिरहेको उत्खनन नियन्त्रणका लागि कडा नियमन भइरहको बताउने गरेका छन्।

स्थानीय जीवकोपार्जनमा कोभिड–१९ को असर

एउटा सर्वेक्षणमा बर्दियाका धेरै मानिसले वन प्रवेश गर्नुपरेको मुख्य कारण गरिबी हो भनेकाे छ । दाउरा, घाँसपात र काठका लागि उनीहरू वनमा निर्भर छन् । कोभिड–१९ ले गरिबीको चाप बढाएको छ भने पर्यटकको अभाव र पैदलयात्री तथा सफारीको रोकले स्थानीय गाइडहरूको आय गुमेको छ ।

Safari guide in Bardia National Park, Nepal
बर्दिया राष्ट्रिय निकुञ्जमा सफारी गाइड महेन्द्र चौधरी । (तस्बिर ः तुलसी रौनियार)
A safari jeep in Bardia National Park
बर्दिया राष्ट्रिय निकुञ्जमा सफारी जिप । (तस्बिर ः तुलसी रौनियार)

राष्ट्रिय निकुञ्ज नजिकैको मोहनपुरकी ६८ वर्षीया जयसरा भण्डारी त्यो आक्रमणको दिन जङ्गलमा डल्ली रावतसँगै थिइन् । प्रवेशमा प्रतिबन्ध लगाइएका भए पनि भण्डारी आफ्नो गाईवस्तुहरूका लागि घाँस काट्न बारम्बार जङ्गल छिर्छिन् । किनभने उनीसँग अरू कुनै जीविकोपार्जनको माध्यम नै छैन ।

वन्यजन्तुसँगको जम्काभेट हुने र पार्क अधिकारीहरूले कानुनी कारबाही गर्ने खतरा हुँदाहुँदै पनि भण्डारीले जस्तै धेरै गाउँलेले वन संसाधन सङ्कलन गर्न आफ्नो जीवन जोखिममा पार्छन् ।

कोभिड–१९ र वन्युजन्तु द्वन्द्वको सम्बन्धबारे कुनै वैज्ञानिक प्रमाण नभए तापनि यसका कारण जब मानिस शहरबाट गाउँ फर्किन्छन्, तब उनीहरूको आवतजावत र उपस्थितिका कारण वन्यजन्तुसँगको सम्पर्क बढ्छ भन्ने कुरा एकदम छर्लङ्ग छ,’ वन्यजन्तु अपराध अनुसन्धाता कुमार पौडेल भन्छन् ।

नयाँ अवसर सिर्जना गरेर वनमाथि स्थानीयको निर्भरता घटाउने उपाय खोज्न आवश्यक छ,’ पौडल थप्छन्, ‘सरंक्षण प्रयासहरूमा स्थानीय समुदायलाई छाडेर होइन, जोडेर उनीहरूसँग काम गर्नु नै यसको समाधान हो ।’

नेपाल र भारतका अन्य ठाउँमा विभिन्न कार्यक्रमार्फत मानिस र वन्यजन्तु सम्पर्कमा आउने सम्भावनालाई कम गर्ने प्रयास गरिएका छन् । यी कार्यक्रम दाउरा, घाँसपात र काठका लागि मध्यवर्ती क्षेत्रमा रूखहरू रोप्ने वा बायोग्यासमा मानिसहरूको निःशुल्क पहुँच पु¥याउने जस्ता कुराहरुमा केन्द्रित छन् । बाघ आक्रमणको खतरा घटाउने उपाय स्वरूप खाद्यान्न वितरण गर्ने सोच निकुञ्ज अधिकारीहरूले बनाएका छन्,’ थापाले द थर्ड पोललाई भने । 


सहअस्तित्व सम्भव हुन दुवै वन्यजन्तु र मानिसले आफूलाई अनुकूलन गर्नुपर्छ ।’
एमी फिट्जमौरिस, अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धाता

सहअस्तित्व सम्भव बनाउन अनुसन्धान

हालै प्रकाशित एउटा रिपोर्टमा फिट्जमौरिस र उनको टोलीले बर्दिया र छिमेकी बाँके राष्ट्रिय निकुञ्जमा मानव–बाघ द्वन्द्वको वर्तमान स्तिथिलाई अझ राम्रोसँग बुझ्न र कम गर्न आग्रह गरेका छन् । त्यसो गर्न सकिएन भने उनीहरू लेख्छन्, ‘द्वन्द्व अझ बढ्ने स्पष्ट खतरा छ ।’

तत्काल कदम लिनुपर्ने दबाबमा निकुञ्ज अधिकारीहरू परेकाले बर्दिया राष्ट्रिय निकुञ्जकाे बाघ बहन क्षमता मूल्यांकनको तयारी भइरहेको छ । 

बहन क्षमता र गणना : व्याख्या 

गणनामा बर्दिया राष्ट्रिय निकुंजक़ा बाघको संख्या गनिन्छ । यो प्रत्येक तीनचार वर्षमा गरिन्छ । अर्को गणना सन् २०२१ को  अन्त्यतिर हुनेछ ।

बहन क्षमताको निर्धारण पारिस्थितिकीय अध्ययनमार्फत गरिन्छ । यसले पारिस्थितिकीय प्रणालीमा उपलब्ध स्रोतले कति जीवलाई स्थिर दरमा पाल्न सक्छ भनेर आकलन गर्छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बहन क्षमताको आकलन पहिलो पटक गर्न लागिएको हो । बाघको संख्या दोब्बर गर्ने परियोजनाभन्दा अगाडि यो अध्ययन गर्नुपर्थ्यो भनेर निकुञ्ज अधिकारीहरू स्वीकार्छन् ।

यससँगै एनटिएनसी, बर्दिया राष्ट्रिय निकुञ्ज, प्रकृति संरक्षणका लागि अन्तराष्ट्रिय सघ, मिचिगन विश्वविद्यालयका संरक्षणवादीको टोलीले निकुञ्जका बाघको चाल र व्यवहारको अध्ययन सुरु गरेका छन् । सो टोलीले बाघको गतिविधि पत्ता लगाउन र द्वन्द्व पैदा गर्ने बाघको पहिचान गरी अन्यत्र पुनःस्थापना गर्न बाघहरूमा ‘रेडियो कलर’ राख्ने योजना बनाएको छ ।

यसैबीच पार्क अधिकारीहरूले एनटिएनसी र लन्डनको जुओलजिकल सोसाइटीको सहयोगमा बर्दिया जिल्लाका समुदायहरूमा सहअस्तित्वलाई बढावा दिने व्यवहारको प्रवद्र्धनका लागि अभियान सञ्चालन गरिरहेको छ ।

मानिस र वन्यजन्तुहरूले एउटै ठाउँ उपयोग गर्छन् । तर सँगै बस्नका लागि प्रभावकारी रूपमा आफूलाई अनुकूलन गरेनन् भने द्वन्द्व सिर्जना हुन्छ । सहअस्तित्व सम्भव हुन दुवै वन्यजन्तु र मानिसले आफूलाई अनुकूलन गर्नुपर्छ,’ फिट्जमौरिस भन्छिन् ।

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.