icon/64x64/nature जैविक विविधता

कावन हात्तीको रिहाइले पाकिस्तानको चिडियाखाना विवाद पुन:उजागर

विश्व हात्ती दिवसको अवसरमा हामी इस्लामावादको मर्घजार चिडियाखानामा दशकौँसम्म अनुपयुक्त अवस्थामा राखिएको कावनको छिट्टै हुन लागेको रिहाइ को खुसियाली मनाउँदै छौँ ।
Kaavan at the Marghazar Zoo in November 2019 [Image by: Muhammad bin Naveed]
Kaavan at the Marghazar Zoo in November 2019 [Image by: Muhammad bin Naveed]

कानुन व्यवसायी ओवेइस अवान इस्लामावाद स्थित उच्च अदालतले हालै जारी गरेको एउटा फैसलाका कारण निकै खुशी छन् । अदालतले मे महिनामा कावन नाम गरेको एउटा व्यथित हात्तीलाई इस्लामावादस्थित मर्घजार चिडियाखानाबाट कम्बोडियामा स्थानान्तरण गर्न आदेश दिएको थियो ।

जनावरहरूको हेरचाहको विषयमा कुरा सुन्न चाहने र यसमा चाख राख्ने न्यायाधीशबाट मुद्दाको सुनुवाई हुनु हाम्रो लागि भाग्यको कुरा हो,’ अवानले भने ।कावनलाई सन् १९८५ मा श्रीलङ्काले पाकिस्तान सरकारलाई उपहारको रुपमा प्रदान गरेको थियो । यसो गरिँदा हात्ती मात्र एक वर्षको थियो ।

मेरा छोराछोरी र नातिनातिना समेत आफूहरू हुर्कने क्रममा कावनलाई हेर्न जाने गर्थे । उसलाई यहाँबाट अन्यत्र लगिँदा हामी दुखी हुनेछौँ । तर हामीलाई थाहा छ उसको भविष्य सुन्दर हुनेछ र उसले शान्तसित बाँच्न पाउनेछ,’ इस्लामावाद वन्यजन्तु व्यवस्थापन बोर्डका अध्यक्ष अनिश उर रहमानले भने ।

कावनलाई सेप्टेम्बर अघि नै कम्बोडिया सारिने छ । न्यायालयले बोर्डलाई मर्घजार चिडियाखानाको व्यवस्थापनको समेत जिम्मा लिन र कावनको सुरक्षित स्थानान्तरणको निगरानी गर्ने आदेश दिएको छ ।

न्यायाधीशले इस्लामावाद चिडियाखानामा रहेका अरू सबै ८७८ जनावरहरूलाई पनि ६० दिन भित्र स्थानान्तरण गर्न आदेश दिएका छन् ।फैसलालाई लिएर पाकिस्तान र संसारभर नै कावनको पक्षमा अभियान चलाइरहेका अभियन्ताहरूले खुशी मनाएका छन् । तर पाकिस्तानका शहरहरूमा रहेका विभिन्न चिडियाखानाहरूसित सम्बन्धित दर्जनभन्दा बढी जनावरहरूमाथि दुर्व्यवहारका घटनाहरू प्रकाशमा आइरहँदा यस्ता चिडियाखानहरूको उपादेयतामाथि नै प्रश्न चिह्न खडा भइरहेको छ ।

अभियानको झिल्को सुरु गर्ने हात्ती

कावनको मुद्दामा अदालतमा बुझाइएको एउटा प्रतिवेदनले हात्तीलाई गरिएको व्यवहार किन उचित छैन भन्ने विवरण पेस गरेको थियो । प्रतिवेदनलाई फैसलामा समेत उद्रित गरिएको छ । प्रतिवेदनले हात्ती आफ्नो मानसिक, सामाजिक र व्यवहारगत आवश्यकताहरू पुरा गर्न नसक्ने अवस्थामा रहेको जनाएको छ । सिक्रिले बाँधेर सानो ठाउँमा राखिने हात्तीलाई सन् २०१२ देखि एक्लै अरु जनावरहरूबाट टाढा राख्ने गरिएको थियो । उसको खाना अपर्याप्त र गुणस्तरहीन थियो भने माउतेहरूको उसितको सम्बन्ध नकारात्मक थियो ।

सन् २०१५मा एक जना विद्यार्थी समर खानले हात्तीमाथि भइरहेको ज्यादतिका बारे एक अनलाइन विरोध पत्र दायर गरेपछि संसारकै आँखा कावनमाथि परेको थियो ।

कावनको रिहाइको क्षणको आफूले कल्पना पनि नगरेको अहिले पशु चिकित्सक भएकी खानले बताइन् । उसको दु:खले धेरै मानिसहरूलाई छोएको थियो । पाकिस्तानका थुप्रै दूतावासहरू बाहिर उसको विषयलाई लिएर विरोध प्रदर्शनहरू भएका थिए,’ उनले द थर्डपोललाई बताइन् ।

उनले कावनको कथा अरूहरूसित बाँड्न एउटा फेसबुक पेज बनाएकी थिइन् । सामाजिक सञ्जाल एउटा शक्तिशाली अस्त्र हो, उनले भनिन् । यसले संसारभरका मानिसहरूलाई एकतृत गराएर चिडियाखानाका अधिकारीहरूलाई जवाफदेही बनायो ।

हामीले सेलेब्रेटीहरूलाई ट्याग गरेर थुप्रै ट्विटहरू गरेका थियौँ । त्यसपछि एउटा नमुना इमेल बनाएर सरकारी अधिकारीहरूलाई दिनदिनै पठाउन थाल्यौँ,’ उनले सम्झिइन् । अमेरिकी पप गायिका चेर पनि अभियानसित जोडिइन् ।

चेरको संस्था ‘फ्री द वायल्ड’ले हात्तीको स्थानान्तरणको खर्च बेहोर्ने अनिश उर रहमानले बताए ।

स्थानान्तरणको प्रक्रिया निकै जटिल छ र यसमा धेरै कागजी काम गर्नु पर्नेछ । त्यसपछि विशेषज्ञ पशु चिकित्सकहरूले कावनको जाँच गर्नेछन् र ऊ जहाजमा चढेर जान शारीरिक र मानसिक रुपमा सक्छ कि सक्दैन भनेर निर्क्यौल गरिनेछ । सबै कुरा अघि बढेमा उसका लागि एउटा स्टिलको बाकस बनाइनेछ र त्यसमा बस्न सिकाइनेछ । यो सबै काम गर्न दुई देखि चार हप्ता लाग्न सक्छ ।

 

चुनौतीहरू

कावन अब स्वतन्त्र हुने भयो भनेर धेरैले खुसियाली व्यक्त गरेता पनि विश्व वन्यजन्तु कोष पाकिस्तानकी जैविक विविधता निर्देशक उज्मा खान भने यसमा संशय राख्छिन् । हात्तीको मुद्दामा साक्षी बनेकी खानले स्थानान्तरणको क्रममा जनावारले ठूलो तनाव झेल्नुपर्ने बताइन् । भगवानले त्यसो नगरून्, तर स्थानान्तरण गरिँदा उसलाई केही भयो भने त्यसको जिम्मेवारी कसले लिन्छ?’

आफ्नो नयाँ वासस्थानमा कावन कत्तिको घुलमिल हुन सक्छ भन्ने कुरामा पनि उनी चिन्तित छन । कावनले एसियाली हात्तीहरू चिडियाखानामा बाँच्ने औसत आयुको धेरै हिस्सा बाँचिसकेको छ । त्यसैले अन्यत्र कतै लानु भन्दा उसलाई राखिने गरिएको ठाउँमा सुधार गर्न सकिन्छ र अझै हिँडडुल गर्न सक्ने व्यवस्था मिलाएर उसको जीवनस्तर सुधार्न सकिन्छ ।

एसियाली हात्तीहरू युरोप का खोरमा ४७.६ वर्ष र उत्तर अमेरिकामा ४१.९ वर्ष बाँचन् सक्ने पाइएको छ । स्वतन्त्र रुपमा भने जङ्गलमा उनीहरू ६० वर्षसम्म बाँच्दछन् । अन्तराष्ट्रिय प्रकृति संरक्षण संघले एसियाली हात्तीलाई लोपोन्मुख प्रजातिको सूचीमा राखेको छ ।

हालैका दिनहरूको घटनक्रमलाई मध्यनजर गर्दै उज्मा खान भन्छिन्, ‘हाम्रो सरकारले अबका दिनहरूमा हाम्रा चिडियाखानाहरूमा कहिल्यै थप हात्तीहरू नल्याउने नीतिगत निर्णय गर्नु पर्दछ किनभने यिनीहरूको जटिल सामाजिक र मानसिक आवश्यकताहरूको हामी पूर्ति गर्न सक्दैनौँ ।

 

दुर्व्यवहार जारी छ

कावनको कथाले अन्तराष्ट्रिय रुपमा चर्चा पाए पनि पाकिस्तानका सरकारी चिडियाखानाहरूमा जनावरहरू प्रति गरिने व्यवहारमा परिवर्तन आएको छैन । अरू जनावहरूको मृत्युका खबरहरू आउँदै गर्दा पाकिस्तानमा चिडियाखाना नै चाहिँदैन भन्ने आवाजहरू सुनिन थालेको छ ।

आफ्नो ६७ पन्ने फैसलामा उच्च अदालतका प्रमुख न्यायाधीश अथर मिनल्लाहले चिडियाखानाहरूले जिउँदा जनावरहरूलाई प्रदर्शनमा राख्नु बाहेक अरु केही काम नगर्ने बताएका थिए ।

जुलाई महिनामा मात्रै मर्घजार चडियाखानाबाट पञ्जाबमा रहेको एउटा निकुञ्जमा स्थानान्तरण गरिँदै गर्दा एक जोडी सिंह मरे । यस्तो गर्मी र उष्ण समयमा उनीहरूलाई स्थानान्तरण गर्ने निर्णय अमानवीय भएको खानले बताइन् ।

त्यस्तै मे महिनामा पेसावर चिडियाखानामा एउटा जिराफ मृत अवस्थामा भेटिएको थियो । कराँची र लाहोरका जिराफहरू पनि हालै मात्र मरे । मर्घाजारमा यस वर्ष तीन नीलगाई र एक अस्ट्रिच मरिसकेका छन् । कराँचीको चिडियाखानामा सन् २०१८ मा एसियाली सिंह क्षय रोग लागेर मर्यो; सन् २०१४ मा बाघ अज्ञात रोग लागेर मर्यो र सन् २०११ मा सिंहका चार डमरुहरू मरे ।

केही महिना अघि हामीले लाहोर चिडियाखानामा बाघको भिडियो रकर्ड गरेका थियौँ । बाघमा ‘जुकोसिस’ (चिडियाखानामा धेरै समय बिताए पछि जनावरहरूमा देखिने लक्षण) देख्यौँ,’ फिल्म निर्माता तथा पाकिस्तान जनावर समाजका सहसंस्थापक माहेरा ओमारले हालै ट्विट गरेकी थिइन् । उनको भिडियोमा बाघ खोरको एउटा कुनाबाट अर्को कुना हिँड्दै गरेको र आगन्तुकहरूले उसलाई जिस्क्याइरहेको देखिन्थ्यो ।

उज्मा खानले जनावरहरू प्रति हुने दुर्व्यवहारका पछाडि केही कारणहरू रेहेको बताइन् ।

मर्घजार जस्ता चिडियाखानाहरूसित चाहिने जति पैसा छैन र यसका कारण जनावरहरूको उचित व्यवस्थापन हुन सकेको छैन ।

उनका अनुसार, पाकिस्तानमा चिडियाखानाहरूका लागी मापदण्ड छैन जस अन्तर्गत हरेक प्रजातिलाई निश्चित क्षेत्रफल र स्याहार दिन सकियोस् । कुनै पनि प्रकारको तालिम नपाएका कर्मचारीहरूका कारण पनि समस्या बढेको छ । न्यून आय भएका कुनै कुनै कर्मचारीहरूलाई त पढ्न लेख्न समेत आउँदैन, उज्मा खानले भनिन् ।

संसारभर नै चिडियाखानामा काम गर्नेहरूका लागि तालिम र छात्रवृत्ती दिने चिडियाखानाहरू छन् । परम्परागत ढर्राबाट बाहिर निस्कन समेत हाम्रा कर्मचारीहरूलाई त्यहाँ पठाइनुपर्छ । धेरैलाई त जनावरहरूलाई तालिम दिन र उनीहरूसित सकारत्मक सम्बन्ध बनाउन समेत आउँदैन,’ उनले भनिन् ।

 

चिडियाखानामाथिको बहस

जनावरहरूमाथिको दुर्व्यवहारको शृङ्खलाहरू पश्चात् केही मानिसहरूले चिडियाखानाहरूको औचित्य माथि नै प्रश्न उठाएका छन् । म भन्छु मर्घजार चिडियाखानालाई एउटा पारिवारिक पार्कको रुपमा विकास गरौँ जहाँ मानिसहरू पिकनिक गर्न जान सकून्,’ इस्लामावादमा बस्ने आर्किटेक्ट तथा जनावर प्रेमी समूह फ्रेन्ड्स अफ इस्लामावाद जू का स्वयंसेवक मोहम्मद बिन नभिदले भने ।

उनको जस्तै भनाइ इस्लामावाद वन्यजन्तु बोर्डका अनिश उर रहमानको पनि छ: ‘अहिले भएका चिडियाखानाहरू बन्द गरिनुपर्छ र नयाँ चिडियाखानाहरू खोलिनु हुँदैन ।

जनावरहरूलाई झ्यालाखानामा राखिँदा हाम्रा बालबालिका माझ नकारात्मक सन्देश जानेछ ।

तर अकस्मात् सबै चिडियाखानाहरू बन्द भने गरिहाल्नु नहुने अनिश उर रहमानको कथन छ । उनीहरू बाँच्न सक्ने छैनन्,’ उनले भने, उनीहरू काल गतिले नमरेसम्म चिडियाखानाहरू चलिरहनुपर्छ ।

विश्व वन्यजन्तु कोषकी खानको धारणा भने मध्यमार्गी छ । मलाई चिडियाखानाहरूसित केही समस्या छैन किनभने जनतालाई जनावरहरूको र उनीहरूको हेरचाहका बारेमा सचेत बनाउने अथाह संभावना चिडियाखानाहरूमा हुन्छ ।

तर सरकारी र निजी चिडियाखानाहरूमा रहेका तथा व्यक्तिगत रुपमा पालिएका जङ्गली जनावरहरूको लगत राख्न जरुरी छ । अदालतहरूले जनावरहरू सम्बन्धी मुद्दा हेर्दा उनीहरूको हितलाई ध्यान दिऊन् भन्ने सुनिश्चित गर्नका लागि चिडियाखाना सञ्चालन कानुन र मापदण्ड जारी हुनु जरुरी रहेको उनले भनिन् ।

चिडियाखाना घुमेर जनावरहरूलाई माया गर्न सिकेकी समर खानले उत्तरदायी चिडियाखानाहरूले संरक्षण, अनुसन्धान र जङ्गली जनावरहरूको पुन: स्थापनामा सहयोग गर्ने बताइन् । राम्रोसित सञ्चालित र स्रोतमा पहुँच भएका चिडियाखानाहरूले मानिसहरूलाई वन्य जन्तुलाई माया गर्न र उनीहरूको संरक्षण गर्न प्रेरणा दिन सक्छ।

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.