icon/64x64/livelihoods जिविका

अछ्रो थरको नुन खानीका कामदारलाई गरिवीले दिएको घाउ

Labourers collecting salt from Achro Thar’s lakes in Pakistan’s Sindh province are paid low wages and live in miserable conditions
اس خطے میں لوگوں کے لئے پیسہ کمانے کا واحد ذریعہ نمک جمع کرنا ہے-( تصویر بشکریہ اختر حفیظ )
اس خطے میں لوگوں کے لئے پیسہ کمانے کا واحد ذریعہ نمک جمع کرنا ہے-( تصویر بشکریہ اختر حفیظ )

अछ्रो थारमा बस्ने मानिसहरूका लागि नुन सङ्कलन आय आर्जन गर्ने एक मात्र तरिका हो । सिन्धको अछ्रो थार मरुभूमि यहाँको प्राकृतिक छटा, बालुवाका ढिस्का तथा तालहरूका कारण प्रख्यात छ । करिब २,३०० वर्ग किमिमा फैलिएको नुनिलो ‘श्वेत मरुभूमि’ मा प्राकृतिक रुपमा नुनले जमिन ढाक्ने  भएका कारण यहाँ थोरै मात्र रुख बिरुवा देखिन्छन् । यसका कारण यहाँका मानिसहरूले थोरै मात्र गाईवस्तु पाल्न सक्छन् र मानिसहरू जीविकोपार्जनका लागि यहाँको नुन उत्पादन हुने आठ तालहरूमाथि निर्भर छन् ।

सिन्ध क्षेत्र मुदाकर, बुसरियो, सेनहारी र पानीवारी जस्ता नुन तालहरूको घर हो । भारी वर्षा पछि यी तालहरूमा पानी भरिन्छ अनि नुन सतहमा थिग्रिन्छ । नुन तालहरू पानीले सिञ्चित गरेको क्षेत्रबाट नुन र अन्य खनिज बगाएर ल्याउनुले बन्छन् । पानी वाष्पीकरण हुन्छ तर नुन भने बाँकी रहन्छ । चाहिएको जति बाक्लो भएपछि नुन उत्खनन गरिन्छ र पछि प्रशोधन गरिन्छ । यस्तो खालको उत्खनन संसारका कुनै कुनै ठाउँहरूमा मेसिनले गर्ने गरिन्छ तर अछ्रोका ताल नजिकै झुपडी बनाएर बसेका महिला तथा पुरुषले यो सबै काम हातले गर्दछन् ।

श्वेत मरुभूमिमा जीविकोपार्जनका कमै अवसरहरू उपलब्ध हुन्छन् (फोटोः अख्तर हफीज)

अछर कोल्हीले नुन तालमा काम गरेको धेरै वर्ष भयो । उनको हात, खुट्टा र पाखुरा सबैमा नुनको लेप लागेको छ । काटेको ठाउँमा आफै किनेर ल्याएको औषधि लगाएका कारण उनको खुट्टामा हरिया टाटाहरू देखिन्छन्।’यो समाद बन्ड (स्थानीय बजारमा पाइने गुँद) हो । नुन तालमा काम गर्दा मलाई धेरै जसो चोट लाग्छ । म यो बन्ड लगाउँछु किनभने अरू केहीले पनि नुनलाई घाउभित्र जानबाट रोक्न सक्दैन हामीले यो बन्ड गाएर काम गर्न सक्छौँ ।

स्वास्थ्य सेवाको अनुपस्थितिका कारण कामदारहरू धेरै जसो गुँदले आफ्ना घाउहरू टाल्ने गर्दछन् । समाद बन्ड न त औषधि हो न त मलम नै । विभिन्न घरायसी सामानहरू जोड्न प्रयोग गरिने समाद बन्ड सिकर्मीहरूले प्रयोग गर्दछन् । तर उत्खननमा संलग्न कामदारहरू भने यसको लेप बनाएर नुनको कडा सतहमा काम गर्न प्रयोग गर्दछ ।अछर भन्छन् , ‘हामीले घाउमा लाउन कुनै औषधि पाउँदैनौँ । नुन छिर्नबाट बचाउन यो गुँद हाम्रा लागि पर्याप्त छ ।’ घाउ धेरैजसो हात र औँलाका टुप्पाहरूमा हुन्छ । नुन सङ्कलन गर्नेहरूले नुनको ब्लक बनाएर बेच्छन् ।उनीहरूले हातमा घसेर नुनलाई सानो धुलो बनाउँछन् । नुनका तीखा र साना कणहरूले काट्न सक्ने भएकाले उनीहरूको खुट्टाले पनि मूल्य चुकाउनुपर्छ । नुन यहाँका मानिसहरूको जीविकोपार्जनको श्रोत हो भने उनीहरूको घाउको कारण पनि हो ।

सानै देखि तालमा काम गर्न थालेका हुन् अचर । उनी बिहानै आउँछन् र बेलुका ६ बजे सम्म काम गर्छन् । सयौं अरू मजदुरहरू जस्तै उनी घण्टौँ खन्ने र नुनको ढुङ्गा फुटाउने गर्दछन् । खन्ने र फुटाउने काम सकिएपछि उनीहरू नुनलाई धुन्छन् र बोरामा हालिन्छ । यी मजदुरहरू निम्न स्तरको जीवन यापन गर्न बाध्य छन् । उनीहरूसित न स्वास्थ्य सेवाको पहुँच छ न घण्टौँ हिँडेर स्वास्थ्य चौकी जाने पैसा नै छ । ताल नजिकै काठ र परालले बनाइएको झुपडीमा बस्ने महिला तथा पुरुषहरूसँगै काम गर्छन् । तर उनीहरूको आयले उनीहरूलाई गरिवीको रेखा मुनि नै राख्दछ। ताल वरपर बस्ने मानिसहरूसित यस्तो खालका झुपडीहरू बनाउने मात्र पैसा छ ।

आठ जना लोडरहरूले एक पटकमा ट्रकमा नुन लोड गर्ने गर्दछन् । एकजना लोडरले एक ट्रक बराबर ४०० पाकिस्तानी रूपैयाँ (२.५८ डलर) पाउँदछ । बोरा भर्ने मजदुरहरूले प्रति महिना ३,००० पाकिस्तानी रूपैयाँ (१९.३८ डलर) पाउने गर्दछन । बोरा बान्नेहरूको तलब २,३०० पाकिस्तानी रूपैयाँ छ । तर एउटा बोराका लागि अछरले १.५ रूपैयाँ मात्र पाउँदछन् ।’हामीले आफ्नो श्रमको मूल्य पाएका छैनौँ । तर हामीसित अरू कुन उपाय छैन’, अचर भन्छन् । उनका बाबु पनि नुन सङ्कलक थिए । ‘सायद मेरो छोरा पनि नुन सङ्कलक नै हुनेछ ।’

श्रमको शोषण

यसरी सङ्कलन गरिएको नुन देशको एउटा भागबाट अर्को भागसम्म ढुवानी गर्ने गरिन्छ तर पुरै व्यापार चक्र अनौपचारिक रुपमा काम गर्ने ठेकेदारहरूको हातमा छ । उनीहरू कुनै पनि श्रम कानुन मान्दैनन् ।

अछ्रो तालको नुन देशभर ढुवानी गरिन्छ । फोटो अख्तर हफीज

पाकिस्तानको श्रम कानुनमा सामाजिक सुरक्षा वीमाको प्रावधान छ तर कानुन विपरीत उनीहरूलाई कुनै सुविधा दिइएको छैन । तर एक ठेकेदारले भने कामदारहरूको कुनै गुनासो नरहेको बताउँछन् । ‘कामदारहरू आफै सस्तो ज्यालामा काम गर्न तयार हुन्छन् । यहाँका स्थानीयहरूले यो काम पुस्तौं देखि गर्दै आएका छन्, उनीहरू हामीसित खुसी नै छन्’, नाम उल्लेख नगर्ने सर्तमा उनले भने ।

उनले भने, ‘उनीहरूको कुनै पनि सुरक्षा उपकरण प्रयोग नगरी काम गर्ने बानी छ । यसो गर्दा घाउ चोट लाग्नु सामान्य कुरा हो तर स्थानीय रुपमा उपलब्ध औषधिको प्रयोग गरेर घाउको उपचार गर्छन् । उनीहरूको स्वास्थ्य चिन्ताजनक स्थितिमा छैन ।’ उनले भने जस्तै कामदारहरूको स्वास्थ्य चिन्ताजनक स्थितिमा नहोला तर ठेकदार र सरकारलाई उनीहरूको स्वास्थ्यको चिन्ता नै छैन भन्ने आकलन पनि उनको भनाई बाट गर्न सकिन्छ । तालको नजिकै रहेको बख्रजी गाउँका १८ वर्षीय किर्षनले नुनको बोरा भर्न थालेको ६ वर्ष भइसकेको छ ।

करिब १२ वर्ष पुगेपछि बालबालिकाहरू पनि आफ्नो बुवा आमाको पद चाप पछ्याउँदै नुन उत्खनन गर्न आउन सुरु गर्छन् । फोटो अख्तर हफीज

‘मैले यो काम मेरा लोडर बाबुसँगै गर्ने गरेको छु । मैले बोरा भर्छु र उनले बोरालाई ट्रकमा लोड गर्छन् । जाडो महिनामा काम गर्न गाह्रो हुन्छ, तर के गर्नु ? हामीसित अरू उपाय केही छैन।’ किर्षन र उनका बुवाको आयमा नै उनीहरूको परिवार आश्रित छ । ठेकेदारहरूलाई ज्याला बढाइदेओ भन्दा उनीहरूले काम छोडेर जान भन्ने गरेको उनी भन्छन् । ‘यहाँ सस्तोमा काम गर्ने अरू धेरै बेरोजगार मानिसहरू छन्’, ठेकेदारहरूले उनलाई सुनाउँछन् । धेरै जसो कामदारहरू न त सुरक्षाका उपकरणहरू प्रयोग गर्दछन् न काम गर्दा सावधानी नै अपनाउँदछन् । अहिले खिप्रो र हाथोङ्गो नजिकका ३ तालहरूमा नुन उत्पादन हुन्छन् । यहाँ करिब ५० महिला कामदारहरू काम गर्छन् ।

तालको नजिक राखिएका नुनका बोरा (फोटो अख्तर हफीज)

महिला कामदारहरूको पीडामा ध्यान दिने कोही छैन

पचास वर्षीय जमुना बाई तालसित जोडिएको गाउँमा बस्छिन् । उनको काम नुनलाई तालको पानीले धुनु र सफा गर्नु हो । ‘हामी एउटा निम्न स्तरको जीवन बाँच्न बाध्य छौँ । म तन्नेरी हुँदा मैले यो काम गर्न सुरु गरेको थिएँ, अहिले म बुढी भइसकेँ। समग्रमा न हाम्रो दिन बदलिएको छ न रात नै ।’ ‘नुन धुने बेला धेरै जसो घाउ हुन्छ । मैले कहिले काहीँ प्लास्टिकले बेर्छु (आफ्नो हातखुट्टा) तर कति दिन सम्म बेर्नु ? यो दिगो समाधान होइन ।’

जमुना बाईको परिवारका सबै सदस्यहरूले यही नै काम गर्छन् । उनका छोराहरू बोरा बान्ने काम गर्छन् ।’नुनले हाम्रो छाला र मांसपेशी सडेको छ । हामीले उपचारका लागि औषधि पाउँदैनौँ । हामीले यो काम अरू कुनै उपाय नभएर र गरिवीका कारण गरेका हौँ । हामीसितै काम गर्ने केही महिलाहरू गर्भवती छन् तर उनीहरूले आराम गर्न विदा माग भने उनीहरूले ज्याला पाउनेछैनन् र उनीहरूका बालबच्चाले दुःख पाउनेछन् । मलाई मेरो नातिलाई स्कुल पठाउने मन छ तर हाम्रो वर-पर स्कुल नै छैन ।’

मीठो पानीको सुविधा

एक जना समाज सेवीले हालै बख्रजी गाउँमा चारवटा मीठो (पिउने) पानीका धारा जडान गरिदिएका थिए । धारा जडान भएपछि सधैं टाढासम्म हिँडेर पानी ओसार्नु पर्ने वाध्यता भएका गाउँलेहरूले पहिले पटक आफ्नै आँगनमा पिउने पानी थाप्न पाएका छन् । अभियन्ता निहाल वाधवानी भन्छन्, ‘ विचरा कामदारहरू साह्रै गाह्रो अवस्थामा काम गर्न वाध्य छन् । उनीहरूलाई कुनै पनि सुरक्षा उपकरण दिइँदैन भने र थाहा पाउँदा म आश्चर्यचकित भएको थिएँ । नुन सङ्कलन र लोड गर्ने महिला तथा पुरुष कामदारहरूको हात र खुट्टामा घाउ भएको मैले देखेको छु । उनीहरूका लागि औषधि पसलहरू छैनन् । धेरै समय नुन पानीमा काम गरिसके पछि उनीहरूको खुट्टा अपाङ्ग हुन जान्छ र घाउमा सङ्क्रमण हुन जान्छ । यस्ता सङ्क्रमण पुरै शरीरमा फैलन्छ र निको हुन धेरै समय लाग्दछ ।

उनी भन्छन्, सबैभन्दा नजिकैको स्वास्थ्य चौकी गाउँबाट निकै टाढा छ र दिनभर थकाउने काम गरेपछि उनीहरू त्यहाँ गएर सहयोग माग्ने अवस्थामा हुँदैनन् । प्रान्तीय सरकार मातहतको सिन्ध शिक्षा फाउन्डेसनले हालै एउटा स्कुल स्थापना गरेको छ । तर स्कुल बख्रजी गाउँबाट १० किमी टाढा छ र यसै कारण उनीहरू त्यहाँ पढ्न जाँदैनन् । पाकिस्तानमा न्यूनतम् मासिक तलब रु १७,००० (११० डलर) तोकिएको छ तर व्यवहारिक रुपमा यो लागू भएको छैन ।

कानुनी सहायता समाजका कार्यक्रम व्यवस्थापक जमील जुनेजो भन्छन् कामदारहरूको सुरक्षा सुनिश्चित गरिनु पर्छ । सिन्ध सरकारले सन् २०१७ मा जारी गरेको व्यावसायिक स्वास्थ्य तथा सुरक्षा कानुनले यसो गर्नु भनेको छ, उनले भने । कानुनले रोजगारदातालाई वस्तु, सामग्री र पदार्थको उपयोग, भण्डारण, व्यवस्थापन र ढुवानी गर्दा श्रमिकहरूको स्वास्थ्यमा चोट नलाग्ने गरी र कुनै पनि जोखिम नहुने प्रबन्ध मिलाउन भनेको छ । त्यस्तै कार्य स्थलमा श्रमिकहरू र अन्य व्यक्तिको सुरक्षा र स्वास्थ्यलाई असर गर्ने शारीरिक, रासायनिक, जैविक, रेडियोलोजिकल, एर्गोनोमिक, सामाजिक तथा मानसिक वा अन्य कुनै पनि खतराहरू नियन्त्रण र रोकथामका लागि व्यवस्था गर्न पनि भनेको छ ।

जुनेजो भन्छन्, ‘कुनै पनि कामदार, चाहे ऊ नुन खानीमा काम गरोस् वा अरू कुनै उद्योगमा, उसले एउटै प्रकृतिको स्वास्थ्य र सामाजिक सुरक्षा चुनौतीहरूको सामना गर्नु पर्दछ । कार्यालय समय पश्चात् गरिएको कामको पारिश्रमिक पाइन्न । यो कामदारको अधिकारको हनन मात्रै नभएर मानव अधिकारकै हनन पनि हो । तर सबैलाई लाग्छ उनीहरूको स्वास्थ्य ‘चिन्ताजनक’ अवस्थामा छैन ।

 

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.