icon/64x64/energy उर्जा

पाकिस्तानकाे सिन्धमा सौर्य ऊर्जामार्फत जीवन रक्षा

अन्तर्राष्ट्रिय महिला दिवसका दिन स्वास्थ्य केन्द्रमाथि जडित सौर्य प्यानलले कसरी आमाहरूको जीवन रक्षा गरिरहेको छ भन्नेबारे रिपोर्ट
सिन्ध हैदरावादको मार्भी गार्डेन मातृ तथा बाल स्वास्थ्य केन्द्रमाथि रहेका १४४ ओटा सौर्य प्यानल (तस्बिर ः जोफिन इब्राहिम)
सिन्ध हैदरावादको मार्भी गार्डेन मातृ तथा बाल स्वास्थ्य केन्द्रमाथि रहेका १४४ ओटा सौर्य प्यानल (तस्बिर ः जोफिन इब्राहिम)

सिन्धको चहलपहलयुक्त सहर हैदराबादस्थित सरकारले सञ्चालन गरेको मातृ तथा बाल स्वास्थ्य केन्द्र (एमएजसी)की प्रमुख डाक्टर हुमैरा कुरेसी चार वर्षअघि केन्द्रमा सौर्य प्यानल जगेडा राखिएपछि जीवन परिवर्तन भएको ठान्छिन् ।

बिजुलीको निरन्तर आपूर्तिका कारण पाकिस्तानका धेरै भूभागमा झैं बत्ती जाँदा आफ्नो निधारको पसिना पुछिराख्न नपर्ने भएकाले मार्भी गार्डेन प्राथमिक सेवा केन्द्रमा उनको समूह कम चिड्चिडाउने र कम थाक्ने अनि आफ्नो काममा बढी केन्द्रित हुने भएका छन् ।

चिकित्सा उपकरणहरूको निरन्तर फर्फराहट सुन्न खुसी नै हुने उनीहरू बिजुली गएका बेलामा बिरामीहरूलाई फर्काउन नपरेकोमा चिन्तामुक्त छन् ।

केन्द्रमा रहेको अत्याधुनिक अल्ट्रासाउन्ड मेसिनमा कुरेसी गर्व गर्छिन् । तर सौर्य प्यानलहरूको जडानअघि छाती र घाँटीको क्यान्सर तथा गर्भाशयसँग सम्बन्धित विषमताको प्रारम्भिक निदानका लागि महत्त्वपूर्ण हुने उक्त मेसिनलाई अचानक हुने भोल्टेजको उतारचढावले गर्न सक्ने क्षतिमा उनको ध्यान केन्द्रित हुन्थ्यो ।

यस्ले धेरै गरिव महिलाहरुकाे जीवन रक्षा गरेकाे छ जाे याे सुविधा नभएकाे भए यी परिक्षण गर्न सक्दैनथेI
हुमैरा कुरेशी, प्रमुख डाक्टर मातृ तथा बाल स्वास्थ्य केन्द्र

प्राथमिक स्वास्थ्य केन्द्रले आठ घण्टासम्मको लामो बिजुली कटौतीको सामना गर्नुपर्छ । देशभरिकै अस्पताल जस्ता अत्यावश्यक सेवा केन्द्रहरूले जगेडा बिजुली आपूर्तिका लागि प्रायः डिजेलबाट चल्ने जेनेरेटर प्रयोग गर्छन् ।

सौर्य समाधान

सन् २००७ मा प्रदेश सरकारले सार्वजनिक–निजी साझेदारी मोडलअन्तर्गत आफ्ना केही प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरू चलाउन गैरनाफामूलक संस्था पिपिएचआई–सिन्धलाई दिएको थियो । १४ वर्षपछि यसले सिन्धका सबै २९ जिल्लामा सरकारले सञ्चालन गरेका २००० स्वास्थ्य केन्द्रमध्ये १२०० केन्द्र व्यवस्थापन गरिरहेको छ ।

मार्भी गार्डेन तीमध्ये एक हो । यो १७ लाख जनसङ्ख्यासहित सिन्धको सबैभन्दा जनघनत्व भएको सहर हैदराबादको सबैभन्दा भीडभाडयुक्त क्षेत्रमा पर्छ । कुनै बेला हप्ताको छ दिन ६/६ घण्टा मात्र चल्ने यस दुईकोठे दबाईखाना अहिले सात दिन चौबीसै घण्टा चल्ने, आफ्नै प्रशिक्षण केन्द्र र प्रयोगशाला भएको सेवा केन्द्रमा विस्तारित भएको छ । यसले हैदराबादको क्वासिमवाद क्षेत्रका ६०००  जनतालाई सेवा पु¥याउँछ ।

प्रत्येक दिन औसत २५०० महिला र उनीहरूका बालबच्चा यस केन्द्रमा आउँछन् ।  प्रत्येक महिना यहाँ औसत १०० बच्चाको जन्म हुन्छ ।

मार्भी गार्डेनको मातृ र बच्चा स्वास्थ्य केन्द्रमा एक बिरामी स्वास्थ्य परीक्षण गर्दै । (तस्बिर ः जोफिन इब्राहिम)

‘सौर्य प्यानल जडान भएपछि आउने बिरामीहरूको सङ्ख्या बढेको छ,’ पिपिएचआईका वरिष्ठ प्राविधिक सल्लाहकार जायव दहरले द थर्ड पोललाई भने । यसलाई सहयोग पु¥याउने अन्य कारक पनि हुन सक्छन् । उदाहरणका लागि, काम गर्ने समय ६ बाट २४ घण्टा हुनु ।

२५ किलोवाटका १४४ ओटा ‘फोटोभोल्टिक’ प्यानल (पिभी)हरू छानामा राखेपछि मात्रै चौबीसै घण्टा काम गर्न सम्भव भएको हो । यस प्रणालीले पिपिएचआई अफिस र योसँगै जोडिएको अनि सिन्धभरिबाट प्रशिक्षणका लागि आउने आफ्ना कर्मचारी बस्नका लागि बनाइएको आठकोठे अतिथि गृह र सम्पूर्ण स्वास्थ्य केन्द्रलाई बिजुली प्रदान गर्दछ ।

मार्भी गार्डेनबाहेक सरकारले सञ्चालनमा ल्याएको १२०० स्वास्थ्य सेवा केन्द्रमध्ये ६५० मा पिपिएचआईले सन् २०१७ देखि पिभी प्यानलहरू जोडेको छ । 

सरकारले गर्याे अनुकरण

यसबाट प्रेरित भएर सिन्ध सरकारले पनि आफूले सञ्चालनमा ल्याएका सेवा केन्द्रहरूमा सौर्य बिजुली प्रयोग गर्ने निर्णय ग¥यो । ‘जुलाई २०२० र जनवरी २०२१ बीच सरकारको अनुरोधमा सिन्धका १३ जिल्लाका २२५ सेवा केन्द्रमा सौर्य प्यानल राखिएको थियो,’ प्रादेशिक सरकारको ऊर्जा विभागको वैकल्पिक ऊर्जा सेक्सनका निर्देशन इम्तियाज अलि शाहले भने ।

३० लाख अमेरिकी डलरको लागतमा विशेषगरी ग्रिडसँग नजोडिएका सिन्धका ग्रामीण गाउँहरू र ग्रिडसँग जोडिए तापनि १० घण्टासम्मको लोडसेडिङ सामना गर्नुपर्ने गाउँहरूका लागि आयोजनाको परिकल्पना गरिएको थियो ।


अबरुद्द भइरहने बिजुली मृत्युको कारण हुन सक्छ, जसलाई रोक्न सकिन्छ ।
इम्तियाज अली, ऊर्जा विभाग, सिन्ध सरकार

‘अबरुद्ध भइरहने बिजुली मृत्युको कारण हुन सक्छ, जसलाई रोक्न सकिन्छ,’ शाहले भने । खोपले आफ्नो प्रभावकारिता गुमाउँछ, त्यसलाई निश्चित तापक्रममा राख्न सकिएन भने । गम्भीर बिरामीलाई स्वास्थ्य सेवा केन्द्रमा पु¥याउनुभन्दा पहिला प्रभावकारी नेबुलाइजर दिन सकियो भने जीवन बचाउन सकिन्छ । पर्याप्त ‘स्टेरेलाइजेसन’बिना हामीले सङ्क्रमण रोक्न सक्दैनौं,’ जीवन बचाउनका लागि अविच्छिन्न बिजुली आपूर्ति कति महत्त्वपूर्ण हुन्छ भन्ने जोड दिँदै शाहले भने ।

‘सरकारले सञ्चालन गरेका प्रायः आधारभूत स्वास्थ्य सेवा केन्द्र छ दिन ६/६ घण्टा चल्छन् । स्वास्थ्य सेवा केन्द्रले जगेडा ब्याट्रीका भरमा आकस्मिक समयमा पनि विशेषगरी प्रसूति हेरचाह जस्ता आफ्ना सेवा प्रदान गर्न सक्छन् ।’ 

प्रत्येक केन्द्रसँग कम्तीमा पनि तीन किलोवाटका सौर्य प्यानल छन् । तिनले छ ओटा पङ्खा, छ ओटा एलइडी बल्ब, खोपका लागि एउटा फ्रिज र एकएक ओटा नेबुलाइजर र स्टेलाइजर सञ्चालन गर्न पुग्छ ।

‘शल्यक्रिया कोठाका आकस्मिक बिजुली चाहिए भार व्यवस्थापन गरेर अत्यावश्यक नभएका उपकरण निभाउन सकिन्छ,’ शाहले थपे ।

सौर्य प्यानलहरू स्थापना गर्ने कम्पनीलाई नै सरकारले आफ्नो सौर्य परियोजना र त्यसको सञ्चालन गर्ने जिम्मा दिन्छ भने स्वास्थ्य सेवा केन्द्रको बिजुली व्यवस्थापनका लागि पिपिएचआईसँग आफ्नै संस्थागत समूह हुन्छ ।

‘एउटा सौर्य बिजुली प्रणालीमा २५ वटा चीज समावेश हुन्छन्,’ पिपिएचआईका बिजुली तथा ऊर्जा विभागका व्यवस्थापक सैयद जिसन अलीले भने, ‘प्रत्येक जिल्लामा इलेक्ट्रिसियन, सुवरिवेक्षक र व्यवस्थापकहरूको एउटा समूहले त्यसको दैनिक रेखदेख गर्छ ।’ त्यस समूहको काममा प्यानलहरू सफा गर्ने, वरिपरिका रूख काँटछाँट गर्ने, अनिश्चित मौसममा पनि बिजुली आपूर्तिमा तलमाथि नहोस् भनेर परीक्षण गर्ने र रिपोर्टिङ गर्नेलगायत पर्छन् ।

‘विद्युतीय निगरानी प्रणाली सबैभन्दा उपयुक्त हुन्थ्यो,’ अलीले भने, ‘तर सबैजसो केन्द्रहरू इन्टरनेट र फोन सेवा नभएको दुर्गम ठाउँमा भएकाले यो व्यावहारिक चुनौती हो ।’

आमाहरूका लागि आशाको किरण

‘सौर्य बिजुलीको आगमनले चिकित्सा कर्मचारीहरूको स्वास्थ्य प्रावधान र काम गर्ने वातावरणमा सुधार मात्र ल्याएको छैन, अविच्छिन्न बिजुलीको व्यवस्थाले देशको मातृ र बाल मृत्युदरको निराशाजनक स्थितिलाई सुधार गर्न सघाएको छ,’ पिपिएचआईका मुख्य कार्यकारी अधिकृत अब्दुल वाहब सुम्रोले भने, ‘चौबीसै घण्टा आकस्मिक प्रसव र नवजात शिशु हेरचाहले आमा र बच्चामा आउन सक्ने जटिलताको खतरा राम्रैसँग घटाउन सकिन्छ ।’

‘असाधारण जटिलामामा बाहेक आमाहरूलाई स्वास्थ्य सेवा केन्द्रमा पठाउनुपर्दैन । पानीको निरन्तर आपूर्तिले सरसफाइमा सुधार ल्याउँछ । सङ्क्रमणको सम्भवना घटाउँछ,’ सुम्रोले भने । ‘निरन्तर बिजुली आपूर्तिबाट देखिने सकारात्मक परिणाममध्ये एक खोपका लागि ‘कोल्ड चेन’को सम्भार हो,’ उनले थपे ।

पाकिस्तानको पछिल्लो जनसाङ्ख्यिक र स्वास्थ्य सर्वेक्षण (२०१७–१८) का अनुसार बाल्यकालमा मर्नेहरूमध्ये ८४ प्रतिशतको मृत्यु पहिलो जन्मदिनअघि नै हुन्छ भने ५७ प्रतिशतको मृत्यु पहिलो महिनामै हुन्छ ।  

त्यही सर्वेक्षणले पाकिस्तानमा ६६ प्रतिशत बच्चाको जन्म स्वास्थ्य सेवा केन्द्रमा भएको देखाउँछ । जब कि १९९०/९१ मा १३ प्रतिशत, २००६/०७ मा ३४ प्रतिशत र २०१२/१३ मा ४८ प्रतिशत बच्चाको जन्म स्वास्थ्य सेवा केन्द्रमा भएको थियो । त्यस सर्वेक्षणका अनुसार पाकिस्तानमा प्रत्येक महिलाले ३.६ जना बच्चा जन्माउँछन्, जुन सन् २०१२/१३ को ३.८ को दरभन्दा केही कम हो ।

एमएजसी अभिलेखले सुम्रोको विचारलाई पुष्टि गर्छ । सन् २०१४ मा पिपिएचआईले जिम्मा सम्हालेपछि बाह्य रोगी विभागमा महत्त्वपूर्ण वृद्धि भएको छ । त्यतिखेर  १८०० बाह्य रोगी विभाग थिए भने सन् २०१७ मा ५००० । जन्मपूर्व हेरचाह ३८ बाट १४१, परिवार नियोजन ३७ बाट १०० भन्दा बढी सेवाग्राहीमा र सुत्केरी प्रतिमहिना चारबाट १०० भन्दा बढी पुग्यो ।


पिपिएचआईको लेखाचित्रले आफ्नो स्वास्थ्य सेवा केन्द्रका प्रत्येक सूचकाङ्कको चारवर्षीय औसतको तुलना गर्छ । (आँकडा ः पिपिएचआई)

दुर्गम गाउँमा बिजुली विलासिता हाे

साँझ बलोचले त्यो समयको सम्झना गरिन्, जब उनले आफ्नो मोबाइल फोनको फ्ल्यास लाइटको मद्दतले बच्चाहरू जन्माइन् । निर्बाध बिजुली आपूर्ति केवल ‘बिलासिता’ हो भन्ने सोच्छिन् उनी ।

बलोचका अनुसार विगत चार वर्षमा संस्थागत सुत्केरी र प्रसवको सङ्ख्या वृद्धिका कारण खानोट र जम्सोरो जिल्लाका दुर्गम गाउँहरूका मातृ तथा बाल केन्द्रमा सौर्य बिजुलीको आगमन भएको हो ।

उपेक्षित र राष्ट्रिय प्रसारण ग्रिडबाट विच्छेदित यी भूभागमा रात पीडादायी हुन्छन्, विशेषगरी बर्खाका समयमा जतिखेर तापक्रम ४० डिग्री सेल्सियस पुग्छ ।


लामखुट्टेका झुन्डको निरन्तरको निर्दयी आक्रमण सहँदै चर्को गर्मीमा प्रसव वेदनामा परेकी महिलाको पीडा तपाईंले बुझ्न सक्नुहुन्न ।

अजीजा रबनवाज, मातृ तथा बालस्वास्थ केन्द्र खानाेट

लामखुट्टेका झुन्डको निरन्तर र निर्दयी आक्रमण सहँदै चर्को गर्मीमा प्रसव वेदनामा परेकी महिलाको पीडा तपाईंले बुझ्न सक्नुहुन्न,’ मातृ तथा बाल स्वास्थ्य केन्द्र, खानोटकी वरिष्ठ सहयोगी कर्मचारी अजिजा रबनवाजले भनिन् ।

सुडेनीहरूका लागि अँध्यारोमा काम गर्नु चुनौतीपूर्ण हुन्छ । ‘उनीहरूले च्यातिएको योनीलाई बनाउने र जन्मपछिको रक्तस्राव रोक्ने काम टर्चको उच्यालोमा गरे भने आफ्नो साथै आमाको जीवन पनि खतरामा पर्न सक्छ,’ बालोचले भनिन् । 

पाकिस्तान मातृ मृत्यु सर्वेक्षण (पिएमएमएस) २०१९ का अनुसार पाकिस्तानको मातृ मुत्युदर (प्रति १००००० जीवित जन्ममा मातृ मृत्युको संख्या) २७६ (सन् २००६/०७) बाट १८६ मा झरेको छ । तर प्रदेशीय आँकडालाई नियालेर हेर्ने हो भने सिन्ध र बलोचिस्तानमा प्रतिमातृ मुत्युदर २२४ र २९८ छ, जुन अस्वीकार्य रूपमा उच्च हो । पञ्जाबको मातृ मुत्युदर १५७ मा सबैभन्दा कम छ, त्यसपछि १६५ मा खैबर पख्तुनख्वा ।


गर्भवती महिलालाई हेर्दै खनोट मातृ तथा बाल स्वास्थ्य केन्द्रकी प्रमुख समिना परविन । (तस्बिर ः जोफिन इब्राहिम)

२० भन्दा अलि बढी उमेरकी भएकी दुई बच्चाकी आमा रेश्मा पिरजादो जस्ता धेरै महिला स्वास्थ्य केन्द्रमा बच्चा जन्माउन चाहन्छन् । ‘मेरो गाउँ खासाईबाट यो ठाउँ (खोनोट एमएजसी) आधा घण्टा टाढा पर्छ । तर त्यत्तिकै टाढा रहेको सहर जम्सोरो जानुभन्दा यहीँ आउन म रुचाउँछु,’ उनले भनिन्, ‘यो सफा छ । र यहाँको वातावरण मित्रतापूर्ण छ ।’

‘उनीहरूले मलाई रातमा हिटर पनि चलाइदिन्छन्,’ जाडोयाममा आफ्नो दोस्रो बच्चा जन्माएको सम्झँदै उनले भनिन् । उनको गाउँमा बिजुली छैन । र धेरै घरले सौर्य प्यानल प्रयोग गरेर आफ्नै बिजुली उत्पादन गर्छन् । ‘तर हिटर चलाउनलाई त्यो पर्याप्त हुन्न,’ उनले भनिन् ।     

खानोटमा बिजुली भएका कारण कर्मचारीहरूले स्वास्थ्य केन्द्रमा बिताउने समय बढेको छ । किनकि उनीहरूलाई घर जान हतार हुन्न । ‘मलाई त स्वास्थ्य केन्द्रमा सजिलो हुन्छ । यहाँ पानी, बिजुली छ । हामीलाई गर्मीमा शीतल राख्न पङ्खा पनि छ । घरमा त हामीले लामो समयसम्म बिजुली कटौतीको सामना गर्नुपर्छ,’ अर्का स्वास्थ्यकर्मी बाख्तवर खोसोले भने ।

खनोट मातृ तथा बाल स्वास्थ्य केन्द्रमा सौर्य प्यानलको स्थापनाले संस्थागत सुत्केरीको संख्या वृद्धि भएको छ । (तस्बिर ः जोफिन इब्राहिम)

खनोट मातृ तथा बाल स्वास्थ्य केन्द्रकी प्रमुख समिना परविनले आफ्नो डेस्कमा भएका रजिस्टरहरूको चाङ देखाउँदै निर्बाध बिजुली आपूर्तिसँगै ‘हामीले आफ्ना कामलाई डिजिटलाइज गर्न सक्छौं अनि काममा प्रभावकारिता ल्याउन सक्छौं’ भन्ने आशा व्यक्त गरिन् ।

हरायो वा पानीले बिगा¥यो भन्दै महिलाहरू प्रायः आफ्ना फाइल वा अल्ट्रासाउन्ड रिपोर्ट र कहिलेकाहीँ आफ्ना बच्चाका खोपका कार्ड नलिईकन स्वास्थ्य केन्द्र आउने गरेको खोसोले बताए । ‘यी रजिस्टर हेरेर उनीहरूका रेकर्ड पत्ता लगाउन हामीलाई समय लाग्छ । कहिलेकाहीँ त हामीले फेरि परीक्षण गर्नुपर्छ । कम्प्युटरमा उनीहरूको चिकित्सा रेकर्ड भयो भने हामीले केवल नाम मात्र प्रविष्ट गर्नुपर्छ अनि तुरुन्तै उनीहरूको चिकित्सकीय इतिहास हाम्रो अगाडि हुन्छ,’ उनले भने ।

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.