icon/64x64/culture समाज र समुदाय

पुस्तक समीक्षा- बुद्धको पदचाप : एसियाको वातावरणीय इतिहास

आधुनिक वातावरणीय मान्यताहरूसित मिल्दोजुल्दो अवधारणा अपनाएर नभई प्रकृतिको शोषण र सम्पत्तिको पूजन गरेर एसियामा बौद्ध धर्म फस्टाएको हो, जोहान एल्वर्स्कोग आफ्नो विचारोत्तेजक पुस्तकमा तर्क गर्छन् ।
थाइल्यान्डमा निर्माणाधीन बुद्धको मूर्ति (तस्विर: अलामी)
थाइल्यान्डमा निर्माणाधीन बुद्धको मूर्ति (तस्विर: अलामी)

इसापूर्व ७०७ मा, चीनको ट्याङ वंशका एक अधिकारीले टिप्पणी गरेका थिए, ‘[बौद्ध] ठूला गुम्बाहरुकाे निर्माण कार्यहरू भइरहेका छन् र ठूला-ठूला हबेलीहरू निर्माण गरिएका छन् । त्यस्ता कामहरूका लागि यतिसम्म रुखहरू काटिएका छन् कि पहाडहरू नाङ्गिएका छन् । तर यसरी निकालिएको काठ आवश्यक दलिन र स्तम्भहरू आपूर्ति गर्न पर्याप्त छैन, [त्यसैले धेरै काठ आयात गरियो]। सडकमै अवरोध पुग्ने गरी माटो निकालिए पनि पर्खाल बनाउनका लागि [आवश्यक इँटाहरूको] उत्पादन पर्याप्त छैन। “

गुम्बा बनाउनका लागि चाहिने काठका लागि ठूलो क्षेत्रमा वन फडानी गरियो । इँटा बनाउनका लागि चाहिने माटो निकाल्दा पूरै भूपरिधि नै परिवर्तन हुन गयो । शक्तिशाली तथा ठूला आर्थिक केन्द्रहरूका रूपमा बौद्ध संस्थाहरूका कारण ठूलो मात्रामा वातावरणीय परिवर्तन भयो ।

मध्ययुगीन चीनको यो उदाहरणले जोहान एल्वर्स्कोगको विचारोत्तेजक पुस्तक ‘द बुद्धज फुटप्रिन्ट : एन इन्भाइरोमेन्टल हिस्टोरी अफ एसिया’ को मुख्य भावलाई प्रकाश पार्दछ । उनले यसको सारलाई एउटा ट्वीटमा समेटेका छन् : एसियाभर रहेका बौद्ध धर्मावलम्बीहरूले वस्तु व्यापार, कृषिको विस्तार र सहरीकरणको माध्यमबाट वातावरणलाई परिवर्तन गरेको दर्साउँदै यसलाई वातावरणमैत्री धर्मको रूपमा व्याख्या गरिएको कथनलाई एल्वर्स्कोगले खण्डन गरेका छन् । बौद्ध धर्म पर्यावरणमैत्री छ भन्ने कथन व्यापक रूपमा फैलिनुको कारण बौद्ध धर्म आधुनिक वातावरणीय मान्यताहरूसित मिल्दोजुल्दो त्यागको परम्परामा आधारित छ भन्ने तर्कमा स्थापित भएकाे देखिन्छ ।

पर्यावरणप्रतिको सचेतना तथा वातावरणको संरक्षण बौद्ध धर्म संस्कारमा अन्तर्निहित विषयहरू होइनन्, बौद्ध धर्म पर्यावरणमैत्री छ भन्ने मान्यताको विपक्षमा एल्वर्स्कोग तर्क गरेका छन् । यसको विपरीत, बौद्ध धर्मको सुरुवाती चरणमा यसले वातावरणीय मान्यताहरूसित नमिल्ने सोच राखेको थियो, र बौद्ध धर्म संसारभर फैलिँदा यसमा खासै परिवर्तन आएन । प्रकृतिको दोहनलाई उचित ठान्ने र प्रोत्साहन नै गर्ने मान्यताहरूबाट सञ्चालित बौद्ध धर्मावलम्बीहरूले आफ्नो ‘कमोडिटी फ्रन्टियर’लाई विस्तार गरे । एल्वर्स्कोगका अनुसार ‘कमोडिटी फ्रन्टियर’ धर्मलाई सहयोग गर्नका लागि प्राकृतिक स्रोतहरूको निस्सारण र त्यसबाट व्यापारमा प्रयोग गर्न सकिने वस्तुहरूको उत्पादनसित सम्बन्धित छ ।

आर्थिक विस्तार बौद्ध परम्परामा सम्पूर्ण प्रणालीको अभिन्न अङ्ग थियो ।

एल्वर्स्कोगका अनुसार, बौद्ध धर्म पर्यावरणमैत्री थियो भन्ने कथनको मुख्य समस्या के हो भने यसले बौद्ध विचारलाई विकृत गर्दछ र धर्मावलम्बीहरूले गरेको कामलाई बेवास्ता गर्दछ। यसै धारणालाई सच्याउन पुस्तकको पहिलो भागले बुद्धले सिकाएका कुराहरूको पुनरवलोकन गरेकाे छ । भारतका व्यापारी वर्गलाई आकर्षित गरेको र एसियाभर फैलिएको व्यापारमा आधारित सहरी विश्वमा फस्टाएको बौद्ध धर्म भौतिकवादको विरोध र त्यागमा केन्द्रित थिएन । बुद्धले शाकाहारको पक्षमा समेत बोलेका थिएनन्; भिक्षुहरू शाकाहारी हुनुपर्दछ भन्ने धारणा एक हजार वर्षपछि चीनमा विकसित भएको थियो ।

बौद्ध धर्म ‘समृद्धिमा आधारित धर्मशास्त्रमा’ आधारित थियो र यो धनको आर्जनमा केन्द्रित थियो। पैसा कमाउनु बौद्ध धर्म मान्नुको आधारभूत हिस्सा थियो। सम्पत्तिको उत्पादन सकारात्मक कर्म थियो र धर्मलाई सहयोग गर्न त्यस्तो सम्पत्तिको प्रयोगले धर्म कमाउन सकिन्थ्यो । भिक्षुहरूले भौतिक संसारलाई त्यागे र जनावर मार्नबाट रोके पनि अधिकांश बौद्धहरूले त्यसो गरेनन् । त्यसैले एल्वर्स्कोग भन्छन्, “बौद्ध परम्पराको ‘पदचिह्न’ र बौद्ध धर्म मान्ने एसियाको इतिहासलाई पूर्ण रूपमा बुझ्न, सर्वसाधारण र समुदायहरूको गतिविधिलाई हाम्रो विश्लेषणको केन्द्रमा ल्याउनु आवश्यक छ।”

बौद्ध धर्मले राम्रोसँग काम गर्नका लागि, साधारण मानिसहरूले भिक्षुहरूलाई आर्थिक रूपमा सहयोग गर्नुपर्‍यो । यसरी दान दिनका लागि आर्थिक लाभ आवश्यक हुन गयो । जब सांसारिक प्रक्रियाहरूमा भाग लिएर केही मानिस धनी भए, तिनीहरूको सम्पत्ति गुम्बालाई सहयोग गर्नतिर प्रयोग गरियो । “त्यसै कारण, आर्थिक वृद्धि सबै बौद्ध परम्परा (निकाय, महायान र तान्त्रिक)को समग्र प्रणालीको अभिन्न अंग थियो ।”

यसो हुनु आश्चर्यजनक छैन, एल्वर्स्कोग भन्छन् । बौद्ध धर्मले यस्ता मानिसहरूलाई उच्च स्थानमा राख्यो जोसित प्राकृतिक संसारको धनलाई भौतिक सम्पत्तिमा रूपान्तरण गर्ने व्यावसायिक चातुर्य थियो । यस्तो धनलाई कर्म र सांस्कृतिक पुँजीमा रूपान्तरण गर्न सकिने भयो । धनको प्राप्ति प्रकृतिको दोहनबाट हुने भएकाले एसियाको वातावरणीय इतिहासमा बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण स्थान छ ।

The Sule Pagoda in downtown Yangon
म्यानमारको रङ्गुन सहरमा रहेको सुले प्यागोडा (तस्बिर : अलामी)

पूर्वी एसियाली बौद्ध धर्ममा प्रकृतिको सौन्दर्यको कदर लामो समयदेखि नदेखिएको अविचलित प्राकृतिक वातावरणको चाहनाका कारण विकसित भएको थियो । यसका लागि पनि धन चाहिन्थ्यो किनभने पूर्वआधुनिक समयमा सम्पत्ति भएकाहरूले मात्र प्रकृतिको सौन्दर्यको आनन्द लिन सक्थे । चिनियाँ र जापानी बौद्ध धर्ममा गरिने प्रकृतिको सराहनाको पर्यावरणीय नीतिसँग भन्दा मानिसको आर्थिक हैसियतसित बढी सम्बन्ध थियो । सम्भ्रान्तहरू प्रकृतिबारे कविता लेख्ने र चित्रकला कोर्ने गर्देथे अनि यस्ता अभ्यासहरूले प्रकृतिको सौन्दर्यीकरण गर्नुका साथै बौद्ध धर्मले प्रवर्द्धन गरेको पैसामा आधारित भेदभावपूर्ण सहरी अर्थव्यवस्थामा धनका कारण हैसियत पाइने व्यवस्थालाई सुदृढ गरेका थिए ।

पुस्तकको दोस्रो भागले बौद्ध धर्मका अनुयायीहरूले गरेको कामको लेखाजोखा गरेको छ । बौद्ध धर्मले एसियाभर वातावरण र मानिसको शोषण गर्ने प्रणालीको स्थापना र सम्भार गरेको यहाँ बताइएको छ। एल्वर्स्कोगले बौद्ध धर्मको नैतिक पदानुक्रमलाई यस्तो शोषणको श्रेय दिन्छन् : बौद्ध सिद्धान्तले नैतिक पदानुक्रमलाई संस्थागत गर्‍यो … फलस्वरूप, केही समूहका सदस्यहरू (विशेष गरी गुम्बासित सम्बन्धित मानिसहरू र धनी समुदायका मानिसहरू)लाई धार्मिक दृष्टिकोणले अरूभन्दा माथिल्लो दर्जा मिल्यो । यस्ता माथिल्ला दर्जाका मानिसहरूले तल्लो दर्जाकालाई गर्ने शोषणलाई समेत यसले जायज गरायो।  बौद्ध धर्म स्थापना भएको ठाउँमा, अनुयायीहरूले स्थानीय स्रोतहरूलाई अन्तराष्ट्रिय व्यापारको सञ्जालमा जोडे। यसो गर्दै गर्दा उनीहरूले आदिवासीहरूलाई पाखा  लगाए ।

बौद्ध धर्मावलम्बीहरूको वातावरणप्रतिको चासो उनीहरूमा आधुनिक वातावरणीय मान्यताहरूका कारण पलाएको हो; बौद्ध धर्मावलम्बीहरूको वातावरणीय चेतका कारण आधुनिक वातावरणीय मान्यताहरू विकसित भएका होइनन् ।

एल्वर्स्कोगको पुस्तकले बौद्ध धर्मावलम्बीहरूले एसियाको वातावरणमा कसरी परिवर्तन ल्याए भनेर अझै गहन छानबिन गर्न प्रेरणा दिएको छ । मेरो विचारमा सबैभन्दा रोचक विषय कृषिको विस्तारमा बौद्ध धर्मावलम्बीहरूको भूमिका हो । उन्नत सिँचाइ प्रविधिहरूको प्रसारलाई प्रवर्द्धन गर्नुका साथै उनीहरूले चामल, चिनी, कपास र चियाको खेती फैलाए । यसका कारण एसियाको मात्र नभएर, विश्वकै वातावरणीय इतिहास परिवर्तन भयो । यस्तो ‘बौद्ध विनिमय’को प्रभाव कोलम्बियामा अफ्रिका-एसिया-युरोप र अमेरिकी महादेशबीचको पहिलो अन्तर्क्रियाका कारण भएको बाली र रोग दुवैको प्रसारणका कारण सिर्जित ठूलो स्तरको वातावरणीय प्रभावजत्तिकै महत्वपूर्ण थियो ।

बौद्ध धर्म जियान्काङ (हाल नानजिङ)जस्ता सहरहरूमा फस्टाएको थियो । छैठौँ शताब्दीमा जियान्काङको जनसङ्ख्या १० लाखभन्दा बढी थियो, जसमा २०,००० देखि ४०,००० बौद्ध भिक्षुहरू थिए । त्यस्तै बौद्ध गुम्बाहरूको सङ्ख्या ७००भन्दा बढी थियो। त्यस्ता ठूला सहरहरूमा मानिसहरूलाई खुवाउन कृषि उपज चाहिने नै भयो । यसबाहेक सहरको बजार चल्नका लागि बौद्ध व्यापारीहरूको सञ्जाल पनि चाहियो, जसले विभिन्न व्यापारिक वस्तुहरूको किनबेच गरोस् । महत्त्वपूर्ण कुरा के छ भने, बौद्ध धर्मको प्रसारसँगसँगै अघि बढेको सहरीकरणका कारण मानव जीवन प्रकृतिबाट अलग हुन गयो र मानिसका कारण वातावरणमा पर्ने असरलाई नजरअन्दाज गरियो । सोही समयमा बौद्धहरूले आफ्नो गुम्बा, मन्दिर र स्तूपहरू निर्माण गरेर वातावरणको परिवर्तन र शोषण गरे।

आज आएर भने इतिहासकार प्रसेनजित डुवाराले देखाएझैँ बौद्ध धर्मले वातावरणीय विनाशको विरुद्ध लागेका एसियाली समुदायहरूको आन्दोलनलाई प्रेरणा दिने गरेको छ । यद्यपि बौद्ध धर्मावलम्बीहरूले वातावरणप्रति चासो दिन थालेको भर्खरै मात्र हाे भन्ने एल्वर्स्कोगको निष्कर्ष छ । समसामयिक व्याख्याहरूले बौद्ध धर्मावलम्बीहरूको वातावरणप्रतिको चासो उनीहरूमा आधुनिक वातावरणीय मान्यताहरूका कारण पलाएको र बौद्ध धर्मावलम्बीहरूको वातावरणीय चेतका कारण आधुनिक वातावरणीय मान्यताहरू विकसित नभएको देखाउँछन् । बौद्ध धर्म र वातावरणबीचको सम्बन्धमा हालैका दिनमा आएको आमूल परिवर्तनले र पर्यावरणमैत्री बौद्ध ‘संस्कार’को आविष्कारबारेका इतिहासहरू अझै लेखिन बाँकी नै छन् ।

यो आलेख द थर्डपोलको भगिनी वेबसाइट चाइना डाइलगमा पहिलो पटक प्रकाशित भएको थियो । चाइना डाइलगको पर्वावरणीय इतिहास शृङ्खलाका थप समाग्री पढ्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.