icon/64x64/climate जलवायु

विचारः हिमाली क्षेत्रमा ‘क्यासकेडिङ’ प्रकोपको जोखिम कसरी कम गर्ने ?

हालैका दिनहरूमा हिन्दुकुश हिमालय क्षेत्रमा घटेका दु:खद घटनाहरूले एउटा प्रकोपले अर्को प्रकोप सिर्जना गर्ने (क्यासकेडिङ प्रकोप) नयाँ र जटिल परिदृश्य उत्पन्न भएको र यसका विरुद्ध तयारी गर्न जरुरी भएको देखाएको छ ।
भारतको उत्तराखण्डमा सन् २०१३ मा मन्दाकिनी नदीमा आएको बाढीले ल्याएको विनाश । लामो समयसम्म परेको पानीका कारण पहिरो र बाढी आएको थियो भने ताल फुटेर नदीमा लेदो बगेको थियो । (तस्विर : फ्राङ्क बाइनेवाल्ड)
भारतको उत्तराखण्डमा सन् २०१३ मा मन्दाकिनी नदीमा आएको बाढीले ल्याएको विनाश । लामो समयसम्म परेको पानीका कारण पहिरो र बाढी आएको थियो भने ताल फुटेर नदीमा लेदो बगेको थियो । (तस्विर : फ्राङ्क बाइनेवाल्ड)

यो वर्ष मनसुनको सुरुवातसँगै नेपाल र भारतका महाकाली र कोशी नदीतटका क्षेत्रमा बाढीको प्रकोप देखियो । कोशीको पश्चिमी जलाधार क्षेत्रमा भारी वर्षा र यससँग सम्बन्धित विभिन्न कारकहरूका कारण काठमाडाैँकाे उत्तरपूर्वमा पर्ने मेलम्ची-इन्द्रावती जलाधार क्षेत्रमा पहिले कहिल्यै नदेखिएको स्तरमा विनाश देखियो ।

हिन्दुकुश हिमालाय क्षेत्रको जमिन भिरालो छ भने भूबनोट कमजोर । त्यसमाथि यहाँ थोरै समयमा धेरै पानी पर्ने गरेको त छँदै छ, कहिले कति पानी पर्छ भनेर भन्न पनि सकिन्न । मनसुनको समयमा बाढी र पहिरोका घटना सामान्य भइसकेका छन् । हरेक वर्ष सयौँ मानिसहरूले आफ्नो ज्यान गुमाउँछन् र यसका साथै महत्त्वपूर्ण पूर्वाधार, बस्ती र खेतीमा समेत गहिरो क्षति पुग्ने गरेको छ । हाल आएर हामीले पहिले भन्दा धेरै ‘क्यासकेडिङ’ प्रकोपहरूको सामना गरिरहेको महसुस हुन्छ । यस्तो खालको प्रकोपहरूमा एउटा प्रकोपका कारण अर्को प्रकोपको जन्म  हुने गर्दछ । यस्ता प्रकोपहरूसित जुध्न हामीले तुरुन्तै योजना बनाउनु जरुरी छ ।

मेलम्ची विपद्

यो वर्षको जुन १३ देखि १५ सम्म मेलम्ची-इन्द्रावती जलाधार क्षेत्रमा लगातार मसिनो पानी परेको थियो । एकै पटक धेरै पानी धेरै नपरे पनि यस क्षेत्रमा आएको बाढी र त्यसले गराएको ठूलो क्षतिले स्थानीय तथा विशेषज्ञहरूलाई समेत चकित पारेको छ ।

The Melamchi area, before and after the 15 June 2021 disaster (Image: Google Earth and Planet)
जुन १५मा आएको बाढीअघि र पछि मेलम्ची क्षेत्रको स्थिति (तस्बिर : गुगल अर्थ र गुगल प्लानेट)

बाढीले क्षति पुर्‍याएका धेरै संरचनाहरूमध्येको एक हो मेलम्ची खानेपानी परियोजनाको हेडवर्क्स । राष्ट्रिय गौरवको परियोजनाको दर्जा पाएको मेलम्ची परियोजनाले एउटा जलाधार क्षेत्रबाट अर्कोमा पानी स्थानान्तरण गर्ने र काठमाडौँका मानिसहरूलाई नियमित रूपमा खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको थियो । बाढीले तल्लो तटमा रहेको मेलम्ची बजारमा पर्ने १७६ वटा घर र १७८ हेक्टर जमिनमा लगाइएको धान सखाप पारेको थियो ।

करिब ३० किमिको दुरीमा बाढीले १३ वटा झोलुङ्गे पुल, सातवटा पक्की पुल र सडकका विभिन्न खण्डहरू भत्काएको छ र थुप्रै गाउँहरू सडक स‌ंजालविहीन भएका छन् । बाढी सुरु भएको हेलम्बु क्षेत्रबाट ७० किमि तलसमेत माटो र बालुवा ठूलो मात्रामा थुप्रिएको छ ।

प्रारम्भिक अनुसन्धानका अनुसार, माथिल्लो तटमा पानी परेकाले मात्र नभई पहिरोका कारण बनेका अस्थायी बाँधहरूका कारण पनि लेदोसहित बाढी आएको थियो र त्याे बाढीले मेलम्ची बजारकाे थुप्रै भाग डुबाएको थियो । जमिन र भूउपग्रहबाट लिइएका तस्बिरहरूले घ्याङ र ब्रेमाथाङमा ठूला पहिरोहरू गएको  देखिन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहिरोका कारण मेलम्ची नदी ४५ मिनेटका लागि ठप्प भएको थियो । पन्ध्र जुनको राति ७ बजे नदीमा पानीको बहाव ह्वात्तै बढेकाले यसै बेला बाँधमा भरिएको पानी बाँधबाट बाहिर आएको अनुमान गर्न सकिन्छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक प्रतिवेदनले पनि मेलम्चीमा घटेको प्रकोपका एकभन्दा बढी कारक रहेको बताएको थियो । नदी बहने क्षेत्रका विभिन्न खण्डहरूमा भएका मानव गतिविधि, जलवायुसम्बन्धी कारक तथा प्रक्रियाहरूका कारण यो घटना घटेको हो ।

मेलम्ची जलाधार क्षेत्रमा जुलाई ३१मा (पहिलो पटक बाढी आएको करिब डेढ महिनापछि) फेरि बाढी आएको थियो । बाढीले त्याे क्षेत्रमा पूर्वाधारमा असर गरेको थियो र माटो थुपारेको थियो । निकै पहिले पहिरो गएको एउटा क्षेत्र र त्यसको पछाडि थुप्रिएको बालुवा विजाेक बनेको थियाे । निरन्तर भइरहेको भूक्षय र नदीले ल्याइराख्ने बालुवाका कारण त्याे क्षेत्रकाे भविष्य नै खतरामा परेकाे छ । त्यसैले स्थानीय नगरपालिकाले उच्च जोखिममा रहेका क्षेत्रहरूमा बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह समेत गरेको छ ।

बाढी प्रकोपको बदलिँदो रूप

विगतको दशकमा हिन्दुकुश हिमालय क्षेत्रमा आउने गरेका बाढीहरूको प्रकृतिमा परिवर्तन आएको छ । फेब्रुअरी २०२१मा भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा रोन्टी शिखरमुनि खसेको ढुङ्गा र बरफका कारण ठूलो बाढी आएको थियो र २०० जनाको निधन भएको थियो । जलविद्युत् परियोजनाहरूसहितका विभिन्न पूर्वाधारहरूमा ठूलो क्षति पुगेको थियो ।

The Tapovan Vishnugad Hydropower Plant site before and after the Chamoli flood of February 2021, Shrestha et al
सन् २०२१को फेब्रुअरीमा चमोलीमा आएको बाढीअघि र पछि तपोवन विष्णुगाड जलविद्युत् परियोजना । बाढीपछि बाँधमा पूर्ण रूपमा माटो भरिएको थियो ।

त्याे बाढी नेपालको पोखरामा सन् २०१२मा सेती नदीमा आएको बाढीसित मिल्दोजुल्दो छ । अन्नपूर्ण छैटौँको दक्षिणी भागबाट खसेको ठूलो ढुङ्गाका कारण अकस्मात् बाढी आएको थियो । त्यस्तै सन् २०१३मा भारतको उत्तराखण्डमा निरन्तर परेको पानीका कारण बाढी र पहिरोलगायतका घटनाहरू घटेका थिए । चोराबारी ताल फुट्दा त्यहाँबाट निस्केको पानी र माटोमा पुरिएर छ हजारभन्दा बढी मानिसको मृत्यु हुनुका साथै सडक, भवन र पूर्वाधार भत्किएका थिए ।

हिमाली क्षेत्रमा क्यासकेडिङ प्रकोपहरू

यी सबै घटनाहरू ‘क्यासकेडिङ’ प्रकोपका उदाहरणहरू हुन् । यस्तो खालका घटनाहरू बढ्दो अवस्थामा छन् । यस्तो अवस्थामा एउटा प्रकोपले अर्को प्रकोपलाई मलजल गर्दछ र दुबै प्रकोपहरूको संयुक्त असर एउटा प्रकोपको तुलनामा निकै ठूलो हुन जान्छ । यी घटनाहरूले के देखाउँछन् भने हिमाली क्षेत्रमा हुने सानो घटनाले माथिल्लो तथा तल्लो तटमा समेत ठूलो क्षति पुर्‍याउन सक्दछन् ।

भुटान, भारत, नेपाल र पाकिस्तानजस्ता पर्वतीय देशहरूमा यस्ता क्यासकेडिङ प्रकोपहरू घट्ने सम्भावनाहरू उच्च रहन्छन् । माथिल्लो तटमा पहिरो, बाढी र हिमआँधी आउनाले वा हिमताल फुट्नाले तल्लो तटमा मानिसहरूको ज्यान जान सक्छ र जीविकोपार्जनका स्राेतहरूंमा असर पर्न सक्छ । नियमित रूपमा आउने बाढी हरेक वर्ष आइरहन्छन् तर यस्ता प्रकोपहरू धेरै वर्षमा आउने गरेका छन् । तर पर्वतीय क्षेत्रमा बन्ने पूर्वाधारहरू यस्ता जटिल चुनौतीहरू सामना गर्ने गरी डिजाइन गरिएका छैनन् ।

The devastation caused by the floods in the Melamchi Bazaar area (Image: Santosh Nepal / ICIMOD)
The devastation caused by the floods in the Melamchi Bazaar area (Image: Santosh Nepal / ICIMOD)
The devastation caused by the floods in the Melamchi Bazaar area (Image: Santosh Nepal / ICIMOD)
मेलम्ची बजारमा बाढीले पुर्‍याएको क्षति (तस्बिर : सन्तोष नेपाल, ईसिमोड)
The devastation caused by the floods in the Melamchi Bazaar area (Image: Santosh Nepal / ICIMOD)

जटिल जोखिमलाई कसरी न्यूनीकरण गर्ने ?

मौसमको पूर्वानुमान र जलविज्ञानमा आधारित मोडलहरूका माध्यमबाट बाढी आउनु केही दिनअघि नै त्यसको पूर्वानुमान गर्न सकिन्छ । तर हिमाली क्षेत्रमा हुने क्यासकेडिङ प्रकोपका बारेमा पूर्वानुमान गर्ने कुनै पनि संरचना छैन । त्यसैले यस्ता प्रकोपहरू घट्नुअघि नै मानिसमा हुने सचेतना तथा उनीहरूले गर्ने पूर्वतयारी नै जोखिम घटाउने सबैभन्दा सहज र कार्यान्वयन गर्ने सकिने तरिका हो ।

मेलम्चीका मानिसहरूका अनुसार माथिल्लो तटका बासिन्दाहरूले उनीहरूलाई पहिरो आएको अनि प्राकृतिक रूपमा बाँध बनेको र त्याे फुट्न सक्ने कुरा बताएका कारण पूर्वाधारमा ठूलो क्षति पुगे पनि धेरै मानिसहरूको ज्यान बचेको थियो । यसले पूर्वसूचनाको महत्त्व झल्काएको छ र माथिल्लो तथा तल्लो तटका मानिसहरूबीच हुने औपचारिक तथा अनौपचारिक कुराकानीले विपद्को जोखिम घटाउन सक्ने देखिएको छ ।

पूर्वी नेपालबाट बहने रातु खोलाको माथिल्लो तटआसपास बस्ने नेपाली समुदायले तल्लो तटमा भारतको विहारमा बस्ने मानिसहरूलाई अनौपचारिक रूपमा पानीको बहाव बढेको जानकारी दिने गरेका छन् । क्यासकेडिङ प्रकोपहरूको हकमा पनि पूर्वसूचना दिने प्रणालीहरूको विकास गर्न जरुरी देखिन्छ । यस्ता पूर्वतयारी प्रणालीहरूको विकास गर्दा समुदायलाई केन्द्रमा राख्न जरुरी छ । यसो गर्नाले अन्तरदेशीय नदीका किनारमा बसेका समुदायसमेतमा जोखिम आँकलन गर्न सक्ने क्षमता बढेर जानेछ ।

हालैका दिनहरूमा घटेका क्यासकेडिङ प्रकोपहरूले जलवायु समानुकुलित विकास योजनाहरूको महत्त्व र यिनीहरूलाई छिटै कार्यान्वयन गर्नुपर्ने आवश्यकता उजागर गरेका छन् । पर्वतीय क्षेत्रमा पूर्वाधारको विकास गर्न जमिनको उपयोग गरिँदा मापदण्ड उल्लङ्घन वा बेवास्ता गरिएमा जोखिम बढेर जान्छ ।

मेलम्चीको सन्दर्भमा हामी के देख्न सक्छौँ भने क्षति पुगेका संरचनाहरू बाढी आउन सक्ने क्षेत्रमा बनेका थिए । मेलम्ची बजारमा थुप्रै भवनहरू नदीनजिकै बनाइएका थिए । त्यस्तै ग्रामीण सडकहरूको निर्माणले पहिरोको जोखिम बढेर गएको छ । समुदाय स्तरमा जोखिम घटाउन बिमा र जीविकोपार्जन विविधीकरण कार्यक्रमहरू आवश्यक छन् । हामीले पहाड र हिमालमा कुनै पनि विकासको गतिविधि गर्दा त्यहाँको जोखिमको विस्तृत अध्ययन गर्न जरुरी छ ।

विभिन्न अनुसन्धानहरूले हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण क्यासकेडिङ प्रकोपहरूको आवृत्ति बढ्ने देखाएका छन् । पानी धेरै पर्नाले यस्ता प्रकोपहरूको असर बढ्ने देखिएको छ । क्यासकेडिङ प्रकृतिका प्रकोपहरू सापेक्ष रूपमा नयाँ भएता पनि संसारभर यिनको अध्ययन भइरहेको छ । यिनले ल्याउन सक्ने ठूलो स्तरको विनाशलाई मध्यनजर गर्दै यो विषयलाई गहिरोसित बुझ्न र यस्ता प्रकोपसँग जुध्न क्षेत्रीय सहकार्य आवश्यक छ । 

क्यासकेडिङ प्रकोपबारे अन्तरदेशीय सहकार्य

जुन १८, २०२१ मा इन्द्रावती नदीको पूर्वमा रहेको तामाकोशी नदी तिब्बती क्षेत्रमा थुन्निएकाे थियो र यसका कारण नेपालमा बाढी आउने सम्भावना बढेको थियो । तर चिनियाँ अधिकारीहरूले नेपाली समक्षीहरूलाई यसबारे जानकारी दिए र अधिकारीहरूले तल्लो तटका मानिसहरूसमक्ष यो सूचना पुर्‍याए । त्यस्तै सम्भावित क्षतिलाई मध्यनजर गर्दै तामाकोशी जलविद्युत् योजनाको जलाशयमा पानीको तह केही मिटरले घटाइयो  । चिनियाँ अधिकारीहरूले पछि पहिरो हटाए र नदीलाई आफ्नो समान्य गतिमा बग्न दिए ।

तर सन् २०१६मा भने त्यसो भएको थिएन । तिब्बतमा एउटा हिमताल फुट्दा भोटेकोशी जलविद्युत् आयोजनासँगै नेपालकाे भूभागमा ठूलो क्षति पुगेको थियो  । तामाकोशीको जोखिम घटाउन नेपाली र चिनियाँ निकायहरूबीच भएको कुराकानीले क्यासकेडिङ प्रकोपसहितका अरू जोखिम घटाउन अन्तरदेशीय सहकार्यको महत्त्व झल्काएको छ ।

अन्त्यमा, हरेक मनसुनले हामीलाई विपद् व्यवस्थापनको पाठ सिकाउने गर्दछ । तर मनसुन सकिएर पानी पर्न रोकिएपछि हामीले सिकेका पाठहरू कार्यान्वयन गर्दैनौँ । त्यसैले अर्को मनसुनमा हामीले फेरि त्यस्तै प्रकोपको सामना गर्छौँ । हामीले आफ्ना अनुभवहरूबाट सिक्ने, समुदायमा समानुकूलन क्षमताको विकास गर्ने, अनि समग्रमा हाम्रो विकास योजना निर्माणमा विपद्‍बाट हुने जोखिमलाई प्राथमिकता दिने बेला आइसकेको छ ।

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.