icon/64x64/climate जलवायु

सगरमाथा क्षेत्रका हिमनदीहरूमा न्यानो हुँदै गरेको हिउँदको अर्थ

हिमनदीहरू हिउँदमा स्थिर रहन्छन् भन्ने वैज्ञानिक मान्यता रहिआएकाे छ। तर, एक नयाँ अध्ययनले जाडो याममा पनि िहमनदीहरु पग्लिरहेको हुन सक्ने देखाएको छ ।
नेपालको सगरमाथा क्षेत्रमा आरोही । केही अन्वेषकहरूले सगरमाथा क्षेत्रमा अहिले हिउँदमा ‘वसन्तजस्तो अवस्था’ देखिन थालेको बताउँछन्। (तस्विर : क्रिस्चियन कोबेर / अलामी)
नेपालको सगरमाथा क्षेत्रमा आरोही । केही अन्वेषकहरूले सगरमाथा क्षेत्रमा अहिले हिउँदमा ‘वसन्तजस्तो अवस्था’ देखिन थालेको बताउँछन्। (तस्विर : क्रिस्चियन कोबेर / अलामी)

सन् २०२०को हिउँदमा काठमाडौँबाट १४४ किलोमिटर पूर्वमा रहेको कालिन्चोकको भ्रमण गर्दा हिमनदीविज्ञ सुदीप ठकुरीले अचम्म मानेका थिए। हिउँले ढाकिएका पहाड हेर्न खोज्ने काठमाडौँवासी माझ लोकप्रिय यो गन्तव्य विगतका वर्षहरूमा जस्तो सेताम्य थिएन। त्यस हिउँदमा उनले सगरमाथा क्षेत्रको दक्षिण पश्‍चिममा रहेको मकालु-वरुण क्षेत्रको भ्रमण पनि गरेका थिए । मध्यपश्‍चिमाञ्चल विश्‍वविद्यालयमा विज्ञान तथा प्रविधि संकायका डीन रहेका ठकुरीले त्यहाँ पनि यस्तै हिउँको अभाव देखे ।

‘रिमोट सेन्सिङ’ नामक अन्तर्राष्ट्रिय जर्नलमा हालै प्रकाशित एक लेखका अनुसार नेपालको सगरमाथा आधार सिविर क्षेत्रमा विगत ७२ वर्षको हिउँदे महिनाका दैनिक तापक्रमहरूलाई बढ्दो क्रममा सूचीबद्ध गर्ने हो भने यस्तो सूचीको पहिलो,दोस्रो र तेस्रो नम्बरमा २०२०/२१ कै जाडो यामका दिनहरू पर्ने देखिन्छ ।

‘त्यस्तै सन् १९५०देखि २०२१को सुरुवातसम्मको हिउँद यामको दैनिक तापक्रमको सूची बनाउँदा जनवरी १०-१५सम्म रेकर्ड गरिएको तापक्रम माथिल्लो १ प्रतिशतमा पर्ने हामीले देख्यौँ । बहुदशकीय सन्दर्भमा हेर्ने हो भने यस्तो हुनु असाधारण देखिन्छ,’ अनुसन्धान टोलीका एक सदस्य प्रज्वल पाण्डेले द थर्डपोललाई बताए । सगरमाथा क्षेत्रमा तापक्रम मापन केन्द्र सन् २०१९मा मात्र स्थापना भएकाले पाण्डे लगायतका अन्वेषकहरूले (पुनः विश्लेषण पनि भनिने) डेटा मोडलिङकाे आधारमा १९५० र २०१८ बीचका हिउँद यामको तापक्रम अनुमान गरेका थिए । सन् २०१९पछि मौसम केन्द्रहरू स्थापना भएकाले वास्तविक तापक्रमको आँकडा प्रयोग गरेका थिए ।

पुनः विश्लेषण भनेको के हो?

पुनः विश्लेषण’ मौसम र हावापानी समयसँगै कसरी परिवर्तन भइरहेको छ भन्ने ऐतिहासिक अभिलेख विकास गर्नका लागि प्रयोग गरिने एउटा वैज्ञानिक विधि हो । यस विधिअन्तर्गत कुनै निश्‍चित वातावरणमा मौसमको अवस्थाको विस्तृत अनुमान तयार गर्न कम्प्युटर मोडेलहरू र स्थानविशेषमा अवलोकन गरिएका मौसमी आँकडाहरूको संयोजन गरिन्छ । मध्यकालीन मौसम पूर्वानुमानका लागि युरोपेली केन्द्रका अनुसार पुनः विश्लेषणबाट प्राप्त सूचनाले ‘विगतको र हालको जलवायुको सम्भव भएसम्मको पूर्ण तस्विर’ दिने गर्दछ ।

असामान्य रूपमा न्यानो हिउँद

अध्ययनका अनुसार १२ जनवरीमा सगरमाथा आधार सिविरमा अधिकतम दैनिक तापक्रम ४.९ डिग्री सेल्सियस पुगेको थियो । भोलिपल्ट तापक्रम ७.१ डिग्री सेल्सियस पुग्याे भने १४ जनवरीमा ६.३ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । पुनः विश्लेषणबाट प्राप्त आँकडाका अनुसार, सन् १९५०-२०१८का हिउँदहरूमा सबैभन्दा गर्मी ११ जनवरी २०१८मा (४.६ डिग्री सेल्सियस) भएको थियो । तर जनवरी ९-२२ सम्मको अवधिमा आठ दिन सगरमाथा आधार सिविरमा अधिकतम तापक्रम शून्य डिग्री नाघेको थियो । सामान्यतः हिउँदमा त्यहाँको तापक्रम पानी जम्ने तापक्रम (शून्य डिग्री सेल्सियस)भन्दा कम हुने गर्दछ ।

सगरमाथा क्षेत्रमा असामान्य रूपमा न्यानो भएकाे हिउँदले यो भौगोलिक रूपमा कमजोर क्षेत्र र त्यहाँका हिमनदीहरूलाई दीर्घकालीन प्रभाव पार्न सक्छ । टोलीले मौसम स्टेसन पुनः विश्लेषण र भूउपग्रहबाट प्राप्त तस्विरहरूको प्रयोग गरी यसबारे अनुसन्धान गर्ने निर्णय गरेको थियो । यसले अनुसन्धानकर्ताहरूलाई सन् २०२०को मनसुनपछि र गर्मी सुरु हुनुअघिसम्मको अवधिमा सगरमाथा क्षेत्रका हिमनदीहरूमा असाधारण न्यानोपनको प्रभाव जाँच्ने अवसर प्रदान गरको थियो ।

सगरमाथा क्षेत्रका वरुण, भोटेकोशी र हुंकु नुप जस्ता हिमनदीहरू ग्रीष्म कालमा हिउँ जम्मा हुने खालका हिमनदीहरू हुन् । यसको अर्थ ति हिमनदीहरुले पाउने पानी र हिउँको ठूलो हिस्सा जुलाई र सेप्टेम्बरको बीचमा दक्षिण एसियाली मनसुनबाट आउने गर्दछ । यहाँ तापक्रम शून्यभन्दा तल हुने भएकाले परेको पानी हिउँका रूपमा भण्डारण भएर बस्दछ । तर मनसुनको अवधिमा पनि हिमनदीहरूले केही पिण्ड भने गुमाउँछन् किनभने जाडोको समयमा भन्दा बढी तापक्रम हुन्छ । यसले हिउँ र बरफ पग्लन्छ।

जब अक्टोबरमा मनसुन रोकिन्छ र जाडो सुरु हुन्छ, हिमनदीहरू पग्लन बन्द हुन्छन् । फेब्रुअरी तथा मार्चतिर गर्मी मौसम सुरु नभएसम्म हिमरेखा लगभग स्थिर रहन्छ । सगरमाथा क्षेत्रमा हिमनदीहरूमा हिउँ कसरी जम्मा हुन्छ र तिनीहरूको पिण्ड कसरी घट्छ भन्ने परम्परागत बुझाइ यस्तो रहेको छ।

तर, यो अवधारणामा परिवर्तन आउन सक्ने हालै प्रकाशित यो अध्ययनले संकेत गरेको छ ।

जाडोको गहिराइमा वसन्तका अवस्थाहरू

अन्वेषकहरूले छ वटा हिमनदीहरूमा हिमरेखा र दुई हिमनदीमा बरफ र हिउँको अनुपात मूल्याङ्कन गर्न भूउपग्रहमार्फत प्राप्त तस्बिरहरू प्रयोग गरेका थिए । बरफभन्दा बढी हिउँ देखिनुले हिमनदीहरू बिस्तारै पग्लिरहेको संकेत गर्दछ भने बरफ बढी देखिनुले हिमनदीहरू द्रुत रूपमा पग्लिरहेको संकेत गर्दछ ।

उनीहरूले हिमरेखाहरूको औसत उचाइ पनि बढेको फेला पारे । उनीहरूले १३ अक्टोबर २०२० र २२ जनवरी २०२१को बीचमा हिउँले ढाकिएका क्षेत्रफल ११ प्रतिशतसम्म घटेकाे पाए । अध्ययनकर्ताहरूका अनुसार, यसले हिउँदसम्म पनि हिमनदीहरू पग्लने क्रम उल्लेखनीय रूपमा जारी रहने गरेको हुन सक्ने संकेत गर्छ ।

नोट : सगरमाथा क्षेत्रमा रहेका छ वटा हिमनदीका हिमरेखाहरूको औसत उचाइ।  (स्रोत : पाण्डेको टोलीले गरेको अध्ययन )

पुनः विश्लेषणबाट प्राप्त आँकडाका आधारमा अध्ययनकर्ताहरूले हालैका वर्षहरूमा यस क्षेत्रमा तापक्रम उल्लेख्य रूपमा बढेको हुन सक्ने संकेतहरू पनि फेला पारेका छन् । सन् १९५०देखि २०२१ सम्ममा हिउँद याममा सगरमाथा आधार सिविरमा १४ पटक लगातार पाँच दिनसम्म अधिकतम तापक्रम १ डिग्रीभन्दा माथि पुगेको पाइएको उनीहरूको भनाइ छ । त्याेमध्ये छ पटक यस्तो घटना विगत सात वर्षमा भएको पाइएको छ ।

पाण्डेले अध्ययनलाई उद्धृत गर्दै भने, ‘अहिले हिउँद मौसममा यस क्षेत्रमा वसन्तको जस्तो तापक्रम मापन गर्न थालिएको छ ।’

‘एकातिर मनसुनमा हिमनदीहरूमा कम हिउँ जम्मा भइरहेको छ भने अर्कातिर हिउँदमा पनि कम घट्नुपर्ने वा स्थिर रहनुपर्ने पिण्ड घटिरहेको छ,’ पाण्डेले भने ।

थप अनुसन्धान आवश्यक

यस अध्ययनमा संलग्न नभएका काठमाडौँ विश्‍वविद्यालयका वातावरण विज्ञान तथा इन्जिनियरिङ विभाग प्रमुख रिजनभक्त कायस्थले नेपालको जल तथा मौसम विज्ञान विभागले सन् २०१७मा प्रस्तुत गरेको निष्कर्षलाई अध्ययनले पुष्टि गरेको बताए। दीर्घकालीन तापक्रम र वर्षासम्बन्धी आफ्नो प्रतिवेदनमा नेपालमा जलवायु परिवर्तनसँगै देशको पहाडी क्षेत्रमा अन्य क्षेत्रको तुलनामा तीव्र गतिमा गर्मी बढ्न सक्ने विभागले जनाएको थियो ।

तर, हिमाली क्षेत्रमा २५ वर्षभन्दा बढी काम गरेका कायस्थ भने तापक्रम बढ्दै गएकाले हिउँदमा विगतको तुलनामा उल्लेख्य दरमा हिमनदी पग्लिने कुरामा विश्‍वस्त छैनन् । ‘हिमनदीहरू पग्लिनका लागि, तापक्रम शून्यभन्दा माथि पुग्नै पर्छ। करिब ५,००० मिटरभन्दा माथिको उचाइमा यस्तो विरलै हुन्छ,’ उनले भने। ‘यदि तापक्रम -२ बाट -१ मा बढ्यो भने पनि त्यसले शून्य डिग्री पार नगरेसम्म हिमनदी पग्लन सक्दैन।’

गत वर्ष हिमालयमा असाधारण किसिमको जाडो देखेका हिमनदीविद् ठकुरी यस अध्ययनमा संलग्न थिएनन् । उनले हिउँदमा पनि हिमरेखा घट्न सक्ने र हिमनदी पग्लनाले बरफ र हिउँको अनुपात घट्न सक्ने कुरा अनुसन्धानले देखाएमा अचम्मित नहुने बताए । तर, उनले अन्वेषकहरूलाई अन्य सम्भावनाहरूबारे पनि विचार गर्न आग्रह गरे । “उदाहरणका लागि, ५,००० मिटरभन्दा माथिका भूभागमा तापक्रम शून्यभन्दा तल रहने भएकाले अघिल्लो मनसुन यामको हिउँ पग्लनुको सट्टा बरफमा परिणत भएको हुन सक्छ,’ उनले भने । ‘यसरी हिउँ र बरफबीचको अनुपातमा गिरावट आएको होला भनेर अनुमान गर्न सकिन्छ। त्यस्तै सगरमाथा क्षेत्रमा बहने हावाले हिमनदीको पिण्डलाई पुन: वितरण गरेको पनि हुन सक्छ । यसो भएको रहेछ भने हिमनदीको पिण्ड घटेको देखिनु स्वाभाविक नै हुनजान्छ,’ उनले भने ।

घामले हिउँलाई सिधै बाफमा परिणत गर्ने भएकाले पनि केही पिण्ड घटेको हुन सक्ने उनको ठम्याइ छ ।

यद्यपि, हामी यो भन्न सक्दैनौँ कि शून्यभन्दा कम तापक्रममा हिमनदीहरू पग्लिँदैनन् । विभिन्न अध्ययनहरूले देखाएका छन् कि -३ डिग्री सेल्सियसमा पनि हिमनदीहरू पग्लन सक्छन्,’  उनले थपे।

हामीले सगरमाथा क्षेत्रमा रहेका हिमनदीहरू हिउँदका महिनाहरूमा कति पग्लिरहेका छन् भनेर नाप्न बाँकी छ ।
प्रज्वल पाण्डे, अध्ययनकर्ता

हिउँदमा हिमनदीहरू उल्लेखनीय रूपमा पग्लन्छन् भन्ने कुरामा सबै हिमनदीविद्हरू सहमत नभए पनि, सबै शोधकर्ताहरू हिमाली क्षेत्रमा के भइरहेको छ भनेर पत्ता लगाउन थप अध्ययनहरू आवश्यक छ भन्ने कुरामा भने सहमत छन् ।

‘हामीले सगरमाथा क्षेत्रमा रहेका हिमनदीहरू हिउँदका महिनाहरूमा कति पग्लिरहेका छन् भनेर नाप्न बाँकी छ,’ पाण्डेले भने। ‘अहिले हामीले हाम्रो अनुसन्धानको प्रारम्भिक नतिजा सबैले थाहा पाऊन् भनेर प्रारम्भिक प्रतिवेदन मात्र प्रकाशित गरेका हौँ ।’

हिमनदीविद् तथा अध्ययन टोलीका सदस्य मौरी पेल्टोले पूर्वी हिमालयको कञ्चनजङ्घादेखि पश्‍चिममा गंगोत्री क्षेत्रसम्मका यस्तै अवलोकनहरूको अभिलेखीकरण गरेका छन्। ‘हामीले हिमाली क्षेत्रमा हिउँदमा पनि हिमरेखा माथि सर्ने गरेको देखेका छौँ,’ उनले भने।

अनुसन्धानकर्ताहरू यो हिउँदमा सगरमाथा क्षेत्रमा जडित सेन्सरहरूबाट प्राप्त हुने तापक्रमको आँकडालाई नजिकबाट हेरिरहनेछन् ।

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.