icon/64x64/climate जलवायु

नयाँ अध्ययनको निष्कर्षः हिमनदी क्षय पहिले अनुमान गरेभन्दा कम

भूउपग्रहबाट लिइएको नयाँ तथ्याङ्कको आधारमा चिनिया वैज्ञानिकहरूले चिङ्घाइ–तिब्बती पठारहरूमा हिमनदीहरूको क्षय पहिले अनुमान गरिएभन्दा तीन गुणा कम गतिमा भैरहेको निश्कर्ष निकालेका छन् ।
The north face of Mount Everest as seen from the Qinghai-Tibet Plateau [image by: Luca Galuzzi]
The north face of Mount Everest as seen from the Qinghai-Tibet Plateau [image by: Luca Galuzzi]

पानी जमेर हिउँ अथवा बरफको रुपमा रहेको पृथ्वीको सतहलाई क्रायोस्फियर भनिन्छ । क्रायोस्फियरमा देखिने परिवर्तन नै जलवायु परिवर्तनको सबैभन्दा छिटो देखिने र प्रष्ट सूचक हुन् । तर चीनमा भएको एक नयाँ अध्ययनले हिमनदीहरूबारे हाम्रो बुझाइ अझै अस्पष्ट रहेको देखाएको छ ।

हाइड्रोलोजी एण्ड वाटर रिसोर्स इन्स्टिच्युट र चिङ्गुवा विश्वविद्यालयको रिमोट सेन्सीङ ल्याबका विशेष शोधकर्ता लङ दीले ब्रम्हपुत्र नदीको मुहानका हिमनदीहरूमा भैरहेको परिवर्तनलाई नयाँ विधिले विश्लेषण गरि ‘वाटर रिसोर्सेस रिसर्च‘ मा एक कार्यपत्र प्रकाशित गरेका छन् । कार्यपत्रले यी हिमनदीहरूमा औसतमा २.४ घन किलोमिटर बरफ प्रति वर्ष क्षय भएको उल्लेख गरेको छ । यो परिमाण वैज्ञानिकहरूले पहिले अनुमान गरेभन्दा तीन गुणा कम हो । ‘हिमनदीहरू खुम्चिँदैछन् भन्ने कुरामा त कुनै शङ्का छैन, तर जुन दरमा खुम्चिँदैछन् भनी अनुमान गरिएको थियो त्यो वास्तविकता भन्दा धेरै थियो,’ लङ दीले भने ।

हिमनदीहरूको पूनर्मूल्याङ्कन

हिमनदीहरूको अध्ययनमा प्रयोग भएका हाइड्रोलोजीका पुराना मोडलहरूमा धेरै कमजोरी रहेको लङ दीले चाइना डायलगलाई बताए । यस्ता मोडलहरूले पानीले ढाकिएका क्षेत्रमा हुने हाइड्रोलोजीका प्रक्रियाहरूलाई सही ढङ्गले उतार्न सकेपनि बरफ र हिउँले ढाकिएको क्षेत्र अर्थात् क्रायोस्फियरमा प्रक्रिया अलिक जटिल हुन्छ किनभने यहाँ हिमनदीहरू, हिउँ वा बरफ र यसको पग्लाइ विभिन्न तरिकाले अन्तर्सम्बन्धित हुन्छन् र यसको हिसाब फरक तरिकाले निकाल्नुपर्छ । त्यसैगरि हिमनदीहरूले ओगट्ने क्षेत्र विशाल हुन्छ तर सेन्सिङ डाटाले साना साना खण्डहरूको मात्र तथ्याङ्क दिन्छ ।

पुरानो मोडलको कमजोरी सुधार्दै लङ दी र उनको टोलीले भूउपग्रहको डाटा प्रयोग गर्ने दुइ चरणको क्यालिब्रेशन प्रक्रियाको विकास गरे । उनीहरूले ग्र्याभिटी रिकभरी एण्ड क्लाइमेट एक्सपेरिमेण्ट – GRACE (Gravity Recovery And Climate Experiment) भनिने भूउपग्रहको तथ्याङ्क र अप्टिकल तथा माइक्रोवेभ सेन्सिङ डाटा मिश्रण गरेर बरफ र हिउँको गुणस्तर, यसले ढाकेको क्षेत्रफल र गहिराइको हिसाब निकाले । हिमनदीको बहावक्षेत्रबाट बग्ने पानीसम्बन्धी डाटासमेत समावेश गरेपछि उनीहरूले हिमनदीको आकार, हिमसङ्कलन र पग्लाइका मिहिन तथ्याङ्क केलाउन हाइड्रोलोजीका मोडलहरू क्यालिब्रेट गरे । यसले बरफ र हिउँको मात्रामा आएको घटबढ थप मिहिन ढङ्गले विश्लेषण गरी अभिलेख गर्न सहयोग पुर्यायो ।

 

ब्रम्हपुत्र नदीको स्रोतबाट विभिन्न विधि अपनाइ प्राप्त गरिएको हिमनदी परिवर्तनको प्रवृत्ती । पहेँलो र निलो रेखाहरूले पहिलेको विधि अपनाइ लिइएको प्रवृत्ती देखाउँछ जसले नयाँ विधिबाट प्राप्त तथ्याङ्कभन्दा तीन गुणा बढीले हिमनदी क्षय भैरहेको देखाउँछ । स्रोतः Chen, X., D. Long, Y. Hong, C. Zeng, and D. Yan (2017), Improved modelling of snow and glacier melting by a progressive two-stage calibration strategy with GRACE and multisource data, Water Resources Research

खासगरि, ग्रेस भूउपग्रहको प्रयोगले अध्ययनको लागि उपलब्ध डाटाको गुणस्तरमा सुधार ल्यायो । हिमनदीमा भएको हिउँको मात्रा घट्दा यसको गुरुत्वाकर्षण बल पनि घट्ने गर्छ । यो गुरुत्वाकर्षणबलमा आउने गिरावटलाई भूउपग्रहले मापन गर्छ जसले गर्दा हिमनदीमा भएको हिउँ र बरफको मात्रामा भएको घटबढ अझै मिहिन ढङ्गले हिसाब गर्न सकिन्छ ।

चिन्ताजनक विषय

यस अध्ययनमा समावेश गरिएको ब्रम्हपुत्रको स्रोत चिङ्घाइ–तिब्बती पठार अन्तर्राष्ट्रिय रुपमै महत्त्वपूर्ण पानीको स्रोत हो । येल्लो नदी र याङ्सी जस्ता चीनतर्फ बग्ने थुप्रै नदीहरूको स्रोत पनि यही क्षेत्र हो । त्यसैगरि मेकङ्, साल्वीन र ब्रम्हपुत्रको स्रोत पनि यही हो जुन नदीहरू म्यान्मार, बङ्लादेश, लाओस, थाइल्याण्ड, क्याम्बोडिया र भियतनाम हुँदै बग्छन् र झण्डै एक अर्ब मानिसलाई पानी प्रदान गर्छन् ।

यो अध्ययनले हिमनदीहरूमा वार्षिक २.४ घनकिलोमिटर बरफ क्षय भैरहेको उजागर गरेको छ जसको मतलब अध्ययन गरिएको क्षेत्रमा सन् २००३ देखि सन् २०१४ सम्ममा २८.८ अर्ब घन मिटर बरफ घटेको छ ।

यो परिमाण पहिले अनुमान गरिएको भन्दा एक–तिहाइ मात्रै भएतापनि चिन्ताजनक नै हो । उदाहरणको लागि, संसारकै ठुलो जलाशय थ्री गोर्जेज ड्याममा २२.२ अर्ब घन मिटर पानी संचित छ । यसको मतलब सन् २००३ यता हिमनदीहरूबाट थ्री गोर्जेज जलाशयमा अट्ने बराबर पानीको संचिती घटिसकेको छ ।

फेङ हाओ चाइना डायलगका शोधकर्ता हुन् । यो लेख पहिलोचोटि चाइना डायलगमा प्रकाशित भएको थियो ।

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.