icon/64x64/regionalcooperation क्षेत्रिय सहयोग

चीनका प्रदुषणकारी सिमेन्ट कारखाना ताजिकिस्तान सर्दै

चिनिया सिमेन्ट कम्पनीहरु आफ्नो देशमा नाफा कमाउन नसकेपछि बजारको खोजीमा मध्य एशियातिर लागेका छन् ।
<p>A cement factory 25 kilometres north of Tajikistan&#8217;s capital, Dushanbe (Image by Prince Roy) </p>

A cement factory 25 kilometres north of Tajikistan’s capital, Dushanbe (Image by Prince Roy) 

तीन वर्षको बीचमा चिनिया लगानीकर्ताहरुले ताजिकिस्तानको सिमेन्ट उद्योग रुपान्तरण गरिदिएका छन् । चीनमा बजार क्षमताभन्दा बढि उत्पादन भैरहेको अवस्थामा ताजिकिस्तानमा चीनको लगानी रहेका केही औँलामा गन्न सकिने ठुला नयाँ उद्योगहरुले सन् २०१३ देखि २०१५को बीचमा उत्पादन पाँच गुना बढाइदिएका छन् ।

सिमेन्ट कम्पनीहरुको लागि चीनमा अहिले अप्ठ्यारो समय छ । नाफा घटिरहेको छ । प्रदुषण नियन्त्रण गर्ने नयाँ कानुनहरु लागू भएपछि कम चुस्त र बढि प्रदुषण गर्ने उद्योगहरु कि त बन्द गर्नुपर्छ कि त वातावरण प्रदुषण वापतको क्षतिपूर्ती तिर्नुपर्छ । सिमेन्ट संसारकै सबैभन्दा बढि प्रदुषण गर्ने उद्योगहरु मध्येको एक हो । यो कार्बन डाइअक्साइड र धुँवाको पनि प्रमुख स्रोत हो जसले चीनमा जनस्वास्थ्य संकट निम्त्याएको छ ।

हाल चिनिया कम्पनीहरु सिमेन्टको मूल्य धेरै भएको तर प्रतिस्पर्धा कम भएको बजारको खोजीमा छन् । यसको लागि ताजिकिस्तान एक उपयुक्त देश हो । तर यहाँको स्थानीय बजार सानो छ, र अहिले नै चिनिया सिमेन्ट उद्योगहरुबीच कडा प्रतिस्पर्धा सुरु भैसकेकोले यहाँ बजार विस्तारको सम्भावना न्यून छ । यसका अलावा, मध्य एशियामा पर्ने यस देशमा भ्रष्टाचारले गर्दा काम गर्न त्यति सजिलो छैन ।

ताजिकिस्तान पूर्व सोभियत युनियनको सबैभन्दा गरिब राष्ट्र हो । भूपरिवेष्टित यो पहाडी मुलुकको पूर्वी सीमानामा चीन पर्छ र दक्षिणी सीमानामा अफगानिस्तान । सन् १९९१मा सोभियत युनियन टुक्रिएपछि स्वतन्त्र राज्यको रुपमा उभिन यो देशलाई गार्हो पर्यो । जीवनस्तर खस्कियो । सन् २००० सम्ममा प्रति व्यक्ति कूल ग्राहस्थ्य उत्पादन अमेरिकी डलर १३९ मा झरीसकेको थियो । धेरै ताजिकहरु रुसको फस्टाउँदो अर्थतन्त्रमा काम गरि घरमा पैसा पठाउन रुसतिर लागे । फलस्वरुप सन् २००० देखि २०१४को बीचमा ताजिक अर्थतन्त्र वार्षिक ६ प्रतिशत भन्दा बढिले बढ्न थाल्यो । तैपनि सीमित उद्योगहरु मात्र भएकोले देश गरिब नै रह्यो । हाल विप्रेषणबाट आउने आयले कूल ग्राहस्थ्य उत्पादनको ५० प्रतिशतसम्म ओगटेको अनुमान छ । यद्यपि यसको तथ्याङ्कमा एकरुपता पाइँदैन । यसबाहेक कपास र आल्मुनियम निर्यात आम्दानीका मुख्य स्रोत हुन् ।

ताजिकिस्तानको सिमेन्ट उद्योग सोभियत युनियनको पतन पछि उद्योगहरु बन्द गर्ने क्रममा धरासायी भयो । सन् २०१३मा जम्मा ३०,००० टन सिमेन्ट मात्र देशमा उत्पादन हुन्थ्यो भने पाकिस्तान, इरान र काजिकिस्तानबाट ३० लाख टन आयात हुन्थ्यो ।

यता चीनमा भने अन्य उद्योग जस्तै बजारमा आवश्यकभन्दा अत्यधिक धेरै सिमेन्ट उत्पादन हुन्थ्यो । सन् २०११ देखि २०१३को बीचमा चीनले झण्डै ६.६ गिगाटन सिमेन्ट उत्पादन गर्यो जुन अमेरिकाले बीसौँ शताब्दीभरमा उत्पादन गरेको कूल परिमाणभन्दा बढि हो ।

चीनमा बढी भएको सिमेन्ट सिल्करोड हुँदै निर्यात

देशमा बढी भएको उत्पादन वा उत्पादन क्षमता बाहिर पठाउन चीन सरकारले व्यवसायीहरुलाई भरपूर सहयोग गर्छ । यसलाई चीनको वान बेल्ट वान रोड (OBOR) पहलको मुख्य अंशको रुपमा लिइएको छ । वान बेल्ट वान रोड (OBOR) पूर्वाधार निर्माण गरि चिनिया लगानीकर्तालाई एशिया र अन्य महादेशका ठुला बजार लक्षित गरि उत्पादन गर्न सघाउने कार्यक्रम हो । मध्य एशिया यस कार्यक्रमको प्राथमिकतामा पर्छ किनभने यहाँबाट स्थलगतमार्ग प्रयोग गरि युरोप र मध्यपूर्वको बजारसम्म पुग्न सकिन्छ ।

तर ताजिकिस्तानमा भएको चिनिया लगानीमा वान बेल्ट वान रोड (OBOR)को कति प्रभाव पर्यो भन्ने जाँच्न चाहिँ गार्हो छ । एकातिर सी जीनपिङ्ले सेप्टेम्बर २०१३मा काजकास्तानमा OBOR को “बेल्ट” अंश घोषणा गरिसकेपछि थुप्रै औद्योगिक प्रशोधन परियोजनामा सम्झौता भैसकेको छ । तर यी सम्झौताहरु OBOR बिना यसै पनि हुनसक्थे । उता, ताजिकिस्तानमा लगानी गर्ने मुख्य दुई चिनिया कम्पनीले आफूहरु OBORअन्तर्गत भएको बताए पनि आफ्नो काम सन् २०११ मै सुरु गरिसकेका थिए जतिखेर वान बेल्ट वान रोड (OBOR)सुरु भएकै थिएन ।

ताजिकिस्तानमा सिमेन्ट कारखाना खोल्न थुप्रै चिनिया लगानीकर्ताले सम्झौता गरेपनि थोरैले मात्र त्यहाँ कारखाना खोलिसकेका छन् । हुजिन सबैभन्दा ठुलो कम्पनी हो । यसले सन् २०११मा राजधानी दुशान्बे नजिकै वार्षिक १२ लाख टन क्षमताको कारखाना बनाउने सम्झौता गरेको थियो । यो नै हुजिनको पहिलो विदेशी परियोजना हो ।

हुजिनले उत्तरी ताजिकिस्तानमा सन् २०१६को मार्च महिनामा वार्षिक १२ लाख टन क्षमताको आफ्नो दोस्रो कारखाना खोल्यो । हुजिनले यसै वर्षको अन्त्यतिर दक्षिणी शहर डाङ्गारामा अलिक सानो कारखाना स्थापना गर्ने तयारी गर्दैछ । अप्रिल २०१५ मा चिनिया नीजि कम्पनी झेजियाङ् र ताजिकिस्तानको ताजिक सिमेन्टको संयुक्त लगानीमा वार्षिक ६ लाख टन क्षमताको कारखाना स्थापना भयो । यो कारखानाले आफ्नो क्षमता १५ लाख टन प्रति वर्षसम्म पुर्याउने बुझिएको छ । सिमेन्ट कारखाना खोल्ने अन्य थुप्रै योजना पनि सार्वजनिक भएका छन् तर कतिले साँच्चै कारखाना खोल्छन् हेर्न बाँकी छ ।

चिनिया सिमेन्ट कम्पनीले इन्धनको रुपमा प्रायः कोइला प्रयोग गर्छन् । कम्पनीहरुले आफ्नो कारखानामा वातावरण र उर्जा बचाउने अत्याधुनिक प्रविधि प्रयोग गर्ने गरेको बताएका छन्, तर कस्तो प्रविधि भन्ने खुलाएका छैनन् । यी कम्पनीहरुले ताजिकिस्तानमा पहिले देखि रहेका साना सिमेन्ट कारखानाले प्रयोग गर्ने प्रविधिभन्दा सफा प्रविधि प्रयोग गर्छन् भन्नेमा कुनै शङ्का छैन । तर ताजिकिस्तानमा वातावरणीय नियमहरुको कार्यन्वयन फितलो छ र सरकारी पारदर्शिता कम भएकोले स्वतन्त्र अनुगमन गर्न गार्हो छ ।

नयाँ कारखानाहरुले नाफा कमाइरहेको बुझिन्छ । हुजिनका उपाध्यक्ष तथा नायब महाप्रबन्धक वाङ् जिमिङ्ले एक अन्तर्वार्तामा आफ्नो प्रारम्भिक परियोजना पहिलो वर्षमै नाफामा गएको बताए । ताजिकिस्तानमा सिमेन्टको मूल्य चीनमा वा दक्षिणपूर्वी एशियामा भन्दा निकै बढि रहेको उनले बताए । यसका अलावा, मुख्य चिनिया लगानीकर्ताले ताजिकिस्तानमा कर छुट पाउँछन् ।

अन्य मध्य एशियाली देशहरुको तुलनामा ताजिकिस्तानमा चिनिया कम्पनीहरुको विरोध कम हुन्छ । किर्गिस्तान र काजकास्तानमा चिनिया कम्पनी र तिनलाई फाइदा पुग्ने भनिएको कानुनको विरोधमा प्रदर्शनहरु हुन थालेका छन् । तर सायद राज्यको बढि नियन्त्रणले होला ताजिकिस्तानमा त्यो अवस्था आएको छैन ।

चिनिया कम्पनीहरुले धेरै ताजिकहरुलाई रोजगार नदिएको भन्दै चासो वयक्त गरिएको छ । तर आफ्नो पहिलो कारखानाले १,००० स्थानीयहरुको लागि रोजगारी सिर्जना गर्ने हुजिनले बताएको छ । चिनिया औद्योगिक परियोजनाहरुमा विभिन्न पटक भ्रमण गर्दा मैले स्थानीय र चिनिया कामदार सराबर देखेको छु । कति चिनिया कामदार राख्ने र कति ताजिक कामदार राख्ने भन्ने कुरा उद्योग र कम्पनीमा भर पर्छ । तर सामान्यतयाः अदक्ष काममा ताजिकहरु र दक्ष काम तथा इन्जिनियरहरुमा बढी चिनिया पाइने गरेको छ । तर यसमा केही अपवाद भने छन् । लिङ्क्डइनमा हुवाइ ताजिकिस्तान सर्च गर्ने हो भने थुप्रै ताजिक नागरिकहरु वरिष्ठ इन्जिनियरिङ् र व्यवस्थापन ओहदामा काम गरेको पाइन्छ । त्यसैगरि, ताजिकिस्तानमा अदक्ष चिनिया मजदुर पनि कार्यरत छन् ।

ताजिकिस्तानमा सिमेन्ट उद्योगको भविष्य

रसियाबाट पठाइने विप्रेषण (रेमिटेन्स्) ले ताजिकिस्तानको निर्माण उद्योग फस्टाउँदो छ र भ्रष्टाचारले यसलाई अझै सघाउ पुर्याएको छ । ताजिकिस्तानको निर्माण उद्योग फस्टाए पनि नफस्टाए पनि हुजिन वा अन्य ठुला चिनिया कम्पनीको लागि बजार पुग्दैन । यसको एउटा समाधान भनेको चिनिया कम्पनीहरुले मध्य एशियाका अन्य देशहरुमा निर्यात गर्ने हो । ताजिकिस्तानमा सिमेन्ट उत्पादन गर्ने चिनिया कम्पनीहरुले अफ्गानिस्तान, किर्गिस्तान र उज्बेकिस्तानमा निर्यातको परिक्षण गरिसकेका छन् । ताजिकिस्तान सरकार सन् २०२० सम्ममा एक प्रमुख सिमेन्ट निर्यातकर्ता बन्न चाहन्छ ।

तर यहाँ केही समस्याहरु छन् । चिनिया कम्पनीहरुले यस क्षेत्रभर कारखाना निर्माण गर्ने बताएका छन् । यसले ठुलो प्रतिस्पर्धा हुनसक्छ । हुजिनका वाङ जिमिङले ताजिकिस्तानमा चिनिया कम्पनीहरु बीच अत्याधिक प्रतिस्पर्धा गर्न नहुने बताइसकेका छन् ।

अर्को कुरा भ्रष्टाचारले चिनिया लगानीकर्ताहरुलाई निरुत्साहित गर्छ । ताजिकिस्तानका चिनिया लगानीकर्ताहरुसँग अन्तर्वार्ता लिँदा उनीहरुले आफ्नो दैनिक व्यवसायिक कार्यमा धेरै ठाउँमा भ्रष्टाचार खेप्नुपरेको बताए । त्यसमाथि कम्पनी सञ्चालन गर्ने हो भने ताजिकिस्तानका सरकारी अधिकारीहरुलाई ठाउँ ठाउँमा खुशी बनाउनुपर्छ नत्र बजारमा टिकिँदैन । चिनिया लगानीकर्ता शाङ्फेङ् सिमेन्टले ताजिक सरकारबाट सही कागजपत्र नपाएपछि स्थानीय साझेदारसँग गर्ने भनिएको सिमेन्ट परियोजना रद्द गर्नुपरेको बतायो ।

अन्त्यमा, आर्थिक अस्थिरता पनि समस्या हो । हालैका वर्षहरुमा रसियाबाट पठाइने रेमिटेन्स मध्य एसियाका सबै देशहरुमा घटेको छ । यसले यस क्षेत्रमा सिमेन्टको माग घटाउन सक्छ । यसले गर्दा ताजिक मुद्राको विनिमय दरमा पनि ठुलो उतारचढाव आएको छ । हुजिनका अनुसार यसले कम्पनीको नाफामा नकारात्मक असर पारेको छ ।

यसको अर्थ हो, ताजिकिस्तानको सिमेन्ट उद्योगमा नाफा कमाएर जति कम्पनी टिक्न सक्छन् त्यति स्थापित भैसकेका छन् । सिमेन्ट व्यवसायबाट ताजिकिस्तानमा हुने अल्पकालिन फाइदा प्रष्ट छन् र यसमै केही सिमेन्ट कम्पनीहरु फस्टाइरहेका छन् । तर यो बजार चाँडै नै सुक्न सक्छ र यहाँ स्थापित सिमेन्ट कारखानाहरु खण्डहरमा परिणत हुनसक्छन् ।

यो लेख पहिलो चोटि chinadialogue.net मा प्रकाशित भएको थियो ।

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.