icon/64x64/energy उर्जा

अन्तर्वार्ता: विकट हिमाली बस्तीहरू झिलिमिली पार्ने इन्जिनियरहरू

संयुक्त राष्ट्रको प्रतिष्ठित पुरस्कार जितिसकेपछि ग्लोबल हिमालयन एक्सपिडिसनका सदस्यहरूले पर्यटनले दुर्गम समुदायहरूमा कसरी स्वच्छ उर्जा पुर्‍याउन सक्छ भनेर बखान गरेका छन् ।

सन् २०१३ मा एक भारतीय इञ्जिनियरले दिगो विकासको क्षेत्रमा काम गर्ने कम्पनी ग्लोबल हिमालयन एक्सपिडिसन सुरु गरेका थिए । हालसम्म संस्थाले भारतका तीन क्षेत्रमा छरिएका १३१ गाउँमा ६०,००० मानिसको जीवनमा परिवर्तन ल्याउने गरी सौर्य ऊर्जा युनिटहरू जडान गरिसकेको छ । आफ्नो लक्ष्य प्राप्त गर्ने कम्पनीले अपनाएको एउटा तरिका हो ‘इम्प्याक्ट एक्सपिडिसन’ जस अन्तर्गत यात्रीहरूलाई दुर्गम क्षेत्रमा घुम्न लगिन्छ र उनीहरूले तिर्ने शुल्कलाई सामुदायिक उर्जा परियोजनाहरूमा प्रयोग गरिन्छ ।
संयुक्त राष्ट्र संघले यसै वर्षको अक्टोबरमा जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने ग्लोबल हिमालयन एक्सपिडिसन सहितका १३ कम्पनीहरूलाई उनीहरूले गरेको कामको कदर स्वरूप अन्तराष्ट्रिय क्लाइमेट एक्सन पुरस्कारबाट सम्मान गरेको थियो । जीएचई ‘विश्वका यस्ता पहिला संस्थाहरू मध्येको एक हो जसले पर्यटनको शक्तिलाई प्रविधिसित गाँसेर विकट क्षेत्रमा बस्ने समुदायमा सौर्य ऊर्जा पुर्‍याउने काम गरेको छ,’ संयुक्त राष्ट्र संघले कम्पनीको बखान गर्दै भनेको छ ‘जीएचईको मोडल सहजताका साथ अन्यत्र पनि लागू गराउन सकिन्छ किनभने यो निकै सरल छ ।’  हिन्दु कुश हिमालयमा करिब १ करोड ६० लाख मानिस ऊर्जाको पहुँच बाहिर छन् ।
द थर्डपोलले हालै कम्पनीका संस्थापक पारस लोम्बा र प्रमुख कार्य सञ्चालन अधिकृत जयदीप बन्सलसँग कम्पनीले विशेष गरी लद्दाखको उत्तर-पश्चिम क्षेत्रमा गरेको कामको बारेमा जान्न खोजेको थियो ।

Founder Paras Loomba and COO Jaideep Bansal at Lingshed monastery in Ladakh in 2016
सन् २०१६मा लद्दाखको लिङ्सेद गुम्बामा संस्थापक पारस लुम्बा र प्रमुख कार्य सञ्चालन अधिकृत जयदीप बंसल [तस्विर: जीएचई]

द थर्डपोल (टीटीपी): तपाईँले जलवायु मैत्री लगानी पुरस्कार प्राप्त गर्नु भयो । जीएचईको यो पक्षले कसरी काम गर्छ भनेर हामीलाई बताइदिनुहोस् न ।
जयदीप बंसल (जेबी): हामीले विद्युतीकरण गरेका वस्ती र गाउँहरूमा थुप्रै मोडलमा लगानी भएको छ । यी मध्ये एक हो ‘इम्प्याक्ट एक्सपिडिसन्स’ । जब यात्रीहरू हाम्रो अभियानहरूसित जोडिन्छन्, उनीहरूले तिर्ने शुल्क को २५ देखि ३० प्रतिशत शुल्क सौर्य माइक्रो ग्रिड जडान गरिने गाउँहरूका लागि हार्डवेयर किन्न, त्यहाँसम्म लैजान, जडान गर्न र त्यहाँका मानिसलाई प्रशिक्षण दिन प्रयोग गरिन्छ । माइक्रो ग्रिड पूर्वाधार समुदायको स्वामित्व रहन्छ र समुदायले नै यसलाई सञ्चालन गर्दछ । यही कुरालाई लिएर संयुक्त राष्ट्र संघले हाम्रो नवीन प्रयोग मार्फत जलवायु परिवर्तनद्वारा सिर्जित समस्याको समाधान गर्ने तरिकाको सराहना गरेको हो ।
सामान्यतया ऊर्जा कम्पनीहरूले सौर्य ग्रिडमा लगानी गर्छन् तर समुदायलाई यस्तो ग्रिड प्रयोग गरे बापत पैसा तिर्न भन्छन् । हामीलाई लाग्छ कि समाजमा आफ्नो लगानीले केही सकारात्मक प्रभाव पारोस् भन्ने लगानीकर्ताहरूलाई यति उति प्रतिशत फाइदा दिन्छु भनेर गरिबहरूमाथि थप भार थपिनुहुँदैन ।
टीटीपी: संयुक्त राष्ट्र संघको यो पुरस्कार तपाईँहरूका लागि एउटा असहज वर्षको प्रमुख उपलब्धि भएको हुनुपर्छ । महामारीले तपाइँलाई कसरी असर गरेको छ?
जेबी: कोभिड-१९का कारण हामीले २०२१ का सबै अभियानहरू स्थगित गरेका छौँ । यसो भइरहँदा हामीले गर्ने गरेका अरू कामहरूमा पहिले भन्दा धेरै संलग्न भएका छौँ र नवीन तथा नयाँ प्रविधिहरूमा काम गर्न पाएका छौँ । हामीले एउटा यस्तो उपकरणको विकास गर्‍यौं जसले यात्रु र गाउँलेहरूलाई उनीहरूको आधारभूत स्वास्थ्य स्थिति (मुटुको दर, अक्सिजनको स्तर, तापक्रम र स्वास प्रश्वास दर) को मापन गर्न मद्दत गर्छ । त्यस्तै हामीले ३८ वटा सौर्य पानी हीटर जडान गर्‍यौं र आफ्नो होमस्टेजमा ‘फार्म टू फोर्क’ अवधारणा लागू गर्नका लागि ३० वटा हरित गृहहरू बनायौँ । अहिले हामी सौर्य ऊर्जाले संचालन गर्न मिल्ने स्वास्थ्य केन्द्रहरुमा काम गर्दैछौँ ।
टीटीपी: तपाईँलाई जीएचई सुरु गर्न केले उत्प्रेरित गर्‍यो ?
पारस लोम्बा (पीएल): सन् २०१२ मा म अन्टार्कटिकाको यात्रामा गएको थिएँ जहाँ मैले पहिलो पटक जलवायु परिवर्तनको अनुभव गरें । त्यहाँका हिमशिलाहरू भत्किँदै थिए, वर्षा भइरहेको थियो । तपाईँले यस्ता कुराहरू देखे पछि तपाईँको जीवन र यो ग्रह प्रतिको दृष्टिकोण पुरै परिवर्तन हुने रहेछ ।
सन् २०१३ मा मैले आफ्नो जागिर छोडिदिएँ र हिमालयका समुदायहरूका लागि केही प्रभावकारी गर्न सक्छु कि भनेर हेर्नको लागि एउटा अभियान सुरू गरेँ । हामी दुबैका बुवाहरू भारतीय सेनामा हुनुहुन्थ्यो, र त्यसै कारणले हामीले यी क्षेत्रमा केही समय बिताएका थियौँ । त्यसैले हामी यी क्षेत्रहरूको सौन्दर्य र चुनौतीहरूको बारेमा जानकार थियौँ । मलाई थाहा थियो कि लद्दाखका मानिसहरूको धेरै सुविधाहरूमा पहुँच छैन । म पेशाले इलेक्ट्रिकल इञ्जिनियर हुँ र जयदीप मेकानिकल ईन्जिनियर हो । त्यसैले जब हामीले यो काम सुरू गर्यौं, ग्रिडको बिजुलीमा पहुँच नभएका गाउँहरूमा विद्युतीकरण गर्नु हाम्रो ध्येय बन्यो ।
जेबी: म पहिलो अभियानमा सहभागी भएको थिएँ । मैले त्यस बखत जे देखेँ त्यसले मलाई धेरै उत्साहित बनायो । म स्याम्पु बनाउने र बेच्ने प्रोक्टर एण्ड ग्याम्बलमा काम गर्थेँ । मैले महसुस गरेँ, ‘यो ठीक छ, राम्रो छ, तर मेरो अन्तिम लक्ष्य, मैले गरेको कामको उद्देश्य के हो?’
टीटीपी: तपाईँको सौर्य प्यानलहरू कहाँबाट आउँछन् ?
पीएल: तार बाहेकका सबै इलेक्ट्रोनिक्स र हार्डवेयर हाम्रो कम्पनीले डिजाइन र उत्पादन गर्दछ । हामीसँग आफ्नै डिजाइन छन् र हामीले ठेक्‍कामा उत्पादन गराउँछौँ । यसको मतलव हामी समुदायलाई तालिम दिन सक्दछौं ताकि केहि बिग्रियो भने स्थानीय मानिसहरूले नै खोलेर मर्मत गर्न सक्छन् र यसलाई फ्याँक्नु पर्दैन । यसमा प्रयोग हुने सबै प्रविधि भारत मै निर्मित हो र डिजाईनहरू ओपन-सोर्स भएकाले जो कोहीले पनि प्रयोग गर्न सक्दछन् ।

village woman making solar panels in Ladakh
जीएचईले आफै सौर्य प्यानल र यसका पाटपुर्जा बनाउँदछ र स्थानीयहरूलाई कसरी मर्मत गर्ने र पाटपुर्जा बदल्ने भनेर तालिम पनि दिन्छ। [तस्विर: जीएचई ]

टीटीपी: सौर्य माइक्रो ग्रिडको संभार कसरी गरिन्छ ?
जेबी: हामीले विद्युतीकरण गर्ने प्रत्येक १०/१५ गाउँहरूका लागि एक जना स्थानीय व्यवसायीले सञ्चालन गर्न सक्ने सेवा केन्द्र स्थापना गर्छौं । ती व्यवसायीले प्रणालीको हेरचाह, मर्मत र विस्तार गर्ने गर्दछन् । हामी गाउँका मानिसहरूलाई एउटा सामुदायिक बैंक खाता खोल्न पनि आग्रह गर्दछौं जसमा उनीहरूले प्रत्येक महिना २/३ डलर वचत गर्न सक्दछन् । यही रकम बढ्दै जान्छ र पछि मर्मत र सम्भारमा लाग्ने खर्च उठ्छ ।
टीटीपी: लद्दाखमा बन्ने भनिएको ७,५०० मेगावाट सौर्य पार्कले समग्र क्षेत्र र तपाईँको कम्पनीलाई कस्तो असर पार्ला?
जेबी: पार्क को बारेमा कुरा हुन थालेको केहि बर्ष भइसक्यो । अनौपचारिकरुपमा प्राप्त जानकारी अनुसार, स्थापना हुन लागेका पार्क घुमन्ते मानिसहरू बस्ने क्षेत्रहरूमा बन्दैछन् । यदि परियोजनाले हाम्रो देशमा व्याप्त ऊर्जा समस्याहरुलाई कम गर्छ भने त्यो राम्रो हो । तर कुनै पूर्वाधार विकासले यहाँको कमजोर पारिस्थितिक प्रणाली नष्ट गर्नु हुँदैन ।
यदि पार्कको उर्जा हामीले विद्युतीकरण गरेको गाउँहरूमा जान सक्छ भने तिनीहरूले थप भारी उपकरणहरू प्रयोग गर्नका लागि उपयोग गर्न सक्दछन् ।
पीएल: यी गाउँहरू बिजुलीमा पहुँच नहुनुको कारण उर्जाको कमी होइन । यहाँ प्रसारण लाइन स्थापना गर्न लाग्ने लागत हो । समुदायहरूसम्म पुग्न यहाँ पहाडहरू छिचोल्नु पर्ने हुन्छ । सरकारका लागि यो सरल वित्तीय हिसाब हो । यदि उनीहरूले ३० घरपरिवारका ३०० व्यक्तिका लागि विद्युतको व्यवस्था गर्न ५ लाख डलर लगानी गर्नु पर्ने भयो पनि आर्थिक रुपले त्यस्तो परियोजनाको सम्भाव्यता कम रहन्छ।

solar panels
सौर्य प्यानल जडान गरिँदै [तस्विर: जीएचई]

टीटीपी: विगत सात बर्षमा लद्दाखमा तपाईले कस्तो परिवर्तनको महसुस गर्नुभयो?
पीएल: यहाँ छोटो समयमा अत्यधिक वर्षा हुने गरेको छ । धेरै जसो गाउँहरूमा खोलाले दिशा परिवर्तन गरेको छ । हिमपातमा पनि ठूलो परिवर्तन आएको छ । कुनै वर्ष धेरै हिउँ पर्छ भने त्यसपछिको एक वर्ष पर्दैन । ताल र सिमसार क्षेत्रहरूमा वन्यजन्तुहरूको सङ्ख्यामा ह्रास आएको छ । पहिले पहिले कालो घाँटी हुने क्रेनहरू लद्दाखमा आउँथे । अहिले उनीहरूको सङ्ख्या घटेको छ । जीविकोपार्जन गर्ने माध्यमको अभावमा समुदायहरू सहरतिर बसाइँ सर्दैछन् ।
साँच्ची भन्ने हो भने पर्यटनले गम्भीर असर पारेको छ । सन् २००९ मा थ्री इडियट्स फ्लिम आएदेखि लद्दाख एउटा प्रसिद्ध यात्रा गन्तव्य बनेको छ । यसले समुदायहरूलाई फाइदा त पुर्‍याएको छ तर यसको उचित व्यवस्थापन भएको छैन । पानीको खपत बढेको छ, भूमिगत जलको स्तर तल झर्दै गएको छ ।

Global Himalayan Expedition GHI make the solar panels and components themselves and train the locals how to repair and replace parts.
जीएचईको टोली समुदायसँग बसेर खाजा खाँदै [तस्विर: जीएचई]

टीटीपी: तपाईँहरूको सोसल इम्प्याक्ट अभियानका कस्ता सीमितता छन् ?
जेबी: सडकमा पहुँच र मोबाइल फोन नेटवर्कका समस्याहरू छन् जुन हामी एउटा कम्पनीको रूपमा समाधान गर्न सक्दैनौं । हामी सरकारसँगको साझेदारीमा धेरै काम गर्दछौँ । हामी सरकारसित उनीहरूको विकासको एजेन्डा के छ भनेर सोध्छौं र हेर्छौं त्यसमा कहाँ कहाँ छिद्रहरू छन् । जहाँ हामी हाम्रा संसाधनहरू र विशेषज्ञताका साथ काम गर्न सक्छौँ त्यहाँ काम गर्छौँ । यसले एउटै काम दोहोर्याएर हुने सम्भावनालाई हटाउँदछ ।
टीटीपी: संयुक्त राष्ट्र पुरस्कारको जितको अर्थ के हो र जीएचईले अब के गर्छ?
पीएल: यो एउटा स्याबासी हो । यो पुरस्कार पश्चात् हामीले हिमाली समुदायमा समानुकुलनको कुरा गर्दा मानिसहरूले हामीलाई गम्भीरताका साथ लिनेछन् ।
जेबी: हामी भुटान, नेपाल, माडागास्कर, सुमात्रा, दक्षिण अफ्रिका र पूर्वी अफ्रिकामा पनि परियोजनाहरूका बारेमा छलफल गर्दैछौं । यसो भयो भने हामीले भौगोलिक रुपमा विविध क्षेत्रहरूमा काम गर्न पाउनेछौँ । हामी हेर्न चाहन्छौं हामीले भारत गरेको कामले अरू देशका मानिसहरूलाई कत्तिको फाइदा पुग्न सक्दछ ।

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.