icon/64x64/culture समाज र समुदाय

भीरमौरीको संख्या घटेपनि मह काढ्ने परम्परा कायम राख्दैछन् महशिकारी

ज्यानै जोखिममा पारेर भीरमौरीको मह काढ्ने परम्परालाई गुरुङ समुदायले हजारौँ वर्षदेखि निरन्तरता दिइरहेको छ तर जथाभावी मह काढ्ने र सडक तथा बाँधहरू बनाउँदा मौरीको संख्या भने निरन्तर घट्दो छ ।

गंगाबहादुर गुरुङले अत्यन्त शान्तपूर्वक भगवानसँग प्रार्थना गरिरहेका छन् । उनले जलदेवता, भूमिदेवता, अग्निदेवता, वायुदेवता र नागदेवतासँग आशीर्वाद मागिरहेका छन् । उनको एउटा शिकारी समूह हातले बनाएको यता र उता हल्लिने डोरीको भर्‍याङबाट ५० मिटर अग्लो भीरमा चढ्न लागिरहेको छ । विश्वकै सबैभन्दा ठूलो मानिने भीरमौरीको गुँडबाट महका चाका झिक्न उनीहरूले त्यो जोखिमपूर्ण काम गर्नलागेका हुन् ।

“अत्यन्त सुरक्षित भीर जहाँ भगवान् बस्छन्, त्यहाँमात्र जंगलीमौरीले घार बनाउँछन्,” गंगाबहादुरले भने । मह काढ्ने काम सुरक्षित र सफलरुपमा सम्पन्न होस् भनी देवीदेवतासँग प्रार्थना गरिरहेका बेला उनले यी कुराहरू अर्थ्याइरहेका थिए ।

Five Himalayan giant honeybee nests (top left) tucked under an overhang in the Nyadi River gorge, central Nepal
 
न्यादी नदीको खोचमा भीरमौरीले बनाएका पाँचवटा घार (बायाँ) । हिमाली भीरमौरी पनि भनिने यो प्रजातिले १.५ मिटरमा फैलिएको घार बनाउने गर्छ । यसले अग्ला भीरपहरा वा ठूला रुखका हाँगामा यस्ता गुँड बनाउने गर्छ । त्यहाँ जान निकै अप्ठ्यारो हुने भएकोले त्यस ठाउँमा बनाएका घारमा नाइचेका गाउँलेले मह काढ्ने गर्दैनन् । (तस्बिरः नवीन बराल/द थर्ड पोल)

हिमाली क्षेत्रको काखमा बस्ने नेपाली समुदायको प्राचीन परम्परा हो मह काढ्ने काम । मध्यनेपालका पहाडमा बस्ने आदिवासी गुरुङ समुदाय र उत्तरी भारतका मानिसहरूले हजारौँ वर्षदेखि यसरी नै जीवन जोखिममा पारेर मह काढ्ने कामलाई निरन्तरता दिइरहेका छन् । शरद् र वसन्त ऋतुमा मह काढ्ने काम गुरुङ समुदायको संस्कृतिसँग अभिन्नरुपले गाँसिएको छ ।

एसियामा महशिकारकाे परम्परा

इन्टरनेसनल सेन्टर फर इन्टेग्रेटेड माउन्टेन डेभलपमेन्ट (ईसीमोड) का सबल जीविकोपार्जन विशेषज्ञ सुरेन्द्रराज जोशीका अनुसार नेपालमा हिमाली भीरमौरीको महशिकार मुख्यरुपमा गुरुङहरूले गर्ने गरेका छन् । मौरीको यो प्रजाति खासगरी दक्षिण एसियाको हिन्दूकुश हिमालय क्षेत्रमा पाइन्छ । भुटानमा पनि नेपालीभाषी मानिसले महशिकार गर्ने गर्छन् । भारत, चीनको दक्षिणपूर्वी प्रान्त युन्नान, म्यान्मा, लाओस र भियतनाममा मुख्यतः होचोभागमा पाइने ठूला मौरीले पार्ने मह काढ्ने गर्छन् ।

गण्डकी प्रदेशको मर्स्याङ्दी गाउँपालिकामा पर्ने नाइचे गाउँका १५ जनाको शिकारी समूहका प्रमुख हुन गंगाबहादुर । मर्स्याङ्दीमा मिसिने न्यादी नदीले हिमालय पर्वत बन्ने क्रममै बनाएको खोँचमा अवस्थित छ नाइचे गाउँ ।

मर्स्याङ्दी गाउँपालिकास्थित नाइचे गाउँको तलबाट बग्ने न्यादी नदी । (तस्बिरः नवीन बराल/द थर्ड पोल)

पहिले पहिले नाइचे र वरपरका क्षेत्रमा भीरमौरीको मह प्रशस्तमात्रामा पाइने गर्थ्यो । तर अहिले त्यस्तो छैन ।

४८ वर्षे गंगाबहादुरले आफ्नो ध्यानको अन्तिम खण्डमा भीरमौरीसँग क्षमायाचना गर्छन् । ती मौरीका गुँड नष्ट गरेकोमा त्यसप्रति माफी माग्दै आफ्नाे समूहका बच्चाहरु सुरक्षित रहून् भन्ने कामना पनि गर्छन् । यो क्षेत्रमा पाइने भीरमौरी ३ सेन्टिमिटरसम्म ठूला हुन्छन् ।

शिकारी समूहका अरु साथीहरूलाई भीरको फेदीमा छाडेर बिच्चेमान गुरुङ र प्रविण गुरुङ भीर चढ्छन् । डोरीको भर्‍याङ बाँधेर त्यसैबाट उनीहरू मौरीको घारसम्म पुग्छन् ।

मौरीको गन्ध थाहा पाउने क्षमतालाई निष्क्रिय पार्ने धूवाँमार्फत सो ठाउँलाई गुम्स्याएर काम्चो भीरमा बनाएको मौरीको घारतर्फ जाँदै महशिकारी बिच्चेमान गुरुङ र प्रविण गुरुङ । वरपर धूवाँ फैलिएपछि मौरीहरूले वन डढेलो लाग्यो भन्ठानेर गुँड नै छाडेर भाग्छन्, जसले गर्दा शिकारीलाई महका चाका झिक्न सहज हुन्छ । (तस्बिरः नवीन बराल/द थर्ड पोल)
मौरीको टोकाइबाट बच्न टाउकोमा रातो बोरा बेरेका गंगाबहादुर गुरुङ (बीच) मह झिक्नेहरूलाई भीरको फेदमा बसेर सिकाइरहेका छन् । “होचा भीरपहरामा मैले युवा शिकारीलाई मौका दिन्छु तर अधिकांश अग्ला भीरमा भने म आफैँ चढ्छु । युवापुस्ताले पनि यो विधि सिक्नुपर्‍यो नि,” उनी भन्छन् । (तस्बिरः नवीन बराल/द थर्ड पोल)
भीरमा रहेका शिकारीसँग आवश्यक जानकारी लिन रुख चढिरहेका वीरजंग गुरुङ । (तस्बिरः नवीन बराल/द थर्ड पोल)

गंगाबहादुरको ध्यानका बाबजुद पनि उनीहरूको सो शिकार सुरक्षित त भयो तर सफल भने भएन । भीरमा चढेका शिकारीले महका चाका झिकेर बाल्टी तल पठाए । समूहका अरु सदस्यले हेर्दा ती त सुख्खा थिए । विगतमा यही भीरमा हुने एउटै ठूलो घारबाट १५ लिटरसम्म मह काढेको गंगाबहादुर सम्झिन्छन् । अहिले त २०० मिलिलिटरभन्दा कम हुन्छ ।

काम्चो भीरमा विगत १० वर्षमा मह काढ्दा यसरी साह्रै कम मह हात परेको यो तेस्रो पटक थियाे ।

शिकारको अन्त्यमा, गंगाबहादुरले मौरीलाई धन्यवाद दिनुका साथै सो मौरीको झुण्ड निकै फैलियोस् र अर्को वर्ष सयौँ झुण्ड बनून् भनी आशीर्वाद दिए ।

गंगाबहादुर भन्छन्, “प्रकृति हाम्रो भगवान् हो, हामीले यसको सम्मान गर्नुका साथै अत्यन्त होशियारीपूर्वक मह काढ्नुपर्छ । जसरी हाम्रा पुर्खाले गर्थे त्यसरी गरेमात्र आउने सयौँ वर्षसम्म यो कायम रहन सक्छ ।”

काम्चो भीरबाट काटेर झिकेको महको चाका जसमा २०० मिलिलिटर मात्र मह भेटियो । मौरीका घारहरू यस्तो सुक्खा हुनथालेको देख्दा गंगाबहादुर चकित छन् । “जंगली शिकारमा कहिले सफलता पाइन्छ, कहिले खाली हात फर्किनुपर्छ । अहिलेलाई समय नै गलत पर्‍यो वा सिउरी खोला सुकेर हो, जे होस्, चाकामा मह भेटिएन,” उनले भने । (तस्बिरः नवीन बराल/द थर्ड पोल)

मौरीकाे स‌ंख्या घट्दाे, महकाे माग बढ्दाे

यो प्रजातिको भीरमौरीको संख्या डरलाग्दोगरि घटिरहेको त्रिभुवन विश्वविद्यालयका वरिष्ठ मौरी विशेषज्ञ रत्न थापाको भनाइ छ । “भीरमौरीको संख्या प्रत्येक वर्ष ७० प्रतिशतको दरले घटिरहेको छ,” उनले भने ।

इन्टरनेसनल सेन्टर फर इन्टेग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) का वरिष्ठ जीविकोपार्जन विशेषज्ञ सुरेन्द्रराज जोशी भन्छन्ः “कास्की र लमजुङ जिल्लाबाट प्राप्त विवरण, घटनामा आधारित प्रमाणहरू र अन्य देशका रिपोर्टहरू हेर्दा के देखिन्छ भने एउटा भीरमा हुने मौरीको घारको संख्या र मौरीले घार बनाउने भीरको कुल संख्या दुवैमा कमी आएको छ ।” जिल्ला र देशअनुसार यसको अवस्था भिन्न छ ।

मौरीको संख्यामा यसरी निरन्तर गिरावट आउनुमा विभिन्न कारण रहेको थापा र जोशीको भनाइ छ । उनीहरूका अनुसार विषादीको प्रयोग, वासस्थान र उनीहरूकाे खानेकुरामा आएकाे ह्रास, भौतिक पूर्वाधारको विकास र आक्रमणकारी किरा तथा शिकारीहरूको आक्रमणका कारण मौरीको संख्या निरन्तर ओरालो लागेको हो । ‘मह काढ्ने विनाशकारी अभ्यास’ लाई उनीहरूले अर्को मुख्य कारणको रुपमा पहिचान गरेका छन् ।

महको सुक्खा चाका हातमा लिँदै शिकारमा संलग्न समूहका एक जना सदस्य । सामान्यतया यस्ता चाकाहरूमा मह तपतप चुहिनुपर्ने हो । (तस्बिरः नवीन बराल/द थर्ड पोल)

नाइचेका गाउँलेले २० वर्षअघि एक लिटर महलाई साढे ३ अमेरिकी डलरमा बिक्री गर्थे । अहिले प्रतिलिटर २० डलरमा बिक्री हुने गरेको र उनीहरूको आम्दानीको एउटा प्रमुख स्रोत यही बनेको गंगाबहादुरले बताए । अन्तर्राष्ट्रिय बजारमा त यसको मूल्य निकै बढी छ । विश्व बजारमै महको माग बढिरहेको हुँदा यसको भाउ वृद्धि भइरहेको हो ।

गंगाबहादुर भन्छन्, “दुई दशकअघिसम्म त महभन्दा त्यसको चाकाको बढी पैसा पर्थ्यो, त्यसैले मौरीले घार छाडेर हिँडेपछि त्यसलाई हामीले ल्याइहाल्थ्यौँ । त्यतिबेला मह स्थानीय रक्सी बनाउन वा सुर्तीमा मिसाउन प्रयोग गरिन्थ्यो… मह त कसैले किन्नै खोज्दैनथे ।”

यस नाइचे गाउँमा ६१ गुरुङ परिवार बस्छन् । यहाँका गाउँलेहरू आफ्नो जीविकोपार्जनका लागि कृषि र भीरमहजस्तै प्राकृतिक स्रोत साधनमा निर्भर छन् । (तस्बिरः नवीन बराल/द थर्ड पोल)

ढिकीमा चामल कुटेर पिठो बनाउँदै स्थानीय गुरुङ महिला । घरायसी काममै व्यस्त रहने हुँदा महिलाहरू महशिकारमा सहभागी हुँदैनन् । (तस्बिरः नवीन बराल/द थर्ड पोल)
घाटु नाचका लागि युवतीहरूलाई तयार पार्दै नाइचेका महिला । वैशाख पूर्णिमामा मनाइने घाटु गुरुङ समुदायको एउटा मुख्य चाड हो । यो चाडको बेलामा गुरुङहरूले महशिकार गर्दैनन् । (तस्बिरः नवीन बराल/द थर्ड पोल)

नेपालबाट अन्तर्राष्ट्रिय बजारमा भीरमौरीको मह निर्यात गर्ने बेस्ट म्याड हनी नामक कम्पनीका प्रमुख कार्यकारी सञ्जय काफ्लेले आफ्नो कम्पनीले एक वर्षमा तीनदेखि चार टनसम्म मह निर्यात गरेको बताए । उनका अनुसार यो मात्रा प्रत्येक वर्ष बढिरहेको छ ।

यो महमा दिमागलाई नै अतिसक्रिय बनाउने तत्व हुने भएकोले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दाे छ। ‘म्याड हनी’ अर्थात् पागल मह भनिने यसको सानो मात्राले पनि टाउको हल्का बनाउन र मानिसमा उमंग ल्याउन सक्छ भने धेरै मात्रा उपभोग गरेमा ह्यालुसिनेसन अर्थात् काल्पनिक कुराको समेत अनुभूति दिन्छ । यसमा कोलेस्ट्रोल तथा जोर्नी दुःखाइको समस्या निको पार्ने औषधीय गुणहरू भएको मानिन्छ तर यो विषाक्त हुनसक्ने कुरा पनि पुष्टि भएको छ ।

““मानिसहरूले यो महको औषधीय महत्व बुझ्नथालेका छन् र वैज्ञानिकहरूले पनि यो पुष्टि गरेको हुनुपर्छ त्यसैले गर्दा आजकल यसबाट हामीले केही कमाइ गर्नसकेका छौँ,” गंगाबहादुर भन्छन् ।

तर मौरीविज्ञ रत्न थापा भने त्याे भनाइप्रति असहमत छन् । “यसमा औषधीय गुण रहेको पुष्टि भएको भनी कुनै वैज्ञानिक अनुसन्धान पेपर मैले अहिलेसम्म पढेको वा देखेको छैन । बरु यसमा हाम्रो स्नायु प्रणालीलाई असर गर्ने ग्रेयनोटक्सिन भन्ने रसायन हुन्छ भन्ने कुरा चाहिँ म भन्नसक्छु,” उनले भने ।

नेपालको पहाडी र हिमाली क्षेत्रमा प्रशस्त पाइने लालीगुराँसको पात र फूलमा ग्रेयनोटक्सिन पाइन्छ ।

पुर्वी तीनजुरे–मिल्के–जलजले लालीगुराँस संरक्षण क्षेत्रमा फक्रिएको नेपालको राष्ट्रिय फूल लालीगुराँस । (तस्बिरः नवीन बराल/द थर्ड पोल)

थापाका अनुसार उच्चपहाडी क्षेत्रमा पाइने वनस्पतिमा परागसेचन गराउने मुख्य माध्यम नै भीरमौरी हुन् । एउटा बोटबिरुवाबाट अर्कोमा उड्ने क्रममा उनीहरूले वनस्पतिमा परागसेचन गराउँछन् ।

यो भीरमौरी समुद्री सतहबाट ४२ सय मिटरमाथिको क्षेत्रमा रहन्छ, जहाँ अन्य मौरी बस्न सक्दैनन् । त्यसैले थुप्रै प्रकारका फूलका बिरुवा भीरमौरीमै निर्भर रहेको ईसीमोडका जीविकोपार्जन विज्ञ जोशीले बताए ।

“उच्च हिमाली क्षेत्रको जैविक विविधता संरक्षण तथा पारिस्थितिक प्रणाली (इकोसिस्टम) जोगाउन यी मौरीले गर्ने योगदानको तुलनामा यिनीहरूले उत्पादन गर्ने महको मूल्य नगण्य हो,” थापाले थपे, “ “भीरमौरीको प्रजाति मासियो भने नेपालको राष्ट्रिय फूल लालीगुराँस पनि त्यो सँगसँगै मासिनेछ ।”

गंगाबहादुर (बायाँबाट दोस्रो) र नाइचे गाउँका उनका साथीहरू मिलेर बाँसको चोया काढिरहेका छन् । त्यसबाट उनीहरूले महशिकार गर्दा भीर चढ्नका लागि डोरीको भर्‍याङ बनाउँछन् । (तस्बिरः नवीन बराल/द थर्ड पोल)
बाँसको चोया बाटेर डोरी बनाउँदै गरेको यस समूहले त्यसलाई काठको खम्बाहरूमा बाँधेर शिकार गर्ने भर्‍याङ बनाउँछन् । यसरी १०० मिटरको डोरी बनाउन लगभग १६ सय मिटर बाँस चाहिन्छ र यो बनाउन दुई दिन लाग्छ । (तस्बिरः नवीन बराल/द थर्ड पोल)
डोरी बाटेपछि त्यो बोकेर काम्चो भीरतर्फ जाँदै शिकारीहरू । नाइचे गाउँबाट हिँडेर भीरमौरी भएको ठाउँसम्म पुग्न लगभग १ घण्टा लाग्छ । (तस्बिरः नवीन बराल/द थर्ड पोल)

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले महशिकार पनि सो क्षेत्रको पर्यटनको एउटा प्रमुख आधार भएको बताए । पर्यटकलाई आकर्षित गर्नका लागि महशिकारलाई थप प्रवर्द्धन गर्न स्थानीय सरकार इच्छुक रहेको उनको भनाइ छ ।

“महशिकारको काम परम्परागतरुपमा हुँदै आएको छ । हामीले यो परम्परागत अभ्यासलाई अवरोध गर्न र गाउँलेहरूको अधिकारमा दख्खल पुर्‍याउन चाहँदैनौँ ,” उनले भने ।

थर्ड पोलसँगको कुराकानीका क्रममा अर्जुन गुरुङले जैविक विविधता संरक्षण गर्न मौरीको कति महत्व छ भन्ने यथार्थप्रति जिम्मेवार निकायका अधिकारीहरू सचेत नभएको गुनासो पोखे । संरक्षणका क्षेत्रमा स्थानीय तहले के काम गरेको छ त भन्ने जिज्ञासामा उनको भनाइ थियोः “अहिलेसम्म त मौरीका घारहरुमा क्षति हुने गरेकोबारे कुनै गुनासो नै आएको छैन त्यसैले हामीले त्यस्तो कुनै आवश्यकता नै देखेका छैनौँ… संरक्षणका क्षेत्रमा त्यस्तो केही गर्नुपर्ने भए त हामी गरिहाल्छौँ नि !”

मौरीविज्ञ रत्न थापा भने महशिकारलाई रोकेर इको–टुरिज्म (पर्यावरणीय पर्यटन) का गतिविधिको प्रवर्द्धन गर्नुपर्ने बताउँछन् । स्थानीय समूहहरूले उनीहरू कसरी भीरमौरीको महशिकार गर्छन् भनी सांकेतिक रुपमा देखाउँछन् तर वास्तविक जस्तो लाग्ने त्यस्ता प्रस्तुतिमा साँच्चिकै महशिकार भने गर्दैनन् । त्यसो गर्दा पर्यटनबाट हुने आम्दानी पनि भइरहने र मौरीमा नकारात्मक असर पनि नपर्ने उनको दाबी छ ।

ईसीमोडका जोशीले महशिकारको परम्परालाई दिगो रुपमा टिकाइराख्नका लागि केही उपायहरू बताए । उनले मौरीका चाकामध्ये केहीबाट मात्र मह काढ्ने र नयाँमध्ये आधालाई जस्ताको तस्तै छाड्नुपर्ने बताए । वन तथा मौरीका गुँड हुने ठाउँहरूबारे सचेतना बढाउने, मौरीले घार बनाउने भीरहरूको सुरक्षालाई अझ राम्रो बनाउनका लागि त्यसको स्वामित्व र व्यवस्थापनको जिम्मेवारी महशिकारीलाई दिने र मौरी अवलोकन भ्रमणजस्ता इकोटुरिज्मका गतिविधिलाई बढावा दिनुपर्ने जोशीको धारणा छ ।

बाँधका कारण पनि मौरी संकटमा

भीरमौरीलाई आइपरेको चुनौती अधिक शिकार मात्र होइन । नेपालको हिमाली क्षेत्रमा सडक, बाँध आदि निर्माणकार्यका क्रममा विष्फोटन गर्दा कमजोर हिमाली पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) मा नराम्रो असर पर्ने गरेको छ ।.

नाइचे गाउँका महशिकारी बस्ने गरेको क्षेत्रमा पर्ने न्यादी नदी क्षेत्रमा पाँचवटा जलविद्युत् परियोजना छन् । तीमध्ये तीनवटा न्यादीको मुख्यधारमै छन् भने अरु दुईवटा न्यादीमा मिसिने नदीमा छन् । यीमध्ये दुईवटा परियोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी निर्माणाधीन अवस्थामा छन् ।

३० मेगावाटको न्यादीखोला जलविद्युत् परियोजनास्थलसम्म निर्माणाधीन पहुँचमार्ग तथा सुरुङ । शिकारी गंगाबहादुरका अनुसार निर्माणकार्य सुरु हुनुअघि त्यो सडकमाथि भीरमौरीको गुँड हुने गर्थ्यो । (तस्बिरः नवीन बराल/द थर्ड पोल)
जलविद्युत परियोजनातर्फ पानी फर्काएपछि सुकेको न्यादी खोला । भीरमौरीले पानी नजिकै घार बनाउने गर्छन् । पानी सुक्यो भने त्यो ठाउँ नै छाड्छन् । (तस्बिरः नवीन बराल/द थर्ड पोल)
महशिकारी समूहका सदस्यहरू काम्चो भीरतर्फ जाने क्रममा सिउरी खोला पार गर्दै । न्यादी नदीमा मिसिने यो खोलाको पानीलाई एउटा पाइपबाट ५ मेगावाटको सिउरीखोला जलविद्युत् परियोजनातर्फ फर्काइएको छ । (तस्बिरः नवीन बराल/द थर्ड पोल)

थापाका अनुसार मौरीको एउटा घारलाई प्रतिदिन चारदेखि पाँच लिटर पानी चाहिन्छ । मौरीलाई स्वस्थ रहनका लागि बालुवा पनि चाहिन्छ । त्यही कारण सामान्यतया मौरीले घार बनाउँदा पानीको स्रोतनजिकको ठाउँ रोज्ने गर्छन् । घार बनाएको ठाउँमा पानी सुक्यो भने मौरीको झुण्डले पनि त्यो ठाउँ छोड्छ । थापाको अध्ययनमा पनि देखिएको कुरा हो यो ।

नाइचे गाउँनजिक महशिकार गर्ने ठाउँहरूमध्येको एउटा प्रमुख स्थल निर्माणाधीन ३० मेगावाटको न्यादीखोला जलविद्युत् परियोजनाको ठीक तलपट्टि पर्छ । सो परियोजनामा सन् २०१७ देखि निर्माणकार्य सुरु भएको हो । त्यो भीरमा मौरीका २२ वटा घार भएकाे गंगाबहादुर सम्झिन्छन् । तर अहिले त्यहाँ त्यसको आधा पनि बाँकी छैनन् ।

अहिले जलविद्युत् परियोजना निर्माणका क्रममा गरिने विष्फोटन, निर्माणकार्यको अन्य चहलपहल र सवारीसाधनको प्रदूषणका कारण सो क्षेत्रमा मौरीको संख्या कम भएको उनको ठहर छ ।

न्यादी खोला बाँधभन्दा तलपट्टि मौरीका केही गुँडहरू बाँकी छन् तर नजिकैको पानी पनि अब छिट्टै सुक्नसक्ने गंगाबहादुरको चिन्ता छ । “केही समयपछि जब पानीलाई सुरुङमा प्रवेश गराइन्छ र नदी सुक्छ त्यसपछि भीरमौरीले घार बनाउनका लागि सो ठाउँ उचित नभएको ठानी त्यो ठाउँ छाड्नेछन्,” गंगाबहादुरले अनुमान गरे ।

३० मेगावाट क्षमताको न्यादी खोला जलविद्युत् परियोजनाको पावरहाउसदेखि करिब २० मिटर तल अल्पत्र छाडिएको मौरीको गुँड । खोलामा माछा मार्ने क्रममा मानिसहरूले गुँडमै ढुंगा प्रहार गरेर त्यहाँका मौरी भगाएका थिए । जलविद्युत् परियोजनाको काम सुरु भएपछि सो ठाउँमा मानिसको चहलपहल व्यापकरुपमा बढेको हो । (तस्बिरः नवीन बराल/द थर्ड पोल)