icon/64x64/nature जैविक विविधता

उकालो चढ्दै मिचाहा प्रजाति, हिमाली पारिस्थितिक प्रणालीमा जोखिम थपिँदै

नेपालका हिमाली क्षेत्रहरुमा मिचाहा वनस्पतिका प्रजाति बढ्दै गएकोप्रति वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् । जलवायु परिवर्तनसँगै यो जोखिम झन् बढ्नसक्ने उनिहरुकाे भनाइ छ
<p>मिचाहा वनस्पति लन्तना कमरा मेक्सिकोको रैथाने प्रजाति हो । यो नेपालका लाङटाङ, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज लगायतका उच्च भूगोलमा रहेका संरक्षित क्षेत्रहरूमा फैलिएको छ । (तस्बिरः पेर्रेटेन युर्सुला/अलामी)</p>

मिचाहा वनस्पति लन्तना कमरा मेक्सिकोको रैथाने प्रजाति हो । यो नेपालका लाङटाङ, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज लगायतका उच्च भूगोलमा रहेका संरक्षित क्षेत्रहरूमा फैलिएको छ । (तस्बिरः पेर्रेटेन युर्सुला/अलामी)

नोभेम्बर २०२१ मा प्रमोद भट्टराई लाङटाङ राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत बनेर जिम्मेवारी सम्हाल्दा मिचाहा प्रजातिसम्बन्धी विषय उनको कार्यसूचीमै थिएन । समथर क्षेत्र पर्ने बाँके राष्ट्रिय निकुञ्जमा उनी कार्यरत हुँदा बाह्य वनस्पतिको विस्तार चिन्ताको विषय थियो । किनभने त्यहाँ संरक्षित जनावरको आहाराको रुपमा रहेका रैथाने वनस्पतिलाई नै विस्थापित गर्ने गरी यस्ता मिचाहा प्रजाति फैलिएका थिए । हिमाली क्षेत्र लाङटाङमा समेत त्यस्ता प्रजाति पुगिसकेको छ भन्ने उनले कहिल्यै सुनेकै थिएनन् । उच्चहिमाली क्षेत्रमा पर्ने सो निकुञ्जमा त यो समस्या पक्कै छैन भन्नेमा उनी ढुक्क थिए ।

तर जब उनले सो निकुञ्जका कैयौँ भागलाई आगन्तुक रुख तथा बुट्यानले ढाकेको देखे त्यसपछि त भट्टराईको सो विश्वास हट्ने नै भयो । “जलवायु परिवर्तनका कारण त्यस्ता वनस्पति सामान्यतया माथि–माथिसम्म पुग्दै छन् र वनमाराजस्ता मिचाहा नौला प्रजातिलाई ल्याएर रैथाने घाँसहरूसँग प्रतिस्पर्धा गराएका छन्,” भट्टराईले थर्ड पोलसँग भने, “परिणामस्वरुप, हरिण र झारल जस्ता वन्यजन्तुले पार्कमा छिट्टै आहारा नपाउने समस्या पर्नसक्छ ।”

स्थानीयरुपमा वनमारा भनिने एजरटिना एडेनोफोरा नामक फूल्ने यो बोट मेक्सिकोमा पाइने वनस्पति हो । तर आजकल यो संसारका धेरै ठाउँमा फैलिएको छ । यसको विस्तार नेपालका संरक्षणविद्हरूका लागि पनि चिन्ताको विषय बनेको छ किनभने यो अत्यन्त छिटो फैलिन्छ । यो निकै घनारुपमा झाँगिने हुँदा अन्य बोटबिरुवा यसको बीचमा हुर्कनै सक्दैनन् । पशुपक्षी र रैथाने स्तनधारीका लागि यो विषाक्त हुन्छ ।

मिचाहा प्रजाति भनेको के हो?

मिचाहा प्रजाति भनेको त्यस्तो वनस्पति वा जीव हो जुन प्रजाति आफ्नो क्षेत्रभन्दा बाहिर पनि खुला ठाउँमा उत्पत्ति हुनुका साथै फैलिन्छ । मानव गतिविधिका कारण नयाँ ठाउँमा पुग्छ र रैथाने प्रजाति र पारिस्थितिक प्रणालीमा यसले नकारात्मक असर पार्छ ।

नयाँ ठाउँमा पुग्ने सबै प्रजाति मिचाहा हुँदैनन् तर केहि प्रजातिहरुले जैविक विविधताको नाश र प्रजाति लोप हुनमा मुख्य कारक बन्न सक्छन् ।

विश्वव्यापीरुपमा नै जैविक विविधताको नाश गर्ने मुख्य पाँच कारकमध्ये एक मिचाहा प्रजातिलाई मानिन्छ । रैथाने प्रजातिलाई पछि पार्ने वा तिनकै शिकार गर्ने त्यस्ता प्रजातिको असर विश्वभरका विभिन्न पारिस्थितिक प्रणाली (इकोसिस्टम) मा पाइने गरेको छ । उच्च हिमालदेखि जलाधार क्षेत्र र समुद्रसम्म सबैतर्फ ति प्रजाति फैलिइसकेका छन् ।

त्यसैले गर्दा भट्टराईजस्तै यस क्षेत्रमा क्रियाशील सरोकारवालाले नेपालका उच्च हिमाली क्षेत्रहरूमा फैलिँदो यो समस्याबारे एउटा बृहत् अध्ययन गरी समाधानका लागि उचित रणनीति अपनाउनुपर्ने आवाज उठाइरहेका छन् ।

माथि चढ्दै मिचाहा प्रजाति

संरक्षित क्षेत्रमा यस्तो मिचाहा वनस्पतिले कतिसम्म क्षति पुर्‍याउन सक्छन् भन्ने सम्बन्धमा नेपालसँग पर्याप्त अनुभव छ । माइकेनिया मिकारान्था भनिने अमिरेकामा पाइने लहरे प्रजातिको वनस्पति सन् १९९० को दशकदेखि नै चितवन राष्ट्रिय निकुञ्जमा पाइन थालेको थियाे । गत वर्ष सो निकुञ्जको मुख्य आकर्षणको रुपमा रहेको एकसिंगे गैँडाको गणना गरिएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र (एनटीएनसी–बीसीसी) का प्रमुख बाबुराम लामिछानेका अनुसार गणना गर्ने क्रममा गैँडाको वासस्थानमध्ये ३५ प्रतिशत क्षेत्र माइकेनियाले ढाकिसकेको पाइएको थियो । अत्यन्त छिटो बढ्ने यो लहरे प्रजातिको वनस्पतिले रैथाने बोटबिरुवालाई हुर्किन दिँदैन । आफ्नो क्षेत्रमा सँधै खानेगरेको वनस्पति नपाएपछि ती जनावर आहारा खोज्दै पार्कबाहिरसम्म पुग्छन् जसका कारण स्थानीय समुदायसँग उनीहरूको द्वन्द्व हुनपुग्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख महेश्वर ढकालले अतिक्रमणकारी वनस्पतिका कारण समथर क्षेत्रहरूमा गम्भीर प्रभाव परिसकेको तर उच्च हिमाली क्षेत्रमा पनि सो समस्या बढेको भन्ने कुरा अहिलेलाई ‘परिकल्पना’कै रुपमा लिनुपर्ने बताए । “त्यहाँको परिस्थिति नियन्त्रण गर्ने उपायहरूलाई प्राथमिकीकरण गर्न एउटा विस्तृत तथा बृहत् अध्ययनकै आवश्यक पर्छ,” उनले भने ।

Ageratina adenophora, also known as Mexican devil, Crofton weed or banmara, growing in India.
मेक्सिकन डेभिल पनि भनिने एजेरेटिना एडेनोफोरा, क्रफ्टन झार वा वनमारा भारतमा फैलिइरहेको पाइन्छ । मध्यअमेरिकाको रैथाने यो वनस्पति नेपालको पहाडी क्षेत्रमा पनि प्रशस्तै देखिन्छ । (तस्बिरः रुपेन्द्र रावत/अलामी)

तर, समुद्री तहबाट ९६० मिटरदेखि २,७३२ मिटर उचाइ क्षेत्रमा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्याल पनि भट्टराईसँग सहमत छन् । “निकुञ्जवरपर घुम्दा लन्तना क्यामरा र एजेरेटिना एडेनोफोरा (वनमारा) जस्ता बाहिरिया प्रजाति देखेको छु,” पौडेलले भने ।

अमेरिकाको उष्ण क्षेत्रमा पाइने बुट्यान लन्तना कमरा झाँगिएर रैथाने वनस्पतिलाई दबाउँछ र यो पशुपंक्षी तथा वन्य स्तनधारीका लागि पनि विषाक्त हुन्छ । यो समस्या निकुञ्जका लागि कति खतरनाक हुनसक्छ भनी सोचविचार गर्न नसक्नुको एकमात्र कारण हो– यो समस्या कुन स्तरको हो भन्ने रुपरेखा प्रस्ट हुने गरी एउटा बृहत् अध्ययन नहुनु ।

अनुसन्धानका लागि प्रयास जारी

उच्च भौगोलिक क्षेत्रमा फैलिएका अतिक्रमणकारी प्रजातिबारे सरकारी प्रतिवेदनहरूको अभाव पूर्ति गर्न केही प्राज्ञिक व्यक्तिहरूले प्रयास गरिरहेका छन् । अहिलेसम्मका प्रयास भने या त कुनै एउटा संरक्षित क्षेत्र वा कुनै प्रजातिमा केन्द्रित छन् ।


नेपालमा फैलिएका मिचाहा वनस्पति प्रजातिहरु

ल्याटिन नामसामान्य नामउद्गमस्थलनेपालमा फैलावट क्षेत्रस्थानीय पारिस्थितिक प्रणालीमा असर
एजरटिना एडेनोफोरा वा युप्याटोरियम एडेनोफोरम
लन्तना कमरा
मेक्सिकन डेभिल, क्रफ्टन झार, वनमारा (नेपालको स्थानीय नाम)
मध्यअमेरिकाझण्डै नेपालको सबै क्षेत्रनिकै घनारुपमा फैलिन्छ र अन्य प्रजातिलाई बढ्न दिँदैन । पशुपक्षीका लागि विषाक्त ।
लन्तना कामराकमन लन्तना, वेस्ट इन्डियन लन्तनामध्य तथा दक्षिणअमेरिकादक्षिणी समथर क्षेत्र र मध्यमस्तरीय अग्ला पहाडहरूवन तथा नदीमा पाइने रैथाने वनस्पतिलाई परास्त गर्छ । पशुपक्षीका लागि विषाक्त ।
विदेन्स पिलोसाकब्लर्स पेग्स, कुरो (स्थानीय नाम)उष्ण अमेरिकी१०० मिटरदेखि ३५०० मिटरको बीचमाघनारुपमा फैलिन्छ र रैथाने वनस्पति तथा बालीलाई परास्त गर्छ । सडक तथा बाटोघाटोमा रोकावट गर्छ ।
पार्थेनियम हिस्टेरोफोरससान्टा मारिया फिभरफ्यु, क्यारोट ग्रास, कनिके, पड्केमध्य तथा दक्षिणअमेरिकादक्षिणी समथर क्षेत्रचरनक्षेत्रमा अतिक्रमण गरी त्यहाँको गुणस्तर बिगार्छ । कृषि उत्पादन घटाउने रसायन उत्पादन गर्छ । विषाक्त हुनुका साथै यसले मानव र जनावरमा छालासम्बन्धी समस्या र दमजस्ता स्वास्थ्य समस्या निम्त्याउँछ ।
मिकानिया मिक्रान्थाविटर भाइन, अमेरिकन रोप, माइल–अ–मिनटउत्तरी, मध्य र दक्षिणअमेरिकापूर्वी तथा मध्यनेपालनिकै छिटो फैलिन्छ, रुख तथा घाँस लगायतका रैथाने वनस्पतिलाई ढाक्छ
स्रोतः इन्भेसिभ प्लान्ट्स अफ नेपाल


काठमाडौंस्थित गोल्डेनगेट इन्टरनेसनल कलेजका अनुसन्धानकर्ता दीपक खड्का नेतृत्वको एउटा टोलीले सन् २०१८ मा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा एउटा सर्वेक्षण गरेको थियो । १४ सय मिटरदेखि २१ सय मिटर उचाइको बीचमा गरिएको सो सर्वेका क्रममा उनीहरूले एजेरटिना एडेनोफोरा, लन्तना कमारा र विदेन्स पिलोसालगायतका नौवटा मिचाहा वनस्पतिका प्रजाति फेला पारेका थिए ।.  

“मिचाहा वनस्पतिले संरक्षित जनावरहरूको आहारा नष्ट गरेर त्यसमा निर्भर जनावरलाई निकै असर पारेको छ,” खड्काले भने, “उदाहरणका लागि चितुवाको संरक्षण गर्नका लागि मृग वा अन्य त्यस्तै शाकाहारी प्राणीहरूलाई जोगाउनुपर्छ । उनीहरूका लागि पर्याप्त घाँसेक्षेत्र र बुट्यान चाहिन्छ तर ती पनि मिचाहा वनस्पतिबाट विस्थापित भएका छन् ।” निकुञ्जका शाकाहारी जन्तुहरूका लागि अतिक्रमणकारी वनस्पति कम रुचिकर हुन्छन् ।

खड्काकै समूहले जुन २०२२ मा त्यही राष्ट्रिय निकुञ्जमा ‘फलो अप’ सर्वेक्षण गर्‍यो । त्यसको नतिजा सार्वजनिक गर्न बाँकी छ । उनका अनुसार सर्वेक्षणका क्रममा लन्तना कमारा र विदेन्स पिलोसाजस्ता मिचाहा प्रजातिको संख्या बढिरहेको देखिएको छ । त्यसैले यसलाई नियन्त्रणका उपाय अपनाउन ढिला भइसकेको उनको भनाइ छ । 

वनस्पति विभागकी वैज्ञानिक सृजना महर्जनले दक्षिण अमेरिकाको रैथाने फूल वनस्पति पर्थनियम हिस्टेरोफोरसबारे अध्ययन गर्दै आएकी छन् । यसले कृषिमा धेरै नै नकारात्मक असर पार्छ । महर्जनले नेपालको पहाडी क्षेत्रका तीन संरक्षित क्षेत्रहरू लाङटाङ राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रमा यो वनस्पति निकै डरलाग्दोरुपमा फैलिनसक्ने प्रक्षेपण गरेकी छन् ।

उष्ण अमेरिकी ठाउँको रैथाने पर्थेनियम हिस्टेरोफोरस सुर्खेतका पहाडहरूमा फैलिएको देखिन्छ । (तस्बिरः भरतबाबु श्रेष्ठ) ।

“अहिलेसम्म यो वनस्पतिका लागि तराईको समथर क्षेत्र सबैभन्दा अनुकूल रहँदै आएको थियो, तर भविष्यमा त्यो अनुकूलता क्रमशः शिवालिक (१२० मिटरदेखि १८ सय मिटरसम्मको उचाइको क्षेत्र), मध्यहिमाली र उच्चहिमाली क्षेत्रसम्म पनि पुग्ने देखिन्छ, र यो सबै जलवायु परिवर्तनका कारण भएको हो,” महर्जनले थर्डपोलसँग भनिन् ।

यो वनस्पतिको विस्तारले रैथाने वनस्पतिलाई पर्ने असरबाहेक अन्य प्रभाव पनि चिन्ताको विषय भएको उनको भनाइ छ । “यी वनस्पतिले गर्दा स्थानीय कृषि उत्पादनका लागि माटोको उर्वरता पनि घट्छ र यो प्रभाव लामो समयसम्म रहिरहन्छ । त्यसैगरी, त्यसका परागकणका कारण सो क्षेत्रमा निर्भर मानिस तथा जनावरलाई एलर्जी तथा अन्य स्वाथ्य समस्या हुने गर्छ,” उनले भनिन् ।

नेपाल र अमेरिकाका अनुसन्धानकर्ताहरूको एउटा टोलीले चितवन–अन्नपूर्ण क्षेत्रमा हुनसक्ने एजरटिना एडेनोफोराको विस्तारबारे अध्ययन गरेको छ । सो समूहले प्रकाशित गरेको सन् २०२० को प्रकाशनमा पनि त्यस्तै निष्कर्ष निकालेको छ । “सबै संरक्षित क्षेत्रहरू र तीन भौगोलिक क्षेत्रहरू (शिवालिक, उच्चपहाडी र उच्चहिमाली) मा अबको जलवायु परिदृश्यमा थप अनुकूल क्षेत्र पाउने सम्भावना छ । उच्च क्षेत्रमा सो वनस्पतिको फैलावट सीमा आउने दिनमा ३१ देखि ४८ मिटरसम्म फैलिने अनुमान गरिएको छ, त्यसको अर्थ अब उच्च भौगोलिक क्षेत्रमा पनि यो झारले थप भूभागहरू ओगट्नेछ,” सो अध्ययनको निचोड छ ।

जोखिमयुक्त संरक्षित क्षेत्रहरू

त्रिभुवन विश्वविद्यालयका वनस्पतिविद् भरतबाबु श्रेष्ठले नेपालका उच्चपहाडी भेगका संरक्षित क्षेत्रहरू पनि मिचाहा वनस्पतिबाट जोखिममा रहेको बताए । श्रेष्ठ सहअध्ययनकर्ता रहेको हालैको एउटा अध्ययनका क्रममा नेपालका १९ मध्ये १५ संरक्षित क्षेत्रमा कम्तीमा एउटा मिचाहा प्रजाति भेटिएको थियो । यीमध्ये १२ संरक्षित क्षेत्र उच्च भौगोलिक क्षेत्रमा अवस्थित छन् ।

पहाडी क्षेत्रबारे अनुसन्धान अभाव औल्याउँदै सो अध्ययनमा भनिएको छ, “गोसाइँकुण्ड, गोक्यो, रारा र फोक्सुन्डो तालहरू रहेको उच्चपहाडी भूभागमा अवस्थित (महत्वपूर्ण जलाधार) रामसार क्षेत्रमा फैलिएको मिचाहा प्रजातिबारे पनि अध्ययन भएको थिएन ।”

“नेपालका जैविक विविधताले भरिपूर्ण संरक्षित क्षेत्रहरू पनि यस्ता प्रजातिहरूबाट भने संरक्षित छैनन्,” श्रेष्ठ भन्छन्, “यिनै प्रजातिका कारण संरक्षित क्षेत्रको मध्यवर्ती क्षेत्रकाे क्षमता पनि कमजोर हुँदै गएको छ र यसले गर्दा वातावरणमा मात्र नभई पर्यटनमा समेत असर पु¥याएको छ । माइकानिया मिक्रान्था फैलिँदा चितवनको गैँडा वासस्थानमा कति क्षति पुगेको छ भन्ने त हामीले देखिसकेका छौँ ।”

अहिलेसम्म यस्ता मिचाहा वनस्पति नियन्त्रणका लागि सञ्चालित कार्यक्रमहरू समथर क्षेत्रमा रहेका चितवन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र केन्द्रित छन् । यी कार्यक्रमहरू सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा सञ्चालन गरेको छ । त्यसअन्तर्गत माइकानिया मिक्रान्थालाई मानिसहरूले नै काट्ने र पार्थेनियम हिस्टेरोफोरस नष्ट गर्न किरा छाड्नेलगायतका गतिविधि गरिन्छ ।

अतिक्रमणकारी वनस्पतिको समस्याले दक्षिणी भूभागमा जस्तै उच्चपहाडी क्षेत्रमा पनि गम्भीर रुप लिनुभन्दा पहिले नै सम्बन्धित निकायहरूले पहलकदमी थालिहाल्नुपर्ने श्रेष्ठको बुझाइ छ । “सुरुकै चरणमा नियन्त्रणका उपायहरू अपनाएमा ती बढी प्रभावकारी हुन्छन्,” उनले भने, “सम्बन्धित निकायको ध्यान उत्तरतर्फ केन्द्रित गर्नका लागि अब यो उपयुक्त बेला हो ।”

गत अगस्त महिनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख बनेका महेश्वर ढकालले मिचाहा प्रजाति नियन्त्रण गर्नु आफ्नो कार्यकालका प्राथमिकतामध्ये एक भएको बताए । उत्तरी क्षेत्रको समस्याबारे एउटा बृहत् अध्ययन नगरी त्यहाँ ठ्याक्कै के गर्नुपर्ने हो भनी टिप्पणी गर्न नसकिने बताए । “सबैभन्दा पहिले हामीले कुन संरक्षित क्षेत्रमा कुन प्रजातिको अतिक्रमण कति र कस्तो प्रकृतिको छ भनी अध्ययन गर्नुपर्छ र अब हामीले अनुसन्धानलाई पनि प्राथमिकताका साथ अघि बढाउनेछौं,’ ढकालले भने ।

धेरैभन्दा धेरै अनुसन्धान गर्नु नै महत्वपूर्ण कुरा हो भन्नेमा अनुसन्धानकर्ताहरू सहमत छन् । “संरक्षित क्षेत्रमा जैविक अतिक्रमणका कारक, फैलावटका मार्ग र अतिक्रमणकारी बाह्य वनस्पतिका प्रजातिको पर्यावरणीय प्रभावबारे बृहत् ज्ञानको अभाव छ,” श्रेष्ठ सहअध्येता रहेको सो अनुसन्धानको ठहर छ, “माथि उल्लिखित शीर्षकबारे थप अनुसन्धान गर्ने, त्योसँगै हरेक संरक्षित क्षेत्रमा रहेका अतिक्रमणकारी बाह्य प्रजातिबारे नियमित अनुगमन र सर्वेक्षण गरेमा सम्बन्धित निकायहरूले तिनको व्यवस्थापनसम्बन्धी निर्णय गर्नका लागि आवश्यक तथ्यांक र ज्ञान उपलब्ध हुनसक्छ ।’”

Comments (1)

यस्ता मिचाहा बनस्पति लाई नियन्त्रण गर्न केहि वन कर्मचारीले मात्रै पक्कै सक्दैनन् होला । यति धेरै कुरा लेखिसकेपछि यस्ता वनस्पतिलाई कुन कुन उपायबाट नियन्त्रण गर्न सकिन्छ, र यसको नियन्त्रणमा जनसाधारणको भूमिका के र कस्तो हुन्छ भन्ने कुरा पनि लेखेको भए कति काम लाग्थ्यो ? यो लेखाइ त केवल रमिता माने जस्तै भयो ।

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.