icon/64x64/nature जैविक विविधता

सगरमाथा क्षेत्र कब्जा गर्दैछन् हिमाली व्वाँसाे

केही वर्षयता घरपालुवा जनावरहरू मारिने क्रम बढेपछि पहिले शिकारीको रुपमा त्यति चर्चामा नरहेका हिमाली ब्वाँसो मानव द्वन्द सगरमाथा क्षेत्रमा चुलिँदै गएकाे छ
<p>भारतको सिक्किममा एक हिमालयन वा तिब्बती ब्वाँसो । रहस्यमयी र निकै कम अध्ययन गरिएको यो मांसाहारी जनावरले केही वर्षयता नेपालको सगरमाथा क्षेत्रमा आफ्नो उपस्थिति बढाएको छ । (तस्बिरः सुशी सिकाने÷अलामी)</p>

भारतको सिक्किममा एक हिमालयन वा तिब्बती ब्वाँसो । रहस्यमयी र निकै कम अध्ययन गरिएको यो मांसाहारी जनावरले केही वर्षयता नेपालको सगरमाथा क्षेत्रमा आफ्नो उपस्थिति बढाएको छ । (तस्बिरः सुशी सिकाने÷अलामी)

अप्रिल २०२२ को एक बिहान नाम्चेस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयबाट सगरमाथाको शिखर प्रस्ट देखिएको थियो । चुचुरोबाट हिउँ पग्लिएर उडेको वाफले बादलको एउटा पातलो पत्र बनाएकाे थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत बिष्णु रोकायालाई भने त्यो सुन्दर दृश्य हेर्ने फुर्सद थिएन । उनी पार्ककाे पछिल्लो वार्षिक प्रतिवेदनका पाना पल्टाउँदै थिए । एउटा अनुच्छेदमा उल्लिखित तथ्यांक औँल्याउँदै उनले भने, “सन् २०२० को मध्यदेखि २०२१ को मध्यसम्ममा पार्क र मध्यवर्ती क्षेत्रमा जंगली जनावरबाट तीनसयभन्दा बढी घरपालुवा जनावर मारिए । त्यसका लागि हामीले समुदायलाई ९० लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति दियाै‌।”

नेपालमा सबैभन्दा कम अध्ययन गरिएको जंगली जनावरमा पर्ने हिमाली ब्वाँसोले घरपालुवा जनावरको सुरक्षामा निकै ठूलो समस्या सृजना गरिरहेको छ ।

सो वार्षिक प्रतिवेदनका अनुसार मारिएका ३ सय २३ घरपालुवा जनावरमध्ये २ सय ३४ (७० प्रतिशतभन्दा बढी) चाहिँ ब्वाँसोले मारेको थियो । यसरी जनावर मारिने क्रम हरेक वर्ष बढिरहेको रोकायाले सुनाए । “यसरी निरन्तर संख्या बढ्नुको ठ्याक्कै कारण के हो भन्ने त हामीलाई थाहा छैन तर केही वर्षदेखि समुदाय र हाम्रालागि यो एउटा निकै गम्भीर समस्याका रुपमा आइपरेको छ,” उनले भने ।

हिमालयन वुल्फ अर्थात् टिबटन् वुल्फ पनि भनिने ब्वाँसो तिब्बतमा केही हजारको संख्यामा रहेको पाइन्छ तर नेपालमा भने यिनीहरूको संख्या कति छ भन्ने कुनै तथ्यांक छैन । “उच्चपहाडी क्षेत्रमा संरक्षणसम्बन्धी बढी प्राथमिकता हिमचितुवामा नै केन्द्रित छन्, त्यसैले गर्दा हिमाली ब्वाँसोतर्फ खासै ध्यान पुगेकाे छैन, तर यस क्षेत्रका यी दुवै शिकारी जनावर हुन्,” हिमालयन वुल्भ्स प्रोजेक्टका राष्टिय कार्यक्रम निर्देशक नरेश कुसीले बताए । उनले केही वर्षदेखि हिमाली ब्वाँसोमा अनुसन्धान गरिरहेका छन् ।

तथ्यगत जानकारीः हिमाली ब्वाँसो एउटा छुट्टै प्रजाति हुनसक्छ

हिमालयन वुल्फ (हिमाली ब्वाँसो)बारे वैज्ञानिक जगत् प्रस्ट छैन तर अन्य युरेसियन वुल्फभन्दा यो वंशाणुगतरुपमा भिन्न रहेको अध्ययनहरुले देखाएकाे छ ।

“अन्य ब्वाँसोहरूको तुलनामा एसियाका ब्वाँसोहरूबारे अध्ययन कम गरिएको छ र विभिन्नखाले एसियाली ब्वाँसोहरूको वर्गीकरण पनि प्रस्टसँग स्थापित भइसकेको छैन,” हिमालयन वुल्भ्स प्रोजेक्टका निर्देशक जेराल्डिन वेरह्यानको नेतृत्वमा एसियाली ब्वाँसोबारे हालै गरिएको एक वैज्ञानिक समीक्षामा भनिएको छ । हिमालयन वुल्फ र इन्डियन वुल्फसमेत छुट्टै उपप्रजाति वा प्रजातिको पहिचान बनाउन पर्याप्तरुपले भिन्न रहेको सो समीक्षाको ठहर छ ।

““हिमाली व्वाँसाे वंशाणुगत रुपमै फरक रहनुका साथै उच्चहिमाली क्षेत्रमा हुने कम अक्सिजनमा आफूलाई अनुकूलन गरेको र एउटा छुट्टै उपप्रजातिका लागि यो योग्य रहेको हाम्रो अनुसन्धानले देखाएको छ,” हिमालयन वुल्भ्स प्रोजेक्टका नरेश कुसीले भने । उनका अनुसार यसबारे इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर (आईयूसीएन) ले समीक्षा गरिरहेको छ । नेपालको कानुनले यसलाई भने राष्ट्रियस्तरमा स‌‌‌‌कटापन्न प्रजातिकाे समूहमा सूचीकृत गरेको छ ।

याक पछ्याउँदै नेपाल आएहोलान् त ब्वाँसो?

अहिले नेपालको हिमाली क्षेत्रमा हिमाली ब्वाँसोको उपस्थिति छ भन्नेमा त कुनै शंका छैन तर यहाँ स्थायीरुपमै कहिलेदेखि बस्न थाले भन्ने कुरा भन्नेमा भने विवाद छ।

“यहाँ हिमाली ब्वाँसो त युगौँदेखि नै थिए तर नेपाली भूभागलाइ आफ्नो स्थायी वासस्थान बनाएका भने थिएनन् जब कि सीमापारि तिब्बततर्फ ठूलो संख्यामा भने ति स्थायी रुपमै बस्थे । नेपालकाे भिराला उच्च हिमाली र हिमाली क्षेत्रमा भन्दा उताका समथर भूभागमा शिकारका प्रजातिहरू पनि धेरै उपलब्ध छन्,” कुसीले भने, “यसरी अस्थायीरुपमा आउने हिमाली ब्वाँसोलाई प्रायः गोठालाहरूले प्रतिकारका रुपमा मार्थे, जुनकुरा कतिपय समयममा निकुञ्जको जानकारीमा आउँदैनथ्यो किनभने त्यस्तो संख्या सानो हुने गर्थ्यो ।”

स्थानीयहरूका अनुसार पनि यस क्षेत्रमा लामो समयदेखि ब्वाँसो रहने गर्थे । तर केही समयपहिलेसम्म गोठालाले प्रतिकारका क्रममा कहिलेकाहीँ मारे पनि धेरै गम्भीर प्रकृतिको द्वन्द्व थिएन । “म सानो छँदा हुँदै पनि सगरमाथा क्षेत्रमा ब्वाँसो हुन्थ्यो,” सन् १९८३ मा राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत रहेका लाक्पा नोर्बु शेर्पा भन्छन्, “सन् १९७६ मा निकुञ्ज स्थापना हुनुअघिदेखि नै यहाँ ब्वाँसोहरू हुन्थे तर ब्वाँसोले घरपालुवा जनावर धेरै मार्न थालेको गुनासो सन् २०१५ देखि ह्वात्तै बढ्यो ।”

सन् २०१४ मा तिब्बतबाट याक आयात गरेको घटना र ब्वाँसोको संख्यामा ह्वात्तै बढोत्तरी हुनुमा सोझो सम्बन्ध छ भन्ने धेरै स्थानीयको विश्वास छ । त्यस वर्ष तिब्बतबाट सगरमाथाको उत्तरपश्चिममा पर्ने नाङपा ला पास हुँदै ३० वटा याक ल्याइएको थियो । स्याङबोचे याक प्रजनन केन्द्रमा क्रसब्रिड गराएर स्थानीय याकको वंशाणुगत गुण सुधार गर्ने भनी तिब्बतबाट याक ल्याइएको हो । चिनियाँ सरकारले याक उपलब्ध गराएको तिब्बतको सो ठाउँसम्म पुग्न २५ जनाको टोलीलाई १६ दिन लागेको थियो । बाक्लो हिउँ छिचोल्दै त्यहाँ पुगेका उनीहरूलाई याक लिएर फर्किन ७ दिन लाग्यो । “त्यो यात्रामा हामी कसरी बाँच्यौँ भन्ने लाग्छ। त्याे बेला निकै कठिन यात्रा गरेका थियाै हामीले ,” स्याङबोचे याक प्रजनन केन्द्रका पशु प्राविधिक ललन यादवले बताए ।

Yaks and porters in the Nepal Himalayas
सन् २०१४ मा स्याङबोचे याक प्रजनन केन्द्रका लागि तिब्बतबाट याक ल्याउने क्रममा तिब्बत जाँदै गरेका याक तथा भरियाहरू । (तस्बिरः ललन यादव, स्याङबोचे याक प्रजनन केन्द्र)

तिब्बती याक ल्याएको केही वर्षपछि नै स्थानीयले याक तथा अरु वस्तुभाउलाई हिमाली ब्वाँसोले आक्रमण गरेको भनी गुनासो गर्न थालेका हुन् । “तिब्बतबाट याक ल्याउँदा त्यसलाई पछ्याउँदै तिब्बती ब्वाँसोहरूको एक बथान पनि आएको र त्यसपछि स्थायीरुपमा यतै बस्न थालेको स्थानीयको भनाइ छ । मलाई पनि त्यो कुरामा सत्यता छ भन्ने लाग्छ,” यादवले भने ।

स्याङबोचे प्रजनन केन्द्रदेखि अलिकति माथिको थुम्कोमा पर्ने खुम्जुङ गाउँका पेमा छिरिङ शेर्पा पनि त्यो क्षेत्रमा तिब्बती याकसँगै ब्वाँसोहरू आएका हुन् भन्ने विश्वास गर्छन् । “सन् २०१५ देखि वस्तुभाउ मारिने क्रम नाटकीयरुपमा बढेको छ । तिब्बतबाट याकको आयात र यी घटनाक्रमको संयोग ठ्याक्कै मिल्छ र कारण यही नै हुनुपर्छ,” शेर्पाले भने ।

तिब्बतदेखि याकलाई पछ्याउँदै हिमाली ब्वाँसोको बथान आउनसक्ने सम्भावनालाई अनुसन्धानकर्ताहरू पनि अस्वीकार त गर्दैनन् तर, कुसी भन्छन्, “यो कुरालाई वैज्ञानिक प्रमाणहरूले पुष्टि गर्नुपर्छ जुन कुरा कम्तीमा अहिले हामीसँग छैन ।”

मानव–हिमाली ब्वाँसो द्वन्द्व बढ्दैछ, तर जानकारी फाट्टफुट्ट मात्र

सन् २०१३ मा नेपाल सरकारले आठ प्रकारका वन्यजन्तुका कारण घरपालुवा वस्तुभाउलाइ क्षति वा घाइते गराएमा क्षतिपूर्ति दिने पहिलो निर्देशिका लागू गर्यो । त्यसमा हात्ती, गैँडा, भालु, बाघ, चितुवा, हिमचितुवा, ब‌देल र जंगली भैँसी (अर्ना) पर्छन् ।

सन् २०१५ मा सरकारले त्याे सूचीमा हिमाली ब्वाँसो, ध्वाँसे चितुवा र जंगली कुकुर (ढोले) पनि थप्यो । “ब्वाँसोले याक र घोडाहरू मारिरहेको छ भनी स्थानीयले हामीसँग गुनासो गरिरहेका थिए तर उनीहरूलाई क्षतिपूर्ति दिने कुनै उपाय थिएन,” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकाेलाेजिष्ट गणेश पन्तले बताए । सन् २०१५ मा पन्त सगरमाथा राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत थिए । “त्यसैले गर्दा हामीले हिमाली ब्वाँसोलाई पनि सो सूचीमा थप गर्न सिफारिस गर्यौँ । त्यसपछि हामीले ब्वाँसोका कारण वस्तुभाउ गुमाउने स्थानीयलाई ३० हजार रुपैयाँ क्षतिपूर्ति दिने बाटो खुल्यो,” उनले भने ।

समस्या झन् बढ्दै गयाे । तर, मारिएका वस्तुभाउको संख्यासम्बन्धी आधिकारिकरुपमा दस्तावेजीकरण नभएको हुँदा सन् २०१८ को मध्यभन्दा पहिले ब्वाँसोका कारण वस्तुभाउ मारिँदा दिएको क्षतिपूर्तिसम्बन्धी सगरमाथा राष्ट्रिय निकु‌जका रिपाेर्टहरुमा समेटिएकाे भेटिएन । तर वस्तुभाउमाथि आक्रमण हुँदा क्षतिपूर्ति दिने नीति लागू भएसँगै निकुञ्जले यो समस्यालाई अध्ययन गर्नका लागि अझ बढी सक्रियताका साथ काम गर्न थालेकाे अधिकारीहरुले बताए ।

सन् २०१७ मा निकुञ्जका अधिकारीहरू र सगरमाथादेखि पश्चिमतर्फको नाङपा उपत्यकाका स्थानीय गोठालाहरूबीच नाम्चेस्थित निकुञ्जकै कार्यालयमा एउटा बैठक गरिएको थियो । सो बैठकका सहभागी पूर्वप्रमुख संरक्षण अधिकृत लाक्पा नोर्बु शेर्पाले त्यतिबेला एकजना स्थानीय गोठालाले कसरी आफ्नो निराशा व्यक्त गरेका थिए भनी थर्ड पोलसँग बताए । “यदि तपाईंहरू ब्वाँसो मार्न चाहनुहुन्न भने हामीलाई चाहिँ मार्न सक्नुहुन्छ,” शेर्पाले उनको भनाइ स्मरण गरे ।

“निकुञ्जको एक पूर्व वार्डेनको रुपमा र अहिले नाङपा उपत्यकाको एक ज्येष्ठ नागरिकको रुपमा हेर्दा मलाई त एउटा ठूलो चट्टान र कडा भित्ताको बीचमा च्यापिएजस्तो अनुभूति भयाे ,”शेर्पाले आफ्नो अनुभूति सुनाए । त्यस क्षेत्रमा मानिस र वन्यजन्तुबीच द्वन्द्व झनझन् बढ्दै गएपछि लाक्पा शेर्पा र उनको टोलीले नाङपा उपत्यकामा सन् २०१९ मा चार महिनाभन्दा बढी समय लगाएर मांसाहारी वन्यजन्तुबारे एउटा सर्वेक्षण गरे । त्यतिबेला उनले जंगलमा हिमाली ब्वाँसोको तस्बिर लिन सफल भए । त्यो एउटा महत्वपूर्ण उपलब्धि थियो । त्यससँगै एउटा चितुवा, एउटा हिमचितुवा, राताे फ्याउरा तथा खैराे भालुका पञ्जाका छापहरूका स्पष्ट तस्बिरहरूसमेत प्राप्त भएको थियो ।

A Himalayan wolf
सगरमाथा राष्ट्रिय निकुञ्जमा लाक्पा नोर्बु शेर्पाले खिचेकाे हिमालयन ब्वाँसाे । (तस्बिर© लाक्पा नोर्बु शेर्पा)

अनुसन्धानविना द्वन्द्वको समाधान भेटिँदैन

सन् २०१९ मा मध्यनेपालमा गरिएको एक अध्ययनले बर्खामा याक र बाख्राहरू प्रशस्त मात्रामा पाइए पनि हिमाली ब्वाँसोले घरपालुवा जनावरभन्दा वन्य शिकार रोज्ने गरेको देखाएको थियो । तर पूर्वी नेपालको सगरमाथा क्षेत्र वरपर भने स्थिति त्योभन्दा फरक भएकाे हुनसक्ने कुसीको भनाइ छ । “ती ब्वाँसाहरू अहिले सगरमाथा क्षेत्रको स्थानीय परिस्थितिमा अनुकूलन हुँदै गएको र तिनीहरूको संख्या पनि वृद्धि भइरहेको देखिन्छ । सम्भवतः त्यस क्षेत्रमा वन्यशिकार अपर्याप्त भएका कारण तिनीहरूले घरपालुवा जनावरलाई बढी आक्रमण गरेको हुनसक्छ,” उनले भने ।

ब्वाँसोहरूले आफूलाई चाहिनेभन्दा बढी घरपालुवा जनावरलाई आक्रमण गर्नु पनि सगरमाथा क्षेत्रमा मारिने वस्तुभाउको संख्या बढ्नुको एउटा कारण हुनसक्छ । जस्तै, ब्वाँसोहरूले आक्रमण गर्दा गोठमा वा समूहमा रहेका सबैलाई मार्ने गरेको पाइन्छ, जुन उनीहरूले खानसक्ने मात्राभन्दा धेरै हुन्छ । “उनीहरूले किन त्यसो गर्छन् भन्ने कारण हामीलाई ठ्याक्कै थाहा त छैन तर हामीले अलि बढी अनुसन्धान गरेर उनीहरूको बानीव्यहोराबारे बुझ्यौँ भने हामी उनीहरूबाट टाढै रहनसक्छौँ । त्यसैगरी हिमाली ब्वाँसाको बारेमा भरपर्दो जानकारीका आधारमा गोठालाहरूलाई पनि राम्रोसँग सूचित गर्न सकियो भने ती वन्यजन्तुसँग द्वन्द्व कम गर्न सकिन्छ,” कुसीले अर्थ्याए ।

तर निकुञ्जमा कार्यरत अधिकारीहरूले त्यस्ता अध्ययन अनुसन्धान गर्नका लागि उनीहरूसँग स्रोतसाधन नै नभएको बताए । “हाम्रो आफ्नै बजेट निकै सीमित छ, त्यसैले हामीले कुनै दाता वा अनुसन्धान संस्थासँग सहयोग माग्ने योजना बनाएका छौँ ताकि त्यस्तो अध्ययनबाट हामी आफैँले हिमाली ब्वाँसोबारे राम्रोसँग बुझ्न सकौँ र ती वन्यजन्तुसँगको द्वन्द्वको असरलाई कसरी न्यूनीकरण गर्ने भन्नेबारे राम्रो योजना तय गर्न सकियोस्,” निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए ।

Comments (1)

ब्वासो लाई नियन्त्रण मा लेयेना बने पछि याक नबये पछि गोबार बाल्ने हुदैन अनि बन जङ्गल बिनास बद्छ तेसैले अहिले नै सोच्नुस।।।

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Reader Survey

Take our 5-minute reader survey

for a chance to win a $100 gift card