icon/64x64/nature जैविक विविधता

एसियामा बाघभन्दा ध्वाँसे चितुवा दुर्लभ हुनसक्छ

ध्वाँसे चितुवाको संरक्षणसम्बन्धी अवस्थाबारे सन् २०२१ मा गरिएको आकलनमा, वैज्ञानिकहरूले यसको क्षेत्रमा हुने शिकार र अन्य खतराका कारण यस बाघ प्रजातिको भविष्य जटिल देखिएको बताएका छन्
<p>ध्वाँसे चितुवा नेपालदेखि दक्षिणपूर्वी एसियासम्म पाइन्छ । यो अहिले आफ्नै क्षेत्रमा गम्भीर खतरामा परेको छ र त्यसको प्रमुख कारण शिकार हो । (तस्बिर : बिल एटवेल ⁄ अलामी)</p>

ध्वाँसे चितुवा नेपालदेखि दक्षिणपूर्वी एसियासम्म पाइन्छ । यो अहिले आफ्नै क्षेत्रमा गम्भीर खतरामा परेको छ र त्यसको प्रमुख कारण शिकार हो । (तस्बिर : बिल एटवेल ⁄ अलामी)

संरक्षण अवस्थाबारे गरिएको एउटा नयाँ अध्ययनमा विश्वभर ३७ सयदेखि ५५ सय ८० वटा परिपक्व अवस्थाका ध्वाँसे चितुवा रहेको अनुमान गरिएको छ । यस आकलनको तल्लो विन्दुलाई आधार मान्ने हो भने बाघभन्दा ध्वाँसे चितुवा दुर्लभ देखिन्छ किनभने अनुमानित तथ्यांकअनुसार अहिले विश्वभर ४ हजार बाघ जीवित रहेको मानिन्छ ।

नेपालका हिमाली शृंखलाका फेदीदेखि दक्षिण चीन र मलेसियाको दक्षिणसम्म पाइने यो चितुवा विरलै देखिने मांसाहारी हो जसले आफ्नो अधिकांश समय रुखमै बिताउँछ । सुमात्रा र बर्निओमा पाइने सुन्डा ध्वाँसे चितुवा र यो बाघ समूहमा सबैभन्दा सानो आकारका हुन्छन् । सुन्डालाई सन् २००६ मा एउटा छुट्टै प्रजातिको रुपमा पनि ठहर गरिएको थियो ।

इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर (आईयूसीएन)ले जोखिममा रहेका प्रजातिहरूको ‘रेड लिस्ट’ तयार गर्दा कुनै प्रजातिको संरक्षणमा तीनपुस्ताको अवस्थामा भएको परिवर्तनलाई अध्ययन गर्ने उद्देश्य राखिन्छ । सन् २०२१ को ध्वाँसे चितुवामा गरिएको पहिलो अध्ययन थियो जुन सन् २०१६ बाट सुरु गरिएको हो । यो अध्ययनले पछिल्ला तीनपुस्तामा (बाघको आयु करिब २० देखि २१ वर्ष मान्दा) ध्वाँसे चितुवाको संख्यामा ३० प्रतिशतभन्दा बढीले घटेको निष्कर्ष निकालेको छ ।


ध्वाँसे चितुवा भियतनाममा पूर्णरुपमा लोप भइसकेको हुनसक्छ भने चीन र बंगलादेशमा लोप हुनैलागेको अवस्थामा हुनसक्छ ।

“ध्वाँसे चितुवा एउटा जोखिमपूर्ण प्रजातिका रुपमा रहेको र यो हुनुपर्ने कैयौँ वनजंगलहरूमा अहिले नभेटिने गरेको अध्ययनमा खुलासा गरिएको छ,” वन्यजन्तु संरक्षण कोष (डब्लुडब्लुएफ) काे बाघ फिर्ती कार्यक्रममा कार्यरत रहेका सो अध्ययनका मुख्य लेखक टम ग्रेले बताए, “राम्रो वासस्थान भएका म्यान्मार, क्याम्बोडिया, भियतनाम र लाओसका विभिन्न ठाउँहरू जहाँ यो प्रजाति भेटिनुपर्थ्यो, त्यहाँ पनि अहिले पाइँदैन ।”

यस प्रजातिको वासस्थान र खतराहरूबारे हालै गरिएको एक विश्लेषणमा उत्तरपूर्वी भारत, भुटान, म्यान्मार, थाइल्यान्ड र मलेसियामा तुलनात्मक रुपमा यो ध्वाँसे चितुवा अहिलेसम्म बाक्लै भेटिए पनि भियतनाममा भने पूर्णरुपमा लोप भइसकेको र चीन र बंगलादेशमा लोपोन्मुख हुनसक्ने निष्कर्ष निकालिएको छ ।

गणना गर्न चुनौती

ध्वाँसे चितुवाको अनुमानित संख्या आकलन गर्दा भारत र नेपाललगायतका देशहरूमा बाघको गणना गरेजस्तो एक–एक गरेर गरिएको होइन । एसियाका ठूला क्षेत्रहरूमा ध्वाँसे चितुवाको घनत्वसम्बन्धी गरिएका अध्ययनका तथ्यांकलाई नै विस्तार गरी त्यसका आधारमा अनुमानित संख्या निकालिएको हो । यससम्बन्धी निकै कम तथ्यांकमात्र प्रकाशित भएको र यसको क्षेत्रमा रहेका वासस्थान र खतराका सन्दर्भमा ठूला भिन्नता रहने गरेको हुँदा यसको समग्र अनुमानित संख्या र प्रवृत्ति (ट्रेन्ड) बारे निष्कर्षमा पुग्न निकै चुनौतीपूर्ण छ ।

A clouded leopard in Manas National Park, Assam

मानस राष्ट्रिय निकुंज,आसाममा एक ध्वाँसे चितुवा । (तस्बिर : अलामी)

“यी धेरै कुरा हस्तक्षेपका कारण भएको हो,” ग्रेले भने, “वासस्थानको क्षति, शिकार गर्ने प्रवृत्ति, वन्यजन्तु व्यापारसम्बन्धी तथ्यांक र जंगलमा थापिएका पासोहरूको संख्याका आधारमा हामीले यस्तो भइरहेको छ भन्ने विश्वास गरेका हौँ ।” ध्वाँसे चितुवासम्बन्धी जानकारी संकलन गर्नका लागि ग्रेले सो प्रजाति पाइने सबै देशका (चीनबाहेक) अनुसन्धान टोलीहरूसँग काम गरेका छन् । यो प्रजातिको संख्या र प्रवृत्तिहरूबारे आकलन गर्नका लागि यसको क्षेत्रलाई नक्सांकन गरिएको थियो र त्यसो गर्दा जंगल फडानीको दर, अवैध शिकार र वन्यजन्तु व्यापारजस्ता जोखिमलाई ध्यान दिइएको थियो ।

लंगिच्युडिनल अध्ययन भनेको के हो ?

त्यस्तो अध्ययन जसले एक निश्चित अवधिको तुलनात्मक तथ्यांक संकलन गरी कुनै कुरामा देखिएको परिवर्तन र प्रवृत्तिबारे खुलासा गर्छ ।

वन्यजन्तु संरक्षण समाज लाओसका संरक्षण विज्ञान निर्देशक एकोसान रेसफोनले समयक्रममा ध्वाँसे चितुवाको उपलब्धताबारे अनुगमन गर्न एउटा अनुसन्धान तयार पारिन् । उनले सम्पन्न गरेको सो अनुसन्धान लामो समय लगाएर गरिएको (लंगिच्युडिनल) निकै कम अनुसन्धानमध्ये पर्छ । रेसफोनको अनुसन्धानका क्रममा लाओसको एउटा संरक्षित क्षेत्रमा सो वन्यजन्तुको संख्याबारे पत्ता लगाउन क्यामरा जडान गरिएको थियो । सन् २०१३ देखि २०१७ सम्मको अवधिमा गरिएको साे अनुगमनबाट ध्वाँसे चितुवाको संख्या घटेको देखियो ।

“दुःखको कुरा, यसमा यति धेरै काम गर्नुपर्छ र यति महंगो काम छ कि यही काम लाओसभर पनि गर्न सकिँदैन,” रेसफोनले भनिन् । आईयूसीएनका लेखकहरूले चाहिँ ध्वाँसे चितुवाको घनत्व आकलन गर्नका लागि तथ्यांक संकलन गर्दा बढी समय नलगाई गरिने (नन–लंगिच्युडिनल) विधिबाटै गरे ।

यस्तो तथ्यांक पनि कम मात्र उपलब्ध हुन्छ । गैरसरकारी संस्था आरान्याकको कानुनी तथा पैरवी शाखाका वरिष्ठ प्रबन्धक समेत रहेका सो अध्ययनका सहलेखक जिम्मी बोराहले भारतमा त्यस्तो तथ्यांक कसरी संकलन गरिन्छ भन्नेबारे व्याख्या गरेका छन् । उनका अनुसार ध्वाँसे चितुवाबारे उपलब्ध अधिकांश तथ्यांक बाघ वा अन्य प्रजातिलाई लक्षित गरी क्यामरा जडान गरेर तथ्यांक संकलन गरेका बेला लिइएको हो । “घनत्वको आकलन गर्नका लागि त (रेकर्ड गरिएको) राम्रो संख्या हुनुपर्छ, तर ध्वाँसे चितुवासम्बन्धी त्यस्तो आँकडा त निकै दुर्लभ छ,” बोराहले भने ।

ध्वाँसे चितुवाले सामना गर्ने अनगिन्ती खतरा

आईयूसीएनको एक अध्ययनले कुनै प्रजातिले उसको आफ्नो धेरैजसो क्षेत्र र मुख्यतः दक्षिणपूर्वी एसियामा ज्यान जोगाउन सामना गर्ने खतरासम्बन्धी एउटा तस्बिर प्रस्तुत गरेको छ । “ध्वाँसे चितुवाका लागि सबैभन्दा ठूलो खतरा त पक्कै पनि पासोमा पारेर गरिने शिकार नै हो जसमा सिधै उनीहरूलाई नै लक्षित गरिएको र अन्य जन्तुलाई थापेको पासोमा झुक्किएर ध्वाँसे चितुवा परेको समेत गरी दुवै हुनसक्छ,” ग्रेले द थर्डपोलसँग भने ।

Clouded leopard photographed by camera trap in Manas National Park

मानस राष्ट्रिय निकुंजमा जडित क्यामरा ट्रयापबाट लिइएको एक ध्वाँसे चितुवाको तस्बिर । (तस्बिर : जिम्मी बोराह र मानस बाघ परियोजना)

पासो थाप्ने अर्थात् जंगलमा सामान्यरुपमा तार बिछ्याएर छाड्ने र त्यहाँबाट हिँड्ने जनावरलाई सहजै नियन्त्रणमा लिने तरिका नै दक्षिणपूर्वी एसियाभर वन्यजन्तुको संख्यामा ठूलो गिरावट आउनुको एउटा प्रमुख कारण बनेको छ । “समग्र दक्षिणपूर्वी एसियामा नै पासो थाप्ने काम एउटा ठूलो खतरा बनेको छ,” रेसफोनले भनिन्, “यो निकै सजिलो उपाय भयो, उत्तिकै सस्तो र यसले कुनै प्रजातिबीच विभेद पनि गर्दैन ।”

लक्षित नै होस् वा झुक्किएर जे भए पनि एकचोटि पासोमा परेपछि ध्वाँसे चितुवाको छाला र अन्य अंगहरू अवैध वन्यजन्तु व्यापारको सञ्जालमा पुगिहाल्छन् । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण महासन्धि (साइटिस) ले ध्वाँसे चितुवाका अंगको अन्तर्राष्ट्रिय व्यापारमा प्रतिबन्ध लगाएको छ तर म्यान्मार–चीन र म्यान्मार–थाइल्यान्ड सीमामा हुने अवैध वन्यजन्तु बजारको अध्ययन गर्दा त्यहाँ यो प्रजातिका अंग पनि सबैभन्दा धेरै बिक्रीमा राखिने प्रजातिमध्येमा रहेको पाइएको छ ।

म्यान्मारको वाइल्डलाइफ एन्ड इकोसिस्टम कन्जर्भेसन एक्सन नेसनवाइड (विक्यान) नामक गैरसरकारी संस्थाकी संस्थापक सपाई मिनले द थर्ड पोललाई इमेलमार्फत दिएको जानकारीअनुसार कोभिड महामारीभन्दा केही समयअघि गरिएका सर्वेक्षणमा ती सीमाबजारहरूमा त्यस्तो व्यापार सक्रियरुपमा भइरहेकै पाइएको थियो । “ध्वाँसे चितुवाको छाला सबैभन्दा बढी व्यापार हुने अंगमा पर्छ, त्यसपछि क्रमशः तिनीहरूका खप्पर र तिखा दाँतको व्यापार हुन्छ जुन मुख्यतः सजावटका लागि प्रयोग गरिन्छ,” म्यान्मारमा बाघ प्रजाति लगायतका वन्यजन्तु व्यापारबारे कैयौँ अध्ययनकी लेखक रहेकी उनले बताइन् ।

Clouded leopard skin

म्यान्मारको बजारमा बिक्रीका लागि राखिएको ध्वाँसे चितुवाको छाला (तस्बिर : सपाई मिन–विक्यान)
Wildlife items on sale in Tachilek market

म्यान्मार–थाइल्यान्डको सीमामा पर्ने ताचिलेक बजारमा बिक्रीका लागि राखिएका ध्वाँसे चितुवाका छालाका टुक्रा र वन्यजन्तुजन्य अन्य सामग्री । (तस्बिर : सपाई मिन–विक्यान)

ध्वाँसे चितुवाको छाला त प्रष्टै छुट्टिन्छ तर त्यसका हड्डी र दाँतहरू भने बाघको भनेर झुक्याउन सकिन्छ । गहना बनाउन र परम्परागत चिनियाँ औषधिका लागि बाघका हड्डी र दाँतहरूको ठूलो माग हुने गरेको छ । वन्यजन्तुको अवैध व्यापारबारे सन् २०१८ मा आसामको मानसमा अध्ययन गर्दा त्यस्तै घटनाहरू भेटिएको बोराहले स्मरण गरे । “बाघका दाँत र हड्डी भनेर एक जनाले बेच्न लागिरहेका बेला सरकारी अधिकारीहरूले साे व्यक्तिलाई घटनास्थलमै पक्राउ गरेका थिए,” उनले भने ।

वासस्थान गुम्ने र स्थानीयरुपमा लोप हुने क्रम जारी रहँदा यो प्रजातिको संख्या बढ्दो रुपमा छिन्नभिन्न भइरहेको छ भने आनुवंशिक विविधता (जेनेटिक डाइभर्सिटी) को कमीले पनि यस्काे दीर्घकालीन अस्तित्वमा खतरा उत्पन्न गरेको छ । “चोरी शिकारजत्तिकै गम्भीर त नहोला तर प्रजननको कुरा पनि यस क्षेत्रको संरक्षण समुदायले सम्बोधन गर्नुपर्ने विषय हो,” सोअध्ययनका अर्का सहलेखक व्येट पिटरसनले भने । थाइल्यान्डको खाओ याइ राष्ट्रिय निकुंजमा एउटा ध्वाँसे चितुवाको फोटो खिचिएको छ जसको पुच्छर अस्वाभाविक रुपमा बांगो देखिन्छ । फ्लोरिडा प्यान्थरजस्तै अन्य प्रजातिमा प्रजनन गराउँदा यस्तो विशेषता देखिने गरेको छ ।

“फ्लोरिडा प्यान्थरमा, बांगो पुच्छर भएकामा मुटुमा पनि कमजोरी देखियो, रोग प्रतिरोधात्मक शक्ति कमजोर र बच्चा जन्माउने क्षमतामा समस्या देखियो जसले गर्दा समग्रमा प्रजनन दर र बाँच्ने सम्भावना घटेको पाइयो । ध्वाँसे चितुवामा पनि त्यस्तै अवस्था छ कि छैन भन्नेचाहिँ हेर्नुपर्छ,” पिटरसनको भनाइ छ ।

Clouded leopard with a kinked tail
सन् २०१० मा थाइल्यान्डको खाओ याइमा क्यामरा ट्रयापमा फेला परेको एउटा ध्वाँसे चितुवा जसको भिन्न प्रकारको बांगो पुच्छर छ जुन बाघको अन्य प्रजातिमा प्रजनन गराउँदा देखिने विशेषता हो । (तस्बिर : दुसित गोप्रसर्त)

झन् बढी खतरामा रहेको प्रजाति ?

सन् २०२१ को आकलनमा ध्वाँसे चितुवाको समग्र उपलब्धता निरन्तर घटिरहेको पाइएको र केही ठाउँहरूमा निकै तीव्ररुपमा घटेको देखिए पनि यस प्रजातिलाई आईयूसीएनको ‘संकटापन्न’ सूचीमा भने राखिएन । त्यसैले यसको समग्र अवस्थालाई ‘जोखिमयुक्त’मा राखिएको छ । यसो हुनुको आंशिक कारणचाहिँ आईयूसीएनको ‘रेड लिस्ट’सम्बन्धी मापदण्ड निकै कडा भएर पनि हो । ‘संकटापन्न’को रुपमा सूचीकृत हुनका लागि कुनै प्रजाति १० वर्षदेखि वा तीनपुस्तादेखि कम्तीमा ५० प्रतिशतले घटेको वा घट्ने आकलन गरिएको हुनुपर्छ वा विश्वमै निकै सानो क्षेत्र वा संख्यामा सीमित भएको हुनुपर्छ ।

यससम्बन्धी सुरुका मापदण्डहरूमा ध्वाँसे चितुवा पनि पर्छ । लक्षित चोरीशिकार, पासोमा पार्ने र वासस्थान गुमाएर सन् १९९९ देखि बंगलादेश, क्याम्बोडिया, चीन, लाओस, म्यान्मार र भियतनाममा यसको संख्या ‘३० प्रतिशतभन्दा निकै बढी’ अनुपातमा घटेको हुनसक्ने आईयूसीएनकै आकलनमा देखिएको छ । कुनै प्रजातिको संख्या केही ठाउँमा व्यापकरुपमा घटे पनि अन्यत्र त्यसको संख्या स्थिर रहेको मानियो भने सो प्रजातिको समग्र अवस्थामा फरक पार्दैन । भारत, नेपाल, भुटान र थाइल्यान्डलगायतका अन्य केही देशमा त्यसको संख्या सामान्यतया स्थिर रहेको भन्ने मान्यताका आधारमा ध्वाँसे चितुवाको आकलन गर्ने काम गरियो । प्रमाणको रुपमा ठोस तथ्यांक नभए पनि त्यससम्बन्धी प्राप्त केही प्रमाणहरूको आधारमा त्यसो गरिएको हो ।


म व्यक्तिगतरुपमा त (ध्वाँसे चितुवालाई) जोखिमयुक्त प्रजातिको रुपमा निरन्तरता दिनुभन्दा संकटापन्नको रुपमा नै लिनुपर्छ भन्नेमा एकदम विश्वस्त थिएँ

जिम्मी बाेराह, आरान्याक

“वास्तवमा यदि हाम्रो अनुमान गलत रहेछ भने र यदि उत्तरपूर्वी भारतमा यसको संख्या घटिरहेको रहेछ भने, वा जुन स्तरमा दक्षिणपूर्वी एसियामा घटिरहेको छ त्यसरी नै घट्यो भने त एउटा ठूलो सूची नै बन्नुपर्ने हुन्छ,” ग्रेले भने ।

“मलाई व्यक्तिगत रुपमा त यसलाई जोखिमपूर्ण प्रजातिको रुपमा निरन्तरता दिनुभन्दा संकटापन्नको रुपमा लिनुपर्छ भन्ने लाग्छ,” बोराहले भने, “त्यसले गर्दा मलेसिया र नेपालजस्ता कम प्रभावित देशहरूमा वन्यजन्तुको अवैध व्यापार विस्तार हुने अवस्थामा परिवर्तन गर्नसक्थ्यो ।”

सुरक्षासम्बन्धी बलिया कानुनहरूको व्यवस्था, संरक्षित क्षेत्रमा चोरीशिकारविरुद्ध गतिविधि सञ्चालन र सरकारी सहयोग प्राप्त भएका कारण भारत र नेपाललगायतका देशमा यो प्रजातिको संख्या तुलनात्मकरुपमा स्थिर राख्न सम्भव भएको हुँदा त्यसै गर्नुपर्ने बोराहको जोड छ । “लाओस, क्याम्बोडिया र भियतनामलगायतका देशहरूमा पनि त्यस्तै सशक्त सुरक्षा प्रदान नगर्ने हो भने मलाई लाग्छ ध्वाँसे चितुवाको मात्र होइन अन्य जीवजन्तुहरूको पनि भविष्य निकै अन्धकारमय हुनेछ ।”

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.