प्रकृति

नेपाल–भारत सीमामा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्दै स्थानीय समूह

मानव–वन्यजन्तु द्वन्द्वसम्बन्धी एक सहमतिका लागि दुई देशबीच तयारी भइरहेका बेला हात्ती र बाघसँगको द्वन्द्व व्यवस्थापनमा स्थानीयस्तरमा प्राप्त सफलताबाट महत्त्वपूर्ण पाठ सिक्न सकिन्छ
नेपाली
<p>एक चिया बगानहुँदै हिँड्दै गरेको जंगली हात्तीको तस्बिर लिने क्रममा नेपाल–भारत सीमाको दुवैतर्फ मानव–हात्ती द्वन्द्व रोक्न क्रियाशील स्वयंसेवी समूहका एक सदस्य ऋत्विक विश्वास। (तस्बिर सौजन्यः ऋत्विक विश्वास)</p>

एक चिया बगानहुँदै हिँड्दै गरेको जंगली हात्तीको तस्बिर लिने क्रममा नेपाल–भारत सीमाको दुवैतर्फ मानव–हात्ती द्वन्द्व रोक्न क्रियाशील स्वयंसेवी समूहका एक सदस्य ऋत्विक विश्वास। (तस्बिर सौजन्यः ऋत्विक विश्वास)

पाँच वर्ष अघिसम्म झापा बाहुनडाँगीका कृषक शंकर लुइँटेल हरेक महिना कैयौँ दिन स्थानीय वन कार्यालयमा बिताउने गर्थे । त्यहाँ उनले सीमापारि भारतबाट आएका वन्यजन्तुको आक्रमणबाट परिवारका सदस्य गुमाएर, घाइते भएर वा अन्नबाली तथा अन्य सम्पत्ति नष्ट भएपछि त्यसको राहत वा क्षतिपूर्ति लिन धाइरहेका छिमेकीलाई सहयोग गरिरहेका हुन्थे ।

आजकल भने त्यसका लागि उनले धेरै समय बिताउनुपर्दैन । सरकारले राहत तथा क्षतिपूर्ति प्रक्रियालाई सरल र सहज बनाएर सो समय छोटिएको होइन । विभिन्न निकायबाट निर्णय गराएर कैयौँ सिफारिस ल्याउनुपर्ने झन्झट अहिले पनि कायमै छ । त्यसका लागि ६ महिनादेखि एक वर्षसम्म लाग्नसक्छ । मानव–हात्ती द्वन्द्वका घटना नै कम भएर स्थानीयले त्यो झन्झटबाट केही मुक्ति पाएका हुन् । यसमा नेपाल र भारत दुवैतर्फ क्रियाशील स्वयंसेवीहरूको सञ्जाल तथा लुइँटेललगायतको मिहिनेतको ठूलो योगदान छ ।

सन् २०१८ मा नेपालतर्फको बाहुनडाँगी र भारततर्फको कोलाबारीका झण्डै एक दर्जन स्वयंसेवकले गठन गरेको ‘जंगली हात्ती गतिविधि व्यवस्थापन टोली’मा लुइँटेल पनि संलग्न छन् । मानव–हात्ती द्वन्द्वका घटना र त्यसपछि पनि मानिसहरूबाट हुनसक्ने बदलाका क्रियाकलाप रोक्न यो टोली क्रियाशील छ ।

portrait of man standing in woods
सीमा वारपार ‘जंगली हात्ती ओहोरदोहोर व्यवस्थापन टोली’ का एक सदस्य तथा कृषक शंकर लुइँटेल (तस्बिर सौजन्यः शंकर लुइँटेल)

“प्रायः बिहान म (नेपाल र भारतको सीमामा रहेको) मेची नदीमा गएर त्यहाँ हात्तीका पाइला छन् कि भनी हेर्छु, रहेछ भने गएराति भारततर्फबाट हात्ती नेपाल प्रवेश गरेको रहेछ भन्ने थाहा हुन्छ,” लुइँटेलले भने, “त्यसैगरी साँझ पर्नुअघि पनि नेपाल र भारततर्फका साथीसँग भारततर्फको कोलाबारी जंगलमा पनि पुगेर नियाल्छु ।”

त्यो क्षेत्र परम्परागतरुपमै हात्ती हिँड्ने बाटोमा पर्छ । त्यहाँ झण्डै १०० वटा जंगली हात्ती वासस्थानमा जानका लागि ओहोरदोहोर गर्छन् । त्यो बाटोमा भारततर्फ धेरैजसो जंगली क्षेत्र र तारबार गरिएका चियाबगानहरू पर्छन् । तर नेपालतर्फ भने ती जंगली हात्ती खेतीपाती र मानवबस्ती हुँदै हिँड्छन् ।

Human-elephant conflict in Nepal
भारतको पश्चिम बंगालमा रहेको सिलिगुडी रनेपालको झापा जिल्लाविच हात्तीहरुको आवतजावत। नक्सा: द थर्ड पोल

सम्बन्ध बलियो बनाउने अवसर

भारतमा पश्चिम बंगालको सिलिगुडी उपशाखाका पाँच जना सामुदायिक अभियन्ताले लुइँटेलसँग सहकार्य गरिरहेका छन् । तीमध्ये नक्सलबारीमा बस्ने चिकित्सा विज्ञानका विद्यार्थी ऋत्विक विश्वास पनि एक हुन् ।

विश्वासले सीमाबाट भारततर्फ हुने हात्तीको ओहोरदोहोरको विवरण राख्छन् । “हामीसँग दुवैतर्फका १०–१० जना सदस्य र स्थानीय सरकारी कर्मचारी तथा सामुदायिक अगुवालाई एकै ठाउँ जोड्ने एउटा ह्वाट्स एप समूह छ,” विश्वासले भने, “हामीले हात्ती देख्नेबित्तिकै त्यसको फोटो र भिडियोहरू त्यो समूहमा राखिहाल्छौँ । त्यसपछि नेपालतर्फ रहेका साथीहरूले आफ्ना छिमेकीलाई हात्तीबारे जानकारी गराउने र आफ्ना वस्तुहरूको सुरक्षा गर्ने मौका पाउँछन् ।”

वन्यजन्तुसँगको द्वन्द्व व्यवस्थापनका सन्दर्भमा झट्ट हेर्दा यसको फाइदा एकपक्षीय मात्र भएको देखिए पनि यो समूहले दुवैतर्फका स्थानीयबीच सामाजिक सम्बन्ध स्थापित गर्न सहकार्यको अवसर समेत जुटाएको विश्वासको भनाइ छ । “नियमित नभए पनि कहिलेकाहीँ हात्तीहरू नेपालबाट पनि हाम्रोतर्फ प्रवेश गरेर निकै वितण्डा मच्चाउने गर्छन्,” उनले भने, “त्यसैले गर्दा यो सहकार्य हाम्रो समुदायका लागि पनि महत्त्वपूर्ण छ ।”

elephant on side of road
elephant peeking out of bush
सन् २०२२ को वसन्त ऋतुमा झापा जिल्लाको बाहुनडाँगीमा डुलिरहेका जंगली हात्ती । (तस्बिर सौजन्यः शंकर लुइँटेल)

मानव–हात्ती द्वन्द्वका बहुआयामिक अवधारणा

सन् २००५ तिरबाट मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा काम गरेका लुइँटेलले सन् २०१८ मा यो समूहलाई एउटा संगठित समूहको रुपमा विकास गरे, जसले सूचना आदानप्रदान र सचेतनावृद्धिमा केन्द्रित रहेर काम गर्‍यो ।

“यो एउटा बहुआयामिक अवधारणा हो । हामीले कसरी हात्तीको आक्रमणबाट हामी र हाम्रा सम्पत्ति जोगाउने र किन जंगली जनावरलाई प्रतिकार गर्नुहुँदैन भन्ने लगायतका विषयबारे विद्यालयका बालबालिकालाई सिकाउँछौँ,” लुइँटेलले भने । “जब सडक निर्माण वा खानेपानी व्यवस्थापनजस्ता विषयमा सामुदायिक बैठकहरू हुन्छन्, त्यही मौकामा हामी त्यहाँ गएर हात्तीले सीमा वारपार ओहोरदोहोर गर्दा हुनसक्ने सम्भावित खतरा र त्यस्तो अवस्थामा जोगिने उपायबारे छलफल गर्छौँ ।”

people giving presentation to group of people seated outside
स्वयंसेवी समूहका सदस्यहरू हात्तीसँगको सहअस्तित्वको महत्त्वबारे पश्चिम बंगालको कोलाबारीका स्थानीयसँग छलफल गर्दै । (तस्बिर सौजन्यः ऋत्विक विश्वास)

यो पहलकदमीमा पश्चिम नेपालको बर्दियालगायत टाढा–टाढा रहेका गैरसरकारी संस्था (एनजीओ)हरूले समेत सहयोग गर्ने गरेका छन् । “(बर्दियास्थित संरक्षण संस्था) उज्यालो नेपालले हामीलाई साइरन प्रणाली सञ्चालन गर्न सहयोग गरेको छ, जसलाई हामीले सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीहरूसँगको समन्वयमा सञ्चालन गरिरहेका छौँ,” लुइँटेलले भने, “सीमामा रहेका सुरक्षाकर्मीले त्यहाँ हात्ती देख्नासाथ साइरनको स्विच थिचिदिन्छन्, जसको आवाज लक्षित क्षेत्रहरूमा सुनिन्छ ।” स्थानीयले साइरनको जानकारी मोबाइल एपबाट पनि लिन सक्छन् ।

साइरन प्रणालीले सम्पूर्ण हात्ती प्रभावित क्षेत्र समेट्दैन । अन्य क्षेत्रमा त्यहाँ क्रियाशील स्वयंसेवीहरूले हात्ती रोक्न ठूलो ठूलो आवाज घन्काउँदै मानव बस्तीमा ट्याक्टर कुदाउँछन् । हात्तीविज्ञ अशोक रामले त्यस्ता गतिविधिले हात्ती संरक्षणमा दीर्घकालीन नकारात्मक असर नपर्ने बताए । “त्यस्तो असर परेको भए ती बाटोहरूमा अहिले हात्तीहरू नै भेटिँदैनथे, किनभने त्यहाँका स्थानीयले वर्षौंदेखि विभिन्न उपाय अपनाइरहेका छन्,” उनले थर्ड पोलसँग भने । तर पनि हात्ती तर्साउने गतिविधि गर्दा विज्ञहरूसँग परामर्श गरी त्यस्ता गतिविधिका सीमा तोक्नुपर्ने उनको भनाइ छ ।

बाहुनडाँगी क्षेत्र समेट्ने मेचीनगर नगरपालिकाको वडा नम्बर ४ ले आउने आर्थिक वर्षका लागि मानव–हात्ती द्वन्द्वसम्बन्धी समस्या समाधान गर्न २० लाख रुपैयाँ छुट्याएको छ । त्यसमा स्वयंसेवी समूहलाई ट्याक्टर कुदाउन प्रयोग हुने इन्धनका लागि चाहिने पैसा पनि व्यवस्था गरिएको वडा अध्यक्ष अर्जुन कार्कीले थर्ड पोलसँग बताए ।

कार्कीका अनुसार स्थानीय सरकारले ३० जना स्वयंसेवी रहेको एउटा ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन गरेको छ र त्यसले हात्तीसँग द्वन्द्वको अवस्था आयो भने स्वयंसेवी समूहलाई तत्काल सहयोग गर्न तयार रहन्छ । मेगाफोन, टर्चलाइटलगायतका आवश्यक सामग्री रहेको सो समूह सीमापार स्वयंसेवी समूहसँग नियमित सम्पर्कमा रहन्छ ।

बाघ आक्रमण रोक्न सीमापार सहकार्य

नेपाल–भारत सीमामा पर्ने विभिन्न क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व समाधान गर्न सीमापार स्थानीय प्रयासहरू भइरहेका छन् । नेपालको बर्दिया राष्ट्रिय निकुञ्जलाई भारतको कतरनियाघाट वन्यजन्तु आरक्ष क्षेत्रसँग जोड्ने खाता जैविक मार्ग तीमध्ये एक हो ।

कुमारका अनुसार नेपाली स्वयंसेवकले वाइल्डलाइफ ट्रस्ट अफ इन्डियाको क्यामेरा ट्रयापिङ परियोजनालाई जैविक मार्गमा ओहोरदोहोर गर्ने बाघहरूको गतिविधि राम्रोसँग बुझ्न सघाइरहेका छन् । “गत अप्रिलमा हामीले आफ्नो आमाबाट छुट्टिएर एक्लिएका दुईवटा डमरुलाई तिनका आमाहरूसँग पुनर्मिलन गराउन सक्यौँ, हालै जडान गरिएका क्यामेराको सहयोगबाट सो सम्भव भएको हो,” उनले भने ।

कुमारका अनुसार नेपाली स्वयंसेवकले वाइल्डलाइफ ट्रस्ट अफ इन्डियाको क्यामेरा ट्रयापिङ परियोजनालाई जैविक मार्गमा ओहोरदोहोर गर्ने बाघहरूको गतिविधि राम्रोसँग बुझ्न सघाइरहेका छन् । “गत अप्रिलमा हामीले आफ्नो आमाबाट छुट्टिएर एक्लिएका दुईवटा डमरुलाई तिनका आमाहरूसँग पुनर्मिलन गराउन सक्यौँ, हालै जडान गरिएका क्यामेराको सहयोगबाट सो सम्भव भएको हो,” उनले भने ।

सो अभियानका एक अगुवा हेमन्त प्रसाद आचार्यका अनुसार बर्दिया जिल्लाको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानसँग कुमार संवादमा रहन्छन् । सो अभियानमा ३३ सयभन्दा बढी मानिस जोडिएका छन् । “हामी चोरी शिकार नियन्त्रणमा बढी केन्द्रित छौँ तर मानिस र जंगली जनावरबीच द्वन्द्वका घटना बढिरहेको हुँदा हामीले सीमा वारपार क्रियाशील अन्य संस्थासँगको सहकार्यमा मानिसहरूलाई सचेत गराउने अभियानमा जुटेका छौँ ।”

man giving presentation to children
भारतको उत्तर प्रदेशका स्कूले बालबालिकालाई वन्यजन्तुको आक्रमणबाट जोगिने उपायबारे पढाउँदै वाइल्डलाइफ ट्रस्ट अफ इन्डियाका अनिल कुमार।

बाघको सीमा वारपार ओहोरदोहोरबारे जानकारी गराउनका लागि आफ्नो टोलीले भारततर्फका संस्थाहरूसँग पटक–पटक भेटिरहने गरेको र ह्वाट्स एपमार्फत पनि त्यससम्बन्धी जानकारी आदानप्रदान गर्ने गरेको आचार्यले बताए । “हामीले स्थानीयलाई आफ्नो घरवरपर वा खेतीपातीलाई पर्खाल बनाएर तथा तारबार गरेर सुरक्षित गर्न भन्छौँ,” उनी भन्छन्, “उनीहरूलाई हामी सरकारसँग राहत तथा क्षतिपूर्ति दाबी गर्नुपर्दा कसरी गर्ने भन्ने पनि सिकाउँछौँ ।”

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकालले वन्यजन्तु संरक्षणका क्षेत्रमा कार्यरत अधिकारीहरूले स्थानीय तहसँगको साझेदारी उपलब्धिमूलक पाएको र त्यसलाई अझ तीव्ररुपमा अगाडि बढाउन चाहेको बताए । “पर्सा, चितवन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कार्यरत अधिकारीले त्यहाँका स्थानीयलाई भारततर्फका छिमेकी स्थानीयसँग सहकार्य गर्न प्रोत्साहित गर्ने गरेका छन्,” उनले भने, “यस क्षेत्रमा प्राप्त सुरुवाती उपलब्धिबाट हामी उत्साहित छौँ ।”

परिणाम तथा सीमितता

सीमापार स्वयंसेवक समूहले गरिरहेका प्रयत्नबाट बाहुनडाँगीका स्थानीयहरू पनि खुसी भएको लुइँटेलको भनाइ छ । “हात्ती आक्रमणबारे त उनीहरू अहिले पनि त्रसित नै छन् तर अहिले आवश्यक पर्दा सहयोग माग्नका लागि उनीहरूसँग कोही त छ नि ।”

बाहुनडाँगीमा बस्ने रिना दर्जी पनि त्यस भनाइमा सहमत छन् । “उनीहरूको पहलकदमी हाम्रा लागि पनि अर्थपूर्ण साबित भएको छ । त्यसैकारण दुःख नै दिए पनि हामीमध्ये धेरैले हात्ती जोगाउनै चाहन्छौँ,” दर्जीले भनिन् ।

बाहुनडाँगीमै रहेको डिभिजन वन कार्यालय झापाका अनुसार बाहुनडाँगीमा हात्ती आक्रमणबाट मानिसको ज्यान गएको अन्तिम घटना ७ नोभेम्बर २०१६ मा भएको हो । त्यसअघि सन् २०१२, २०१४ र २०१५ मा हरेक वर्ष एक–एक जनाको ज्यान गएको थियो । स्थानीयले पनि सन् २०१२ र २०१५ मा हात्ती मारेका थिए । बाहुनडाँगी र भारततर्फको छिमेकी क्षेत्रमा भएका मानव–हात्ती द्वन्द्वका क्रममा भएका अन्तिम हिंसात्मक प्रतिकारका घटना थिए ।

गएको ६ वर्षमा सीमाको दुवैतर्फ मानिस र हात्ती नमारिएको तथ्यले नै सीमावारपार पहलकदमी उपलब्धिमूलक भएको छ भन्ने प्रमाणित गर्ने विभागका महानिर्देशक ढकालको भनाइ छ ।

बाहुनडाँगीमा अहिले हात्तीले घाइते बनाउने र खेतीपाती नष्ट गर्ने लगायतका मानव–हात्तीबीच हुने अन्य प्रकारका द्वन्द्वका घटना पनि घट्दो क्रममा रहेको झापा वन कार्यालयका रुद्र प्रसाद सापकोटाले बताए ।

तर, झापा जिल्लाका अन्य क्षेत्रमा भने स्थिति त्यस्तो सहज नरहेको हात्ती अनुसन्धाता दिनेश न्यौपानेको ठहर छ । लुइँटेलले लिएका जस्ता पहलकदमी बाहुनडाँगीका ४ वटा वडामा सीमित रहेको उनको ठम्याइ छ । “बाहुनडाँगीमा त्यस्ता घटना कम भएको साँचो हो, तर झापाकै अन्य क्षेत्रको अवस्था अहिले पनि डरलाग्दो छ,” न्यौपानेले भने, “मानव–हात्ती द्वन्द्व र सहअस्तित्वबारेको मानिसहरूको धारणामा अझै पनि उल्लेख्य परिवर्तन भएको छैन ।”

मानव–हात्ती द्वन्द्वका दुर्भाग्यपूर्ण घटनाबाट बाहुनडाँगी अझै पनि सुरक्षित छैन । जुन २०२२ मा आफ्नो बथानबाट छुट्टिएर एक्लिएको एउटा हात्तीको छावालाई त्यहाँका स्थानीयवासीले सताएको विषय समाचार बन्यो । सन् २०१८ मा त्यहाँका गाउँलेले जंगली हात्तीलाई रोक्न भनी विद्युतीय तारबार बनाएपछि त अन्तर्राष्ट्रिय सञ्चारमाध्यममै त्यसको आलोचना भएको थियो ।

“त्यसो त गर्न नहुने रहेछ भन्ने अहिले हामीलाई अनुभूति भएको छ,” दर्जीले भनिन्, “अहिले त हामी हात्ती संरक्षणप्रति प्रतिबद्ध भएका छौँ र यसको महत्त्वबारे अरुलाई पनि बुझाउँछौँ ।”

मानव–हात्ती द्वन्द्व भारत र नेपालमा लामो समयदेखि विद्यमान एउटा गम्भीर समस्या हो । यसका कारण मानिस र हात्ती दुवैले खतरा झेलिरहेका छन् । यस प्रकारका द्वन्द्वबाट भारतमा मात्र हरेक वर्ष ५०० भन्दा बढी मानिस र १०० भन्दा बढी हात्ती मारिने गरेको सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले संकलन गरेका तथ्यांकअनुसार नेपालमा आर्थिक वर्ष २०२१–२२ मा मात्र जंगली हात्तीका कारण मृत्युदेखि घर तथा खेतीपाती नष्ट लगायतका २०५८ वटा घटना भए । यो संख्या देशभर हुने मानव–वन्यजन्तु द्वन्द्वका समग्र घटनाको १६ प्रतिशत हो ।

आर्थिक वर्षमानव–हात्ती द्वन्द्वका
घटना
२०१८/१९२,३४९
२०१९/२०३,२५८
२०२०/२११,४८६
२०२१/२२२,०५८

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा नेपाल–भारत सहकार्यको अपेक्षा

मानव–वन्यजन्तु द्वन्द्व रोक्न स्थानीयस्तरमा सीमा वारपार सहकार्य भइरहेका बेला नेपाल र भारतका केन्द्रीय सरकारहरूबीच पनि यसबारे सहकार्यको पहलकदमी सुदृढ गर्न एउटा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । विभागका महानिर्देशक ढकालका अनुसार सो समझदारीपत्रमा वन्यजन्तु अपराध तथा मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि राष्ट्रिय तथा स्थानीयस्तरमा साझेदारीलाई सुदृढ बनाउनेबारे केन्द्रित हुनेछ । त्यसका लागि त्यसमा कार्यरत जनशक्तिलाई थप तालिम दिने र दुई मुलुकमा गरिएका उत्कृष्ट अभ्यासका अनुभवलाई एकअर्काबीच आदानप्रदान गर्न जोड दिइनेछ ।

समझदारीपत्रका लागि सन् २०१७ देखि नै तयारी सुरु भएको हो तर कोभिड महामारीका कारण त्यो रोकिएको ढकालले बताए । सो समझदारीपत्रको मस्यौदालाई भारतको मन्त्रिपरिषद्ले गत वर्ष नै अनुमोदन गरेको हो । नेपाल सरकारले भने त्यसलाई स्वीकृत गर्न बाँकी छ । नेपालतर्फबाट पनि केही हप्ताभित्रै सो अनुमोदन हुने ढकालको अपेक्षा छ ।

त्यसो त नयाँ सहमति कानुनीरुपमा बाध्यकारी हुनेछैन र यसका लागि अहिलेको विद्यमान बजेटबाटै स्रोतको व्यवस्थापन गरिनेछ । तथापि विभिन्न क्षेत्रमा वन्यजन्तु संरक्षणका लागि स्थानीयस्तरमा सीमावारपार सहकार्यलाई यसले थप मजबुत बनाउने ढकालले बताए । “उदाहरणका लागि, झापा र नक्सलबारीमा लिइएका पहलकदमीका लागि दुवैतर्फका सरकारबाट थप बजेटको व्यवस्था हुनेछ भन्ने कुरा सो सहमतिले सुनिश्चित गर्नेछ,” ढकालले भने, “हामीले उनीहरूको सशक्तीकरणका लागि सीमा वारपार सिकाइमा पनि सहजीकरण गर्नेछौँ ।”

भारतमा पनि यस विषयका अध्येताहरू आशावादी भएका छन् । “यस समझदारीपत्रले दुवै देशमा तीनैवटा ठूला वन्यजन्तु बाघ, गैँडा र हात्तीको संरक्षण गर्न सघाउनेछ,” नेसनल बायोडाइभर्सिटी अथोरिटीका पूर्वअध्यक्ष भीबी मथुरले भने । स्थानीय स्तरमा लिइएका सीमा वारपार पहलकदमीलाई भारतका संस्थाहरूले क्षमता अभिवृद्धि र ज्ञान आदानप्रदानमा सहयोग गर्नसक्ने उनको भनाइ छ ।

“सो समझदारीपत्र आएपछि उनीहरू (नेपाल र भारतका वन्यजन्तु संरक्षणका अधिकारी) ले दुवै देशतर्फ मानिस र हात्ती दुवैको सुरक्षाको सुनिश्चितताका लागि जंगली हात्तीको सीमा वारपार ओहोरदोहोरलाई अझ सहजरुपमा अनुगमन गर्नेछन् भन्ने मलाई आशा छ,” विश्वासले भने, “यो समाचारबाट हामी उत्साहित छौँ ।”

फ्लाभिया लोपेसबाट थप रिपोर्टिङ