icon/64x64/nature जैविक विविधता

अन्तर्वार्ताः डीएनए अध्ययनले नेपालको बाघ संरक्षणमा मद्दत पुर्याउन सक्छ

बाघको आहारा प्रजातीहरूबारे जानकारी राख्न र बाघकाे भरपर्दाे सङ्ख्या निकाल्न सकिने भएकाले डीएनए अध्ययनले बाघ संरक्षणमा मद्दत पुग्न सक्छ
<p>नेपालमा पाइने तीन प्रमुख बाघ बासस्थान मध्ये एक बर्दिया राष्ट्रिय निकुञ्जमा देखिएको पाटेबाघ तस्वीरः (मार्क एण्डर्सन/अलामी)</p>

नेपालमा पाइने तीन प्रमुख बाघ बासस्थान मध्ये एक बर्दिया राष्ट्रिय निकुञ्जमा देखिएको पाटेबाघ तस्वीरः (मार्क एण्डर्सन/अलामी)

पछिल्लो आँकडा अनुसार, नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको छ । यो सन् २०१० को गणनामा देखिएको सङ्ख्या १२१ भन्दा झण्डै तीन गुणाले बढी हो । सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने भनी बाघको बासस्थान रहेका सबै १३ देशहरूले २०१०मा सम्झौता गरेका थिए । नेपाल त्याे लक्ष्य प्राप्त गर्ने पहिलो देश हो । कतिपय देशहरूको न्युन प्रगति सँग तुलना गर्दा नेपालको सफलता झनै उल्लेख्य छ । कम्बोडीया, लाओस र भियतनाममा बाघहरू झण्डै लोप हुने अवस्थामा छन् ।

तर नेपालमा भएको बाघको वृद्धीले केही महत्वपूर्ण सवाल उठाएका छन् । मुलुकको स‌ंरक्षित क्षेत्रले बाघको कति जनसङ्ख्या धान्न सक्ला ? यो सङ्ख्या कत्तिको स्वस्थ छ ? र बाघको वृद्धिले नजिकैका समुदायलाई सम्भाव्य जोखिम बढाएको हुनाले बाघ र मानिस बीच द्वन्द्व घटाउन के कस्ता उपाय अपनाउन सकिएला ?

बाघको डीएनए अध्ययन गरेर यी कतिपय गम्भीर सवालहरूको जवाफ खोज्न सकिने नेपालका वैज्ञानिक दिबेश कर्माचार्य बताउँछन् । कर्माचार्यले सन् २००७मा काठमाडौँमा सेन्टर फर मलिकुलर डाइनामिक्स् नेपाल नामको वन्यजन्तुको अनुवंशिक अध्ययन गर्ने प्रयोगशाला स्थापना गरे । त्यसपछि २०११मा उनले बाघको दिसा संकलन गरी त्यसको डीएनए विवरणको अभिलेख राख्ने गरी बाघको अनुवंश सम्बन्धी अध्ययनको सुरुवात गरे । साे अध्ययनको आधारमा हालै उनले अ मलिकुलर अप्रोच टु द कन्जर्भेसन एण्ड म्यानेज्मेन्ट अफ द बेंगाल टाइगर ईन नेपाल शिर्षकको पुस्तक प्रकाशन गरेका छन् ।

Dibesh Karmacharya in his wildlife genetic laboratory
नेपालको काठमाडौँमा आफैंले स्थापना गरेको वन्यजन्तु अनुवंशिक प्रयोगशालामा रमेस भुसालसँग कुरा गर्दै दिवेस कर्माचार्य । तस्वीरः रमेश भुसाल

बाघको डीएनए अध्ययन गरेर बाघको जीवनसम्बन्धी के कस्ता कुरा थाहा पाउन सकिन्छ र यसले नेपालका बाघ र मानिस दुवैलाई कसरी मद्दत पुर्याउन सक्ला भनी बुझ्न द थर्ड पोलका नेपाल सम्पादक रमेश भुसालले कर्माचार्यसँग काठमाडौँमा रहेकाे उनकाे प्रयोगशालामा कुराकानी गरेका थिए ।

द थर्ड पोलः डीएनए अध्ययनको प्रयोग गरेर कसरी सही रूपमा बाघको गणना गर्न सकिएला ?

दिबेश कर्माचार्यः पहिले पहिले बाघको पाइला हेरेर बाघलाई एक एक गरेर पहिचान गरी यसको गणना गरिन्थ्यो । यो विधिमा प्रत्येक पाईला विशिष्ट हुन्छ भन्ने अनुमानको भरमा पाईलाको आकार मापन गरिन्छ । तर जमीनको बनावट र चिस्यानको अवस्था लगायतका पर्यावरणीय पक्षहरूले पाईलाको आकारलाई असर गर्न सक्छ, जसले गर्दा अनुमानमा थुप्रै त्रुटी आउन सक्छन् । पाईलाको आकार नाप्ने विधि पछि यस भन्दा अझै भरपर्दो विधि भनी क्यामरा ट्र्यापहरूको प्रयोग गर्न थालियो । यो विधिमा प्रत्येक बाघको पाटा फरक फरक हुन्छन् भन्ने आधारमा ठाउँ ठाउँमा राखिएका क्यामराको प्रयोग गरी बाघको तस्वीर लिईन्छ । क्यामरा ट्र्यापिङ् विधिमा पनि विभिन्न बेफाइदाहरू छन् । जस्तै, अप्ठ्यारो भूबनोट भएको स्थानमा राम्रो तस्वीर नआउने, प्रतिकूल मौसम, चोरी र तोडफोड हुने डर, र व्यापक फैलिएको बासस्थानमा क्यामरा ट्र्यापमा सबै बाघ नआउने जोखिम । यो विधि सञ्चालनको लागि मानव स्रोतको पनि अत्याधिक खपत हुन्छ ।

यी मध्ये धेरै चुनौतीहरूलाई मलिकुलर विधिले सम्बोधन गर्छ । यो विधिमा बाघको अनुवंशिक विवरण पत्ता लगाउन बाघको दिसा संकलन गरिन्छ । प्रत्येक बाघको डीएनए फरक फरक हुने भएकाले बाघको सङ्ख्या गणनामा त्रुटी हुने सम्भावना कम हुन्छ ।

Tiger DNA sample in the wildlife forensics laboratory in Kathmandu
Tiger DNA sample in the wildlife forensics laboratory in Kathmandu
काठमाडौँको वन्यजन्तु विधिविज्ञान प्रयोगशालामा राखिएको बाघको डीएनएका नमुनाहरू । तस्वीरः रमेश भुसाल

बाघ गणनामा डीएनए विधिले क्यामरा ट्र्यापको विधिलाई प्रतिस्थापन गर्ला त ?

अहिले नै यो विधिले क्यामरा ट्र्यापको विधिलाई पूरै प्रतिस्थापन गर्छ भन्ने मलाई लाग्दैन । त्यसैले बाघ गणना गर्दा डीएनए विश्लेशणलाई छुट्टै प्रक्रिया भन्दा पनि क्यामरा ट्र्यापिङ्सँगै एकीकृत रूपमा प्रयोग गर्न सकिन्छ । विज्ञानको विकास हुँदै गर्दा चाँडै नै यो विधिलाई बाघ गणनाको प्रमुख विधिको रूपमा प्रयोग गर्न सकिन्छ ।

सरकारी अधिकारी र आरक्षण क्षेत्रमा काम गर्ने उल्लेख्य समूहले क्यामरा ट्र्यापबाट डीएनए विधिमा जान आनाकानी गरिरहेका छन् । मलाई लाग्छ यो हिच्किचावट मूलतः नतिजामा फेरबदल आउन सक्ने डरले हुनसक्छ । बाघको सङ्ख्या घटेको छ भनेर कसैले पनि भन्न चाहँदैनन् । त्यसैले अनुवंशिक अध्ययन नै गरेपनि पहिले घोषणा गरिएको नतिजालाई परिमार्जन गर्न सक्ने अवस्था छैन । तर कसैले चाहेमा क्यामेरा ट्र्यापसँगै यो विधि पनि प्रयोग गर्दा बढी सजिलो हुनसक्छ । दोस्रो कुरा, देशहरूले यो विधि प्रयोग गर्न पर्याप्त स्रोत नभएको बताइरहेका छन् ।

बाघको डीएनए विश्लेशण गर्न कत्तिको महङ्गो पर्छ ?

नेपालमा हाल क्यामरा ट्र्यापिङ् विधि प्रयोग गरेर बाघको गणना गर्न पाँच लाख डलर खर्च हुने गरेको छ । यसको आधा रकमले डीएनए विश्लेषण गरेर गणना गर्न सकिन्छ ।

बाघको अनुवंशिक स्वास्थ्यको बारेमा, र बाघका समूहहरू कत्तिको पर्गेलिएका छन् भन्ने सम्बन्धी कत्तिको जानकारी डीएनए अध्ययनले प्रदान गर्न सक्छन् ?

नेपालमा रहेको बाघको समूहलाई तीन पृथक उपसमूहमा विभाजन गर्न सकिन्छ । ती उपसमूहलाई खेतीयोग्य जमिन वा मानव वस्तीले छुट्याएका छन् । मध्य नेपालको समथर भूमिमा रहेको चितवन राष्ट्रिय निकुञ्ज र योसँग जोडिएको पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या सबैभन्दा धेरै छ । बाघको दोस्रो उमसमूह चितवनको पश्चिममा रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा छ, र तेस्रो उपसमूह यो भन्दा पनि पश्चिम शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको छ । सन् २०११ देखि २०१३को बिचमा मेरो नेतृत्वमा नेपाल टाइगर जेनम प्रोजेक्टले यी बाघहरूको पहिले वृहत् अनुवंशिक अध्ययन गरेको थियो । त्यतिबेला हामीले बाघको दिसाको ३९६ नमुना संकलन गरेका थियौँ, र ७७ भाले र ४८ पोथी गरी १२५ ओटा बाघको गणना गरेका थियौँ ।

हामीले अन्यको तुलनामा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको अनुवंशिक विविधता अलि धेरै भएको पाएका थियौँ । यसको अर्थ स्वस्थ र दिगो सङ्ख्या कायम गर्नको लागि चितवन राष्ट्रिय निकुञ्जको आरक्षण गतिविधि मूलतः अनुवंशिक विविधता कायम गर्ने विषयमा केन्द्रित हुनुपर्छ ।

हामीले यी उपसमूहहरू मध्येमा एक बासस्थानबाट अर्को बासस्थानमा सरेका बाघको सङ्ख्या सात (पाँच भाले र दुई पोथी) रहेको पाएका थियौँ । उदाहरणको लागि हामीले एउटा भाले बाघ र दुई पोथी शुक्लाफाँटाबाट बर्दिया राष्ट्रिय निकुञ्जमा सरेको पाएका थियौँ । ती बाघहरूले त्यहीँ नै प्रजनन् गरे भने हाडनाता प्रजनन बाट बाघकाे अनुव‌ंशिक स्वास्थ बलियाे बनाउन मद्दत पुग्छ ।

डीएनए विश्लेषणले बाघ र अन्य प्रजातीको बारेमा कस्तो जानकारी प्रदान गर्छन् ?

दिसा संङ्कलन गरेर डीएनए विश्लेषण गर्दा बाघको अनुवंशिक अभिलेख गर्न सक्ने मात्रै हाेइन आहारा प्रजातीहरुकाे पनि अभिलेखिकरण गर्न सकिन्छ । हामीले हाम्रो अध्ययनमा प्रजातीहरूको आहार मिश्रण र अन्य महत्वपूर्ण विषयको समेत जानकारी संकलन गरेका थियौँ । यस्तो जानकारी क्यामरा ट्र्यापिङ्बाट संकलन हुन सक्दैन । हाम्रो अध्ययनबाट हामीले बाघहरूको आहार नक्शाङ्कन पनि गरेका थियौँ ।

हामीले नेपालको हिमाली क्षेत्रमा विशेष गरी मुस्ताङमा हिमचितुवाको त्यस्तै किसिमको अध्ययन गर्दा हिमचितुवाको आहारमा ४३ प्रतिशत घरपालुवा बाख्रा, ५५ प्रतिशत घोरल र २ प्रतिशत घर पालुवा भेडा रहेको पाइयो । यसको अर्थ हिमचितुवाको मुख्य आहारा घर पालुवा जनावर हुन् । त्यसैले गर्दा मानिस र वन्यजन्तु द्वन्द्व हुने गरेको छ ।

तस्करी गरिएका वन्यजन्तु अंगहरूको स्रोत पत्ता लगाउन डीएनए प्रभावकारी विधिविज्ञान उपकरण हुनसक्छ । के नेपालमा पनि बाघको तस्करी रोक्न यसको प्रयोग गरिएको छ ?

यो विधिको विकास हुँदै गैरहेको छ । संसारभरि नै विभिन्न प्रजातीमा यसको प्रयोग गरिएको छ । हामीले हाम्रो अध्ययनमा संकलन गरेका बाघहरूको अनुवंशिक अभिलेख प्रयोग गरेर बरामद भएका बाघका अंगहरूको विश्लेषण गरी मारिएका बाघको लिंग र भौगोलिक उद्गम विन्दु पत्ता लगाउन सक्छौँ । हामीले सन् २०१४ देखि २०१६को बिचमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले बरामद गरेका १३ छालाका टुक्रा र रगत लत्पतिएका दुई चक्कु गरी १५ बाघ निस्साको विश्लेषणमा यो प्रविधि प्रयोग गरेका थियौँ ।

बरामद गरिएका सबै विधि विज्ञान नमुनाहरू बाघहरूकै भएको पाइएको थियो । दश भाले बाघ र पाँच बाघिनी । विधिविज्ञान नमुनाको एउटा अनुवंशिक विवरण हाम्रो प्रयोगशालामा भएको डीएनएहरूको विवरणसँग भिडाउँदा बर्दियाबाट पहिले सङ्कलन गरिएको बघिनीकाे अनुवंशिक विवरणसँग सत प्रतिशत मिलेको थियो । यसको अर्थ त्यो बाघ २०११ र २०१३को बिचमा जीवित थियो । सन् २०१४मा बरामद हुनुभन्दा केहिसमय अगाडिसम्म मात्रै त्याे बाघको शिकार भएको हुनसक्ने देखियो । बाँकी नमुनाहरू हामीसँग भएको डीएनए विवरणसँग मिलेन । तर हामीले ती बाघ कहाँका हुन् भनेर पत्ता लगाएका थियौँ । धेरैजसो नमुनाहरू बर्दिया र शुक्लाफाँटा क्षेत्रका थिए । यसले चोरी शिकारी कहाँ बढी भैरहेको छ भन्ने देखाउँछ । विज्ञानमा डीएनएको प्रयोगलाई थप एकीकृत गर्न दक्षिण एसियाका मुलुकहरूले कसरी राम्रो सहकार्य गर्न सक्छन् ?

संरक्षणमा डीएनएको प्रयोगलाई थप एकीकृत गर्न दक्षिण एसियाका मुलुकहरूले कसरी राम्रो सहकार्य गर्न सक्छन् ?

भारतमा पनि केही प्रयोगशालाहरू छन् । तर तिनीहरू एक्ला एक्लै काम गर्छन् । नेपालमा एउटा मात्रै प्रयोगशाला छ । बंगलादेश र भुटानमा कुनै पनि प्रयोगशाला छैनन् । नेपालमा रहेका धेरै जसो बाघ बासस्थानहरू उत्तरपश्चिम भारतका आरक्षित क्षेत्रसँग जोडिएका छन् । सुन्दरबन जंगल भारत र बंगालमा फैलिएको छ  र भुटान र भारतमा पनि साझा बाघ बासस्थानहरू छन् । हामीले क्षेत्रीय बाघ अनुवंशिक केन्द्र स्थापना गरेर स्रोत र विज्ञहरूको सामूहिक ज्ञानको फाइदा लिन सक्छौँ ।

अनुवंशिक अनुसन्धानको कुरा आउँदा मुलुकहरू भित्रैदेखि डराउँछन् । उनीहरू अनुवंशिक सूचनालाई गोप्य सूचनाको रूपमा बुझ्छन् र अन्य देशहरूले आफ्ना बाघहरूका अनुवंशिक जानकारी पाएभने के होला भन्ने चिन्ता गर्छन् । तर खतरामा रहेका प्रजातीहरूलाई बुझेर त्यस्ता प्रजातीलाई संयुक्त रूपमा संरक्षण गर्नु नै प्रमुख समग्र लक्ष्य हुनुपर्छ । यस क्षेत्रमा बाघका थुप्रै बासस्थानहरू जोडिएका हुनाले संयुक्त काम गर्नुपर्छ । हामीले विश्वासको वातावरण निर्माण गरेर मिलेर काम गर्ने इच्छाशक्ति व्यक्त गर्नुपर्छ  । बाघको संरक्षण गर्ने र व्यवस्थापन रणनीतिलाई अझै प्रभावकारी रूपमा लागू गर्ने हो भने अनुवंशिक तहको अध्ययन गर्नुपर्छ ।

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.