काश्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट १४ किलोमिटर टाढा पाम्पोर क्षेत्रमा हजारौं हेक्टर जमिनमा लगाइएको रैथाने फूल केशरको खेतीमा थुप्रै परिवारहरू संलग्न छन् । यो फूलको रातो धागो सावधानीपूर्वक टिपिन्छ र विशेष गरी महिलाहरूले यो काम गर्ने गर्दछन् । केशर विश्वभर महँगो मूल्यमा बेचिन्छ । ‘म सानो छँदा मलाई केशरका खेतहरू हेर्न मन पर्थ्यो । बैजनी रङका फूलले ढकमक्क भुइँ पुरै ढाकेको देख्दा म छक्क पर्थेँ । जब म ठूलो भएँ, तब मैले बुझेँ केशर फुल्ने समयमा जमिन जति बढी बैजनी हुन्छ त्यति नै बाली राम्रो हुन्छ,’ दशकौँ देखि केशर खेती गर्दै आएका परिवारकी छोरी तथा बुहारी रिफत जानले भनिन् ।

बैजनी धर्ती सम्झँदै

जम्मू र काश्मिरका चार जिल्लाहरू (पुलवामा, बुडगाम, श्रीनगर र किश्तवार)मा केशर खेती गरिन्छ । यी चार मध्ये, पुलवामा जिल्लाको पाम्पोरले आफ्नो उत्कृष्ट गुणस्तरको केशर खेतीका लागि कश्मीरको ‘केशर सहर’ को उपाधि कमाएको छ । यस क्षेत्रको माटोको गुणस्तर खेतीका लागि अत्यधिक उपयुक्त छ र यहाँ आफ्नो सुगन्ध, रंग र आयुर्वेदिक गुणका लागि परिचित बहुमूल्य ‘काश्मिरी केसर’ उत्पादन हुने गर्दछ।

पाम्पोर क्षेत्रका करिब ३,००० परिवार केशर खेतीमा संलग्न छन्। क्रोसिन नामक रसायनको प्रचुरता हुने भएकाले यहाँको केशरलाई उच्च कोटीको केशरको रूपमा लिइन्छ। क्रोसिनले केसरलाई यसको गाढा रंग र आयुर्वेदिक गुण प्रदान गर्दछ । यहाँको केशरमा करिब ८.७२ प्रतिशत क्रोसिन हुन्छ भने ईरानी प्रजातिको केशरमा ६.८ प्रतिशत क्रोसिन पाइन्छ ।

सन् २०११को जनगणना अनुसार काश्मिर उपत्यकामा करीव ११,००० महिला (जनशक्तिको ५० प्रतिशत) केशर खेतीमा काम गर्दछन् ।

कमलो केसरको धागोलाई फूलबाट अलग गर्न महिलाहरूको भूमिका महत्वपूर्ण रहन्छ । प्रत्येक धागोमा तीन रेसाहरू हुन्छन् जसलाई प्रत्येक फूलबाट राम्रोसँग निकाल्नुपर्दछ । धागोलाई त्यसपछि घाममा सुकाइन्छ। यसो गर्नु सजिलो छैन ’cause त्यसलाई सेतो कागजमा निश्चित तरिकाले फैलाउनु पर्ने हुन्छ । वातावरणमा भएको आद्रताले केशर कुहिने  र हावा चाहिने भएकाले रेसाहरूलाई एउटा सूतीको कपडामा राखिन्छ । यो सम्पूर्ण प्रक्रिया महिला किसानहरूले पुरा गर्दछन् ।

फूलबाट केशरका धागाहरू अलग गर्दै आजी बानो । [तस्विर: सफीना नाबी]

जान र अन्य धेरै परिवारले विगत आठ-नौ दशकदेखि केशर खेती गर्ने गरेका छन् र बालीबाट प्राप्त आम्दानीले घर बनाउन र सन्तानको विवाह जस्ता ठूला खर्चहरू जुटाउन मद्दत पुर्‍याएको छ। तर जलवायु परिवर्तनका कारण उत्पादनमा आएको गिरावटले यस्तो आम्दानी घट्दो छ र किसानहरूले अब फेरि उत्पादन बढ्नेछ भन्ने आशा गुमाइसकेका छन् । जलवायु परिवर्तन, कमजोर सिँचाई प्रणाली र सस्तो ईरानी प्रजातिको केशरको आयातले गर्दा उपत्यकामा केशर उत्पादन द्रुत रूपमा घटेको छ । काश्मिर कृषि विभागका अनुसार गत दुई दशकमा कश्मिरी केशरको उत्पादन ६५ प्रतिशत (१६ मेट्रिक टनबाट ५.६ मेट्रिक टन) ले घटेको छ।

गत १० बर्षमा उत्पादकत्व खस्केकाले कृषकहरू स्याउ र ओखर जस्ता उत्पादकत्व बढि हुने बाली तर्फ मोडिन थालेका छन् ।सन् १९९६ मा ५,७०७ हेक्टरमा केशर खेती हुन्थ्यो तर सन् २०१०-११ मा आएर यो आँकडा ३,८७५ मा झरेको थियो ।पाम्पोरको नम्बालाब नजिकै बस्ने मुबीना अख्तरले २० वर्ष अगाडि केशर खेतीको प्रक्रिया पूरा गर्न उनको सम्पूर्ण परिवारलाई महिनौं लाग्ने गरेको बताउँछिन्।

‘पूरै जाडो महिना हामी स्टिग्मालाई [जसमा परागकण जम्मा हुन्छ] फूलहरूबाट अलग गर्थ्यौँ, घर सँधै केशरको सुगन्धले भरिपूर्ण हुन्थ्यो र मेरा हथेलीहरू सुनौलो हुन्थे । उत्पादन यति राम्रो थियो कि हामीलाई छानेर प्याकेज गर्न समय लाग्थ्यो । त्यसैले हामी यो काम हिउँदका लागि साँचेर राख्थ्यौँ, ‘ मुबीनाले भनिन्।

महँगा कार्यक्रम, सीमित सफलता

जलवायु परिवर्तनबाट प्रभावित यो क्षेत्रले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न जम्मू-कश्मीर सरकारले धेरै कदमहरू चालेको छ ।

सन् २००७ मा सरकारले केशर ऐन लागू गर्यो जस अन्तर्गत केशरको खेतलाई व्यवसायिक प्रयोजनका लागि रूपान्तरण गर्न प्रतिबन्ध लाग्यो र नियम उल्लङ्घन गर्नेलाई भारू १०,००० जरिवाना र एक बर्षको जेल सजाय दिइने व्यवस्था गरियो । यस ऐनले थुप्रै जग्गा एकै पटक किनेर घर भनाउने थालेका भू-माफियालाई निरूत्साहित गरेको थियो ।

सन् २०१० मा, केशरको खेती पुनर्स्थापित गर्न भारू ४०० करोड लगानी गरेर राष्ट्रिय केशर मिसनको स्थापना गरिएको थियो । स्प्रिंकलर र धाराहरू मार्फत सिँचाई उपलब्ध गराउने, बिउको गुणस्तर बढाउने, उत्पादकत्व वृद्धि गर्न अनुसन्धान गर्ने, र किसानहरूलाई खेती गर्ने नयाँ तरिकाहरू’bout सिकाउने मिसनको उद्देश्य थियो ।

 

केशर खेती गरिएको जमिनमा ढकमक्क फूलेका फूल [चित्र द्वारा: सफीना नाबी]

दुर्भाग्यवश मिसनले उत्पादन बढाउन मद्दत गर्न सकेको छैन । आफ्ना लक्ष्यहरू पूरा गर्न असफल मिसनका दुईवटा म्यादहरू (सन् २०१४ र सन् २०१९) समेत गुज्रिसकेका छन् ।हालसम्म मिसनले भारू २६६ करोड बराबरको रकम निकासा गरिसकेको छ जसमध्ये करिब २४७ करोडको खर्च भइसकेको छ ।

‘केशर मिसनले उत्पादकत्व बढाउन खासै मद्दत गरेन ’cause विभागको ध्यान केवल इनारहरू खन्नुमा र बिजुलीको नियमित आपूर्ति नगरी स्प्रिंकलरहरू जडान गर्नुमा थियो,’ उपत्यकाका केशर उत्पादकहरुको सङ्गठनका उपाध्यक्ष मोहम्मद युसुफ वानीले भने । उनले भने, ‘सरकारले डिजेल मोटर जडान गरिदियो तर डिजेलको खर्च भने किसानहरूले बेहोर्ने भनिदियो । यसको लागत धेरै नै छ, उत्पादन भन्दा पनि बढि ।’

कृषि विभागका निर्देशक अल्ताफ एजाज आन्द्राबीले विभिन्न अनपेक्षित समस्याहरूको सामना गर्नु परेको बताए । महामारीका कारण श्रमिकहरू उपलब्ध छैनन् र अचानक भएको बन्दाबन्दीका कारण पनि काम ढिलो भइरहेको उनले बताए ।

‘खेतीका लागि उपलब्ध कुल जग्गा मध्ये हामीले ३३ प्रतिशतलाई सिँचाई योजनामा जोडिसकेका छौँ र बाँकी ६६ प्रतिशतका लागि आधारभूत पूर्वाधार विकास गरिसकिएको छ । सन् २०२० सम्ममा काम पूरा हुनेछ,’ उनले द थर्ड पोललाई बताए ।

‘भौगोलिक रुपमा मौलिक’ दर्जाले जगाएका आशाहरू

यस वर्षको मे महिनामा, काश्मीरी केशरलाई भौगोलिक संकेत रेजिस्ट्रीद्वारा भौगोलिक संकेत (जीआई) ट्याग प्रदान गरियो । उपत्यका बाहिरका कसैलाई पनि ‘काश्मीरी केशरको’ नामबाट केशर उत्पादन गर्न र बेच्न प्रतिबन्ध लगाउनका लागि जम्मू काश्मिर सरकारको कृषि निदेशालय, शेर-ए-काश्मिर कृषि विज्ञान तथा प्रविधि विश्वविद्यालय, काश्मिर, र केशर अनुसन्धान स्टेशन, दुसु (पाम्पोर)ले रेजिस्ट्रीमा संयुक्त निवेदन दिएका थिए ।

विश्व व्यापार सङ्गठन अन्तर्गतको बौद्धिक सम्पत्ति अधिकार सम्झौता (ट्रिप्स) को अनुच्छेद २२ (१) अनुसार, जीआई ट्याग संकेत यस्तो वस्तुलाई प्रदान गरिन्छ जसको गुणस्तर, ख्याति वा विशेषता कुनै एउटा भौगोलिक क्षेत्रसँग जोडिएको छ । यस्तो ट्यागले सो वस्तुको उद्गम थलो त्यही क्षेत्र हो भन्ने पनि जनाउँदछ ।

‘जीआई ट्यागले काश्मीरी केशरलाई फेरि लोकप्रिय बनाउन मद्दत पुर्‍याउनेछ र यसका कारण मूल्य पनि बढ्नेछ । यसका कारण किसानहरू आर्थिक रुपमा लाभान्वित हुनेछन् । यसले ईरानी केशरलाई काश्मिरी केशर भनी बेच्नेहरूलाई निरूत्साहित गर्नेछ, ‘अन्द्राबीले भने।

वानी भने कम आशावादी छन् , ‘जब उत्पादन नै घट्दै गइरहेको छ र मिसनले किसानहरूलाई सहयोग नगरी म्याद गुजारी रहेको छ, यी सहायक पहलहरूले कसरी मद्दत गर्लान्?  उदाहरण को लागि जीआई ट्याग र आधुनिक उत्पादन विधिले तब फाइदा हुन्छ जब उत्पादन बढ्छ । उत्पादन तब मात्र बढ्न सक्दछ जब खेतमा उचित सिंचाई हुन्छ । तर सन् २०१० पछि यस्तो भएको छैन ।’

केशर फूल [तस्विर: सफीना नाबी]

केशर उत्पादनले सामना गर्नु पर्ने अर्को चुनौती भनेको किसानहरू माझ यसको बीउ परिवर्तन गर्ने अभ्यास न्यून हुनु हो ।

‘काश्मिरमा उत्पादकहरूले प्रति हेक्टर २२५,००० बिउ रोप्दछन्, जबकि विज्ञानले ५००,००० रोप्नु पर्ने बताउँछ ,’ शेर-ए-काश्मीर कृषि विज्ञान र प्रविधि विश्वविद्यालयका एक केशर विज्ञ बशीर अहमद ईलाहीले भने । ‘प्रत्येक चार वर्षमा किसानहरूले बीज परिवर्तन गर्नुपर्दछ। तर [यहाँ] उनीहरुले प्रत्येक ३० बर्ष पछि मात्रै परिवर्तन गर्दछन् र यसले उत्पादकत्व र गुणस्तरमा ह्रास आउँछ,’ उनले थपे।

कुनै जमानामा फस्टाउँदो यो ‘सम्पदा’ बालीलाई पुनर्जीवित गर्ने यी प्रयासहरूले थोरै मात्रै आशा जगाउँदा जान जस्ता महिला किसानहरू सरकार भन्दा भगवानलाई सम्झन्छन् ।

करिब १२ औँ शताब्दीमा कश्मीर आएका र यस भूमिलाई आशिर्वाद दिएका दुई प्रसिद्ध सुफी सन्त ख्वाजा मसूद वली र शेख शरीफुद्दीन वलीको आशिषका कारण यस भूमिले अनुपम गुण भएको केशर उत्पादन गर्ने गरेको विश्वास उनका परिवारका अन्य महिलाहरू जस्तै जान पनि गर्छिन् । आद्रतामा निर्भर केसर खेतीमा राम्रो उत्पादनको लागि सिँचाई आवश्यक छ। ‘सन् २०१९ को नोभेम्बर महिनामा यहाँ राम्रो हिउँ पर्‍यो र यस वर्षको सेप्टेम्बरको पहिलो हप्तामा राम्रो पानी परेको थियो । मलाई विश्वास छ केहि राम्रो भएको छ, र यस वर्ष भगवानको कृपाले बाली राम्रो हुनेछ,’ राम्रो उत्पादनको लागि दैवी हस्तक्षेपको खोजी गरिरहेका आन्द्राबीले भने ।

2 comments

  1. cultivation of Safffron in Punjab/Pakistan . climatic conditions r very suitable fr Saffror farming,
    farming community is looking fr alternate high value cropping system in stead of existing crops . we a team of agri experts having multiple expertise experiences r ready 2 work under your guidance to introduce the cultivation of Saffron but it needs a lot of finance ,if u provide us the required financing facilities we can achieve the targets .

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.