साइगा मृगहरू ऊनी गैँडा र म्यामथहरूसँगै बेलायतको टापुबाट अलास्का भूभाग तर्फ बसाइँ सरेका थिए । करिब ४५,००० देखि १०,००० वर्ष अघिको समयमा उनीहरूको ठूलो सङ्ख्या उत्तरी गोलार्धका विभिन्न स्थानमा छरिएको थियो । अहिले आएर भने यो प्रजातिको वासस्थान काजकिस्तान, उज्बेकिस्तान, रुस र मङ्गोलियाका केही मरुभूमि र घाँसे मैदानहरूमा खुम्चिएको छ ।

अन्तराष्ट्रिय प्रकृति संरक्षण संघले आफ्नो नाकका लागि कहलिएका यी साइगा मृगलाई लोप हुन सक्ने ठूलो जोखिममा रहेका जनावरहरूको सूचीमा राखेको छ । तर यी जनावहरूका ’boutमा धेरै मानिसहरूले भने सन् २०१५ को मे महिनामा मात्र पहिलो पटक सुनेका थिए । त्यतिबेला काजकिस्तानको बेतपाकडाला क्षेत्रमा तीन हप्ताको अन्तरमा २ लाख मृगहरू अकस्मात् र रहस्यपूर्ण तरिकाले मरेका थिए ।सन् १९९० को दशकमा करिब १० लाखको हाराहारीमा रहेको साइगाको सङ्ख्या सन् २०१८ मा आइपुग्दा १२५,००० मा खुम्चिएको थियो ।

 

पुन: उत्थानका सङ्केतहरू

काजकिस्तान र रूसमा साइगा मृगहरूको सङ्ख्या सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा दोब्बर (करिब ३ लाख) पुगेको संरक्षणविद्हरू बताउँछन् । अबको दुई वर्ष भित्र यो सङ्ख्या ५ लाख पुग्ने पूर्वानुमान गरिएको छ । साइगा मृगहरूको सङ्ख्यामा भएको वृद्धिको श्रेय जैविक विविधता संरक्षण संघ, काजकिस्तान गैर सरकारी संस्था तथा ओखोत्जुप्रोम (काजकिस्तानको वन्य जन्तुसम्बन्धी निकाय) तथा स्थानीय मानिसहरूमा सचेतना फैलाउने, गस्ती गर्ने र चोरी सिकारी नियन्त्रण गर्ने रेन्जरहरूलाई लाई जान्छ’, अक्सफोर्ड विश्वविद्यालयका अध्येता मुनिब खन्यारीले द थर्डपोललई बताए । यसो भनिरहँदा चोरी सिकारी हुँदै हुँदैन भनेर भन्न सकिन्न तर संरक्षणका योजनाहरूमा यो पक्षलाई सधैं समावेश गरिन्छ ।

काजकिस्तानको मङगिस्ताऊ क्षेत्रमा पर्ने उस्तिउर्त पठारमा जून महिनामा ठूलो स्तरमा मृगहरूले प्रजनन गरेको खबरसँगै संरक्षणविद्हरू सावधानीपूर्वक आशावादी भएका छन् । सन् २०१८ मा ५३० वाच्छाहरूको जन्मले यस क्षेत्रमा मृगहरूको सङ्ख्या दोब्बर नै हुन गएको थियो ।

 

रुसको स्तेपनोई निकुञ्जमा साइगा मृगहरू [तस्विर सौजन्य : आन्द्रे गिलेभ र करिना कारेनिना]

साइगाहरूमा विपद्को सामना गर्नेसक्ने क्षमता हुन्छ र उनीहरूलाई अवसर दिइएमा उनीहरूको सङ्ख्यामा उच्च वृद्धि हासिल गर्न सकिने अध्येताहरू बताउँछन् । मङ्ग्यात्सु क्षेत्रमा भारी मात्रामा प्रजनन हुनु निश्चय नै सकारात्मक छ,’ खन्यारीले भने । यो जमात जाडो महिनामा उज्बेकिस्तान तर्फ बसाइ सर्ने गर्दछ । तर काजाकउज्बेक सीमामा बन्दै गरेको रेल्वे जस्ता पूर्वाधार परियोजनका कारण उनीहरूको बसाइ सराइमा असर परेको थियो । यी परियोजनाहरूको असर कस्तो हुन्छ भनेर हेर्न पनि यो जमातलाई नजिकैबाट निगरानी गरिरहनु जरुरी छ ।

 

चोरी सिकारी रोकिएको छैन

मृगको मासु र सिङका लागि गरिने चोरी सिकारीका घटनाहरू सन् १९९० को दशकमा निकै बढेर गएका थिए र यसका कारण मृगहरू अझै जोखिममा छन् । मृगको सिङ थुप्रै परम्परागत चिनिया औषधि बनाउनका लागि प्रयोग हुने गरेको छ । यसको प्रयोगले ज्वरो र घाँटी खसखस हुने समस्याको निदान हुने मानिन्छ ।

बिक्रीमा राखिएको साइगा मृगका सिङहरू [तस्विर: आन्द्रे गिलेभ र करिना कारेनिना, २०१९ ]

चीनसँगै सिङ्गापुर साइगा मृगको सिङ र यसबाट बनाइने उत्पादनहरूको ठूलो एसियाली बजार हो । यहाँ मृगका सिङ र त्यसबाट बनेका अरू उत्पादनहरूको किनबेच र प्रयोग कानुनी रुपमै गर्न पाइन्छ । लिङ याङभनेर चिनिने साइगा मृगको सिङबाट बन्ने परम्परागत औषधिको प्रयोग पाँच मध्ये एक चिनियाँ सिङ्गापुरीले गर्ने गरेको पाइएको छ । तर औषधि बनाउनका लागि मात्रै सिङको माग भएको भने होइन । चोरी सिकारी बढ्नुमा सोभियत संघको पतन, त्यसले न्याय र संरक्षण प्रणालीमा पारेको असर र ग्रामीण भेगमा व्याप्त गरिवी प्रमुख कारणहरू रहेको निष्कर्ष अध्येताहरूले सन् २०१९ को सेप्टेम्बर मा निकालेका थिए ।

मलाई लाग्दैन कि अहिले भइरहेको चोरी सिकारीको स्तर सोभियत युनियनको पतनपछिको स्तरमा पुगेको छ,’ खन्यारीले भने । सोभियत युनियनको पतन हुने बित्तिकै मानिसहरूले गाईवस्तु पाल्ने सरकारी सहायता गुमाए र साइगाको मासु र सिङका लागि उनीहरूलाई मार्न थाले । भाले मृगको मात्रै सिङ हुने भएकाले उनीहरूको सिकारी बढ्यो र यसका कारण उनीहरूको सङ्ख्यामा ह्रास आयो । साइगाहरू हारेमप्रजनन गर्ने प्रजाति हुन्: एउटा भालेले धरैवटा पोथीहरूमा गर्भाधान गराउँछ ।

अरल सागर क्षेत्रमा व्याप्त पर्यावरणीय चुनौतीहरूका ’bout थुप्रै किताब लेखिसकेका ओराज्बेइ अब्दिराख्मानोभले मृगहरूको सङ्ख्यामा कमी आउनुका थुप्रै कारणहरू औंल्याए । उनका अनुसार अनियन्त्रित चोरी सिकारी, एउटा देशबाट अर्कोमा आउजाउ गर्नमा अवरोध र सन् १९९० पश्चात् ग्यास र रेल्वे जस्ता औद्योगिक परियोजनाहरूको विकासका कारण भएको वासस्थानको नास साइगा मृगहरूको सङ्ख्यामा कमी आउनुका प्रमुख कारणहरू हुन् ।

 

जलवायु परिवर्तनको असर

वैज्ञानिकहरूले यो प्रजातिको सङ्ख्यामा कमी आउनुको अर्को चिन्ताजनक कारणको पनि पहिचान गरेका छन् : जलवायु र वातावरणमा असर पार्ने प्रक्रियाहरू जसका कारण संरक्षणमा चुनौतीहरू थपिएका छन् । बेलायती संरक्षणविद्हरू रिचार्ड कक र एलेआनोर मिल्नरगुल्लाँदले उच्च मृत्य दर र उच्च आर्द्रताबीच सम्बन्ध रहेको पत्ता लगाएका छन् । दैनिक औसत सापेक्षिक आर्द्रता ८० प्रतिशत भन्दा बढी भएको बेला साइगा मृगहरूको ठूलो स्तरमा मृत्यु हुने पाइएको उनीहरूले आफ्नो अध्ययनमा लेखेका छन् । सन् २०१५ को मे मा हावामा रहेको उष्णता सन् १९४८ पछि कै उच्च थियो ।

खन्यारले भने, ‘आउँदा दिनहरूमा पनि एकै पटक धेरै जनावरहरू मर्ने क्रम चिन्ताको विषय भइरहने छ । हामीले गर्ने संरक्षण कार्यका कारण उनीहरूको सङ्ख्या यति ठूलो हुनु पर्यो कि एकै पटक धेरै जनावरहरू प्राकृतिक कारणले मरे भने पनि उनीहरूको सङ्ख्यामा भारी गिरावट नआओस्।

सन् २०१५ मा धेरै सङ्ख्यामा एकै पटक भएको मृत्यु र यस्तै अरू घटनाहरू पास्टरेलोसिस‘ ( जलवायु परिवर्तनसित जोडिएको एक किसिमको ब्याक्टेरियाको सङ्क्रमण) का कारण घटेको हुन सक्ने अनुमान गरिएको छ । यो ब्याक्टेरिया मृगको अन्न नलीमा बस्छ तर बच्चा पाउने बेलामा शारीरिक रुपमै कमजोर भएका पोथीहरूमा तापक्रम र आर्द्रतामा आएको परिवर्तनका कारण ब्याक्टेरियाले गम्भीर असर गर्दछ । यसो भएर जनावर मर्नुलाई तत्कालीन कारण को रुपमा हेर्न सकिन्छ तर यसो हुनुको मुख्य कारण चाहिँ कसैलाई थाहा छैन ।

 

मानिससितको द्वन्द्व

हालैको समयमा मृगहरूको सङ्ख्यामा आएको वृद्धि जैविक विविधताको दृष्टिकोणले स्वागत योग्य छ तर कृषकहरूले भने यसलाई फरक दृष्टिकोणले हेर्न सक्छन् । स्थानीय समाचार स्रोतहरूका अनुसार उत्तरपश्चिम काजकिस्तानमा साइगाका बथान खेतहरू हुँदै बासाइ सरे र यसका कारण कृषकहरूले ठूलो घाटा बेहोर्नु पर्यो ।

मैले बुझे अनुसार सरकारी र गैरसरकारी निकायहरू अझै पनि यस्ता घटनाहरूको बेसलाइन तथ्याङ्क सङ्कलन गर्दैछन् । त्यसपछि मात्र उनीहरूले तथ्यमा आधारित कदमहरू चाल्नेछन्, त्यो पनि उनीहरूलाई जरुरी लागेमा मात्रै,’ खन्यारीले भने । मलाई लाग्छ साइगाहरूको संरक्षण गर्नाका लागि सबै साझेदारहरूले जमिनलाई बाँडेर प्रयोग गर्नु भन्दा साझा रुपमा प्रयोग गर्दा राम्रो हुन्छ । ऐतिहासिक रुपमा पनि साइगाका ठूला जमातहरूले गाईवस्तु चर्ने घाँसेमैदान मै चर्ने गरेका थिए । त्यसैले यसो गर्न सकिन्छ ।

उनले भने, ‘साइगाहरूको सङ्ख्या ठूलो हुँदै जाँदा उनीहरूले घाँस सक्लान् भन्ने चिन्ता हुनसक्छ । तर हामीले वृहत् तस्विर हेर्न जरुरी छ । जलवायु परिवर्तनले विभिन्न कोणबाट यी जमिनहरूलाई असर पारेको छ र सोभियत संघको पतनसँगै गाईवस्तुको सङ्ख्यामा आएको गिरावट पश्चात् अहिले गाईवस्तुको सङ्ख्यामा समेत वृद्धि भएको छ ।

 

मध्य एसियाको प्राकृतिक धरोहरको संरक्षण

सन् २०१९ मा सिकारीहरूले काजकिस्तानमा दुई रेन्जरहरूलाई मारे । यहाँको सरकारले आपराधिक गिरोहहरूद्वारा हुने चोरी सिकारी नियन्त्रण गर्नका लागि नयाँ कार्यक्रमहरू ल्याएको छ । गत वर्ष देशको राष्ट्रिय सुरक्षा समितिले देशभर चलाएको अपरेसनमा चीन पठाउन लागिएको १ करोड ६० लाख डलर बराबर मूल्य पर्ने १ टन साइगाका सिङ बरामद गरेको थियो ।

देशका राष्ट्रपति कासिमजोमार्त तोकाएभले भने, ‘सिकारीहरूले हाम्रा प्राकृतिक धरोहर साइगाहरूलाई मारिरहेका छन् । उनीहरूलाई कानुन बमोजिम कठोर सजाय दिनुपर्छ ।

संरक्षणविद्हरूले यो लोपोन्मुख प्रजातिको संरक्षण गर्नका लागि एउटा बहुआयामिक दृष्टिकोण आवश्यक रहेको बताएका छन् । त्यस्तै चोरी सिकारीबाट बचाउन अन्तर्देशीय संरक्षण कार्यक्रम र जनावरहरूमा फैलने महामारीको तयारी गर्नका लागि नियमित निगरानी र अनुसन्धान पनि जरुरी रहेको उनीहरू बताउँछन् ।

साइगा मृगहरू यस क्षेत्रकै पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण छन् । पहिलो तहका उपभोक्ताको रुपमा उनीहरूको सङ्ख्याले वनस्पति र पोषक तत्वहरूको चक्रलाई असर पार्दछ । साइगहरू नहुँदा स्टेपिजको पारिस्थितिक प्रणालीमा नकारात्मक असर पर्नेछ र स्थानीय रुपमा पानीको उपलब्धतामा कमी आउन सक्दछ । स्टेपिजका ब्वाँसा र चीलहरूका लागी साइगा महत्वपूर्ण आहार पनि हुन् । त्यसैले खाद्य शृङ्खलामा उनीहरूको महत्वपूर्ण भूमिका रहन्छ,’ मुनिब खन्यारीले भने ।

यस बाहेक,’ उनले भने, ‘ऐतिहासिक र सांस्कृतिक रुपमा पनि साइगा महत्वपूर्ण छन् । म्यामथहरूको समय देखि पृथ्वी चहारिरहेका साइगाहरू जीवित जिवाश्म जस्तै हुन् ।

One comment

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.