दक्षिण एसियाका किसानहरू विपद तर्फ उन्मुख छन् । भित्र्याउने बेला हुँदै गर्दा मार्च महिनामा भएको बेमौसमी वर्षाका कारण हिउँदे बाली नास भयो । असिना र मेघ गर्जनसहितको वर्षाका कारण भारत र पाकिस्तानमा गहुँ, आलु, चना, तोरी र तरकारी नास भयो । बङ्गलादेशमा अमन चामलको पनि यही हालत भयो ।

अहिले आएर कोभिड-१९ को प्रकोपका कारण किसानहरू आफ्नो खेतमा बचेको बाली समेत भित्र्याउन पाइरहेका छैनन् । न उनीहरूले बाली काट्ने कामदारहरू पाएका छन् न त आफ्नो उत्पादनलाई बजारसम्म लैजाने साधन नै । मार्च २४ को मध्यरातमा सुरु भएको बन्दाबन्दीका कारण सबै कामदारहरू घरैमा वा क्वारेन्टिन केन्द्रहरूमा बस्न बाध्य छन् । बन्दाबन्दी (लकडाउन) कहिलेसम्म लम्बिने हो कसैलाई थाहा छैन ।

बजारमा आफ्नो उत्पादन पुर्याउन नपाउनु त छर्दै छ, मर्मत पसलहरू पनि बन्द भएका कारण किसानहरूले आफ्नो बिग्रिएका मेसिनहरू समेत बनाउन पाएका छैनन् ।

भारतमा ढिलै भए पनि केही राज्यहरूको यो सङ्कटतर्फ ध्यान गयो र उनीहरूले खेतीलाई बन्दाबन्दीको समयमा पनि जारी राखिनु पर्ने अत्यावस्यक सेवाको रुपमा सूचीकृत गरे । तर राज्य सरकारको यो निर्णय न कामदारहरूसम्म पुगेको छ न घर बाहिर निस्कने जो कोहीलाई पनि पिट्ने प्रहरीसम्म नै । उत्तर प्रदेश सरकारले खुद्रा व्यापार केन्द्रहरू खोल्न आदेश दिएको छ तर कम्तीमा एक जिल्लामा स्थानीय अधिकारीहरूले बिहान २ देखि ५ बजे सम्म मात्र बजार खोल्न सुरक्षित हुने निर्णय गरेका छन् ।

यस्तो निर्णयका कारण एकदमै कम किसानहरूले मात्र आफ्नो उत्पादन बजारसम्म लान पाउँछन् । यो सङ्कट कस्तो बेलामा आएको छ भने देशको सबैभन्दा धेरै अन्न उब्जाऊ हुने पश्चिमोत्तर क्षेत्रमा मार्च महिनामा औसत भन्दा ८० प्रतिशत बढी पानी परेको थियो । मध्य भारतमा औसत भन्दा दोब्बर पानी परेको थियो ।

सन् २०२० को मार्च महिनामा भारतमा अहिलेसम्मकै बढि पानी परेको मार्च हो । यो अवधिमा देशभर नै औसत भन्दा ४६ प्रतिशत बढी वर्षा भएको छ । भारतीय मौसम विभागका अनुसार पूर्वोत्तर भारतमा मार्च २६ देखि अप्रिल १ सम्मको अवधिमा औसत भन्दा २३५ प्रतिशत बढी पानी परेको थियो । यस्तो वर्षाले काट्न तयार भइसकेको गहुँको बालीमा क्षति पुर्याएको थियो । मध्य र पूर्वी भारतमा मार्च महिनाको तेस्रो र चौँथो साता औसत भन्दा करिब दोब्बर पानी परेको थियो । महिनाको सुरुतिर भारी वर्षाले राजस्थान, हर्याणा र उत्तर प्रदेशमा लगाइएको तोरी र आलु नाश गरेको थियो ।

उत्तर प्रदेशका ३५ जिल्लामा मात्रै मार्च महिनाको मध्य तिर आएको असिना र भारी वर्षाका कारण करिब भारू २.५५ अर्ब (३ करोड ३६ लाख डलर) बराबरको बालीमा क्षति पुगेको थियो । यसका कारण ५ लाख भन्दा बढी किसानहरू मारमा परेको एक निजी मौसम पूर्वानुमान संस्था स्काईमेटको रिपोर्टमा उल्लेख गरिएको छ ।

जलवायु परिवर्तन

हालैका वर्षहरूमा जलवायु परिवर्तनका कारण हुने गरेको असाधारण वर्षाले भारतका कृषकहरूको पिडा झन् थपेको छ । वर्षाको समय र मात्रामा आएको परिवर्तनका कारण बाढी, पहिरो र खडेरी जस्ता चरम मौसमी घटनाहरू घट्ने मात्र नभइ बेमौसमी वर्षा र खडेरीका कारण अन्न उत्पादनमा समेत असर पर्ने भारतीय मौसम विभागका अध्ययनहरूले देखाउँछन् । उदाहरणका लागि सन् २०१५ को मार्चमा मा भारी वर्षा र असिनाले उत्तर भारतमा हिउँदे बालीमा ठूलो असर पारेको थियो ।

कोरोना भाइरसको प्रकोप सुरु हुँदा भारतका साना किसानहरू लगातर दुईवटा असफल बालीको मार झेल्दै थिए । किसानहरूले हालै भोग्नु परेको घाटा सन् २०१९ को गृष्म यामको घाटा पश्चात् आइ लागेको छ । गत वर्षको मनसुन एकदमै असाधारण थियो । जुन र जुलाईमा पानी परेन भने अगस्ट र सेप्टेम्बरमा भारी वर्षा भयो र यसका कारण विशेष गरी साना किसानहरू मर्कामा परे । धान र भटमासको उत्पादन १२ प्रतिशतले झरेको स्काईमेटको रिपोर्टले देखाएको छ । यो वर्षको कुरा गर्ने हो भने, ‘ उत्तर प्रदेशमा हिउँदे बालीले अपूरणीय क्षति भोगिसकेको छ’, किसान जागृति मञ्च कृषक संघका सुधीर पनवार भन्छन् ।

कोभिड१९ को कहर

अहिले आएर किसानहरू कामदारको कमी, घट्दो मूल्य र बजारमा सीमित पहुँच जस्ता समस्याहरू झेलिरहेका छन् । उचित योजनाबिना नै बन्दाबन्दी गरिएकाले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरू आत्तिए र यसका कारण सन् १९४७ मा भारत र पाकिस्तान छुटिँदाको झल्को दिने गरी मानिसहरू धमाधम घरतिर लागे । यसका कारण खेतमा काम गर्ने मानिसको सङ्ख्यामा ठूलो कमी आयो । पश्चिमोत्तर भारतमा धेरै जसो काम मेसिनबाट हुने भए पनि किसानहरू अन्न ओसारपसार गर्न मौसमी कामदारहरूमा निर्भर हुन्छन् । चालकहरू नपाएर मेकानिकल हार्भेस्टर चलाउन समेत गाह्रो भएको छ । देशको अन्य भूभागहरुमा दग्ध प्रशोधन गर्ने उद्योगहरूमा र गोदामहरूमा समेत कामदारको अभाव देखिएको छ ।

टुटेका आपूर्ति शृङ्खलाहरू

बन्दाबन्दीको हप्तौँपछि सम्म पनि देशभरका आपूर्ति शृङ्खलाहरूमा अझै पनि अवरोध छ । राज्यहरूको सिमानामा हजारौँ मालबाहक सवारीहरू अड्किएका छन् । उनीहरूलाई अघि बढ्ने आदेश दिइएको छ तर त्यसको कार्यान्वयन भएको छैन । गाईवस्तुलाई खुवाउने दानाको आपूर्ति पनि कम छ र यसका कारण किसानहरू थप मर्कामा परेका छन् ।

‘बजारमा कुखुराको मासुको आपूर्ति नै छैन ’cause गजिपुर मण्डी (थोक बजार) बन्द छ,’ दिल्ली बाहिर रहेको नोयडा शहरका पसले इद्रिस मोहम्मदले भने । गजिपुर बजार भारतको राजधानी क्षेत्रको सबैभन्दा ठूलो थोक बजार हो । ‘हामीले कुखुरा पाल्ने किसानहरूले कुखुराहरूलाई ओसारपसार गर्न नपाएकाले गाडेको रिपोर्ट हामीले सुनेका छौँ,’ मोहम्मदले भने ।

आपूर्तिमा समस्याका कारण किसानहरूले आफ्नो उत्पादनका लागि पाउने मूल्य ह्वात्तै घटेको छ । महाराष्ट्रमा कृषकहरूले आफ्नो गोलभेँडाका लागि प्रति किलो भारू २ मात्र पाएका छन्, पन्जाबमा तरकारीको भाउ भारु १२ बाट भारु १ प्रति किलोमा झरेको छ । तमिलनाडूमा भारू ४८ प्रति दर्जन पर्ने अण्डाको भाउ भारू २४ मा झरेको छ ।

हाल देशमा विद्यमान स्थितिका ’boutमा कृषि अर्थविद् देविन्द्र शर्मा भन्छन्, ‘ बन्दाबन्दीको अवस्थामा कृषि गर्न सकिन्नँ । अरू उद्योगमा जस्तो सटर बन्द गरेर तीन महिना पछि फेरि खोल्छु भन्न मिल्दैन । कृषि निरन्तर गरिनु पर्ने कार्य हो । यसमा तल झार्ने सटर हुँदैन ।

‘ ‘बन्दाबन्दीका कारण तरकारी कृषकहरूमा सबैभन्दा बढी असर परेको छ,’ शर्माले भने । ‘आपूर्ति शृङ्खला चलायमान गर्ने अत्यावस्यक भइसकेको छ’, उनले भने ।

कृषि अभियन्ता रमनदिप सिंह मन का अनुसार तरकारी कृषकहरूले आफ्नो बाली उखेलेका छन् ’cause उनीहरूको उत्पादन किन्ने कोही छैन । ‘यस्ता दृश्यहरू भारतभर देखिन्छन्,’ मनले ट्विटरमा भने । ‘आपूर्तिमा समस्या भएन तर माग र आपूर्ति शृङ्खलामा समस्या आयो ।’

यथेष्ट भण्डारण छ

समस्याहरूका बाबजुद भारतमा निकट भविष्यमा खानेकुराको अभाव नहुने देखिन्छ । सन् २०१९-२० मा भारतमा २९ करोड २० लाख टन खाद्यान्न उत्पादन हुने प्रक्षेपण गरिएको छ । आधिकारिक तथ्याङ्कका अनुसार मार्च महिनामा सरकारी खाद्य संस्थानसित ८ करोड ८० लाख गहुँ र धान मौज्दात रहेको छ ।

भारतसित २ करोड १० लाख टन खाद्यान्न ‘बफर’ मौज्दातमा (‘अपरेसनल’ मौज्दात र सामरिक मौज्दात जोडेर ) छ । त्यस्तै गरिबका लागि प्रोटिनको महत्वपूर्ण स्रोतको रुपमा रहेको दालको २२ लाख ५० हजार टन मौज्दात रहेको छ । देशसित आफ्नो नागरिकहरूलाई एक वर्षसम्म खुवाउन पुग्ने अन्न छ । तर पाकिस्तान र बङ्गलादेशमा अवस्था त्यति सहज छैन ।

तर दक्षिण एसियाका सबै देशहरूमा वर्षाका कारण बाली नास भएको र उत्पादनको उचित मूल्य नपाएका कारण ग्रामीण घरधुरीको आयमा कमी आउने देखिन्छ । भारतका ८० प्रतिशत किसानसँग सीमित जमिन र स्रोत छ र उनीहरू यस्तो झट्टका सहन सक्दैनन् । महामारीको समयमा स्वास्थ्यका लागि अनपेक्षित खर्च गर्नु पर्ने स्थिति सिर्जना भएमा उनीहरू फेरि गरिवीको रेखा मुनि धकेलिन सक्छन् ।

अन्तराष्ट्रिय श्रम सङ्गठनका अनुसार कोभिड-१९ का कारण संसारभर १९ करोड ५० लाख मानिसहरू बेरोजगार हुन सक्छन् । ‘भारतमा करिब ९० प्रतिशत जनता अनौपचारिक क्षेत्रमा काम गर्ने भएकाले अनौपचारिक अर्थतन्त्रमा काम गर्ने ४० करोड मानिस सङ्कटका कारण गरिवीमा अझै डुब्ने देखिन्छ’, अन्तराष्ट्रिय श्रम सङ्गठन भन्छ ।

2 comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.