महिनौसम्म आफ्नो खेत रातभर रुङेकी जात्सोम र उनको परिवारले आफ्नो आलु वालीबाट गत वर्ष करिब ९२,००० नुल्त्रम कमाएका थिए । उत्तर पूर्वी भुटानको हाआ जिल्लाको याङथाङ गाउँमा आलुबाट भएको अहिलेसम्म कै सबैभन्दा बढि कमाई हो यो । सोही वर्ष उनका गाउँका धेरै जसो कृषकहरूको करिब ४० प्रतिशत आलु जङ्गली बँदेलले सखाप पारिदिएका थिए ।

कृषि तथा वन मन्त्रालयका अनुसार देशभर नै जङ्गली जनावरले वाली नास गर्ने र घर पालुवा जनावर मार्ने समस्या देखिएको छ । सन् २०१७ को देशको अवस्था प्रतिवेदनमा ७० प्रतिशत किसानहरूले जङ्गली जनावरले वाली नास गरेको बताएका थिए भने १२ प्रतिशतले जङ्गली जनावरले आफ्नो गाईवस्तु मारेको बताएको उल्लेख छ ।

भुटानका ७,६५,००० मानिस मध्ये ६० प्रतिशत कृषि र गाई वस्तु पालनमा प्रत्यक्ष रुपमा आश्रित भएकाले मानव वन्यजन्तु द्वन्द्वको मुद्दा सधैं महत्वपूर्ण हुँदै गएको छ । विगतका दशकहरूमा बढ्दो वन्यजन्तु आक्रमणका कारण कृषक समुदाय जोखिममा परेको अधिकारीहरू बताउँछन् । वर्षको करिब ४-५ महिना किसानहरू रातभर आफ्नो वाली रुङ्दै बिताउँछन् । सक्नेले आफै वालीको सुरक्षा गर्छन् । तर अरूले भने स्थानीय भाषामा ‘सङ्ध’ भनिने विषालु तीर तथा खोरहरू प्रयोग गर्ने गरेको स्थानीय नेताहरूले बताए ।

द्वन्द्वमा चुकाउनु परेको मूल्य

जङ्गली जनावरले केही किसानहरूको ज्यान पनि लिएका छन् भने देशभर थुप्रैलाई घाइते बनाएका छन् ।गत डिसेम्बरमा भारतको सीमा नजिकै पर्ने समत्सेमा एक जना ६९ वर्षीय महिलालाई हात्तीले मारेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अधिकारीहरूलाई वन्यजन्तु आक्रमणको समस्या’bout तत्काल कदम चाल्न आग्रह गरेका थिए । त्यस्तै हालै मात्र १४ वटा भालुद्वारा आक्रमणका घटना र २० जना मानिस वन्यजन्तुको आक्रमणमा घाइते भएका समाचारहरू प्रकाशमा आएका छन् ।

विश्व वन्यजन्तु कोष भुटानका निर्देशक तान्डिन वाङ्दीका अनुसार धेरै जसो द्वन्द्वका घटना जनावरले वाली नास गरेपछि वा गाई वस्तु खाएपछि सुरु हुने गरेको देखिन्छ । शाही भुटान विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले कृषकहरू माझ हालै गरेको एक सर्वेक्षणमा जङ्गली कुकुर, चितुवा र बाघका कारण उनीहरू चिन्तित भएको पाइएको थियो । त्यस्तै वन्यजन्तुले गाईवस्तुमाथि आक्रमण गर्नु उनीहरू र मानिसहरूबीच द्वन्द्व बढ्नुको प्रमुख कारण भएको पाइएको छ । यसो हुनाले मानिसहरूले प्रतिशोधका लागि जनावर मार्ने अवस्था सृजना हुने देखिन्छ ।

मानव वन्यजन्तु द्वन्द्व भुटानमा जारी संरक्षण अभियानका लागि प्रमुख चुनौती रहेको कुरा पनि सर्वेक्षणबाट पत्ता लागेको थियो । “दक्षिण भुटानमा मानिस र हात्तीवीचको द्वन्द्व बढ्दो छ । हात्तीले राती आएर वाली नास गर्दछ”, तान्डिन वाङ्दी भन्छन् । सायद बढ्दो जनसङ्ख्याले हात्तीहरूको वासस्थानमा अतिक्रमण भएर यसो भएको हुन सक्छ ।

खतरनाक जालहरू

अहिलेसम्म मानव वन्यजन्तु द्वन्द्वका कारण कति जनावर मारिए भन्ने तथ्याङ्क नभएको तान्डिन वाङ्दीले बताए । कसै कसैले परम्परागत जाल र खोरहरूको प्रयोग गरेर जनावरलाई धपाउन खोजे पनि यस्तो अभ्यास सबैतिर गरिँदैन। दगनाका जिल्ला कृषि अधिकृत डी सी भण्डारीले  आफूले त्यस्ता जालहरू नदेखेको बताए । त्यस्ता जालहरूको प्रयोग गैरकानुनी हो । तर मानिसहरूले देशका विभिन्न भूभागमा यस्तो जाल थाप्ने गरेको चर्चा हुने गरेको छ ।

गत महिना पश्चिमी जिल्ला पुनखामा विषालु तीर लागेर एउटा कुकुरको मृत्यु भएको उक्त जनावरको उपचार गर्ने कोसिस गरेकी पेमा जात्सो बताउँछिन् । यस्तो अभ्यासले जनावर मात्र नभएर मानिसलाई समेत हानि पुर्याएको छ । सन् २०१५ को जनवरीमा सिराङमा एक जना ४९ वर्षीय पुरुषलाई स्थानीय कृषकले थापेको जालमा परेर विषालु तीर लागेको थियो । त्यस्तै दगनाकी एक किशोरी वाली जोगाउन आफ्नै बुवाले थापेको जालमा परेकी थिइन् । त्यही वर्ष झेमाङ्ग जिल्लाका अर्का पुरुष विषालु तीर लागेर मरेका थिए ।

एक अर्का भेटेरिनरी डाक्टरका अनुसार तीर लागेपछि जनावर नबाँचोस् भनेर मानिसहरूले तीरलाई विषमा डुबाउने गरेका छन् । जङ्गली जनावरलाई लक्षित गरेर थापिएका परम्परागत जालमा घर पालुवा जनावर फसेका थुप्रै दृष्टान्त उनीसित छ । पुनखामा वाली जोगाउन थापिएको पासोमा फसेका ध्वाँसे चितुवा जस्तो दुर्लभ जनावर लगायतका जन्तुहरूलाई उद्धार गरेको वन अधिकारीहरू बताउँछन् ।

जालमा परेको दुर्लभ ध्वाँसे चितुवा (फोटोः छेन्छो छिरिङ, कृषि तथा वन मन्त्रालय)

के नियमहरूले जनावर मार्न प्रोत्साहित गरिरहेका छन् ?

जनावरहरूको जोखिम बढ्दै गएकाले मानिसहरूले प्रतिशोध साध्न जाल थाप्ने गरेको वरिष्ठ वन रक्षक फु छिरिङले बताए ।

तर कृषकहरूले वन विभागको स्वीकृती लिएर मात्रै जाल थाप्न पाउने उनले बताए । त्यस्तै कुनै जनावर मारिएमा अधिकारीहरूलाई सूचित पनि गर्नु पर्ने हुन्छ । यस्तो नियमले वन्यजन्तु मार्न प्रोत्साहन हुने त होइन भन्ने चिन्ता जागेको छ । तर स्वीकृती नलिई थापिएका पासोमा परेर जनावरहरू मारिएमा जरिमाना हुन्छ ।

त्यस्तै वन ऐनको अनुसूची १ मा सूचीकृत बाघ र चितुवा जस्ता जनावरहरूलाई मार्न पाइँदैन । सन् २०१७ मा जारी यो कानुनले अनुसूची १ मा सूचीकृत जनावरहरूलाई विशेष अनुमति प्राप्त गरेको वा मानिसको जीवन सङ्कटमा परेको अवस्थामा बाहेक सिकार गर्न, मार्न, विष खुवाउन, समात्न, ओसारपसार गर्न र घर पालुवा जनावरको रुपमा पाल्न पाइँदैन ।

त्यस्तै आत्मरक्षा गर्नुपर्ने वा निजी जग्गामा रहेको सम्पत्ति जोगाउनुपर्ने वा रोग नियन्त्रण गर्नु पर्ने अवस्था सृजना भएकोमा बाहेक यस्ता जनावरहरूलाई मार्न, जालमा पार्न, ओसारपसार गर्न वा पाल्न पाइँदैन । कानुनले यदि कसैले आफ्नो खेतको सुरक्षा गर्दा कुनै जनावर मरेमा उक्त व्यक्ति उपर कारबाही नहुने बताएको छ । यसरी मारिएका जनावरका पित्त, बिणा र प्वाँख जस्ता बहुमूल्य अङ्गहरू भने वन विभागलाई बुझाउनु पर्ने हुन्छ । यस्तो नीतिको समस्या के हुन्छ भने प्रमुख प्रजातिहरूको संरक्षण हुन्छ भने अरू जनावरहरू लोपोन्मुख हुँदै जान्छन् ।

विद्युतीय तार वारले दिएको समाधान

भुटानभर नै सस्तोमा पाइने विद्युतीय तार वारको प्रयोग गेरेर मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने प्रयास थालिएको छ । सन् २००९ र २०१७ का वीचमा देशभर करिब २,७७३ किमी विद्युतीय तार वार जडान गरिसकिएको छ । यस्ता तार वारहरूले हालको वर्षमा वन्यजन्तुद्वारा हुने आक्रमणहरूमा निकै कमी ल्याएको वाङ्देउफोद्राङ जिल्लाका सहायक प्रमुख कृषि अधिकृत धोदोले बताए । ‘बाह्रौँ योजनाको अन्त्य (सन् २०२३ सम्ममा) १५ वटै क्षेत्रमा विद्युतीय तारबार विस्तार गर्ने योजना छ,’ धोदोले बताए । उनका अनुसार वाङ्दूका पाँच क्षेत्रमा करिब आधि खेतहरूमा विद्युतीय तार वार जडान गरिसकिएको छ ।अरू क्षेत्रहरूमा करिब ७० प्रतिशत खेतहरूमा तार वार जडान गरि सकिएको छ ।

भुटान सरकारले बाँडेको विद्युतीय तारबार जडान गरेर वन्यजन्तुको समस्याको समाधान खोजिँदै छ । (फोटो दावा गेल्मो)

फोब्जिका र गङ्गटे जस्ता स्थानहरूमा आलु कृषकहरूले समेत विद्युतीय तार वार जडान गर्न थालेका छन् । यसो गरिनाले उनीहरू आफ्नो खेत कुरेर बसिरहनु परेको छैन । सरकारले सरसामान र प्राविधिक सहयोग उपलब्ध गराउँछ भने स्थानीयले काठका भाटा खोज्नु पर्ने हुन्छ । कृषकहरूले सरकारको कदमको स्वागत गरेपनि विद्युतीय तार वारले मात्र समस्याको दिगो समाधान नदिने तान्डिन वाङ्दी बताउँछन् ।

वाङ्दीले विश्व वन्यजन्तु कोष भुटानले अझ बढी समग्र रुपमा द्वन्द्व ’bout बुझ्ने पहलको थालनी गरेको बताए । यस्तो पहल अन्तर्गत मानिस, मानिसका सम्पत्ति र जनावरका वासस्थान सबै सुरक्षित राख्ने उपायको खोजी हुँदैछ । यसो भनिरहँदा परम्परागत जालहरू वन्यजन्तुको चोरी सिकारीका लागि प्रयोग भइरहको हुनसक्ने चेतावनी वन अधिकारीले दिएका छन् । केही महिना अघि मात्रै थिम्पु अगाडिको ठूलो बुद्द स्तूपा (बुद्ध पोइन्ट) नजिकै अधिकारीहरू ५० वटा पासो निष्क्रिय पारेका थिए । ‘म वन रक्षक भएर काम गरेको २० वर्षमा म र मेरो टोलीले करिब ३,००० पासोहरू निष्क्रिय पारेका छौँ’, फुब छिरिङले बताए ।

 

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.