सत्खिराको कुनै एक स्थानमा उभिएर हेरियो भने आँखाले देख्ने ठाउँसम्म माछा पोखरीहरू देखिन्छन् जहाँ नुनिलो पानीमा पाइने झिँगे माछाहरू पालिएका छन् । भारतसँगको सिमाना नजिकै रहेको दक्षिण पूर्वी बङ्गलादेशमा पर्ने सत्खिरा जिल्ला को ‘बाग्दा चिङ्ग्ररी’ स्रिम्प(एक प्रकारको झिँगे माछा) निकै लोकप्रिय छ र यसलाई संसार भर नै निर्यात गर्ने गरिएको छ ।

तर हालै आएर यहाँका किसानहरू झिँगे माछाको सट्टा हिले गङ्गटो (मड क्र्याब)पाल्न थालेका छन् । यसो गर्नुको एक मात्र कारण हो: चीन, ताइवान, सिङ्गापुर, मलेसिया, दक्षिण कोरिया र जापान जस्ता देशहरूमा रहेको हिले गङ्गटोको ठूलो बजार ।

स्थानीयवासी र गङ्गटो व्यापारीहरूका अनुसार धेरै जसो उत्पादन जापान निर्यात गरिन्छ जहाँ यसलाई विशेष खानाको रूपमा हेरिन्छ र यसको मूल्य पनि धेरै पर्छ । अचम्म लाग्दो कुरो के हो भने नरम छिल्का भएका यी गङ्गटाहरू प्राकृतिक रुपमा पनि बङ्गलादेशमा पाइन्छन् तर स्थानीयहरू खाँदैनन् ।

गाउँलेहरूका अनुसार हिले गङ्गटो पाल्न बनाइने २-३ फिट गहिरा पोखरीहरूमा गङ्गटा पाल्न सुरु गरेको केही वर्ष पछि अरू कुनै माछा पाल्ने नमिल्ने हुन्छ किन कि पानीमा नुनको मात्रा निकै बढेर जान्छ । अलि अलि नुन भएको पानीमा हुर्कने स्रिम्प (एक प्रकारको झिँगे माछा)लाई पनि यस्तो पोखरीमा पाल्न सकिन्न ।

सुन्दरवनको उत्तरी सीमा नजिकै रहेको तालबेरिया गाउँमा हिले गङ्गटो स्थानीय बासिन्दाहरूको रोजाइको उत्पादन बनेको छ । झिँगे माछा पाल्ने किसानहरू अहिले गङ्गटो उत्पादन गर्छन् किन की यसमा जोखिम कम छ । ‘मैले मेरो पोखरीमा झिँगे माछा पालेको थिएँ तर त्यसमा रोग लागेर सब सखाप भयो,’ तालबेरिया का निर्मल चन्द्र मण्डलले द थर्डपोल डटनेटलाई बताए ।

गाउँलेहरूका अनुसार गङ्गटो खेतीमा अरू माछा खेतीमा भन्दा लगानीको अनुपातमा धेरै नाफा कमाउन सकिन्छ । त्यसैले पनि उनीहरू गङ्गटो प्रति आकर्षित भएका हुन् । झिँगे माछा व्यापारी तथा दुई छोराकी आमा कल्पना गायेन पनि अहिले गङ्गटो खेतीमा लागेकी छिन् ।‘म अहिले गङ्गटो बेचेर प्रति वर्ष करिब ४०,००० टाका (८०० डलर) कमाउँछु । पहिले झिँगे माछा बेचेर कमाउने पैसाको दोब्बर म अहिले कमाउँछु,’ उनी भन्छिन् ।

नुनिलो जमिन

एक दशक अघिसम्म यहाँको अवस्था पुरै फरक थियो । तालबेरियाका अधिकांश कृषकले गाउँको मलिलो जमिनमा धान खेती गर्ने गर्थे । तर सन् २००९ मा सबै परिवर्तन भयो । ‘आलिया’ नामक समुद्री आँधिका कारण सामुद्रिक तटबन्धहरू भत्किए र नुनिलो पानी गाउँ भित्र पस्यो । त्यस पछि अधिकांश किसानहरू बङ्लादेशको सामुद्रिक तटमा बसोबास गर्नेहरूको अनुसरण गर्दै झिँगे माछाको खेती गर्न तिर लागे ।

सन् १९७० को दशक देखि नै बङ्गलादेशका तटीय इलाकाहरूमा झिँगे माछाको खेती गर्न सुरु गरिएको हो। झिँगे माछाले पाएको अन्तराष्ट्रिय बजारका कारण देशका कम विकसित क्षेत्रहरूमा बसोवास किसानहरूको जीवन स्तरमा निकै सुधार आएको छ ।

बङ्गलादेशको सिमाना भित्र करिब ७१० किमी लामो तटीय क्षेत्र पर्दछ जसमा करिब ५ लाख हेक्टर (५,००० वर्ग किमी) जमिन समथर ‘म्यानग्रोभ’ क्षेत्र भित्र पर्दछ । यस्तो भूभाग नुनिलो पानीमा हुर्किने माछा पालन गर्न प्रयोग गर्न सकिन्छ ।

बङ्गलादेशले सन् १९७१ मा स्वतन्त्रता प्राप्त गरेपछि द्रुत आर्थिक विकास हासिल गरे पनि यहाँका धेरै जनता अझै पनि गरिवीका कारण प्रताडित छन् । सन् २०१७ मा बङ्गलादेशको प्रति व्यक्ति आय १,५३२ डलर थियो । अन्तराष्ट्रिय मुद्रा कोषले १८६ देशहरूको प्रति व्यक्ति आयका आधारमा तयार पारेको सूचीमा बङ्गलादेशलाई १४८ औ स्थान प्रदान गरिएको थियो । बङ्गलादेश भन्दा निकै गुणा ठूलो छिमेकी भारतको प्रतिव्यक्ति आय सन् २०१७ मै १,८५२ डलर पुगेको थियो र उसले सूचीमा १४०औ स्थान प्राप्त गरेको थियो ।सानै पूँजीमा सुरु गर्न सकिने मत्स्यपालन व्यवसाय नै बङ्गलादेशको तटीय भूभागमा बस्ने किसानहरूका लागि जीविकोपार्जनको माध्यमको रुपमा हेर्ने गरिएको छ । बङ्गलादेश भित्रै पारम्परिक रूपमा माछाको ठूलै खपत हुने गरेको छ भने विदेशमा पनि यसको माग अधिक छ ।

सन् १९८० को दशक देखि सुन्दर वन (भारत र बङ्गलादेशको बीचमा रहेको संसारकै सबै भन्दा ठूलो तटीय वन) को आसपासका किसानहरूले व्यावसायिक रुपमा नुनिलो पानीमा फस्टाउने झिँगे माछाको खेती गर्न सुरु गरेका हुन् । सुन्दर वन क्षेत्रमा बसोवास गर्ने अधिकांश किसानहरू बङ्गलादेशका अरू भूभागमा बस्ने मानिसहरू भन्दा गरिब छन् ।उनीहरू नै जलवायु परिवर्तनका कारण उत्पन्न प्रकोपहरूबाट पिडित छन् । जलवायु परिवर्तनका कारण तटीय क्षेत्रको जमिन क्षयिकरण हुँदैछ, समुद्रको सतह बढ्दो छ र सामुद्रिक आँधिहरू झनै विनाशकारी हुँदैछन् ।

सीफूडको कमाई

स्रिम्प र गङ्गटाको व्यापार बङ्गलादेशका लागि विदेशी मुद्रा आर्जन गर्ने तेस्रो ठूलो माध्यम हो । बङ्गलादेशको अन्तराष्ट्रिय व्यापार घाटा ८.६२ अर्ब डलर पुगेको छ । सन् २०१२-१३ मा बङ्गलादेशले करिब ५० करोड ४४ लाख डलर (देशको कुल गार्हस्थ उत्पादनको करिब ४.४ प्रतिशत) बराबरको सीफूड निर्यात गरेको थियो । देशका करिब १० लाख जनता सीफूड व्यापारमा प्रत्यक्ष संलग्न छन् र थप ३० लाख ५० हजार त्यसमा आश्रित छन् ।

तर सजिलै पैसा कमाउने दौडमा किसानहरू दिगो रुपमा उत्पादन बढाउने विधि अपनाउनु भन्दा पनि तत्काल नतिजा देखिने प्रयोगहरू गर्न उद्धत देखिन्छन् । उनीहरू कहिले एन्टी बायोटिकको प्रयोग गर्छन् त कहिले पानीलाई थप नुनिलो बनाइदिन्छन् ।

सत्खिराबाट करिब १०० कि मी टाढा बगरहाट जिल्लामा पर्ने जयमणिगोला गाउँमा पनि कृषकहरूले हिले गङ्गटो उत्पादन गर्न सुरु गरेका छन् । जल वायु परिवर्तनका कारण समुद्री सतह बढ्दो छ र पानी गाउँ पस्ने सक्ने स्थानहरूमा उनीहरू गङ्गटो खेती गर्दै छन् ।जमिनमा नुनको मात्रा धेरै भएका कारण धान खेति असम्भव नै हुन पुगेको छ र यहाँका बासिन्दाहरूसँग मत्स्‍य पालन गर्नु बाहेकको विकल्प छैन ।उनीहरूको रोजाइको ‘माछा’ गङ्गटो बनेको छ । गङ्गटोमा धेरै रोगव्याधी देखिएको छैन र यहाँका मानिसलाई पनि सत्खिराका किसानहरू जस्तै के थाहा छ भने गङ्गटो खेतीमा लगानीको अनुपातमा नाफा धेरै छ ।

जयमणिगोलाका सुवोध चन्द्र गायेनाका लागि धानबाट झिँगे माछा र झिँगे माछाबाट गङ्गाटासम्मको रुपान्तरण स्पष्ट छ । ‘हाम्रो खेतमा धेरै समय नुनिलो पानी छिर्छ । माटो नुनिलो भइसके पछि त्यसमा धान लगाउनका लागि जमिनलाई कम्तीमा ३ वर्ष बाँझो छोड्नु पर्ने हुन्छ ताकी आकासबाट पर्ने पानीले सबै पखालियोस् । तर हामी जस्ता गरिबका लागि यो विकल्प बन्द छ,‘ उनले द थर्डपोल डटनेटलाई बताए ।‘झिँगे माछा खेती सम्भव त छ तर रोगब्याधीका कारण त्यसमा जोखिम धेरै छ।गङ्गटाहरूमा रोग कम लाग्छ अनि व्यापारीहरूले यसका लागि राम्रो मूल्य दिन्छन्।’

वैज्ञानिक तथ्यको आवश्यकता

दुइ छोरा र एक छोरीका बाबु गायेन भन्छन् गत वर्ष उनले गङ्गटो खेतीबाट करिव ३०,००० टाका कमाए । उनी भन्छ्न् धेरै नुन भएको पानीमा झिँगे माछा पालन गर्न सकिन्न तर गङ्गटो भने सकिन्छ ।

अधिक नुन भएको पानीमा झिँगे माछा पाल्न सकिन्न भन्ने कुराको वैज्ञानिक आधार देखिएको छैन । तर पनि सत्खिरा र बगरहाटका किसानहरू को यो विषयमा एउटै मत छ । ‘हामीले केही वर्ष झिँगे माछा पालन गरेपछि पानीमा नुनको मात्रा यति धेरै बढेर जान्छ कि पछि गङ्गटो मात्रै पाल्न सकिने हुन्छ,’ सत्खिराका चन्द्र मण्डल भन्छन् ।

स्रिम्प खेती गर्ने क्रममा उत्पन्न परिस्थितिको उपजका रुपमा हेरिएको छ गङ्गटोलाई । केही प्रजनन केन्द्रहरू स्थापना गरिए पनि गङ्गटो खेती अझै पनि प्राकृतिक स्रोतहरूमा निर्भर छ ।अन्तराष्ट्रिय बजारमा गङ्गटोको माग बढेसँगै सङ्कलकहरूको संख्या पनि ह्वात्त बढेको छ ।सन् २०१५ मा गरिएको एक अध्ययनका अनुसार, वयस्क अवस्था नपुगिसकेका गङ्गटाहरूको सङ्कलन गर्ने प्रवृत्तिका कारण प्ररकृतिमा पाइने वयस्क गङ्गटाहरूको संख्यामा कमी आएको छ ।प्राकृतिक स्रोतहरू जोखिममा रहेकाले बङ्गलादेशको गङ्गटो उद्योगलाई दिगो बनाइ राख्न स्रोतहरूको व्यवस्थापन र प्रजनन केन्द्रहरूको स्थापना जरुरी भएको छ ।

धेरै जसो अध्ययनहरू झिँगे माछा र गङ्गटा खेतीका आर्थिक सामाजिक मुद्दाहरूमा केन्द्रित हुने गरेका छन्, तर अहिलेको आवश्यकता भनेको झिँगे माछा र गङ्गटो खेतीले जमिनमा नुनको मात्रा बढेर जान्छ कि जाँदैन भनेर अनुसन्धान गर्नु हो, पावेल पार्थ भन्छन् । पार्थ बङ्गलादेश परम्परागत ज्ञानका लागि श्रोत केन्द्र (बङ्गलादेश रिसोर्स सेन्टर फर इन्डिजिनस नलेज) का विविधता, अन्तरनिर्भरता र बहुलवाद (डाइभर्सिटी, इन्टरडिपेन्डेन्सी एण्ड प्लुरलिजम) संयोजक हुन् । उनको संस्थाले स्थानीय समुदायसँग मिलेर परम्परागत ज्ञान र स्थानीय अभ्यासहरूलाई विकासका गतिविधिहरूसँग जोड्ने काम गर्दछ ।‘के कुरा चाहिँ निश्चित छ भने स्थानीय खेतीमा आएको परिवर्तनले यहाँको मान्ग्रोभ पारिस्थितिक प्रणालीमा असर परेको छ, ’ पार्थले द थर्डपोल डटनेट लाई बताए । ‘यस्तो असर कति मात्रामा परेको छ भन्ने कुराको लेखा जोखा गर्न चाहिँ एउटा सूक्ष्म वैज्ञानिक अध्ययन नै चाहिन्छ ।”

यदि बङ्गलादेशको सुन्दर वन क्षेत्रका गरिब समुदायहरूका लागि अर्को सुरक्षित व्यवसाय गर्ने मौका जुराउन सकिँदैन र गङ्गटका लागि जापानी भोक पुरा गर्नै नसक्ने गरि बढिरहन्छ भने गङ्गटा खेतीमा तत्काल ह्रास आउने कुनै कारण देखिँदैन ।विश्व व्यापारद्वारा निर्देशित माग र आपूर्तिले सञ्चालन हुने गङ्गटो खेती जस्तो व्यवसाय चलिरहँदा जोखिममा रहेको सुन्दर वनको पारिस्थितिक प्रणालीको दिगो व्यवस्थापन असम्भव जस्तै देखिन्छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.