जलवायु

पृथ्वी ‘टिपिङ पोइन्ट’ तर्फ उन्मुख रहेको वैज्ञानिकहरूको चेतावनी

जल वायु परिवर्तन हुन सुरु भइसकेको छ र स्थिति भयावह छ, स्टकहोम रेजिलियन्स सेन्टरका कार्यकारी निर्देशक योहान रोकस्त्रोमले भने
नेपाली
<p>PFC Raiquan Wade, of the South Carolina National Guard, clearing debris in Puerto Rico after Hurricane Maria [image by: The National Guard/SSG Mark Scovell]</p>

PFC Raiquan Wade, of the South Carolina National Guard, clearing debris in Puerto Rico after Hurricane Maria [image by: The National Guard/SSG Mark Scovell]

विश्वव्यापी रुपमा तापक्रम बढ्दै जाँदा पृथ्वी यस्ता ‘टिपिङ पोइन्टहरू’ को नजिक पुग्दैछ जहाँ मानव सुरक्षा गम्भीर खतरामा पर्नेछ, हालै सम्पन्न संयुक्त राष्ट्र संघ जलवायु परिवर्तन सम्मेलनका क्रममा वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।यो चेतावनी तीन वर्षसम्म स्थिर रहेको संसारभरको हरित गृह ग्यासको उत्सर्जन मात्रा अब बढ्ने देखिएको केही दिनमा जारी गरिएको हो ।

कार्बन कार्बनडाइअक्साइड जस्तो हरित गृह ग्यास (जीएचजी) को उत्सर्जनले पृथ्वीको वायुमण्डलको तापक्रम बढाउने गरेको छ र यसका कारण बाढी, पहिरो, खडेरी जस्ता प्रकोपलाई अझ भयावह बनाएको त छदै छ, समुद्रको सतह पनि बढाएको छ ।’हामीले सन्तोष मान्ने कुनै ठाउँ छैन । जलवायु परिवर्तन सुरु भइसकेको छ । यो खतरनाक छ र यसका असरहरू अझै बढ्दै जानेछन्,’ स्टकहोम रेजिलियन्स सेन्टरका कार्यकारी निर्देशक तथा वैज्ञानिकहरूको एक सञ्जाल अर्थ लिगका प्रमुख योहान रोकस्त्रोमले भने । ‘गएका दुई वर्षहरूमा थुप्रै प्रमाणहरू देखिएका छन् र जसको आधारमा के भन्न सकिन्छ भने हामी (पृथ्वी) यस्ता विन्दुहरू तर्फ अघि बढ्दै छौँ जहाँबाट पहिलेकै स्थानमा फर्किन सकिने छैन । ‘

उनले यी कुराहरू जर्मनीको बोन शहरमा आयोजित सम्मेलनको क्रममा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय महासन्धि (UNFCCC) की कार्यकारी सचिव प्याट्रीसिया एसपिनोसा र उपस्थित वार्ताकारहरूलाई दिएको ‘जल वायु परिवर्तनको विज्ञान बारे जान्नै पार्ने १० बुँदा’ विषयक वक्तव्यमा भनेका थिए ।’फ्युचर अर्थ’ र ‘अर्थ लिग’ ले प्रकाशन गरेको यो वक्तव्यमा भुगर्व विज्ञान र अर्थशास्त्र अनुसन्धानका क्षेत्रमा जलवायु परिवर्तन सम्बन्धी हालसालै पत्ता लागेका कुराहरूको सार प्रस्तुत गरिएको छ ।

यी हुन् जल वायु परिवर्तनको विज्ञान बारे जान्नै पार्ने १० बुँदा:

  • उपलब्ध प्रमाणहरू मध्येका अधिकांशले के देखाउँछन् भने यो ग्रह एउटा नयाँ भौगर्भिक युग (आन्थ्रोपोसिन) मा प्रवेश गरेको छ । मानव गतिविधिले पृथ्वीको जैविक, भौतिक र रासायनिक पाटाहरूमा पारेको प्रभावका कारण पृथ्वीका विभिन्न प्रणालीहरूमा पहिले भन्दा छिटो परिवर्तनहरू हुन थालेका छन् । पृथ्वीको जलवायु आदिम सभ्यता काल देखि नै स्थिर रहि आएको थियो तर यो अहिले जोखिममा छ ।
  • पृथ्वी गम्भीर ‘टिपिङ पोइन्ट्स’ का नजिक पुगेको छ । यस्ता विन्दुहरूलाई पार गरेपछि उत्तरी ध्रुव (आरक्टिक) र आमाजोन जङ्गल जस्ता पृथ्वीका विभिन्न भागहरूमा अनपेक्षित र सम्भवतः स्थायी परिवर्तनहरू देखिने छन् ।
  • आन्ध्र महासागरमा यो वर्ष आएको पुराना रेकर्डहरू तोड्ने आँधीले भविष्यमा यो ग्रहले सामना गर्नु पर्ने ठूला प्राकृतिक विपत्तिको बढ्दो जोखिम प्रति इंगित गरेको छ । बाढी, ताप लहर र खडेरी पनि आइ पर्न सक्ने मुख्य विपत्ति हुन् ।
  • समुद्रमा परिवर्तन तीव्र गतिमा भइरहेको छ र यसका कारण द्रुत गतिमा समुद्री सतह बढिरहेको छ । समुद्रको अम्लियपन पनि बढ्दो छ ।
  • जलवायु परिवर्तनको आर्थिक मूल्य हामीले चुकाउन थालिसकेका छौँ र संसारका सबैभन्दा गरिब देशहरूले यसको सबै भन्दा बढी भार वहन गरिरहेका छन् ।
  • जलवायु परिवर्तनले मानव स्वास्थ्यलाई पनि असर गर्नेछ । यसले देशहरूमा पानीको स्रोतमाथि दबाब सिर्जना गर्नेछ र खाद्य सुरक्षालाई चुनौती दिनेछ ।
  • जलवायु परिवर्तनले बसाई सराइ गर्ने मानिसहरूको संख्या बढाउने छ । यसले द्वन्द्व पनि बढाउने छ । सन् २०१५ (वि सं २०७१/७२) सालमा मात्रै १ करोड १९ लाख मानिस प्राकृतिक प्रकोप र अनपेक्षित रूपमा मौसममा आएको बदलावका कारण विस्थापित भएका थिए । जलवायु परिवर्तनले यो संख्यालाई अझै बढाउनेछ ।
  • हामीले चाँडै नै केही गर्नु पर्छ । यदि मानव जातिले अहिलेकै दरमा हरित गृह ग्यास उत्सर्जन गरिरहने हो भने तापक्रम वृद्धिलाई २ डिग्री भन्दा माथि जान नदिने प्रतिबद्धता पुरा गर्ने क्रममा उत्सर्जन हुन जाने ग्यासको ‘बजेट’ २० वर्षमै सकिने छ । उत्सर्जनको मात्रा २०२० बाट घट्नु पर्नेछ र २०५० सम्ममा लगभग शून्यमा झर्नु पर्नेछ । सबैले बुझ्ने तरिकाले भन्ने हो भने अब आउने हरेक दशकमा विश्व उत्सर्जनको मात्रा अघिल्लो दशको तुलनामा आधा हुनुपर्ने छ ।
  • जैविक इन्धन रहित समाज आर्थिक दृष्टिकोणले पनि आकर्षक छ । जैविक उर्जा स्रोतहरूको मूल्य इतिहासकै सबैभन्दा कम विन्दुमा पुग्दा पनि नविकरणीय उर्जाका स्रोतहरूले त्यसलाई राम्रै टक्कर दिएका छन् । यदि हामीले केही नगरि बस्ने हो भने जलवायु परिवर्तनका कारण विश्वको कुल ग्राहस्थ उत्पादनमा २-१० प्रतिशत ह्रास आउने अध्ययनहरूले देखाएका छन् । कुनै अध्ययनहरूले त २३ प्रतिशत सम्म ह्रास आउने प्रक्षेपण गरेका छन् ।
  • यदि संसारले पेरिस सहमतिले तोकेका लक्षहरू हासिल गर्यो भने पनि विश्व भरका समुदायहरूले पृथ्वीमा सुरू भइसकेको परिवर्तनको प्रक्रियासँग जुध्नु परिरहनेछ र अनुकूलनका उपाय अवलम्बन गरिरहनु पर्ने छ ।

चिन्तित वैज्ञानिकहरू

‘उत्सर्जनको मात्रा तीन वर्षसम्म स्थिर रहेर फेरि बढेको छ । यो मानवजातिकै लागि ठूलो धक्का हो,’ फ्यूचर अर्थकी कार्यकारी निर्देशक एमी लुएर्सले भनिन् । ‘पृथ्वीको क्षमतालाई यति परसम्म धकेल्नु ज्यादै चिन्ताको विषय हो । उत्सर्जन मात्रा अब छिट्टै उच्च विन्दुमा पुग्नु पर्छ र २०५० सम्ममा शून्य तर्फ उन्मुख हुनु पर्छ । भाग्यवश हामीसँग यो उर्जा संक्रमण काल व्यवस्थापन गर्ने साधन उपलब्ध छन् । तिनको सदुपयोग गरेर कार्बनको प्रयोग घटाउन सकिने मात्रै होइन, उर्जा सुरक्षा सुद्रिढ गर्न र मानव स्वास्थ्य र अर्थतन्त्रलाई सबलिकरण पनि गर्न सकिन्छ ।‘

अर्थ लिगका सदस्य तथा ‘पोष्टडाम इन्स्चिट्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च’का निर्देशक हान्स योआकिम सेल्नहुबरले भने, ‘दसौँ हजार मानिसहरू किन बोनमा भेला हुन्छन् भन्ने कुरा सबैलाई सम्झाइरहन जरुरी छ : विज्ञानले खुलासा गरे झै विश्व उष्णीकरणका कारण मानवजाति अभूतपूर्व जोखिममा छ ।’

We want to hear from you! Tell us what you think about The Third Pole and you could win $100. Take our survey here