गएको दशक चीनले ३०० गिगावाट क्षमता बराबरका जलविद्युत परियोजनाहरू निर्माण गर्यो । बाँध निर्माणमा यस्तो रफ्तार पहिले कहिल्यै देखिएको थिएन । चीनका धेरै शहरहरू अझै पनि कोइलाबाट उत्पादित विद्युत गृहहरूको कारण वायुप्रदुषणको चपेटामा परेकाले सौर्य, वायु, परमाणु वा जलविद्युत जस्ता स्वच्छ उर्जाको खोजीमा लागिहाल्नुपर्ने अवस्था आएको छ । विश्वमै चीन सबैभन्दा बढी जलविद्युत विकासको सम्भावना भएको देश हो र उसंग ५४० गिगावाटको सम्भाव्य जलविद्युत क्षमता छ ।

चीनका धेरैजसो जलविद्युत परियोजनाहरू देशको दक्षिण पश्चिमी क्षेत्रमा बनेका छन् । भिराला भूभागबीच साँघुरा खोँचमा प्रशस्त पानी बोकेर बग्ने नदीहरू जलविद्युत बाँध निर्माणको लागि निकै उपयुक्त छन् । साथै दक्षिणपूर्वी एशियाका खासगरि थाइल्याण्ड र भियतनामजस्ता देशमा विजुलीको माग धेरै बढ्ने अपेक्षा राखिएको छ । एशियाका मुख्य नदीहरू मेकङ्, साल्वीन, याङ्जी, ब्रम्हपूत्र  जस्ता नदीहरू तिब्बतमा उत्पत्ती भइ दक्षिण वा पूर्वतर्फ बग्छन् । जलविद्युत निर्माताहरू यी नदीहरू समुद्रमा मिसिइ शक्ति क्षीण हुनुभन्दा पहिले नै उर्जा उत्पादन गर्न चाहन्छन् ।

हुनपनि लगभग तीन दशकयता चीनको युनान प्रान्तलाई दक्षिणी चीन र यसका तल्लो तटीय छिमेकी राष्ट्रहरू – भियतनाम, लाओस, क्याम्बोडिया र थाइल्याण्डको ब्याट्री भनेर पनि चिनिन्छ । सन् २००० देखि २०१६सम्ममा युनानको जडित जलविद्युत क्षमता दश गुणा बढेर ६२ गिगावाट पुगेको छ । यो परिमाण लगभग सिङ्गै अमेरिका वा क्यानाडाको जति हो जसले जम्मा ७९ गिगावाट मात्र उत्पादन गर्छन् र भारत वा रुसको भन्दा पनि धेरै हो जसले जम्मा ४९ गिगावाट उत्पादन गर्छन् ।

तर कतै यो उत्पादन आवश्यक भन्दा धेरै त भएन? कमसेकम अल्पकालीन र मध्यकालीन समयमा जडित जलविद्युत क्षमता चीन र दक्षिणपूर्वी एशियाको हालको मागभन्दा अत्याधिक धेरै रहेको हाम्रो अध्ययनले देखाउँछ । त्यसोभए यस क्षेत्रमा जलविद्युत विकासमा किन निरन्तर जोड दिइन्छ त? र के जलविद्युतले प्रदुषणकारी कोइला उद्योगलाई विस्थापित गरेर प्रदुषण घटाउन सक्ला ?

जलविद्युत विकासमा युनान अगाडि

‘जलविद्युत ब्याट्री’ नाम दिन मिल्ने युनान बाहेक अरु पनि छन् । कैयौँ गिगावाट विजुली उत्पादन गरेर लाओस, म्यान्मार, भुटान र उत्तरपूर्वी भारतले पनि यस्तै नाम पाएका छन् ।

युनान र यसका तल्लो तटीय नदीहरूमा ९१ गिगावाट क्षमताको जलविद्युत उत्पादित गरिएको छ। यो अङ्क चीन र ब्राजिलको कूल उत्पादनभन्दा थोरै कम हो।

कहाँ कति जलविद्युत उत्पादन हुन्छ ?

युनान एक पर्वतीय प्रान्त हो । सन् १९९० देखि सन् २००० को दशकसम्म सडक र अन्य भौतिक पूर्वाधारमा भएको सुधारसँगै यहाँ धेरै जलविद्युत आयोजना बन्न थाले । त्यतिखेर भर्खरै नामाकरण भएको वृहत मेकङ् उपक्षेत्रमा माग बढ्ने अनुमानसँगै ‘युनानको विजुली निर्यात गरौँ’ जस्ता विद्युत उत्पादनलाई प्रोत्साहित गर्ने नीतिहरू विकास भए । खासगरि सन् १९९७ को एशियाली वित्तीय सङ्कटसँगै थाइल्याण्ड र भियतनाममा अपेक्षित माग बढ्न सकेन । तर चीनमा भने माग बढी नै रह्यो ।

चीनको पर्ल रिभर डेल्टामा रहेको उत्पादन केन्द्रलगायत दक्षिणी चीनमा सन् २००० को दशकको मध्यसम्म पनि उर्जा अभाव नै रह्यो । यसले गर्दा चीनको दक्षिण पश्चिमका पर्वतीय क्षेत्रहरूमा जलविद्युतहरू बनिरहे र विजुलीलाई पूर्वतर्फ लैजान लामो दूरीका प्रशारण लाइनहरू बने ।

युनानमा आफ्नो प्रान्तमा खपत हुने भन्दा अत्याधिक धेरै विजुली उत्पादन हुने गर्छ । बाँकी विजुली अन्य प्रान्त र दक्षिणपूर्वी एशियाका अन्य देशमा निर्यात हुन्छ । सन् २०१५मा युनानमा २६२ अर्ब युनिट विजुली उत्पादन भएकोमा आफ्नै प्रान्तभित्र १६७ अर्ब युनिट मात्र खपत भयो । बाँकीमध्ये धेरैजसो – ९३.५ अर्ब युनिट – गुआङ्डङ प्रान्तमा र थोरै – १.४ अर्ब युनिट – तल्लो तटमा रहेका दक्षिणपूर्वी एशियाली देशहरूमा निर्यात गरियो । यस अवधिमा युनान पावर ग्रीडले थप ९५ अर्ब युनिट विजुली उपलब्ध गराउनसक्ने जनाएको थियो तर यो खपत हुन सकेन । दक्षिणपूर्वी एशिया क्षेत्रभर कूल जलविद्युत उत्पादन १०५ अर्ब युनिट रहेकोमा युनानमा मात्रै ९५ अर्ब युनिट विजुली खेर गयो ।

विद्युत उत्पादन र खपतको तुलना  

हाल जलविद्युत प्रयोग’bout युनान प्रान्तमा आन्तरिक मतभेद देखिएको छ । ग्रीड सञ्चालकजस्ता कतिपय सरोकारवालाहरू अन्य देश वा प्रान्तमा उर्जा निर्यात गर्न चाहन्छन् भने विजुली धेरै प्रयोग गर्ने स्थानीय धातु खानी सञ्चालकहरू प्रान्तभित्रै सहुलियत दरमा विजुली दिइयोस् भन्ने चाहन्छन् ।

जलविद्युतको प्राथमिक प्रयोगहरू

क्षेत्रीय उर्जा परिवेश

यस क्षेत्रमा भैरहेको जलविद्युत विस्तारलाई देशहरूको समग्र उर्जा अवस्थाको परिवेशमा बुझ्नुपर्छ । भुटान र थाइल्याण्डबाहेक लगभग सबै देशमा सानातिना वायु, सौर्य उर्जा र जलविद्युतसँगै पारम्परिक कोइला विद्युतगृह पनि सञ्चालनमा छन् । भुटानमा थोरैमात्रै – १.६ गिगावाट – भएपनि जलविद्युत मात्रै छ । थाइल्याण्डमा भने सन् १९७० को दशक यता खासै कुनै जलविद्युत निर्माण भएका छैनन् ।

वृहत परिवेशमा हेर्दा थाइल्याण्ड, भियतनाम र चीनको युनान प्रान्त सबैको वार्षिक विद्युत माग लगभग बराबर – १६० अर्ब देखि १८० अर्ब युनिटसम्म – रहने गरेको छ । भियतनामको माग तीव्र गतिमा बढ्दै छ । अबको केही वर्षमै भियतनाम यस क्षेत्रकै सबैभन्दा धेरै विजुली खपत गर्ने मुलुक हुनेछ । भियतनाम र थाइल्याण्डको माग त समग्र औद्योगिक विकासको बलमा भएको छ तर युनानको विद्युत माग त्यहाँको फलाम बाहेकका अन्य धातु पगाल्ने खानीमा सस्तोमा विजुली उपयोग गर्ने कम्पनीहरूमा अडेको छ । तर यहाँ उत्पादित धातुबाट बन्ने सामान ज्यादै अनिश्चित बजारमा कारोबार हुन्छ । त्यसकारणले पनि यस्तो लगानी जोखिमपूर्ण बनिदिन्छ । त्यसमाथि युनान कुनामा रहेको भूपरिवेष्टित क्षेत्र हो जसले गर्दा त्यहाँको उत्पादन खर्च यातायातका कारणले पनि बढाइदिन्छ ।
अध्ययन क्षेत्रको नक्शा र जलविद्युतको अवस्थिति

चीनमा आर्थिक विकास सुस्त हुँदै जाँदा र चिनिया अर्थतन्त्र सेवाक्षेत्रतर्फ ढल्किँदै जाँदा विजुलीको माग बढ्ने क्रम क्रमशः घट्दै जानेछ । युनानमा त माग वृद्धि झनै ढिलो हुनसक्छ । ’cause यहाँको  विद्युत माघ–सघन उद्योगमा निर्भर छ । यहाँका विद्युत योजनाकारहरूले प्रान्तको निर्यात क्षमतालाई झन् बलियो बनाउन पहल गर्न अनुरोध गर्दै  आएका छन् । अहिले नै पनि विश्व–स्तरको अति उच्च भोल्टका डाइरेक्ट करेण्ट प्रशारण लाइनहरू युनानका स्थानीय ग्रीडहरूलाई छिचोल्दै गुआङ्डोङ् जोडिन थालिसकेका छन् ।

लामो समयदेखि चर्चामा रहेको तर काम अघि नबढेको नु (सालवीन) नदीमा निर्माण गरिने परियोजनाहरूलाई पनि गुआङ्डोङ् तथा पर्ल रिभर डेल्टा उर्जाधारको अंशको रुपमा हेरिनुपर्छ यद्यपि सुरुमा योजना बनाइएका १३ बाँधहरूमध्ये चारओटाको काम चाहिँ अर्को पञ्चवर्षीय योजना नभइ सुरु नहोला जस्तो छ । तर गुआङ्डोङमा सन् २०१८ सम्ममा परमाणु उर्जाको क्षमता ६.३ गिगावाटबाट बढेर १६.३ गिगावाट पुगेपछि युनानको जलविद्युतप्रतिको आकर्षण घट्ने सम्भावना छ । २००० किलोमिटर परबाट आउने जलविद्युत भन्दा उत्पादन तलमाथि नहुने परमाणु उर्जा बढि भरपर्दो मानिन्छ ।

तल्लो तटीय क्षेत्रमा थप बाँध निर्माण

युनानले गुआङ्डोङमा गर्ने निर्यातको तुलनामा दक्षिणपूर्वी एशियामा गर्ने निर्यात न्यूनतम नै रहनेछ । त्यस्तै ती देशहरू आफैँले पनि आन्तरिक खपत र निर्यातको लागि जलविद्युत परियोजनाहरू निर्माण गर्दैछन् । कतिपय त चिनिया कम्पनीकै लगानीमा छन् ।

एकातिर पूर्वोत्तर भारतमा बन्दै गरेका ठुलठुला जलविद्युत योजनाहरू त्यहाँबाट उत्पादित विद्युत पश्चिम भारतमा लान नेपाल , बङ्गलादेश र भुटानबीचको सानो घाँटी हुँदै प्रशारण लाइन निर्माण गर्नुपर्ने चुनौतीको कारण स्थगित रहँदै आएका छन् भने सिनोहाइड्रो र हुआनेङ जस्ता चिनिया उर्जा कम्पनीहरूले भुटान, म्यान्मार र लाओसको सम्भावित जलविद्युत परियोजनाहरूमा रुची देखाएका छन् । पूर्वोत्तर भारतदेखि दक्षिणपश्चिम चीनसम्म फैलिएको यस क्षेत्रको जलउर्जा संशाधन जति विपूल छ त्यति नै जटिल छ क्षेत्रीय भूराजनीति, बाँधको स्वामित्त्व नमूना र विद्युत निर्यात शुल्क ।

अब प्रश्न आउँछ, यदि क्षमताभन्दा बढि उत्पादन भैरहेछ र पूनर्नवीकरणीय उर्जाको उत्पादन पनि माग नभएकाले पूर्ण उपयोग गर्न सकिएको छैन वा कतै ग्रीडमा जोडिएको छैन भने युनान र वरिपरिका क्षेत्रहरूमा ठुला जलविद्युत परियोजना निर्माणमा किन निरन्तरता दिने त ? योजनाकारहरू जसरी यहाँ उर्जा उत्पादन गरेर गुआङ्डोङ निर्यात गर्न उत्सुक छन् त्यति नै उत्सुक छ आफ्नो योजना तर्जूमाको विज्ञता पूरै निर्यात गर्न समग्र चीन । आशियान राष्ट्रहरूलाई जोड्ने क्षेत्रीय प्रशारण लाइनले विभिन्न देशका सीमाबीच विद्युत प्रशारण सहजिकरण गर्दछ । यद्यपि त्यस्तो प्रशारणको लागि वित्तीय प्रबन्ध भने पक्कै जटिल हुनेछ । जलविद्युतको उत्पादन तत्काल घटबढ गर्न सकिने भएकाले यसले नविकरणीय स्रोतमा जोडिएका विद्युत ग्रीडमा आउने उतारचढावलाई सन्तुलन गर्न पनि सघाउँछ ।

कोइलाको विकल्प

अर्को सवाल के हो भने, जलविद्युतले कोइलाजस्ता प्रदुषणकारी विकल्पहरूलाई विस्थापित गर्ला कि नगर्ला ? यो विषय झन् जटिल छ । उर्जा उत्पादन गर्ने सबै प्रविधिको ‘क्यापासिटी फ्याक्टर’ हुन्छ जुन भनेको कुनै निश्चित अवधिमा उत्पादन गरिएको उर्जाको वास्तविक परिमाण र सोही अवधिमा उत्पादन गर्न सकिने उर्जाको अधिकतम परिमाणको अनुपात हो ।

मर्मत सम्भार, नियन्त्रण, मागमा उतारचढाव, अप्रत्याशित रुपमा बन्द हुने जस्ता कारणले कुनै पनि विद्युतगृहको वास्तविक ‍औसत उत्पादन अधिकतम उत्पादन क्षमताभन्दा कम नै हुन्छ । तर प्रविधि अनुसार कुनैले धेरै उत्पादन गर्न सक्छन् भने कुनैले कम । थर्मल प्लाण्टको क्यापासिटी फ्याक्टर ९० प्रतिशतसम्म हुन्छ भने जलविद्युतको ४० देखि ५० प्रतिशत मात्रै हुन्छ ’cause नदी र यसमा बाँधिने बाँधको विभिन्न प्रयोजन हुन्छ जस्तै जलविद्युत, बाढी नियन्त्रण, पर्यावरणीय आवश्यकता, यातायात आदि ।

कुनै पनि विद्युत ग्रीडमा आवश्यक उतारचढाव विनाको स्थीर न्युनतम बेस लोड कायम गर्न थर्मल प्लाण्ट उपयुक्त हुन्छ भने पूनर्नविकरणीय उर्जा उत्पादनको उतारचढाव लगायत मागको अन्य उतारचढावलाई सन्तुलन गर्न जलविद्युतले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

चीन र अन्यत्रका नेताहरूले प्रदुषणकारी उर्जा स्रोतको विकल्प खोज्दै गर्दा जलविद्युतको भूमिका नबढी रहन सक्दैन । त्यसैले युनानले उत्पादन गरिरहेको धेरै विजुलीलाई संवेदनशील क्षेत्रमा प्राकृतिक दोहन गरेको रुपमा पनि बुझ्न सकिन्छ वा कार्बन कम गर्ने न्युन प्रदुषणकारी उर्जा स्रोतको रुपमा पनि ।

त्यसैले अहिले र आगामी दिनमा सोच्नुपर्ने महत्त्वमूर्ण प्रश्न के हो भने कमजोर तरिकाले कार्यन्वयन गरिएका परियोजनाहरूले पार्ने सामाजिक आर्थिक, जैविक भौतिक तथा भूराजनीतिक असरहरूलाई सरकार र उर्जा उत्पादक कम्पनीहरूले कति गम्भिरतापूर्वक लेलान् ? साना हुन् कि ठुला सबै बाँधले मानिसहरू विस्थापित गर्छन्, पारिस्थिकीय प्रणाली विथोल्छन्, पाँगो माटोको वहाव रोक्छन्, तल्लो तटीय क्षेत्रमा भूक्षय बढाउँछन्, जलप्रवाहमा परिवर्तन ल्याउँछन् र अन्य थुप्रै समस्या निम्त्याउँछन् । संवेदनशील सघन साँस्कृतिक र जैविक विविधतायुक्त क्षेत्रमा कम उपयोग गर्ने तर धेरै बाँध बनाउने गर्नाले असर त झन् नराम्रो पार्छ नै ।

ड्यारीन म्यागी होबर्ट तथा विलियम स्मिथ कलेजका वातावरण संकायका सह प्राध्यापक हुन् भने थोमस हेन्निग मार्वर्ग विश्वविद्यालय (जर्मनी) को भूगोल संकायका शोधकर्ता हुन् ।

0 comments

  1. Hu Gadarn |

    Great article, thank you. Would have been nice to have also seen some analysis of the lessons learned from past projects in neighbouring provinces, e.g. Sichuan.

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.