सान्घाइको एक कार्यालयमा काम गर्ने ड्राङ् लिड्रीलाई कुकुर प्यारो लाग्छ । तर गत अगष्ट महिनामा तिब्बती पठारको उत्तरीपश्चिमी प्रान्त चिङ्घाइमा रहेको युशुमा दुई कुकुरसँगको जम्काभेट उनको लागि अविस्मरणीय तर डरलाग्दो सम्झना बनेर बसेको छ । “अझैसम्म पनि दुवै खुट्टाभरि घावै घाउ छन्,” जनवरी महिनामा ड्राङ्ले निउज चाइनालाई भनिन् ।

सो क्षेत्रमा पर्यटकको रुपमा घुम्न गएकी ड्राङ त्यस दिन युशुको बाहिरी क्षेत्रमा अवस्थित स्थानीय जिगु बौद्ध गुम्बा घुम्न गएकी थिइन् । अचानक भुस्याहा कुकुरले आक्रमण गर्यो । “मेरो सात्तो गयो । तत्काल अर्को कुकुर पनि आयो र दुवै मिलेर मलाई आक्रमण गर्न थाले,” ड्राङ्ले सम्झिइन् । “घाउहरुमा बार्हभन्दा बढि टाँका लाउनुपर्यो । ”

विरासत/पृष्ठभूमी

चीनको पश्चिमी क्षेत्रका विशाल हिमाली मैदानहरूमा बस्ने तिब्बतीहरू आफ्ना कुकुरहरूसँग निकै नजिक हुन्छन् । यीनै मैदानमा भेडा हेर्ने भोटे कुकुरहरूलाई यहाँका यायावर परिवारहरूले लामो समयदेखि कुनै सम्भाव्य आक्रमणको विरुद्ध बफादार पहरेदारको रुपमा पाल्दै आएका छन् । झण्डै ३० धार्नीसम्म तौल हुने यी भिमकाय कुकुरहरू तिब्बतीहरूका साथी हुन् ।

This is one scary big dog! His fur is this way as it's shedding through adolescence, or that's what his owner told us..

तिब्बती पठारमा भोटे कुकुर

तिब्बती लोककथन अनुसार तिब्बती क्षेत्रको मुख्य खाद्यान्न – हिमाली जौ –को विउ भोटे कुकुरले नै ल्याएको हो । आजसम्म पनि कृतज्ञता व्यक्त गर्न तिब्बती नयाँ वर्ष ल्होसार मनाउँदा यायावर तिब्बतीहरूले आफ्नो घरको कुकुरलाई एक बटुको जान्बा (जौको सातु) खुवाउने गर्छन् ।

“रितीरिवाज अनुसार हामी कुकुरलाई घरको महत्त्वपूर्ण सदस्य मान्छौँ । पैसाको लागि हामी आफ्नो कुकुर कहिल्यै अरुलाई बेच्दैनौँ । हाम्रो सनातन सँस्कारमा कुकुर बेच्न मिल्दैन,” युशुका स्थानीय ताशी गोङ्बाओले भने । “तर इशाको नब्बेको दशकतिर चीनभरि भोटे कुकुर मोहको लहर चल्न थालेपछि अवस्था पूरै बदलियो ।”

ताशी गोङ्बाओ चीनभरि फैलिएको भोटे कुकुरको मोहप्रति इङ्गित गर्दैथिए । जसले गर्दा खासगरि युशु क्षेत्रसहित तिब्बती क्षेत्रभर भोटे कुकुर पाल्ने र बेच्ने चलन बढेको थियो । यो उत्साह सन् २०१० सम्म रह्यो । यसको उचाइताका कोइला व्यापारी लगायतका चिनिया नवधनाढ्यको बढ्दो मागले गर्दा कतिपय असली जातका भोटे कुकुरहरू अमेरिकी डलर २०००००( नेरु दुई करोड)सम्ममा विक्री भयो । तिब्बत भित्र र तिब्बत बाहिर धेरै मानिसले व्यापारको लागि मात्रै पनि कुकुर पाले ।

सन् २०१० मा युशुको भ्रमण गर्दा मैले युशुको मुख्य बजार क्षेत्रका विभिन्न भागमा खोरमा थुनिएका भोटे कुकुर देखेको थिएँ । त्यतिखेर स्थानीयहरूले मलाई भोटे कुकुरको औसत मूल्य नेपाली रुपैँया ३० लाखसम्म पुगेको बताएका थिए । सन् २००५ तिर युशुका कुकुर व्यवसायीहरूले कुकुरलाई अझै ठुलो र बलियो बनाउन चिजको झोल र औषधी खुवाउन थालेको सान्लियान लाइफवीक पत्रिकामा सन् २०१६को जुन महिनामा प्रकाशित रिपोर्टमा उल्लेख छ । केही व्यवसायीहरूले त कुकुरलाई झन् शक्तिशाली देखाउन कुकुरको स्वास्थ्यलाई ज्यादै हानी पुर्याउँदै सिलिकन वा पानी पम्प गर्न थाले ।

तर, सन् २०१२ देखि अन्य लहडमा चल्ने बजारजस्तै, तिब्बती भोटे कुकुरको बजारलाई पनि आर्थिक मन्दी र राष्ट्रव्यापी भ्रष्टाचार विरोधी अभियानले नराम्ररी हान्यो । सन् २०१३ मा मूल्य ह्वात्तै झरेर यसको बजार पानीको फोका जसरी फुट्यो । सन् २०१५को सुरुतिर “एउटाको नेरु ५०० को दरले,” झण्डै बीसओटा भोटे कुकुरलाई “तातो पानीमा हालेर हिउँदको लागि पञ्जा बनाउने छाला निकाल्न” पूर्वोत्तर चीनको एक वधशालामा लगिँदै गरिएको रिपोर्ट न्यु योर्क टाइम्स्म पत्रिकामा  छापियो ।एकातिर फैलिँदै गएको बजार एक्कासी धराशायी बन्यो अर्कोतिर यायावर परिवारहरू पनि बजारतिर घर बनाएर बस्न थालेपछि भोटे कुकुरको माग घट्दै गयो ।

“सन् २०१० अघिसम्म लगभग हरेक परिवारले भोटे कुकुरलाई खुवाउन र पाल्न धेरै पैसा खर्च गरिरहेको थियो । केही सिमित मानिसहरू सफल भए तर धेरै जसो झन् गरिब भए” ताशी गोङ्बाओले व्याख्या गरे । “जब कुकुर पालकहरूले असली तिब्बती भोटे कुकुरलाई अन्य जातसँग वर्णशङ्कर गर्न थाले असल जातको अवमूल्यन भयो र किन्न खोज्ने सम्भाव्य ग्राहक भड्किए ।”

ताशी गोङ्बाओले भने, भोटे कुकुरमा हुने उच्चकोटीको बफादारी खच्चडहरूमा पाइएन । कतिपयले त आफ्नै मालिकलाई आक्रमण गर्न थाले । यसले यो जातको प्रतिष्ठामा ठुलो आँच आयो । कतिपय मालिक र व्यवसायीहरूले कुकुरलाई छाडा छोड्न थाले जसले गर्दा भुस्याहा कुकुरको सङ्ख्या निकै बढ्यो ।

ग्राहक कम भएपछि व्यवसायीहरूले पनि यो पेशा छाड्न थाले । चिङ्घाइ भोटे कुकुर संघका अध्यक्ष ड्राउ यीले सन् २०१५ को सुरुतिर सिन्ह्वा समाचार सँस्थालाई भने, तिब्बतका एक तिहाइ व्यावसायीले व्यवसाय छोडे र चिङ्घाइमा भोटे कुकुरको वार्षिक व्यापार नेरु ३ अर्बबाट ७० करोडमा झर्यो । सरकारले कुनै पहल नगरेकाले छाडा छोडिएका कुकुरहरूको सङ्ख्या ह्वात्तै बढेको छ जसले गर्दा मानिसहरूमाथि आक्रमण पनि थुप्रै हुने गरेको छ ।

बौद्धमार्गीहरूको प्रयास

एक आन्तरिक स्रोतका अनुसार, युशुका विभिन्न क्षेत्रका स्थानीय सरकारहरूले यो समस्या समाधान गर्न कुकुरहरूको सामूहिक हत्या गर्न प्रयास गरेका छन् । तर स्थानीय तिब्बतीहरू बौद्धधर्मावलम्बी हुन् जसले अहिंसाको पाठ सिकाउँछ । त्यसैले कुकुरको सामूहिक हत्या प्रयासको विरोध भयो ।

कुकुरहरूलाई हत्याबाट बचाउन केही स्थानीय गाउँलेहरूले भुस्याहा कुकुरहरूको लागि आश्रयस्थल बनाउन थाले । नान्चियआङ् काउण्टीमा पर्ने एक गाउँ, माओड्रुआङ् मा स्थानीय गुम्बा र गाउँ परिषदको संयुक्त लगानीमा १०० रोपनीभन्दा धेरै क्षेत्रफलमा एक आश्रयस्थल बनाइयो ।

सन् २०१६को अगष्ट महिनाको अन्त्यतिर त्यहाँ भ्रमण गर्दा गाउँसम्म जाने सडकको छेउमा यो संवाददाताले १००० भन्दा बढि भुष्याहा कुकुर अटाउने त्यो आश्रयस्थल देखेको थियो ।

स्थानीय गाउँले काइरेन योङ्जाङ्ले भने, त्यो आश्रयस्थल बनाउनुभन्दा पहिले जताततै भुस्याहा कुकुर भेटिन्थ्यो र बालबालिका र वृद्धवृद्धा एक्लै बाहिर जान डराउँथे । कुकुरको दिशा र पिशाबले गाउँ नै गनाउँथ्यो र स्वास्थ्यमा पनि जोखिम हुन्थ्यो । स्थानीयहरू भुस्याहा कुकुरहले टोक्ला कि भन्ने डरमा बाँच्थे । “धेरै मालिकहरूले त आफ्ना कुकुर माओड्रुआङमा रहेको सुमङ् गुम्बाका भिक्षुहरूले पाल्लान् भनेर त्यहीँ छाडेर जाने गर्न थाले,” काइरेनले भने । “त्यसपछि गुम्बाले यस गम्भिर विषयको स्थायी समाधान निकाल्ने निर्णय गर्यो ।”

सन् २०१६को सुरुतिर सुमाङ गुम्बाले भुस्याहा कुकुरको लागि आश्रयस्थल बनाउन सरकारले दिएको नेरु ३० लाख सहित नेरु ६० लाख उठायो । माओड्रुआङ्का प्रत्येक परिवारलाई कुकुरहरूलाई समातेर आश्रयस्थलमा लगी सहयोग गर्न आग्रह गरियो ।

“हामीले बार लगायौँ र तीनओटा कुकुरका खोर, डाडाँबाट पानी ल्याउने पाइपलाइन लगायतका पूर्वाधार निर्माण गर्यौँ ,” गुम्बाको हेरालु ताशीले भने । माओड्रुआङमै जन्मिएका सतचालीस वर्षीय भिक्षु ताशीका (पहिले उल्लेख गरिएको ताशी गोङ्बाओभन्दा फरक व्यक्ति) अनुसार गुम्बाले कुकुरलाई आश्रयस्थलमा ल्याउन गाउँलेलाई तीन दिनको समय दिएको थियो । “त्यसपछि नयाँ आउने कुकुरहरूलाई सामूहिक आक्रमण नहोस् भन्नाका लागि हामीले नयाँ कुकुर ल्याउन बन्देज लगायौँ ,” उनले प्रष्ट्याए ।

त्यसपछि गुम्बाले कुकुर्नीहरूलाई बन्ध्याकरण गर्नको लागि एकजना पशु चिकित्सक र कुकुरहरूलाई खाना पकाउनको लागि दुई गाउँलेहरूलाई नियुक्त गर्यो । ती कुकुरहरूलाई दिइने मुख्य खाना जौको मिश्रण हो साथै छेउछाउका गाउँलेहरूको बचेको खाना पनि दिइन्छ । माओड्रुआङ् भरिमा ६०० घरपरिवार छन् र गाउँलेहरूले कुकुरलाई खुवाउनको लागि गुम्बालाई बेला बेला जौ, चाउमिन र दही दिने गर्छन् । ताशीका अनुसार आश्रयस्थलको सञ्चालन र कुकुरको हेरचाहको दैनिक खर्च ठुलो छ, कम्तीमा नेरु १५००० ।

हालसालै १०००० किलो पीठो दिनेबाहेक युशु सरकारबाट कुनै थप आर्थिक सहयोग भएको छैन । ताशीका अनुसार, चिङ्घाइमा आधारित एक गैसस गाङ्ग्री निचोग रिसर्च एण्ड कन्जर्भेशन सेन्टरले सन् २०१६ मा धेरैजनाबाट चन्दा उठाएर गुम्बालाई नेरु १५ लाख सहयोग गर्यो । यसभन्दा बाहेक “यी लगभग १००० कुकुरको हेरविचार गर्दाको मुख्य आर्थिक भार सबै गुम्बालाई परेको छ,” माओड्रुआङ्का एक गाउँले योङ् चिआङ्ले भने ।

दिगोपनाको चिन्ता

माओड्रुआङमा भुस्याहाहरूलाई आश्रयस्थलमा राख्नुपर्ने अवस्था आकस्मिक थियो । युशुको मुख्य बजार क्षेत्रमा सरकारी कुकुर आश्रयस्थल बनाइएको छ भनिए पनि यसको पुष्टी हुनसकेको छैन । पर्यटनमा नकारात्मक असर नपरोस् भन्नाका लागि युशु सरकार यो मुद्दालाई जानाजान गुपचुप राख्न चाहन्छ, नाम बताउन नचाहने स्रोतले भने ।

तर यो लामो जाँदैन भन्ने कुरा माओड्रुआङ्का गाउँले र भिक्षुहरूलाई थाहा छ । पहिलो समस्या त दानाको कमी हो । त्यसैगरि कुकुरहरूको बाझाबाझ अर्को समस्या हो । त्यसैगरि ढिलोचाँडो सानो ठाउँमा कोचिएर राखिएका धेरै कुकुर भएपछि रोग त फैलिहाल्छ ।

“मलाई कुकुरको माया लाग्छ र अक्सर भुस्याहाको दया लाग्छ । तर अब त कुकुरहरूले सामूहिक रुपमा खासगरि बच्चाहरूलाई आक्रमण गर्न सक्ने भएकाले अवस्था खतरनाक भैसकेको छ,” कुकुर टोकाइको पीडा खेपेकी ड्राङ् लिड्रीले भनिन् । “चिङ्घाइमा रहेको भुस्याहा कुकुरको गम्भीर समस्याको व्यवस्थापन गर्ने जिम्मा सरकारको हो ।”

IMG_5414

माओड्रुआङमा बारभित्र कुकुर (तस्वीरः वाङ यान)

चीनको केन्द्रीय सरकारले माओड्रुआङ् रहेको तिब्बती पठारको सान्जिङ्युआन (तीन नदीको स्रोत) क्षेत्रको आरक्षणमा गत दशकहरूमा अर्बौँ रकम खर्च गरिसकेको छ । यद्यपि सो रकम पर्यावरण र स्थानीय जनताको जीवन सुधारमा प्रभावकारी रुपले प्रयोग भएको छ कि छैन भन्ने कुरामा वुद्धिजीवीहरू विभाजित छन् । यसको सानो अंशमात्र पनि भुस्याहा कुकुरको चिकित्सा सहितको स्थायी घर निर्माणमा खर्च गर्ने हो भने अवस्था तत्काल सुध्रिन्छ ।

अहिले हिउँदमा माओड्रुआङमा तापक्रम माइनस २० डिग्री पुगेको बेला कुकुरहरूलाई अझै अप्ठ्यारो अवस्था हुन्छ । “कुकुरलाई माया गर्नेहरूले केही कुकुरलाई लगेर घरमा पाल्लान् भन्ने आशा छ । हामी उहाँहरूको करुणा र सहयोग प्रति कृतज्ञ हुनेछौँ,” भिक्षु ताशीले भने ।

वाङ यान निउज् चाइना पत्रिकाका संवाददाता/सम्पादक हुन् ।

2 comments

  1. Hello !

    Thank you for posting this interesting article.
    I would love to volunteer in the dog shelter in Yushu.
    If anyone reads this, please let me know if you have any information about volunteering work there.

    Thank you

  2. Richard Hyer |

    why would these dog be abandoned? These dogs are known to be quite clever but they can also be stubborn at times. Proper training, especially while they are still pups, will allow them to be more docile to commands so why abandon such lovely breed. This bread can make a family happy, from the details i got check it out here

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.