तिहारको उत्सवपछि कार्तिक मङ्सीरको समयमा भारतको राजधानी दिल्ली वायु प्रदुषणको कारणले विश्वभरका संचारमाध्यममा छाउने गर्छ । त्यसपछि यो क्रम हिउँदभरि नै चल्छ । समाचारमा दिल्लीको मात्रै नाम आउने गरेतापनि भारतका साना सहरहरुमा प्रदुषणको समस्या झन् जटिल छ । विज्ञहरुका अनुसार गङ्गाको फाँटमा रहेका उत्तर भारतीय सहरहरुको स्थिति भयावह छ ।

सेन्टर फर इन्भाइरन्मेन्ट एण्ड एनर्जी डिभेलप्मेन्ट (सिइइडि), इण्डियास्पेण्ड र केअरफरएअरले जारी गरेको बनारस चोक्स् शिर्षकको प्रतिवेदनले गङ्गा नदी घाँटीको सबैभन्दा ठुलो प्रदेश, उत्तर प्रदेश, का अति प्रदुषित सहरहरुको वायुको गुणस्तरसम्बन्धी तथ्याङ्कको विश्लेषण गर्यो । खासगरि यसले पवित्र सहर बनारसको प्रदुषणको डरलाग्दो अवस्थाको चित्रण गरेको छ ।

केन्द्रीय प्रदुषण नियन्त्रण बोर्ड (सिपिसिबि) ले जारी गरेको तथ्याङ्क अनुसार गङ्गा नदीको तटमा अवस्थित बनारस देशकै सबैभन्दा प्रदुषित स्थानमध्येको एक भएको छ । वायुको गुणस्तर मापन गरिएको २२७ दिनमध्ये एक दिन पनि वायुको गुणस्तर राम्रो नभएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरि अलाहवादमा पनि गएको वर्ष वायुको गुणस्तर मापन गरिएका २६३ दिनमध्ये एक दिन पनि वायुको गुणस्तर राम्रो थिएन । प्रदेश राजधानी लखनउमा विभिन्न वर्षहरुमा मापन गरिएका ५५६ दिनमध्ये १५ दिन मात्र वायुको गुणस्तर राम्रो थियो । दिल्ली छेउको गाजियावादमा १२७ दिनमा केवल पाँच दिन वायुको गुणस्तर राम्रो थियो ।

विश्व स्वास्थ्य सङ्गठनको सबैभन्दा प्रदुषित सहरको सूचीमा परेका २० सहरहरूमध्ये १० ओटा भारतका छन् । त्यसमध्ये छ सहर उत्तरी भारतमा पर्छन् र चारओटा उत्तर प्रदेशमा जुन यस प्रकार छन् : अलाहवाद, कानपुर, फिरोजावाद र लखनउ । सिपिसिबि बुलेटिन २०१५ का अनुसार, प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र र स्मार्ट सिटी भनेर नामाकरण गरिएको बनारस भारतको तीन अत्याधिक प्रदुषित सहरहरुमध्ये पर्दछ ।

गङ्गाको फाँट अत्यन्त उर्वर र मलिलो छ । बीस करोडभन्दा धेरै मानिस यसमा निर्भर छन् । उत्तर प्रदेशमा औद्योगिक र कृषि गतिविधि बाक्लै हुने गर्छन् । यस राज्यका मुख्य औद्योगिक केन्द्रहरू गाजियावाददेखि सोनभद्रासम्म फैलिएका छन् । भारतभरका कोइलाबाट सञ्चालित विद्युत गृहमध्ये दस प्रतिशत यही क्षेत्रमा गङ्गा नदीको आसपास रहेका छन् ।

इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (IIT) दिल्लीले २०१२ मा जारी गरेको वायुकण उत्सर्जनसम्बन्धी प्रतिवेदन अनुसार, गङ्गा नदी घाँटीको आकाशमा नाइट्रोजन र सल्फर अक्साइडहरूको मात्रा अत्यन्त धेरै छ । यसले वायुमण्डलमा दम, फोक्सोका रोग, हृदयघातजस्ता जटिल रोग निम्त्याउने धुलाका अत्यन्त मसिना कणहरूको मात्रा वृद्धि गर्दछ ।

वायु प्रदुषणको कुरा गर्दा कुनै एकमात्र स्रोत जिम्मेवार नभइ धेरै स्रोतहरू छन् जसमा धुलो, जैविक पदार्थ बाल्ने काम, ‍औद्योगिक उत्सर्जन, कोइलाबाट सञ्चालित विद्युत गृह, वन विनाश र जटिल मौसमी प्रवृत्ती पर्दछन् । प्रतिवेदन भन्छ, “अर्बनइमिशन्स्ले गरेको एक अध्ययनले गङ्गा क्षेत्रमा बदलिँदो मौसमी प्रवृत्तीको कारणले कोइलाबाट सञ्चालित विद्युतगृहबाट उत्सर्जित प्रदुषण वायुले खासगरि हिउँदमा धेरै परसम्म कैयौँ सय किलोमिटरसम्म उडाएर लान्छ । यसले क्षेत्रीय प्रदुषणको मात्रा ह्वात्तै बढाइदिन्छ ।”

नगरपालिकाको फोहर जलाउँदा र किसानहरूले खेतबारीमा झिग्रा बाल्दा निस्कने विषालु धुवाँ पनि सोही वायुले छिमेकी राज्यहरूबाट उडाएर ल्याउँछ । विज्ञहरू भन्छन्, वायु प्रदुषण रोक्न यस्ता प्रदुषकका विभिन्न स्रोत पत्ता लगाउनु निकै महत्त्वपूर्ण हुन्छ र यसको लागि विभिन्न सहरहरूमा अत्याधुनिक प्रविधिसहितको प्रभावकारी अनुगमन सञ्जाल बनाउनुपर्छ ।

स्रोतको अध्ययन

प्रतिवेदन जारी गरिएको बनारसको कार्यशालामा आइआइटी कानपुरका एस् त्रीपाठीले भने, “वायु प्रदुषणको समस्या सम्बोधन गर्न यसको विज्ञान र स्रोतको ’boutमा बुझ्नु जरुरी हुन्छ जस्तै फोहर जलाएर वा अन्य विशाल स्रोत । चुस्त ढङ्गले सम्बोधन गर्न यसको स्रोत बुझ्नु जरुरी हुन्छ । उदाहरणको लागि, लण्डनमा नाइट्रस अक्साइड र ओजोनको समस्या छ । यसलाई छुट्टै तरिकाले सम्बोधन गर्नुपर्छ । समस्यालाई वैज्ञानिक रुपले सम्बोधन गर्न सही किसिमका सुक्ष्म विवरण चाहिन्छ ।”

त्रीपाठीले एक्सीलरेटर मास स्पेक्टोमेट्री (AMS) प्रयोग गरि कानपुरको वायुका प्रदुषकको स्रोतको अध्ययन गरिरहेका छन् । वायु प्रदुषणको मुख्य पक्ष खाना पकाउन प्रयोग गरिने दाउराको धुवाँ, नगरपालिकाका कर्मचारीले बाल्ने जैविक फोहर, तथा कृषकहरुले खेतबारीमा बाल्ने झिग्रा रहेको पाइयो । आजकाल प्रदुषक वायु खेतका झिग्रा बाल्दा आएका हुन् कि पात जलाएर आएका हुन् कि जैविक फोहर जलाएर आएका हुन् छुट्ट्याउन सकिने आधुनिक प्रविधि उपलब्ध भएको उहाँले बताउनुभयो ।

वायु प्रदुषणसम्बन्धी धेरैजसो बहस मसिना तर खतरनाक पिएम१० (१० माइक्रोन भन्दा कम व्यास भएका धुलाका कण – १ मिलिमिटरमा १००० माइक्रोन हुन्छन्) र पिएम२.५ (२.५ माइक्रोन भन्दा कम व्यास भएका) जस्ता पार्टिकुलेट पदार्थ वरिपरि घुम्छन् । त्रीपाठी भन्छन् अझै बढि ध्यान पिएम१ (१ माइक्रोन वा त्यसभन्दा कम व्यास भएका) मा दिनुपर्छ ’cause यिनीहरु हाम्रा कोषका झिल्लीबाट कुनै अवरोधविना सजिलै छिर्न सक्छन् ।

“कारखानाहरुले आफ्ना उत्सर्जन पर्यावरणमा छोड्नु अघि पिएम२.५ र पिएम१० त केही मात्रामा हटाउँछन् तर पिएम१ हटाउँदैनन् । डिजेल इन्जिन, कोइला इन्जिन, उच्च तापक्रममा चल्ने भट्टी, चुरोटको धुवाँ वा सडक, खरानी र खानीबाट उँड्ने मसिना कणको व्यास १०० न्यानोमिटरभन्दा (१००० न्यानोमिटरको एक माइक्रोमिटर वा माइक्रोन हुन्छ) भन्दा साना हुन्छन् । १०० न्यानोमिटरभन्दा कमका पदार्थ कोषका झिल्लीहरुबाट छिरी रक्त प्रवाहमा मिसिन सक्छन् र यहाँबाट मस्तिष्कसम्म पनि पुग्न सक्छन् । यसले दम, फोक्सोको क्यान्सर, मुटु रोग, स्वासप्रश्वास रोग, समय अगावै बच्चा जन्मिने, जन्मँदा केही खोट हुने र चाँडै मृत्यु हुने गर्छ । पिमएम२.५का ८० प्रतिशत कण खासमा पिएम१ हुन्छन् । त्यसकारण पिएम१का स्रोत पत्ता लगाएर यसलाई सम्बोधन गर्ने हो भने पिएम २.५को समाधान स्वतः हुनेछ,” त्रीपाठीले भने ।

आफ्नो अध्ययनमा त्रीपाठीले कानपुरमा पिएम१को मात्रा हिउँदमा प्रति घनमिटर २०० माइक्रोग्राम भन्दा धेरै भएको पाए जुन अत्यन्त खतरनाक लक्षण हो । स्विजरल्याण्डमा यो जम्मा १० देखि १२ माइक्रोग्राम प्रति घनमिटर रहेको छ । “यो कानपुर शहरको मात्रै समस्या होइन । वायुप्रवाह हुने तहभन्दा माथिका स्रोतहरुको सम्बोधन गर्नुपर्छ,” त्रीपाठीले भने ।

उर्जा तथा संशाधन प्रतिष्ठान(TERI)का सुमित शर्माले भने,”दिल्लीमा वायु प्रदुषणको ३५ प्रतिशत फोहर जलाएको धुवाँ, सडकको धुलो तथा सवारीको धुवाँजस्ता आन्तरिक कारणले हुने गर्छ भने उत्तर प्रदेशमा यस्ता कारणले वायु प्रदुषणको ५० प्रतिशत हुने गर्छ ।”

अनुगमन र मापन त गर्ने तर कसरी

भारतमा वायु गुणस्तर मापन प्रविधि र पूर्वाधारको कमी छ । अत्याधुनिक उपकरण र प्रविधिको कुरा त परै जाओस् यहाँ वायुको आधारभूत सघन गुणस्तर नाप्ने वैज्ञानिक पूर्वाधार पनि छैन ।

चीनमा यथासमयमा पिएम२.५ नाप्ने १,८०० अनुगमन स्टेशनहरु छन् । तर भारतमा जम्मा ३० ओटा मात्र छन् जसमध्ये २० ओटा दिल्लीमै छन् । दिल्लीको भन्दा वायु प्रदुषण धेरै भएको बनारसमा जम्मा एउटा छ ।

“दिल्लीभन्दा अन्य कतिपय सहर जोखिममा भएपनि यहाँ धेरै तथ्याङ्क उपलब्ध भएको कारण यो धेरै चर्चामा आउने गरेको छ । बनारसमा जम्मा एउटा स्टेशन छ । त्यसले पनि विगत दुई महिनामा ११ दिन त कामै गरेन,” प्रतिवेदन लेखक ऐश्वर्या मदेनिनीले भनिन् ।

आइआइटी दिल्लीका साग्निक डे भन्छन्, “स्टेशनको सङ्ख्यामात्रै हैन स्टेशन राख्ने स्थानले पनि फरक पार्छ । हामी आगामी दुई महिना भित्रमा भारतभरमा आवश्यक पर्ने वायु गुणस्तर अनुगमन स्टेशनहरु’boutको प्रतिवेदन जारी गर्ने छौँ ।”

प्रदुषणमा दिल्लीभन्दा खराब रहेका क्षेत्रको अध्ययन गरिरहेका डेले भने, “दीर्घकालीन र अल्पकालीन योजना ल्याउनुपर्छ सफलता मापन गर्ने रुपरेखा स्थापित गरिनुपर्छ । र यसको सफलता यसले जनस्वास्थ्यमा ल्याउने प्रभावको आधारमा गरिनुपर्छ ।”

प्रदुषणको संकट सामना गर्न नयाँ प्रविधिहरु आवश्यक पर्ने उहाँले बताउनुभयो । “अर्को विकल्प नभएकाले किसानहरुले झिग्रामिग्रा बारीमै पोल्छन् । एक बाली काटेर अर्को बाली लगाउने बेलासम्म निकै छोटो समय रहन्छ त्यसैले उनीहरुले तत्काल बारी खाली गर्नुपर्ने हुन्छ । यसको लागि कुनै प्रविधि भित्र्याउनुपर्ने हुन्छ ।”

काम गर्ने समय

कार्यशालामा वाराणसीका जिल्ला मजिस्ट्रेट योगेश्वर राम मिश्रले थप तथ्याङ्क सङ्कलन गर्नुभन्दा पनि अब काम गर्नुपर्ने कुरामा जोड दिनुभयो । “समस्या छ भन्ने थाहा पाउन अरु तथ्याङ्क चाहिन्छ जस्तो मलाई लाग्दैन । गङ्गाका फाँटहरु मलिला छन् तर प्रदुषणले ग्रस्त छन् । कुनै पनि घाटमा जाने हो भने कुनै उपकरण प्रविधि प्रयोगै नगरि यहाँको अवस्था खराब छ भन्ने थाहा हुन्छ । हामीलाई अहिले चाहिएको समाधान हो । तर अक्सर विभिन्न अध्ययनहरुमा समाधानका उपायमा चाहिँ एकरुपता पाइँदैन ।”

चिन्ता बनारसका उच्च अधिकारीलाई मात्र होइन अन्यलाई पनि छ । धेरै भन्दा धेरै श्वास प्रश्वासका विरामी हेर्नुपर्ने भएपछि चिकित्सकहरुले तत्काल वायु प्रदुषणको सम्बोधन गर्न माग गरेका छन् । बनारसका प्रतिष्ठित छातीरोग विशेषज्ञ आर एन वाजपेयीले भन्नुभयो गत ४–५ वर्षमा छातीको सङ्क्रमण र ब्रोङ्कीअल एलर्जीका विरामीहरुको सङ्ख्यामा २०–२५ प्रतिशत वृद्धि भएको छ । बालरोग विशेषज्ञ प्रदीप जिन्दलले बालबालिकाहरुमा श्वासप्रवास सम्बन्धी रोगमा विगत २२ वर्षमा आठ गुणासम्म बढेको हुनसक्ने बताए । प्रष्ट छ तत्काल केही गरिहाल्नुपर्ने अवस्था छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.