मेकोङ् नदीको उपल्लो क्षेत्रमा बस्ने ३५ वर्षीय तिब्बती महिला पुकाओ ड्रोङ्गाले पछिल्लो तीन वर्षमा नयाँ जीवनशैली पाएकी छन् । हरेक दिन घरमै घरेलु धन्दा गर्ने वा फापरबारीमा काम गर्नको सट्टा अहिले उनी सामुदायिक हस्तकला सहकारीमा काम गर्न जान्छिन्।
“चरन क्षेत्रमा वस्तुभाउ चराउने पेशा छोडेर माओड्रुआङ् बजारमा सरेपछि मेरो परिवारमा श्रीमानको सहायक प्रहरी अधिकृतको जागिरबाट आउने थोरै तलबबाहेक आम्दानीको खासै भरपर्दो स्रोत थिएन,” पुकाओले भनिन्। “हस्तकला सहकारीमा लागेपछि मेरो नियमित मासिक आम्दानी १,००० युआन (झण्डै नेरु १६,०००) हुने गरेको छ । यसले मेरो परिवारलाई ठुलो सहयोग पुगेको छ ।” [सन् २०१६ मा माओड्रुहाङ्को औसत वार्षिक आम्दानी ४,७०० युआन (नेरु ७५,000) रहेको थियो ।]
सहकारीमा पुकाओसँगै माओड्रुहाङ्का १३ महिलाहरूले चौँरीको ऊनबाट टोप, चप्पल, झोला, र प्राचीन तिब्बती लबेदा बनाउने काम गर्छन् । यी सबै सामग्री स्थानीय सीपको प्रयोग गरि हातैबाट बनाइएका हुन् ।
सहकारीले स्थानीय महिलाहरूलाई रोजगारी प्रदान गर्नुका अतिरिक्त दीर्घकालीन स्थानीय वातावरण संरक्षण अभियानको लागि आर्थिक स्रोत जुटाउन पनि सघाउ पुर्याएको थियो, सहकारीका संस्थापक तथा अध्यक्ष योङ् चियाङ्ले भने।
माओड्रुहाङ् रहेको तिब्बती पठारको सान्जियाङ्युआन (तीन नदीको स्रोत) क्षेत्र संरक्षणको लागि चिनीया केन्द्र सरकारले अर्बौँ रकम खन्याइसकेको छ । सो नाजुक भूभाग यल्लो, याङ्त्से र मेकोङ् नदीका उद्गगम स्थल ’round पर्दछन् । यद्यपि संसारकै यो उच्च भूभागमा वातावरणीय क्षयीकरण, हिमनदी पग्लाइ तथा मरुभूमिकरण झन् जटिल हुँदै गएको अध्ययनहरूले देखाएका छन् ।
स्थानीय उत्प्रेरणा

स्थानीयहरूले अब यो काम आफ्नै हातमा लिन थालेका छन् । माओड्रुआङ् मेकोङ् नदीको माथिल्लो भाग ड्राकु नदीको एक मुख्य सहायक नदी सिकु नदी किनारमा अवस्थित छ । यो बजार दक्षिणपश्चिम चिङ्घाइ प्रदेशमा रहेको युशुको नाङ्चियान काउन्टीसँग आवद्ध छ । जलवायुको कारण यहाँको मुख्य जिविकोपार्जन खेतिपाती र पशुपालन नै हो ।
बौद्ध दर्शनले प्रभावित भएको हुँदा तिब्बतीहरूले सानैदेखि पहाड र नदीहरूलाई सम्मान गर्न सिकेका हुन्छन्। यहाँ मानिसहरूलाई रुख काट्न, चोरीशिकारी गर्न वा पवित्र पर्वतहरूमा फोहर गर्न प्रतिबन्धित गरिएको छ, माओड्रुहाङ्का स्थानीय तिब्बती ताशी गोङ्बाओले भने। उनीहरूलाई नदीस्रोत नजिक जान र प्रदुषित गर्न पनि रोक लगाइएको छ ।
तर १०,००० भन्दा धेरैको बढ्दो जनसङ्ख्या र यस क्षेत्रमा आधुनिक जीवनशैली र उत्पादनको अतिक्रमणले गर्दा चिङ्घाइ पठारका अन्य स्थानजस्तै माओड्रुआङ् पनि फोहरमैला तथा जल प्रदुषणजस्ता वातावरणीय समस्याले आक्रान्त छ ।
माओड्रुआङ्का एकजना गाउँले तथा व्यवसायिक विद्यालयका शिक्षक योङ् चिआङ्ले नदी तथा पहाड सफा गर्न र आफ्नो क्षेत्र वरिपरिका चरनक्षेत्र र पर्वतहरूमा चोरी शिकारी विरुद्ध गस्ती गर्न स्थानीय गाउँलेको स्वयंसेवक टोली बनाइ परिचालन गरे। तर योङ् चिआङ् भन्छन् यस्ता गतिविधिमा गाउँलेको रुची कायम राख्न गार्हो छ ’cause मोटरसाइकलमा गस्ती गर्दा पेट्रोल समेत आफ्नै पैसाले हाल्न विपन्न गाउँलेहरू सक्दैनन् ।
स्थानीयहरूको जीवनको गुणस्तर वृद्धि गरि यो समस्या समाधान गर्न योङ् चिआङ र केही गाउँलेहरूले सामुदायिक सहकारी गठन गर्ने उपाय निकाले । सन् २०१३ को मार्च महिनामा बेजिङमा मुख्यालय रहेको वातावरणीय गैरसरकारी सँस्था ग्लोबल इन्भाइरन्मेन्ट इन्स्टिच्युट(GEI/जिइआइ)को प्राविधिक तथा आर्थिक सहयोगमा माओड्रुआङमा त्यसक्षेत्रभन्दा बाहिरको बजारमा विक्रीको लागि पठाउने प्राचीन तिब्बती हस्तकला सामग्री उत्पादन गर्न २० स्थानीय महिलाहरूलाई साथमा लिएर एक हस्तकला सहकारी खुल्यो । सहकारीले पछि फना एण्ड फ्लोरा इन्टर्नेशनल (FFI) लगायतका वातावरणीय गैससहरूबाट पनि प्राविधिक र आर्थिक सहयोग प्राप्त गर्यो ।
प्रारम्भिक योजना अनुसार, हरेक वर्षको आम्दानीबाट ५ प्रतिशत हिस्सा स्थानीय वातावरण संरक्षण गतिविधिलाई सहयोग पुर्याउनका लागि छुट्याइनेछ । सन् २०१४मा विक्रीबाट भएको आम्दानी ८०,००० युआन (नेरु १२,७२,०००) थियो । सन् २०१५मा १,२०,००० युआन (नेरु १९,०८,०००) पुग्यो । “हामी नाफा कमाउन थालेका छौ ,” योङ्ले भने।
माओड्रुआङ् र यसका निकट चरनक्षेत्रहरूमा तीन मुख्य नदीका उद्गगम स्थलसहित १३ नदी उपत्यकाहरू छन् । स्थानीय प्रभावशाली बौद्ध भिक्षुहरूको सहयोगले सहकारीहरूले गाउँलेहरूलाई सफाइ अभियानमा सहभागी हुन उत्प्रेरित गरेका छन् । यसका साथै, योङ्का अनुसार, यसै वर्ष नदीको मूल रहेका चार नदी उपत्यकामा २० ओटा पानीको गुणस्तर अनुगमन प्रणाली स्थापना गर्ने योजना रहेको छ ।
सन् २०१४मा सहकारीले विद्यार्थीहरूको लागि वातावरणीय शिक्षा कार्यक्रम सञ्चालन गर्न एक स्थानीय प्राथमिक विद्यालयमा ५,००० युआन (नेरु ७९,५००)खर्च गर्यो । यसले फोहरमैला व्यवस्थापन गर्ने वातावरण मैत्री उपायको खोजीको लागि विज्ञ पुनर्प्रयोग कम्पनीहरूसँग परामर्श र सहयोग पनि मागिरहेको छ । हाल त्यस्ता फोहर या त ल्याण्ड फिल साइटमा थुपारिन्छन् या त जलाइन्छन् ।

प्रवर्धनको नतिजा
सुरु सुरुमा सहकारीका महिला कर्मचारीहरूले ढुङ्गाको घुर्रा वा अश्वकोर्रा जस्ता सिमित दैनिक प्रयोगमा आउने सामग्री मात्र बनाउँथे ।
सरकारी र गैरसरकारी निकायले सहकारीलाई अनुदानमा निःशुल्क भवन, मेशिन, सामग्री, आर्ट डिजाइन प्रशिक्षण तथा प्राविधिक सहयोग प्रदान गरे । त्यसपछि उत्पादित वस्तुहरूको गुणस्तर तथा परिमाण बढ्दै गयो ।
हाल सहकारीको एक कोठामा झोला, रोब, जुत्ता, टोप, कि रिङ र मोबाइल थैली जस्ता उत्पादनहरू प्रदर्शनीमा राखिएका छन्। धेरैजस्तो उत्पादनहरूमा स्थानीय परम्परा र आधुनिक कलात्मकताको संयोजन पाइन्छ ।चिङ्घाइ भित्र र बाहिरका कलासामग्री पसलहरूबाट माग आउने गर्छ । पर्यटकहरूले यी उत्पादन इन्टर्नेट अनलाइन लगायत नाङ्चियानका मुख्य पर्यटकीय केन्द्रहरूमा र युशु बटाङ् विमानस्थलमा पनि पाउँछन् ।
“सबैको सहयोगले हामीले यहाँको स्थानीय हस्तकलाको सीप र परम्परा भावी पुस्तामा हस्तान्तरण गर्ने आशा राखेका छौँ,” योङ् चिआङ्ले भने। स्थानीय अपाङ्ग गाउँलेहरूलाई चित्रकला तथा हस्तकला तालिम दिने सहकारीको अबको योजना छ। “आम्दानीको एउटा हिस्सा वातावरण संरक्षण परियोजनाको लागि संकलित गरिने छ,” योङ्ले थपे। चीनका अधिकांश समुदायमा आधारित वातावरण संरक्षण प्रयासहरू बाहिरी विश्वबाट दिगो आर्थिक सहयोग पाउन संघर्ष गरिरहेका बेला माओड्रुआङ्ले भने समस्या समाधानको बाटो आफैँ खोजेको छ ।

चौँरीको ऊनबाट झोला बनाउँदै पुकाओ ड्रोङ्गा । (तस्वीर वाङ् यान)

चौँरीको ऊनबाट झोला बनाउँदै पुकाओ ड्रोङ्गा । (तस्वीर वाङ् यान)

दुर्लभ सफलता

जिइआइका सान्ङ्जिङ्युआन परियोजना प्रबन्धक पेङ् कुइले दिगो विकासको आफ्नो बाटो आफैँ खोज्ने स्थानीय गाउँलेहरुको प्रयासको सराहना गरे।
“स्थानीय परम्परासँग जोडिएको प्राकृतिक सम्पदाले भरपूर सान्जिङ्युआनका हरेक समुदायले विकाशको आफ्नो छुट्टै बाटो पहिचान गर्न सक्छन् भन्ने मैले विश्वाश गरेको छु,” पेङले भने। “प्रयासलाई सहयोग गर्दै मिलेर काम गर्नु नै यसको सुत्र हो ।”
स्थानीय सरकार वा अन्य निकायको अल्पकालीन वित्तीय सहयोगमा हाल चीनमा लगभग ६०,००० सामुदायिक संरक्षण कार्यक्रमहरू सञ्चालित छन् । धेरै कार्यक्रमहरू भने परियोजनाको अभावमा वा आर्थिक स्रोतको अभावमा कागजमै सिमित छन् ।
माओड्रुआङमा जिइआइले संरक्षण र सामुदायिक विकाशको लागि सामुदायिक कोषमा ५०,००० युआन (झण्डै नेरु ८ लाख) लगानी गर्यो । स्थानीयमा अपनत्वको भावना जगाइ कोषको आकार बढाउन उत्प्रेरित गर्न कोषको सञ्चालन जिम्मा स्थानीय समुदायलाई नै दिइएको छ । कोषको केही रकम समुदायमा फिर्ता जान्छ भने यसको केही अंश वातावरणसँग सम्बन्धित गतिविधिमा प्रयोग हुन्छ ।
“स्थानीय सरकारले बनाएका पहिलेकाभन्दा यो सहकारी पूरै फरक छ,” पेङ्ले भने। “यसको सञ्चालन जिम्मा समुदायमा रहेकोले उनीहरू सबैजना यसमा जागरुक हुनुका साथै दिर्घकालीन रुपमा प्रतिवद्ध छन्।”पेङ्का अनुसार, सान्जिआङ्युआनका अन्य क्षेत्रमा सात आठ ओटा समुदायले पर्यापर्यटन, पशुपालन, प्राचीन हस्तकला, च्याउ खेती र तिब्बती चिया उत्पादनजस्ता क्षेत्रमा आआफ्नै सहकारी खोलेका छन् ।

विगतको असफलता

पछिल्लो दश वर्षमा चीनको केन्द्र सरकारले सान्जियाङ्युआन पर्यावरण संरक्षण परियोजनाको पहिलो चरण भन्दै सान्जियाङ्युआन क्षेत्रको संरक्षणमा ७५ अर्ब युआन (नेरु १२० अर्ब)लगानी गरेको छ । यद्यपि, यो रकम पर्यावरण जोगाउन र स्थानीय जनताको जीवन सुद्दृढ गर्न कति प्रभावकारी तरिकाले उपयोग भएको छ भन्ने ’bout प्राज्ञहरूको राय बाझिएको छ ।
रकमको ठुलो हिस्सा फिरन्तेहरूलाई चरनमैदानहरूबाट नयाँ वस्ती बसालिएका बजारहरूमा सार्ने कार्यक्रम “पर्यावरणीय बसाइँ सराइ”, प्लाटिउ पिका र मार्मटजस्ता मुसा छुचुन्द्रा मार्न, र चरनमैदानमा बार लगाउन प्रयोग भएको छ । यस्ता गतिविधिले वातावरण संरक्षण गर्नुको साटो वातावरण क्षयीकरण र सामाजिक समस्या निम्त्याएको हुनसक्ने कतिपय अध्ययनले देखाएका छन् ।
“आशा गरौँ, अर्को १६ अर्ब युआन (झण्डै नेरु २५० अर्ब) बराबरको केन्द्रीय बजेट सहितको सान्जियाङ्युआन पर्यावरण संरक्षण परियोजनाको दोस्रो चरण पर्यावरण संरक्षण र स्थानीय तिब्बती समुदायको विकाशको लागि साँच्चै प्रभावकारी हुनेछ,” युनान कृषि विश्वविद्यालयको नविन ग्रामीण विकाश प्रतिष्ठानका प्राध्यापक तथा सान्जिआङ्युआन क्षेत्रमा पर्याबसाइँसराइँ अध्ययनका विज्ञ डु फाचुनले भने। भविष्यमा सामुदायिक संरक्षण प्रयासहरूलाई नै सोझै पैसा दिइनुपर्ने डुको सुझाव छ ।
डुसँग सहमति जनाउँदै पेङ् कुइ भन्छन्, वन्यजन्तु, नदी तथा भूसंरक्षण क्षेत्रमा सबैलाई फाइदा पुग्नेगरि सान्जियाङ्युआन क्षेत्रका स्थानीय समुदायले दिएको पर्यावरणीय सेवा खरिद गर्न सरकारले लगानी गर्नुपर्छ ।
सहकारी स्थापनाले तिब्बती समुदायलाई अपनत्वको भावना र स्थायी आम्दानीको स्रोत प्रदान गर्न सक्छ । माओड्रुआङ्की हस्तकला बनाउने महिला पुकाओ ड्रोङ्गाले पैसा कमाउनुको अलावा आफ्ना सहकर्मी साथीहरूसँग प्रगाढ सम्बन्धको समेत महशुस गरेको बताउँछिन्। “पहिले पहिले घरमा कहिले काहीँ काम केही नहुँदा पट्यार लाग्थ्यो, तर अहिले साथीहरूसँगको रमाइलो वातावरण छुट्छ भनेर एक दिन पनि घर बस्न मन लाग्दैन,” उहाँले भन्नुभयो । “यहाँ हामी जुनसूकै विषयमा गफ र भलाकुषारी गर्न सक्छौँ ।”

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.