झ्वाट्ट हेर्दा पूर्वी बिहारमा रहेको गङ्गा नदी सुन्दर पवित्र नदी जस्तो देखिन्छ । विक्रमशिला गङ्गा डल्फिन आरक्षण (भिजिडिएस्) जत्तिको सुन्दर ठाउँ शायदै भेटिएला । गङ्गा नदीको सुल्तानगञ्जदेखि कहालगावँसम्मको ६७ किलोमिटर लम्बाइ भारतको राष्ट्रिय जलचर – आखाँ नदेख्ने, बाँकटे पौडी खेल्ने – डल्फिनको (वैज्ञानिक नामःPlatanista gangetica gangetica) एकमात्र सरकारी आरक्ष हो । मसँग एक दशकभन्दा बढी डल्फिन र माछा पर्यावरणमा काम गरेका शोधकर्ताहरु, अशोका ट्रष्ट फर रिसर्च अन इकोलोजी एण्ड इन्भार्मेन्टका नचिकेत केल्कर र विक्रमशिला बायोडाइभर्सिटी रिसर्च एण्ड एजुकेशन सेन्टरका सुभाशिस दे छन् ।

तल्लो गङ्गा

बिहार हुँदै पूर्वतर्फ बगेको गङ्गा नदीको तल्लो तटीय क्षेत्रमा हामी डुङ्गामा सवार छौँ । पर दक्षिणी किनारमा लहरै ताडीका रुखहरु देखिन्छन् । केही दशकअघि सम्म नदीको पानी यी ताडीका रुखहरुसम्मै पुग्थ्यो । अहिले पानीको सतह आधा किलोमिटर पर छ । गङ्गा नदीमा पानीको घट्दो सतहको यो पहिलो प्रमाण हो । पछिल्ला वर्षहरुमा गङ्गामा पानीको सतह निरन्तर ओरालो लाग्दै छ । नदीको गहिराइ नाप्ने सेन्सरका अनुसार, यो साल वर्षा सुरु हुनुभन्दा अघिको सुक्खा मौसममा गङ्गामा पानीको मात्रा अहिलेसम्मै सबैभन्दा कम थियो ।

पानीको सतहबाट एक हातजति माथि उठेका ‘दायरा‘ भनिने आँशुका ढिक्का आकारका टापुहरुमा ठाउँ ठाउँमा नरकटका गाँज र अन्य घाँस देखिन्छन् । नदीले बगाएर ल्याउने पाँगो माटोका यी धापिला टापुमा चराचुरुङ्गी र अन्य वनस्पति प्राणीको प्रचुरता छ । एकातिरको किनारमा एक जोडी धनेश जस्ता देखिने चरा बसेका छन् भने कलहंसको बथानले अर्को किनार ढाकेको छ । सारसहरु ढापमा आहारा खोज्दैछन् । घाम तापिरहेका कछुवाहरु हाम्रो डुङ्गाको पुट–पुट आवाजले तर्सेर नदीमा फाल हान्छन् । नदीको दुवै किनारामा माटोका भित्ताहरुमा ठाउँ ठाउँमा खोपाहरु छन् । मैना चरी यी खोपाबाट बाहिर निस्कँदै नदीमा डुबुल्की मार्दै भित्र जाँदै गर्छन् ।

पाँगो माटोले गङ्गा नदीलाई उर्वर बनाउँदै छ । [तस्वीर आरती कुमार–राव]

पाँगो माटोले गङ्गा नदीलाई उर्वर बनाउँदै छ । [तस्वीर आरती कुमार–राव]

एक भिमकाय गलेगण्ड चरा डराउँदै हामीतिर हेर्दै हिलोमा हिँड्दै अघि बढ्छ । अन्य दुई गलेगण्ड आफ्ना विशाल पखेँटा फिँजाएर टापुमाथि उँड्दै छन् । अर्को चौथो गलेगण्ड चाहिँ भद्दा तरिकाले दायरामा टेक्छ । पूर्वी बिहारको यो क्षेत्र लोपोन्मुख प्रजाती गलेगण्डको प्रजनन् स्थल हो । यहाँ ३०० गलेगण्ड रहेको बताइन्छ । संसारभर यीनका यस्ता प्रजनन् स्थल तीन ठाउँमा मात्रै छन् ।

गङ्गा–ब्रम्हपुत्र–मेघना नदीमा पाँगो माटोले बनाएका यी दायराहरुमा किसानहरुले खेती गर्दै आएका छन् । पाँगो माटो ज्यादै मलिलो हुन्छ । पाँगो माटोमा फलेको तरकारी संसारकै सबैभन्दा स्वादिलो हुन्छ भन्ने यस भेगमा विश्वास छ । पाँगो माटोले यहाँका फाँटलाई खाद्यान्यको स्रोत बनाएको छ । पाँगो माटोले नै डेल्टा बनाउँछ । पाँगो दक्षिण एसियाकै नपत्याँदो हिरो हो । गङ्गा नदी सम्भवत संसारकै सबैभन्दा बढी पाँगो भएको नदी हो । शायद अमेजन भन्दा पनि बढी ।गङ्गा नदी यहाँबाट झण्डै १५०० किलोमिटर पश्चिमोत्तर उत्तराखण्डको हिमालयमा रहेको गङ्गोत्री हिमनदीबाट भगिरथीको नामबाट बग्न सुरु गर्छ । देवप्रयागमा आएर अलाकान्द नदीसँग मिसिने यो नदीले पहाडबाट बग्दा आफूसँग थुप्रै पाँगो बगाउँदै ल्याउँछ । पहाड छोडेर ऋषिकेशबाट हरिद्वार हुँदै यो उत्तर प्रदेशको समथर फाँटमा प्रवेश गर्छ ।

गलेगण्डको भिमकाय स्वरुप । [तस्वीर आरती कुमार–राव]

गलेगण्डको भिमकाय स्वरुप । [तस्वीर आरती कुमार–राव]

कानपुरसम्म आइपुग्दा यो पवित्र नदी फोहोर हुन थाल्छ । यो क्षेत्रमा नदीबाट पानी यति दोहन गरिएको छ कि अलाहबादसम्म पुग्दा नदी लेदोमा मात्र सिमित हुन्छ । त्यसपछि यमुना नदीमा मिसिएर आउने चम्बालाको पानीले गङ्गामा प्राण भरिदिन्छ । विज्ञानले जेसुकै भने पनि गङ्गाको पानीले वाराणसीमा पुगेपछि लाखौँको पाप पखालिदिन्छ । यहाँबाट यो रसायन, ढल र मान्छेका लाश बगाउँदै अघि बढ्छ । त्यसपछि गङ्गा नदी बिहारतर्फ अघि बढ्छ ।

आधुनिक सभ्यताका फैँलिदा सहर र तीनका भद्रगोल सामना गर्दै आखिरमा नदीले पुनः त्राण पाउँछ । नेपालबाट आउने घाङ्ग्रा, गण्डक र कोशी नदीले गङ्गा नदीलाई नयाँ जीवन दिन्छ । बिहारमा बग्ने गङ्गा नदी यसका सहायक नदीहरुको योग हो । गङ्गा नदी नागबेली पर्दै, लच्छा फिजाउँदै बिहारका फाँट हुँदै, यहाँबाट झण्डै एक हजार किलोमिटर बगेर पश्चिम बङ्गाल बङ्लादेश हुँदै बङ्गालको खाडीसम्म पुग्छ ।

map

नदी डल्फिनको खोजीमा

हामी गङ्गाको तल्लो फाँटमा छौ। साना साना दायराहरुलाई फन्को मारेर गङ्गा नदीले एक चाप बनाएको छ । यी पाँगोका ढापहरु न त पूरै जमिन हुन् न त पानी नै । पानी पर्ला पर्ला जस्तो छ । पानी परेपछि नदीको बहाव नै छुट्टै हुन्छ । माथिल्लो तटीय क्षेत्रमा भोगेका पीडा भुल्दै यो उन्मुक्त बग्नेछ । आकाशबाट वर्षने पानीले ती तीता सम्झना बगाइदिनेछ ।डल्फिन सर्वेक्षण डुङ्गाको तल्लो अवलोकन स्थलबाट, दुई जोडी अभ्यस्त आँखाहरु र एक जोडी सिकारु आँखाले केही खोज्दैछन् – एक अनुपम जीव । बाँकटे हान्दै सास लिन सुलुत्त परेको खैरो थुतुनो पानीको सतहबाट बाहिर निकाल्दै उफ्रने ग्याङ्गेटिक डल्फिन । नदी किनारबाट हेलिँदै गर्दा हामीले एउटा डल्फिन देखेका थियौँ । तर त्यसपछि एउटा पनि देखिएको छैन । मसँग रहेका शोधकर्ता साथीहरु भन्छन् – यो मनसुनपूर्वको समयमा डल्फिन नदेखिनु अनौठो हो । सामान्यतयाः यो मौसममा यत्तिमा पनि ७० देखि १०० डल्फिन देखिने गर्थे ।

हामी चार किलोमिटर लामो विक्रमशिला पुल कटेर जान्छोँ र त्यसपछि खुला मसानघाटहरु पनि कट्छोँ । पर भागलपुर इन्जिनियरिङ् कलेजको होस्टेल देखिन्छ । यहाँभन्दा पर जानु सुरक्षित छैन । त्यहाँ घोडसवार बन्दुकधारीहरु हातमा कालो झण्डा लिएर लुट्न बसेका हुन्छन् । उनीहरुले भनेको नमानेमा ’emले मारिदिन पनि सक्छन् ।डुङ्गा फर्काएर हामी सुल्तानगञ्ज घाट तर्फ लाग्छौँ । वर्षौँदेखि १५ – २० डल्फिन विचरण गर्ने यस ठाउँमा अहिले एउटै डल्फिन देखिँदैन ।

भारतको राष्ट्रिय जलचर कहाँ गयो होला ? आरक्षणमा पनि यो किन देखिएन ? हामी छलफल गर्न थाल्छौँ, अनुमान लाउन थाल्छौँ । कसैले बल्छी थापेर लग्यो कि ? वा ’em तलतिर बसाईँ सरे कि ? वा भारत सरकारको राष्ट्रिय जलमार्ग परियोजनाको लागि नदीबाट लेदो निकाल्दा उनीहरुलाई असर पर्यो कि ? वा अन्य कुनै कारणले ती मरे कि ? उत्तर भेटिएन । तर स्तब्धत र चिन्ता थियो ।

अनि माछा चाहिँ कता गए त?

कागजीरुपमा भिजिडिएस् संरक्षित क्षेत्र हो । तर यो घना मानव वस्तीको बीचमा पर्छ । सुल्तानगञ्ज देखि आरक्षणको पूर्वी सीमा कहालगाउँ सम्मका मानिसले नदी विभिन्न प्रयोजनको लागि उपयोग गर्छन् । पुस्तौँदेखि माछा मार्ने पेशामा निर्भर झण्डै ३००० माझी परिवार छन् । हामी त्यहाँ बसुन्जेल कस्ता कस्ता माछा विक्रीका लागि राखिएका छन् हेर्न हरेक बिहान माछा बजार जान्थ्यौँ । नदीमा रहेको माछाको विविधताको बुझ्ने यो नै उत्तम उपाय थियो ।

कहालगाउँको माछा बजार अङ्ग्रेजी अक्षर ‘एम’ आकारको छ । ८ फिट चौ १० फिट लम्बाइका पहेँला हरिया नीला र बैजनी रङका रङ्गी बिरङ्गी छाप्रे पसलहरु लहरै उभिएका छन् । हरेक पसलको अघिल्तिर ठुलो तराजु झुण्ड्याइएको छ । छेउमा सिमेन्ट टिप्कार गरिएको तर ठाउँ ठाउँमा भत्किएको भुइँमा खात लगाएर ढकहरु राखिएका छन् । बजारको एक छेउमा बरफ टुक्र्याउने मेशिन छ । केही घण्टाको अन्तरालमा यो मेशिन चालु भएपछि यसको कर्कश ध्वनीले हाम्रो आवाजलाई दबाइदिन्छ ।

जेठको सुरुतिर बिहानको सात बजेको छ । हामी चन्दनको बैजनी रङ् पोतिएको पसलमा छौँ । हामी हतार हतार गरी जम्मा गरिएका प्लास्टिकका कुर्सीहरुमा बसिरहेका छौँ – माछा बजार कतिखेर जीवन्त होला भन्ने पर्खाइमा । यतिखेर सम्म त माछा ल्याइसक्नुपर्ने हो, चन्दन भन्छन् । हिँजोको आँधीबेरीले माझीहरुलाई गार्हो पार्यो होला । उनीहरु आउँदै होलान् । हामी कुरिरहेका छौँ ।

चन्दन आफैँ त माछा मार्न नदीमा कहिल्यै गएका छैनन् तर सत्तरी टेक्दै गरेका उनका बाबु दशरथ भने अनुभवी माझी साथै गाउँका सम्मानित पाको मान्छे हुन् । “हामी यहाँ झण्डै २०० वर्षदेखि बस्दै आएका छौँ, हामी यहाँका रैथाने हौँ । हाम्रो पालामा मेरो परिवारले ठुलठुला डुङ्गामा माछा ओसार्थ्यो । हामी माछा मार्थ्यौँ तर माछामा मात्रै निर्भर थिएनौँ ,” ती वृद्धले हामीलाई बताए । तर माछा प्रशस्त पाइन्थ्यो, उनी सम्झिन्छन् । त्यतिखेर, २० सालतिर, बच्वा माछा किलोको भारु एक डेढ रुपियामा बिक्थ्यो ।

barari_fishermen_kol

“बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म मात्रै जाल थाप्दा पनि १०० किलो माछा पर्थ्यो । भागलपुरबाट बरफ आउँथ्यो र रेलमा हालेर माछा नवद्विप र पश्चिम बङ्गालको चुन्चरा पठाइन्थ्यो । एक साल यति धेरै हिल्सा पर्यो, यति धेरै हिल्सा!” सम्झनाले उनको मुहारमा मुस्कान फुट्यो । “एक किलोको एक रुपियाँ मात्रै पर्थ्यो, त्यही पनि किन्ने मान्छे हुँदैनथे । यो म सानो हुँदाको कुरा हो ।” आजकाल भारतको हिल्सा माछालाई भारु १००० प्रति किलो पर्छ । चाडवाडको समयमा वा छानेर किन्दा भारु १५०० देखि २००० सम्म पनि पर्छ । दशरथ भन्छन्, नदीमा पाइने माछाका विविधता र सङ्ख्या दुवै घटेको छ । पछिल्लो ३० वर्षमा माछाको परिमाण ७० देखि ९० प्रतिशतसम्म घटेको छ ।

त्यस दिन हामीले कहालगाउँको माछा बजारमा देखेको दृश्य अपवाद थिएन – यस्तै कथा भोलिपल्ट दोहोरियो, पर्सीपल्ट दोहोरियो । हरेक दिन सोही अवस्था । त्यहाँका विशाल तराजुहरुले काम पाएनन् । के गरौँ के गरौँ लागेर दुई जना माझी केटाहरुले एउटा पसल खाली गरेर क्यारम बोर्ड खेल्न थाल्छन् । अन्य पसलहरु, चन्दनको जस्तै, माछा आउला कि भनेर कुरिरहे । तर माछा आएन । गङ्गा किनारको यो माछा बजारलाई भयानक मौनताले छोप्यो ।

बाँधको श्राप

कोशी दोभान कटिसकेपछि गङ्गाका दुवै किनाराका कहालगाउँ, बरारी, नोगछिया, कोस्किपुर गाउँका एउटा नबिराइ हरेक माझीले हामीलाई भने,”फराक्का बाँध निर्माणपछि हिल्सा, झिङ्गा, पाङ्गा, बच्वा, सिलान र अन्य बसाइ सर्ने माछाहरु पूरै लोप भए । आजकाल यिनीहरु देखिनै छाडे ।” कुनै पनि बङ्गाली परिवारमा माछाहरुको रानी मानिएको हिल्साको विशेष महत्त्व हुन्छ । पहिले पहिले वर्षाको समयमा यी माछा गङ्गा नदीमा पौडँदै पौडँदै अलाहबाद र त्यसभन्दा पनि माथिसम्म पुगेर प्रजनन् गर्थे । यसबाट उत्पन्न भुराहरु पौडँदै समुद्रमा जान्थे र अर्को वर्षातमा फेरि प्रजननको लागि पौडँदै माथि जान्थे । भारतले पश्चिम बङ्गालको फराक्कामा बाँध बाँधेपछि यो चक्र रोकिएको छ । हिल्सा, टाइगर श्रीम्प जस्ता प्रजननको लागि चिसो पानीमा बसाइँ सर्ने माछाहरु बाँध भन्दा माथिका क्षेत्रहरुमा झण्डै शून्यमा झरिसकेका छन् । गङ्गामा माछा उद्योगको अवसान यहीँबाट सुरु भएको थियो । माझीहरु आफ्नो समस्याको जड फराक्का बाँध नै हो भन्न पछि हट्दैनन् । तर बसाइँ नसर्ने माछाहरु लोप हुनुमा बाँधको कुनै दोष छैन । यसको कारण अर्कै छ ।

पुर्ख्यौली माझी र च्याँखे थाप्नेहरु

सन् १९९१ मा गङ्गा मुक्ति आन्दोलनले पानीदार(जमीनमा हैकम चलाउने जमिनदार जस्तै पानीमा हैकम चलाउने सामन्ती) हरुबाट गङ्गालाई मुक्त गराउने अभियान थाल्यो । पानीदारहरुले नदीको निश्चित भाग आफ्नो भनी दाबी गर्थे र त्यहाँका माछा लगायत नदीको अन्य उपयोग नियन्त्रण गर्थे । त्यहाँ माछा मार्ने माझीहरुले आफूले समातेको माछाको आधा भाग पानीदारलाई बुझाउनुपर्थ्यो । सामन्ती पानीदार प्रथा हटाउन अत्यन्त जरुरत थियो । तर यो प्रथाको अन्त्यसंगै जोसूकैले जहाँसूकै माछा मार्न पाउन भएपछि गङ्गा नदीको पर्यावरण साथै माछा पालेर जीविकोपार्जन गर्ने पुस्तैनी माझी जातीको लागि घातक सिद्ध भयो ।

पुस्तैनी माझी र च्याँखे थाप्नेहरुलाई छुट्याउने एउटा सजिलो उपाय छ । पुस्तैनी माझीले माछा मार्ने जाल आफैँ बुन्छन् । त्यसकारण माझीहरु भन्छन् , हातबुना जालले मात्रै माछा मार्न पाउने व्यवस्था भए गङ्गा नदीमा अझै पनि प्रशस्त माछा हुन्थ्यो । वास्तविकता अझै जटिल भए पनि, यो पनि एउटा मुख्य कारण हुनसक्छ । सबैको लागि खुला गरिएपछि, पुस्तैनी पेशा माछा मार्ने नभएकाहरुले पनि माछा मार्न थाले जसले गर्दा गङ्गा नदीको यस क्षेत्रमा माछा मार्नेहरुको सङ्ख्या ह्वात्तै बढ्यो । काग्जी तोलाका माझीहरु रिसाएका छन् ; आफ्नै आँखा सामु भएको आफ्नो नदीको दुर्दशा’bout बताउन उनीहरु तँछाड मछाड गर्छन् ।

illustration“सुरुमा बङ्गालबाट केही माझीहरु माथि आए र नदीमा मच्छड झुल हाने । तर उनीहरु तीन महिना मात्रै बसे । अहिले त पहिले १० जना हुने ठाउँमा १०० जना माछा मार्नेहरु छन् जसमा धेरैजनाको पुर्ख्यौली पेशा माछा मार्नु होइन । उनीहरु बार्है महिना नदीमा जाल थाप्छन् । पहिले एउटा डुङ्गाले एउटा मात्रै जाल हान्थ्यो । अहिले त जाल पनि सस्तै पाइन्छ । एउटै डुङ्गाले दशओटा जाल थाप्छन् ।”

“पुर्ख्यौली पेशा माछा मार्नु नभएकाहरुले बजारबाट सस्तोमा जाल त किन्छन्, तर उनीहरुले माछा मार्न जानेका हुँदैन । उनीहरु नदीको वारपार हुनेगरि जाल टाङ्छन् जसले गर्दा सबै जलचर त्यसमा अड्किएर सयौँ किलो जलचरको नाश हुन्छ । हामी सही किसिमको १२ घण्टाको लागि जाल थाप्छौँ, तैपनि १०- १२ किलो मात्रै माछा समात्छौँ ।”

माझीहरु भन्छन्, मच्छड झुलमा गर्भिणी माछा, साना माछा, भुरा माछा सबै पर्छन् । साना माछाहरु जालमा अड्केर मर्छन्, तीनको बजारमा कुनै मूल्य नआउने भएपछि नदीमै फालिन्छन् । यसरी हरेक दिन पछि ठुलो भएर उत्पादन दिन सक्ने बथानका बथान माछा मारिन्छन् । यो क्षयको पूर्ती गर्न लगभग असम्भव छ ।

कतिपयको आम्दानीको मुख्य स्रोत माछा होइन । उनीहरु खेतबारीमा तरकारी आदि लगाउँछन् । यस्ता आंशिक कालिन माछा मार्नेहरुको लागि माछा दिगो स्रोत नभइ खालि समयमा छिट्टो पैसा कमाउने उपाय हो । त्यसकारण उनीहरु आफ्नो व्यवहारको दीर्घकालीन असरको वास्ता गर्दैनन् । तर पुर्ख्यौली माझीहरुको जमीन छैन, जीविकोपार्जनको लागि वैकल्पिक पेशा छैन । उनीहरु आफ्नो जीवनयापनको लागि शतप्रतिशत नदीमै भर पर्छन् ।

“माछालाई फुल कोरल्न नदिए, भुरा हुर्किन नदिए, भोलि के खाने ?” गङ्गा-ब्रम्हपुत्र-मेघना नदी घाँटीका सबै पुर्ख्यौली माझीहरु यसै भन्छन् । गङ्गा किनारका माझीहरु तावाबाट भुङ्ग्रोमा खसेका छन् । गङ्गा नदी पानीदारको थिचोमिचोबाट त मुक्त भयो तर अहिले पानीदारको ठाउँमा नदी ’round डुल्ने घोडचढी हतियारधारीहरुको विगविगी छ । यी समूहहरुले माझीहरुलाई पटक पटक आक्रमण गरेका छन् ।

“हामीले माछा समातेर ल्याउँदा उनीहरु बाटो ढुकेर बस्छन्, र माछा लुटेर लान्छन् । पकाउन पनि लाउँछन् । भनेको मानेन भने उनीहरुले हामीलाई मार्न पनि सक्छन्,” दशरथ भन्छन् ।यस्ता खतरनाक हतियारधारी भक्षक लुटेरा समूहहरु थुप्रै छन् । एउटा समूह अर्को समूहको दुश्मन हो । यो अकण्टक द्वन्द्वको दोहोरो भिडन्तमा डल्फिन सर्वेक्षण टोली आफैँ पनि दुईचोटी परिसकेको छ ।

आरती कुमार–राव ब्याङ्ग्लोर बस्ने स्वतन्त्र पत्रकार हुन् । उनलाई arati.rao@gmail.comमा सम्पर्क गर्न सकिन्छ । यो लेख thethirdpole.net र  Earth Journalism Network को आर्थिक सहयोगमा तयार गरिएको हो । यो लेख सुरुमा The Hindustan Times मा प्रकाशित भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.