यो आलेख चार भागको शृङ्खलाको पहिलो भाग हो । thethirdpole.net का नेपाल सम्पादक रमेश भुषाल र फोटोग्राफर नबीन बराल कोशी नदीको विभिन्न सहायक नदीहरूको तटै–तट तिब्बती सिमानादेखि भारतीय सिमानासम्म यात्रा गरेका थिए ।

तिब्बती सीमा नजिकै, नेपालको सिन्धुपाल्चोक जिल्लामा, झण्डै दुई वर्षअघि जुरेको वस्ती ध्वस्त पारेको पहिरोले छाडेको गेग्र्यानको थुप्रोमुनीबाट पानीको तीव्र प्रवाह निस्किन्छ।कुनै समय नेपाल र चीन जोड्ने सबैभन्दा व्यस्त लोकमार्ग पहिरोपछि कैयौँ महिनाको लागि बन्द भयो । पहिरो हटाएर लोकमार्ग खुलेको केही दिनमै नेपालमा ठूलो भूइँचालो गयो जसले गर्दा लोकमार्गमा थुप्रै पहिराहरू गए र लोकमार्ग फेरि बन्द भयो ।

भूकम्प गएको एक वर्षभन्दा बढि वितिसक्दा, नेपाल सरकारको थुप्रै अनुरोधका बाबजुद चीनले पहिरोको उच्च जोखिमका कारण सीमा नाका खोलेको छैन । बरु चीन सिन्धुपाल्चोकको पश्चिममा रहेको रसुवा जिल्लाको रसुवागढी नाका खोल्नमा लागेको छ । भलै यो क्षेत्रमा पनि भूकम्पले उत्तिकै क्षति पु¥याएको छ । चीनले नियोजित रुपमै सिन्धुपाल्चोकको सीमा नाका नखोली नेपाललाई रसुवागढी हुँदै केरुङसम्म जोड्न खोजेको कतिपयको बुझाइ छ । केरुङलाई सन् २०२० सम्ममा गुङ्झाइ–तीब्बत रेल सञ्जालमा जोडिने लक्ष्य लिइएको छ । यद्यपि, चीन सरकारले यो बुझाइ गलत भएको र भौगर्भिक कारणले मात्र सिन्धुपाल्चोकको तातोपानी नाका नखोलिएको बताएको छ ।

 रातो घेराभित्रको क्षेत्र कोशी बेसिन क्षेत्र हो ।

रातो घेराभित्रको क्षेत्र कोशी बेसिन क्षेत्र हो ।

सन् २०१४ मा, जुरे पहिरोले पूरै गाउँ बगाइदियो । यसमा परेर १५६ जनाले ज्यान गुमाए । लोकमार्गको झण्डै २ किलोमिटर भाग भत्कियो र कैयौँ महिनाको लागि सडक यातायात अवरुद्ध भयो । अहिले पनि यहाँ केही लोकल बस र सुनकोशी नदीबाट ढुङ्गा बालुवा बोक्ने केही ट्रिपरहरू मात्र देखिन्छन् । पहिरोको ढिस्को चढी माथि पुगेर तलतिर हेर्दा नागवेली परि बगिरहेको सुनकोशी देखिन्छ । यो नदीलाई तिब्बतमा पोइकु नामले चिनिन्छ, तल बग्दै जाँदा भोटेकोशीको नामले चिनिन्छ र अलि तलपुगेपछि यो सुनकोशीको रुफमा सप्तकोशीको एक सहायक नदीको रुपमा बग्दै नेपालभारत सिमा पुग्छ ।

जुरे पहिरोको ढिस्कोमाथि बस कुर्दै एक स्थानीय ।

जुरे पहिरोको ढिस्कोमाथि बस कुर्दै एक स्थानीय ।

जुरे पहिरोपछि सुनकोशीले आफ्नो बाटो फेर्यो । पहिरोले नदी थुनिएर विशाल अस्थायी तलाउ बनेको थियो जसले लोकमार्ग, दुईटा अग्ला भवनसहित सडक छेउका कैयौँ घरहरू र विद्युत प्रशारण टावर डुबाएको थियो । सत्तरी वर्षे जीत बहादुर तामाङ पहिरो गएको भयङ्कर रातलाई यसरी सम्झिनुहुन्छ, ‘‘मध्यरातमा लगातार बम पड्केको जस्तो ठूलो आवाज आयो । पूरै अँध्यारो थियो । पारीपट्टिबाट गाउँलेहरूले भाग भाग भनेर चिच्याउँदै थिए जस्तो लाग्छ, तर कहाँ जाने? पहिरो भन्ने हामीलाई थाहा थिएन । धन्य, हामी सडकै सडक उत्तरतिर लाग्यौँ र अर्को गाउँतिर उकालो लाग्यौँ ।’’

पहिरोले आफ्ना थुप्रै नातागोता र गाउँलेहरूको ज्यान लिएपछि तामाङ बगरभन्दा केही माथि सानो झुपडीमा डरैडरमा बस्दै आएका छन् । पोहोर साल गएको भूकम्पले उनको जिन्दगीलाई झन् गा¥हो बनाइदियो । ‘‘जे बचेको छ त्यसैसँग बस्नुबाहेक मेरो कुनै उपाय छैन । अब वर्षामा झन् गा¥हो होला,’’ बाँस काँट्न हँसिया उद्याउँदै तामाङले भने ।

पचासी प्रतिशत भूभाग हिमाल र पहाडले ओगटेको नेपालमा अक्सर पहिरो गैरहन्छ । नेपालमा हरेक वर्ष साना ठुला गरि औसत १२,००० ओटा पहिरो जाने गर्छ जसमा ३०० बढि मानिस मर्छन् ।

‘‘ठुला पहिराले नदी थुन्न सक्छन् । पहिले पनि यस्तो भएको छ, र जलवायु परिवर्तनका कारण अतिवृष्टि हुने प्रक्षेपण गरिएकाले यस्ता घटना भविष्यमा बढ्न सक्छन्,’’ त्रिभुवन विश्वविद्यालय, काठमाडौँको भूगोल विभागका प्राध्यापक नरेन्द्रराज खनालले भने ।

सक्नेले गाउँ छोडेका छन्, तर धेरैका लागि यो सम्भव छैन । पहिले व्यस्त रहने सडक सुनसान भएपछि, बाइस वर्षे ड्राइभर लङ्क लामा बेरोजगार भएका छन् । पहिरो हटाएपछि व्यवसाय राम्रो हुँदै थियो । यत्तिकैमा भूकम्पले गर्दा चीनको सीमा नाका बन्द भयो । ‘‘म जस्तो दुःख पाएका सयौँ युवाहरू छन् गाउँघरमा । हाम्रो काम पनि छैन, जग्गा पनि छैन,’’ पहिरो र भूकम्पमा भाञ्जी र धेरै नातागोता र साथीहरू गुमाएका लामाले भने ।

जुरे पहिरोले बनाएको बाँधको कारण पानी मुनी डुबेको घर र विजुलीको पोल ।

जुरे पहिरोले बनाएको बाँधको कारण पानी मुनी डुबेको घर र विजुलीको पोल ।

नेपालमा पहिलेदेखि नै पहिरो धेरै जाने गरेको भए पनि, विज्ञहरू पोहोरको भूकम्पपछि थप चिन्तित छन् । भूकम्पले ३००० भन्दा बढि पहिरोहरू गएको बताइएको छ । कोशी बेसिनमा पनि नराम्रो प्रभाव परेको थियो । ४० प्रतिशत भूभाग समुद्री सतहदेखि ४००० मिटरमाथि रहेको र ३० प्रतिशत भूभाग ३० डिग्रीभन्दा बढि भिरालो रहेको कोशी बेसिन भौगर्भिक हिसाबले देशकै सबैभन्दा नाजुक क्षेत्र हो ।‘‘यहाँ ठुला पहिरोको उच्च जोखिम रहेको छ । पहिरोलाई बुझ्न र यसबाट बच्न जटिल हुनाले समग्र पहिरो जोखिम व्यवस्थापन योजनाको तत्काल आवश्यकता रहेको छ,’’ काठमाडौँमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)का रिमोट सेन्सिङ् विशेषज्ञ देउराज गुरुङले भने ।

सरकार र स्थानीय समुदाय दुवैले पटक–पटक दिइएको चेतावनी बेवास्ता गरेकाले जुरे पहिरोमा त्यति धेरै मानवीय क्षति भएको विज्ञहरूको भनाइ छ । ‘‘त्यो क्षेत्रलाई २०३०को दशकदेखि नै उच्च जोखिमयुक्त क्षेत्र भनी पहिचान गरिएको थियो । २०७१मा पूरै पहाड खस्नुअघि त्यही क्षेत्रमा थुप्रै चोटी साना–साना पहिरो गएका थिए, ’’ गुरुङले बताए ।

हिउँ कम, बाढी धेरै

यस्तो प्रभाव परेको सिन्धुपाल्चोकको जुरेमा मात्र होइन । सुनकोशी जस्ता नदी उत्पत्ती हुने हिमालहरूमा समस्या सुरु भैसकेको छ । बढ्दो तापक्रमले गर्दा हिमनदीहरू तीव्र रुपमा पग्लिरहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । एक अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान टोलीले गत वर्ष सप्तकोशीको महत्वपूर्ण सहायक नदी दुधकोशी नदीमा रहेका हिमनदीहरूको पहिलो विस्तृत अध्ययन प्रकाशित ग¥यो । दुधकोशी सगरमाथा क्षेत्र हुँदै बग्छ । ती वैज्ञानिकहरूले सगरमाथा क्षेत्रका सबैजसो हिमनदीहरू यो शताब्दीको अन्त्यसम्ममा सुक्ने सम्भावना रहेको चेतावनी दिएका छन् । हिमरेखाको उचाइ बढ्दै गएकाले हिमनदी पग्लने क्रममा वृद्धि र बरफ सञ्चयको मात्रा घटेको पनि वैज्ञानिकहरूले बताए ।

विष्फोटको जोखिममा रहेका नेपालको रोलवालिङ् उपत्यकामा रहेका सुन्दर हिमतालहरू मध्येको एकः च्छो रोल्पा हिमताल । च्छो रोल्पा हिमताल नेपालको हिमालय क्षेत्रमा विष्फोटको जोखिममा रहेका हिमतालहरू मध्ये अग्रणीमा पर्छ । इसिमोडका प्रदीप मूलका अनुसार, सन् १९६० देखि २०१० सम्ममा यो हिमताल ०.२३ वर्ग किलोमिटरबाट फैलिएर १.५३ वर्ग कलोमिटर पुगेको छ । यो शिघ्र फैलावटले विष्फोटको जोखिम वृद्धि गरेको छ । हिमताल विष्फोट भई बाढी आएमा तल्लो तटीय क्षेत्रमा जनधनको ठुलो क्षति हुन सक्छ । यो तस्वीर मे १०, २०१० (बैशाख २७, २०६७ वि.स.)मा लिइएको हो ।

विष्फोटको जोखिममा रहेका नेपालको रोलवालिङ् उपत्यकामा रहेका सुन्दर हिमतालहरू मध्येको एकः च्छो रोल्पा हिमताल । च्छो रोल्पा हिमताल नेपालको हिमालय क्षेत्रमा विष्फोटको जोखिममा रहेका हिमतालहरू मध्ये अग्रणीमा पर्छ । इसिमोडका प्रदीप मूलका अनुसार, सन् १९६० देखि २०१० सम्ममा यो हिमताल ०.२३ वर्ग किलोमिटरबाट फैलिएर १.५३ वर्ग कलोमिटर पुगेको छ । यो शिघ्र फैलावटले विष्फोटको जोखिम वृद्धि गरेको छ । हिमताल विष्फोट भई बाढी आएमा तल्लो तटीय क्षेत्रमा जनधनको ठुलो क्षति हुन सक्छ । यो तस्वीर मे १०, २०१० (बैशाख २७, २०६७ वि.स.)मा लिइएको हो ।

टोलीका मुख्य वैज्ञानिक जोसेफ शियाले यसलाई कुनै व्यक्तिगत ब्याङ्क खातासँग तुलना गरे । ‘‘वर्षभरिमा तपाईँले खातामा पैसा जम्मा  गर्नुहुन्छ र यसबाट खर्च पनि गर्नुहुन्छ । वर्षको अन्त्यमा, तपाईँले खर्च गरेको रकमभन्दा जम्मा गरेको रकम धेरै भयो भने तपाईँसँग धनात्मक निक्षेप सञ्चित हुन्छ । हिमनदीलाई पनि त्यसैगरि बुझ्न सकिन्छ । हिमनदीहरूको राश हिउँ परेपछि बढ्छ र पग्लेपछि घट्छ । वर्षभरिमा जम्मा भएको हिउँको राशबाट पग्लेको हिउँ घटाउँदा हिमराशको ‘खुद सञ्चिती’ आउँछ ।’’

शेर्पाहरूलाई डर

सगरमाथा र हिमालयका अन्य अग्ला चुचुरा हेर्न नेपालमा हरेक वर्ष हजारौँ पर्यटकहरू आउने गर्छन् । तर यी सुन्दर हिमचुचुराहरूमा हिउँ र बरफ नरहने हो भने कस्ता देखिएलान् ? यी हिमाल तल्लो तटीय क्षेत्रमा बस्ने लाखौँ मानिसको लागि पानीको, जीवन र जिविकोपार्जनको स्रोत समेत हो । २१ पटक सगरमाथा चढेका आप्पा शेर्पालाई यसैको चिन्ता छ । उनी हिमाल बचाउन विश्व समुदायलाई झक्झक्याउन चाहन्छन् । सन् २०१२ मा संसारलाई यस क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव देखाउन उनी आफ्नो समूहसँग तीन महिनासम्म १६०० किलोमिटर पदयात्रा गरे । ‘‘सबैभन्दा चिन्ता लाग्ने कुरा चाहिँ हिमालमा  थोरै हिउँ सञ्चित भैरहेको । म सगरमाथा चढ्दा पनि यो महशुस गर्छु । यो सामान्य प्रक्रिया होइन,’’ उनले भने ।

फैलँदै हिमताल, बढ्दै जोखिम

हामीले हिमताल फुटेर आउने बाढीको जोखिम उच्च रहेको भनी पहिचान गरिएको सुनकोशी नदीको किनारै किनार यात्रा गर्यौँ । इसिमोडका अनुसार, नेपालका हिमालमा रेकर्ड गरिएका हिमताल फुटेर बाढी आएका २४ प्रकोपमध्ये, तीन ध्वंशात्मक सहित, १६ ओटा कोशी बेसिनमा भएको थियो ।

सुनकोशीको उद्गम विन्दु तिब्बतमा रहेको पोइकु नदीको झाङ्जाम्बु हिमताल हो । सन् १९८१ मा यो ताल फुट्यो । एकघण्टामा १ करोड ९० लाख घन मिटर पानी प्रवाह भई आएको बाढीले कैयौँ घर ध्वस्त भए, र १२ ओटा पुल, २७ किलोमिटर सडक र सुनकोशी जलविद्युत बाँधको एउटा गेट भत्कियो ।

सुनकोशी किनारमा रहेको पाङ्ग्रेटारका ओभिध्वज कार्कीले १९८१ को बाढी देखेका थिए । त्यसपछिका समयमा गाउँलेहरूलाई यस्तो घटना फेरि हुनसक्ने चेतावनी धेरैचोटी दिइएको छ । हिमतालहरू उच्च हिमाली भेगमा हुन्छन् । तर हिउँ पग्लाइको गति बढेसँगै यी तालहरू तीव्र रुपमा फैलिरहेका हुनाले, गाउँवस्ती र खेतहरू बग्ने जोखिम बढ्दै गएको अनुसन्धानकर्ताहरू बताउँछन् । ‘‘माथि हिमालमा के भैरहेको त हामीलाई थाहा छैन, तर पछिल्ला केही दशकहरूमा बाढीले गर्दा हामीले धेरै धानखेत गुमाइसक्यौँ,’’ कार्कीले भने ।

नेपालका हिमताल

हिमताल फुटेर आउने बाढी अक्सर ध्वंशात्मक हुन्छन् र यसको पूर्वानुमान गर्न सकिँदैन तर क्षति कम गर्न सकिन्छ । ‘‘एउटा उपाय भनेको तल्लो तटीय क्षेत्रका मानिसलाई सचेत गराउन पूर्वजानकारी प्रणाली जडान गर्ने हो । तर दीर्घकालीन समाधान चाहिँ बाढी आउने सम्भावना भएको क्षेत्रमा बस्ती बसाउन हतोत्साहित गरि समुदायलाई सुरक्षित स्थानमा पुनर्वास गराउनु नै हो,’’ यस क्षेत्रमा वृहत अनुसन्धान गरेका नरेन्द्र खनाल भन्छन् ।

कार्कीलाई जोखिमको ’boutमा थाहा भएपनि यसरी नै बस्नुको विकल्प छैन । ‘‘परिवार पाल्ने अर्को कुनै उपाय नभएकोले म यो ठाउँ छोडेर जान सक्दिन ।’’ सरकारले जोखिम घटाउन केही कदम चालेको छ, तर यो पर्याप्त छैन । जल तथा मौसम विज्ञान विभागले केही किलोमिटर माथि बाह्रबिसेमा नदीको सतह सामान्यभन्दा बढी देखिएमा तल्लो तटमा बस्ने समुदायहरूलाई सचेत गराउने भनी नदीको सतह नाप्न खम्बा गाडेको छ । तर, हामी त्यो ठाउँमा पुग्दा उक्त खम्बा विरुप अवस्थामा थियो र राम्ररी मर्मत सम्भार समेत गरिएको थिएन ।

6 comments

  1. post disaster scenario of Nepal and the risk of Glacier melt…good to read….waiting for the next part

  2. कविराज घिमिरे |

    धरै राम्रो लेख …. हजुरका यस्तै लेख हरु सधै पढ्न पाइयोस….

  3. Overall–very nice story–As far as the concern of early warning system for flood–mountain river flow forecast is always a challenge–however our real time monitoring stations can do to some extent–to make them sustainable in remote areas is another challenge–DHM is now more serious on it since last year–hope we can do something more in near future..

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.