गत अप्रिल महिनामा पाकिस्तानको उत्तरी भागमा मुसलधारे वर्षा हुँदा १४० को ज्यान गयो र व्यापक क्षति भयो । यही साल यसभन्दा अघि पनि एकचोटि ठुलै वर्षा भएको थियो । विज्ञहरू भन्छन् व्यापक वन विनाश र त्यसपछि पहाडी पाखाहरूमा भएको द्रुत भूक्षयले क्षतिको मात्रा बढाएको हो । अगुवा वातावरणविद मलिक अमिन अस्लाम भन्छन्, ‘‘जलवायु परिवर्तनले भारी वर्षा गराएको भए पनि, वन विनाशले क्षतिको मात्रा बढाइरहेको छ ।’’

मलिक अमिन पश्चिमोत्तर खैबर पाख्तुन् (केपि) प्रदेशको सत्तारुढ पाकिस्तान तेहरिक–ए–इल्साफ (पि.टि.आइ.) पार्टीको सल्लाहकार पनि हुन् । उनी पार्टीको ‘‘हरित वृद्धि अभियान’’ को अध्यक्ष पनि हुन्। यस अभियान अन्तर्गत पार्टीले विगत ६० वर्षमा भएको वन विनाशलाई उल्ट्याउन विभिन्न कार्यक्रम गरिरहेको छ । ‘‘काठ तस्करहरूमाथि कडाइ गर्नुका साथै हामीले वन विनाशको प्रवृत्तिलाई उल्ट्याइ भावी पुस्तालाई बचाउन ‘द बिलियन ट्री सुनामी’(अर्ब रुखको सुनामी’ नामक वृहत स्केलको वृक्षारोपण परियोजना सुरु गरेका छौँ,’’ उनले द थर्डपोल डट नेट लाई भने।

हिमालय–हिन्दूकुश–काराकोरम क्षेत्रमा पर्ने उत्तरी पाकिस्तानमा यस क्षेत्रकै सबैभन्दा कम वनक्षेत्र रहेको छ । यस भेगमा भारतको वनक्षेत्र २० प्रतिशत र भुटानको ७० प्रतिशत रहेकोमा उत्तरी पाकिस्तानको तीन प्रतिशत भन्दा कम छ ।

All data from the Global Forest Resources Assessment 2010 by the FAO

सबै तथ्याङ्क एफ.ए.ओ.ले गरेको विश्वव्यापी वन स्रोत लेखाजोखा २०१० बाट लिइएको हो।

केपि सरकारले वन पुनःर्स्थापना प्रयासको लागि अमेरिकी डलर १५ करोड दिने वाचा गरेको छ । ‘‘केपि सरकारले वन विनाशको उच्च दरलाई उल्ट्याउने मात्र नभइ वनलाई ‘आम्दानीको स्रोत’ मान्ने वर्तमान सोचलाई परिवर्तन गरि ‘प्राकृतिक पूँजी’को रुपमा जोगाउने प्रतिवद्धता पनि गरेको छ, ’’ मलिक अमिनले भने। सन् २०१५को जुन महिनामा सुरु भएको परियोजना अन्तर्गत हालसम्म केपि प्रदेशभरका विभिन्न निजी व्याडहरूमा २५ करोड विरुवाहरू हुर्काइसकिएको छ । हाल यी विरुवाहरू प्रदेशभर सारिँदैछ । मलिक अमिनका अनुसार सबैभन्दा गार्हो काम सकिएको छ । ‘‘यी विशाल नर्सरीहरू बनिसकेकाले, यही प्रक्रिया दोहोर्याएर अर्को साल ३० करोड विरुवा हुर्काउन धेरै सजिलो हुन्छ । बाँकी ४५ करोड विरुवा स्थानीय समुदायको सहभागितामा जोगाइएका वनहरूमा प्राकृतिक रुपले उम्रिएर हुर्किरहेका छन् । यो सबै मिलाएर अर्को वर्षको अन्त्यसम्म केपि प्रदेशले एक अर्ब विरुवा हुर्काउने आफ्नो लक्ष्य पूरा गर्ने आशा लिएका छौँ ।’’ वर्षमा जम्मा २ करोड विरुवा मात्र रोपिने विगतका वर्षहरूको तुलनामा यो ठुलो छलाङ् हो ।

यो महत्वकांक्षी योजनामा खास प्रगति के भइरहेको छ त भनी हेर्न हामीले हालसालै केपि प्रदेशको हरिपुर जिल्ला भ्रमण गर्यौँ । हरिपुरका जिल्ला वन अधिकृत रइस खानले हामीलाई मेनरोड नजिकै निक्कापामा रहेको सरकारी ‘‘केन्द्रीय नमूना’’ नर्सरी देखाए । पोहोर साल स्थापना भएपछि ६ लाख विरुवा हुर्काइसकेको नर्सरीभरी सार्ने बेला हुनै लागेका चीर सल्लाका विरुवाहरू थिए । नर्सरीमा स्थानीय रुखको प्रजाती कच्नार र मसला बेर्नाहरू पनि थिए । ती दुवै जमीनबाट धेरै पानी सोस्ने रुखहरू भएकाले यीनले माटोलाई सुक्खा बनाउन सक्छन् । मसलाका रुख चाँडो बढ्ने र पाँच वर्षभित्रै आर्थिक फाइदा दिने भएकाले स्थानीय समुदायको व्यापक मागको आधारमा यसको बेर्ना जमाइएको रइस खानले बताए ।

हरिपुर नर्सरीमा सार्न तयार स्थितिमा सल्ला र कच्नारका बेर्नाहरू

हरिपुर नर्सरीमा सार्न तयार स्थितिमा सल्ला र कच्नारका बेर्नाहरू

केही पर्यावरण विशेषज्ञहरूले गलत स्थानको लागि गलत प्रजातीहरू पहिचान गरिएकाले अभियान अनुपयोगी हुनसक्ने चेतावनी दिएका छन् । पेशावर विश्वविद्यालयको वनस्पति विभागका सहायक प्राध्यापक साथै एक पर्यावरणवीद लाल बादशाह आलोचक मध्येका एक हुन् । उनले निउज्लेन्स् पाकिस्तानलाई भने, सीमित तटीय क्षेत्रका नदी किनारमा पाइने उष्णीय म्यानग्रोभ प्रजाती कोनोकार्पस् पेशावरको पर्वतीय क्षेत्रमा रोपिँदैछ ।

मलिक अमिन यस्ता आलोचनाहरूलाई खण्डन गर्छन्ः ‘‘स्थानीय क्षेत्रहरूमा स्थानीय प्रजातीलाई नै प्राथमिकता दिइएको छ । खेती नलाग्ने र पानी जम्ने जमीन भएका दक्षिणी क्षेत्रमा मसलाका रुखहरूले पानीको सतह घटाउन मद्दत गर्छन्,’’ उहाँको भनाइ थियो।

उत्तरको पर्वतीय जिल्ला चित्रलदेखि दक्षिणी समथर भूमीको डेरा स्माइल खानसम्म केपि प्रदेशका सबै जिल्लाहरूमा हाल यस्ता नर्सरीहरू स्थापना भएका छन् । प्राय नर्सरी निजी स्वामित्वका छन् र बेर्नाहरूको माग बढ्दो छ ।

प्रादेशिक सरकारले ‘‘युवा नर्सरी’’ कार्यक्रम अन्तर्गत बेरोजगार युवा वा ग्रामीण महिलालाई लगभग २५,००० बेर्ना भएको घरबारी नर्सरी स्थापना गर्नको लागि सुरक्षित खरिद सम्झौता गर्नुका साथै खर्चको २५ प्रतिशत पेश्की प्रदान गर्छ । त्यसपछि नर्सरीले प्रति महिना पाकिस्तानी रुपैयाँ १२,००० देखि १५,००० सम्म (अमेरिकी डलर ११५–१४३) कमाउन सक्छ, जुन यो क्षेत्रको लागि उल्लेख्य आम्दानी हो । वास्तवमा, धेरैजसो साना स्केलका वा पारिवारिक नर्सरीहरू ग्रामीण महिलाले चलाइरहेका छन् र उनीहरूले आफ्नो आम्दानी बढाउन सफल भएका छन् ।

स्थानीय असन्तुष्टी

त्यसपछि हामीले नजिकै रहेको हरिपुर जिल्लाकै सुन्दर गाउँ करवालाको स्थानीय समुदायसँग भेट्यौँ । बेर्ना सारिएका पाखाहरू बाटैबाट देखिन्थ्यो, तर गाउँलेहरू खुशी थिएनन् । उनीहरूलाई धेरै महिनापछि मात्रै भुक्तानी दिइएको थियो जसले गर्दा ज्यादै अन्यौल सिर्जना भएको थियो । ‘‘समयमा पैसा नपाएका कारण हामीले यस वर्षामा खेती लाउन पाएनौँ,’’ एक असन्तुष्ट गाउँलेले भने । त्यसैगरि, सल्लाका बेर्नाहरू मात्र नभई उनीहरूले यस अविकसित क्षेत्रमा आफूलाई थप आम्दानी हुनसक्ने फलफूलका रुखहरू पनि माग गरेका छन् ।

‘‘नमूना व्याड’’ स्थापना गरिएको हरिपुरकै अर्को क्षेत्रमा, मानिसहरूले सारिएका विरुवाका प्रजातीहरू’bout आलोचना गरे । ‘‘कुन ठाउँमा कस्तो विरुवाले स्थानीय समुदायलाई फाइदा पुर्याउँछ हेर्नुपर्छ – जस्तै यस ठाउँमा उनीहरूले जैतुनको विरुवा प्रवर्धन गर्नुपर्ने हो,’’ माङ् गाउँका मक्बुल मलिकले भने ।

परियोजना पूर्ण रुपमा दोषरहित त छैन, तर गाउँलेहरूलाई भनिएजस्तै, अन्ततः यस दुर्गम पर्वतीय क्षेत्रमा रोपिएका रुखहरूले भूक्षय तथा पहिरो रोकथाम गर्नेछ जसले उनीहरूकै भावी पुस्तालाई फाइदा पुग्नेछ । यो सम्पूर्ण परियोजनालाई वन विभाग, केपि सरकार र विश्व वन्यजन्तु कोषले अनुगमन गरिरहेका छन् । अनुगमनपछि कोषले एक प्रतिवेदन तयार गरेको छ । प्रतिवेदन अझैसम्म सार्वजनिक रुपले उपलब्ध नभए पनि द थर्डपोल डट नेटलाई यसको कार्यकारी सारांश देखाइएको थियो । यसमा उल्लेख छ, ‘‘नतिजाहरू हेर्दाखेरि, द बिलियन ट्री सुनामी परियोजनाको महत्वकांक्षी लक्ष्य हासिल गर्नको लागि उत्कृष्ट प्रयास गरिएको छ भन्ने निष्कर्श निकालिएको छ ।’’ तर यसमा यस्तो पनि उल्लेख छ, ‘‘सामान्यतयाः सामाजिक परिचालनको पक्षलाई न्यूनतम महत्व दिइएको पाइयो, जसलाई अग्रपक्तिंमा राखिनुपर्छ ।’’

विश्व वन्यजन्तु कोष–पाकिस्तानका वरिष्ठ निर्देशक एजाज अहमदले थपे, ‘‘अनुगमनको यो चरणमा, (रुखका बेर्नाहरूको) सफलताको दर प्रशंसनीय थियो र हामीलाई लाग्छ यो परियोजनाले वन क्षेत्र सुधार गर्न सकारात्मक योगदान गर्नेछ ।’’

अन्तर्राष्ट्रिय सम्मान

परियोजनालाई सन् २०१५मा पेरिसमा भएको संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्मेलनमा बन च्यालेन्ज सम्मान प्रदान गरिएको थियो, जुन सन् २०२० सम्ममा संसारका १५ करोड हेक्टर बाँझा र नागां जमीनहरूलाई पुनःर्स्थापित गर्ने लक्ष्य सहितको विश्वव्यापी साझेदारी प्रयास हो । पेरिस सम्मेलनमा केपि सरकारले आफ्नो ‘‘बिलियन ट्रि सुनामी’’ परियोजना अन्तर्गत वृक्षारोपणको माध्यमले ३ लाख ८४ हजार बाँझो जमीन पुनःर्स्थापित गर्ने वाचा गर्यो ।

हरिपुरको करवाला गाउँको नाङ्गा पाखाहरूमा वृक्षारोपण गरिएको

हरिपुरको करवाला गाउँको नाङ्गा पाखाहरूमा वृक्षारोपण गरिएको

हालसालै, इमरान खानले पनि एक रुख, एक जीवन अभियान उद्घाटन गरे जस अन्तर्गत बालबालिकाहरूलाई एक रुख रोपी ‘‘बिलियन ट्रि सुनामी’’को अंश बन्न प्रेरित गरिन्छ । अन्तर्राष्ट्रिय वन दिवस, मार्च २१मा गरिएको उद्घाटनको दिन पेशावरमा मात्रै १०,००० भन्दा बढि स्कुले विद्यार्थीले १ लाख भन्दा बढि विरुवा रोपे । पि.टि.आइ.का अध्यक्ष इमरान खानका अनुसार, ‘‘यो परियोजनाको उद्देश्य सन् २०१८ भित्र एक अर्ब रुख रोप्ने मात्र नभई, यस प्रदेशलगायत पाकिस्तानभरका मानिसको सोच परिवर्तन गर्नु पनि हो । यसले मानिसहरूको वातावरणलाई ध्वस्त पार्ने सोचलाई परिवर्तन गरेर यस मूल्यवान प्राकृतिक स्रोतको आरक्षण, संरक्षण र सम्मान गर्नेतर्फ सोच बढाउँछ ।’’

विपक्षीमाथि प्रभाव

सुरुमा लागु हुँदा ‘‘बिलियन ट्रि सुनामी’’ कार्यक्रमको आलोचना गरेको प्रधानमन्त्री नवाज शरिफको पि.एम.एल.(एन) पार्टी नेतृत्वको पाकिस्तानी संघीय सरकारले अहिले आफ्नै ‘‘हरित पाकिस्तान कार्यक्रम’’ अनुमोदन गरेको छ । कार्यक्रमको लक्ष्य आगामी पाँच वर्षभित्र देशैभर १० करोड वृक्ष रोप्नु रहेको छ र यसको नेतृत्व प्रधान मन्त्री स्वयंले गर्नेछन् ।

यसअघि, संघीय पि.एम.एल.(एन) सरकारका मुख्य प्रवक्ता पर्वेज रशिदले सन् २०१५ को डिसेम्बर महिनामा लाहोरमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यो परियोजनाको सम्भाव्यतामाथि प्रश्न गरेका थिए । ‘‘यत्रो भिमकाय काम कहिले भयो?’’ उनले प्रश्न गरे । प्रतिक्रिया स्वरुप पि.टि.आइ.ले ती मन्त्रीलाई वृक्षारोपणहरू आफैँ आएर हेर्न निम्ता दिएको थियो ।

‘‘संघीय सरकार वन जोगाउने यो अभियानको आलोचना गर्नबाट सिको गर्न थालेको देख्दा हृदय प्रफुल्लित भएको छ,’’ इमरान खानले भने । ‘‘मलाई आशा छ कि उनीहरूले भनेको कुरा लागू गर्नेछन् र हाम्रो देशको वातावरणीय भविष्य जोगाउँदै जलवायु परिवर्तनसँग जुध्न साझेदारी गर्नेछन् ।’’

One comment

  1. It is good to know that considerable attention is being given to the environment in the form of his campaign but types of plants are unknown.

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.