उसले खियाउन छोड्यो । डुङ्गा एक्कासी रोकियो । यो अलिअलि हल्लीयो मात्र । भारतको प्राचीन सहर बनारसमा प्रतिध्वनित एक नाविकको निरासाले स्पष्ट रुपमा गंगा नदीको कन्तविजोग वयान गर्दछ किनकी यहाँ यो नदी बग्न बन्द प्रायः हुन्छ ।

यस नदीमा लामो समय देखि डुङ्गा चलाएर जीवीकोपार्जन गर्दै आएका मल्लु माझी हतास मुद्रामा आफनो् बालपनको समय संझन्छन् जति बेला गंगा नदी आफ्नै प्राचीन शुद्घत्ता र बहाव संगै बनारस सहरको शोभा बढाउथ्यो ।

कुनै समय यस्तो थियो बनारसको चर्चित घाटहरु दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकहरुलाई डुङ्गा सयर गराउदै नदी माथि तर्फ लैजादा उनले नदी बहाबको विपरीत दिशामा डुङ्गा खियाउन सम्पूर्ण बल लागाउनु पर्ने हुन्थ्यो । तर आज उनलाई गंगा नदी एउटा सानो पोखरी जस्तो लाग्छ ।

“यदि सरकार साच्चै गंगा नदीको स्वच्छता र पवित्रता पुनः कायम गर्न चाहान्छ भने नदीलाई पानीको आवश्यकता छ सफाई योजना होइन ।” उनी विश्वासका साथ भन्छन् ।

बनारसी जनता माझ गंगा नदीमा भएको बढ्दो प्रदुषण प्रति असन्तुष्टि स्पष्ट रुपमा देखिन्छ । भारतको उत्तर प्रदेश राज्यमा अवस्थित प्राचीन मन्दिर तथा घाटहरुको सहर बनारस तिर गत वर्ष एकाएक पुरै राष्ट्रको ध्यान केन्द्रित भयो जब त्यही निर्वाचन क्षेत्रवाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको चुनावमा विजय हासिल गरे ।

प्रधानमन्त्रीको रुपमा सपथ लिए पछि आफनो निर्बाचन क्षेत्रको पहिलो भ्रमणको क्रममा मोदीले गंगा सफाइमा लाग्ने बचन दिएका थिए । तर प्रधानमन्त्री मोदीले घोषणा गरेको गंगा सफाइ कार्यक्रम योजनाकै क्रममा छ । बल्ल तल्ल बग्ने नदी साथै यसमा गरिदै आएको ढल तथा अन्य फोहर विसर्जनको निरन्तरताले सरकारले करोडौ भारतीय रुपैया लगानी गर्ने घोषण गरेको नमामी गंगा योजना तथा गंगा संरक्षण अभियान अझ पनि कार्यान्वयन हुन बाँकि नै रहेको देखाउछ ।

“प्रधानमन्त्री मोदी मेरो डुङ्गामा बसेर एक पटक गंगा नदीको तल देखि माथि सम्म निरिक्षण गर्न जरुरी छ । यस क्रममा देखिएका नदीमा मिसाइने प्रत्येक ढल निकासलाई बन्द गर्नु पर्छ र बाँध बाँधेर गंगा नदीको पानी अन्यत्र लगिने क्रम पनि बन्द गरिनु पर्छ,”मल्लु माझीले भने ।

एकातिर हिन्दु धर्मावलम्वीहरुले पवित्र मानी पूजा गर्दै आइएको गंगा नदीमा पानीको स्तर स्वाट्टै घटेको छ भने अर्कोतीर पानीमा प्रदुषणको मात्रामा वृद्घि भएको छ । जसले गर्दा नदीको पानी दुर्गन्धित हुनुको साथै कालो लेदोमा परिणत भएको छ ।

पानीको स्वच्छता मापन गर्न अपनाइने कोलिफर्म ब्याक्टेरीया गणना पद्घतिको अभिलेख हेर्दा पहिलो पटक सन् १९८८ को जनवरी महिनामा गंगा नदीमा बनारसको तल्लो क्षेत्रमा पानीको शुद्धत्ता परिक्षण गरिएको थियो । जसमा प्रत्येक १०० मिलि लिटर पानीमा १४ हजार ३ सय कोलिफर्म ब्याक्टेरीया गणना गरिएको थियो । सन् २००८ को जनवरी महिनामा गरिएको परीक्षणमा यसको स्तर १ लाख ४० हजार प्रति १०० मिलि लिटर तथा २०१४ को जनवरीमा यो परिमाण बढेर २४ लाख प्रति १०० मिलि लिटर पुगेको थियो ।

पानीको शुद्धता मापन गर्ने अर्को पद्घति भनेको वायोकेमिकल अक्सिजन डिमाण्ड (वीओडी) विधि हो । कुनै शुद्घिकरण गर्ने अन्य तत्व नमिसाइकन खानेपानीमा वीओडीको स्तर २ मिलि ग्राम प्रति लिटर भन्दा कम हुनुपर्छ ।

गंगा नदीको पानी बनारस प्रवेश गर्दा वीओडीको स्तर २ दशमलव ८ मिलि ग्राम प्रति लिटर रहेको छ भने यसै वर्षको अप्रिल महिनामा गरिएको परीक्षण अनुसार नदी सहरबाट बाहिरीदा यसको पानीमा रहेको वीओडीको स्तर ४ दशमलव ९ मिलि ग्राम प्रति लिटर रहेको पाइएको छ । यसको मतलव वनारस सहरवाट नदीमा ठूलो मात्रामा खुल्ला रुपमा ढल मिसाइएको पुष्टि हुन्छ।

वीओडी भनेको पानीमा रहेका जीव तत्वहरुलाई त्यहां रहेका जैविक पर्दाथहरुको विभाजन गर्न आवश्यक पर्ने पानीमा घुलित अक्सिजनको मात्रा हो । यो परीक्षण विधि खासगरी पानी शुद्घिकरण गर्ने संयन्त्र (वाटर ट्रिटमेन्ट प्लान्ट)को प्रभावकारीता मापन साथै नदीको पानीमा ढल निकासले गर्दा हुने जैविक पदार्थ प्रदुषणको स्तर थाहा पाउन प्रयोग गरिदै आइएको छ ।

विशेषज्ञको भनाई

पर्यावरणविदहरुको विचारमा नदीमा खुल्ला रुपमा विसर्जन गरिदै आएको ढल निकास भन्दा नदीको पानीको घट्दो स्तर चाहि ठूलो समस्या हो ।

“गंगा प्रदुषणको समस्या गत शताब्दी देखि कै हो । पछिल्लो दशक देखि गंगामा बग्ने पानीको परिमाणमा क्रमिक गिरावट आएको छ जसको परिणाम स्वरुप नदीमा प्रदुषित पर्दाथहरु जम्मा हुने क्रम पनि बढेको छ । यदि मैले एउटा कपमा रहेको पानीमा १० चम्चा चिनी हाले त्यसैगरी पानीले भरिएको अर्को बोतलमा त्यतीनै मात्रामा चिनी मिसाए भने कुन चाँहि बढि गुलियो हुन्छ होला त ?” बनारस हिन्दु विश्वविद्यालय साथै केन्द्रिय प्रदुषण नियन्त्रण बोर्ड र राष्ट्रिय गंगा नदी वेसिन प्राधिकरणको आर्थिक सहयोगमा संचालित गंगा अनुसन्धान कार्यक्रमका अध्यक्ष बि.डी त्रिपाठीले प्रश्न गरे ।

गंगा नदीमा बढदो दुर्गन्धको कारणको ’boutमा ब्याख्या गर्दै अध्यक्ष त्रिपाठीले द थर्डपोल डट नेटलाई भने सन् १९८६ मा कार्यान्वयनमा ल्याईएको गंगा एक्सन प्लान (जीएपी) पछि पनि गंगा नदीमा प्रदुषणको मात्रा ५ देखि १० प्रतिशतले वृद्धि भएको पाइएको छ । प्रदुषण वृद्धिको मुख्य कारण नदीको पानीमा बढ्दो रुपमा रहेको ढल निकास साथै अन्य फोहर विसर्जन र घट्दो पानीको स्तर हो ।

यस्तै विचार बनारस हिन्दु विश्वविद्यालय अन्तर्गतको प्राविधिक अध्ययन संस्थानका सिभिल इन्जिनीयरीङ्गका भूतपूर्व प्राध्यापक यु.के. चौधरीको पनि रहेको छ । गंगा अनुसन्धान कार्यक्रमका संस्थापक पनि रहेका चौधरी गंगाको पानी अन्यत्र लैजान बनाइएका बाँधहरुलाई क्यान्सरको संज्ञा दिन्छन् । नदीको पानीमा जति बढि वेग हुन्छ पानीको गुणस्तर त्यतीनै राम्रो हुने कुरामा उनको जोड रहेको छ ।

द थर्डपोल डट नेटसंग कुरा गर्दै चौधरीले भने,“ एउटा मानिसमा भएको करिब ६ लिटर रगत मध्ये ५ लिटर निकाली सकिएको छ भने यस्तो अवस्थामा चिकित्सकले के नै पो गर्न सक्छ र ? यदि नदीबाट पानी अन्यत्र लैजान नरोक्ने हो भने प्रधानमन्त्री मोदीले वाचा गरेको २० लाख करोड रुपैया खर्च गर्दा पनि गंगा नदी सफाइ पुरा हुनेवाला छैन ।”

प्रधानमन्त्री मोदीलाई लेखेको एक पत्रमा चौधरीले गंगा नदीमा बाँध बाँधी ३० प्रतिशत भन्दा बढि पानी अन्यत्र लैजान दिन नहुने सिफारिस गरेका छन किनकी पानीको स्तर कम हुने बित्तिकै प्रदुषणको समस्या अझ ठूलो हुन्छ ।

“अहिले गंगा नदीको विभिन्न स्थानमा बाँध बाँधी ९५ प्रतिशत भन्दा बढी पानी अन्यत्र मोडिएको छ । यसले नदीको पानीको परिमाण साथै बहाब र गतिमा भारी गिरावट ल्याएको छ । परिणाम स्वरुपः पानीमा अक्सिजनको मात्रामा कमी हुनाले नदी बग्दै जादा विओडीको लेभल बढ्ने गरेको छ भने घट्दो पानीको स्तरले यस नदीद्घारा सिंचीत क्षेत्रमा भूमीगत जल सतहमा गिरावट आउने, बोट बिरुवाको जरामा पानीको कमी भई उत्पादन घट्ने साथै नदी क्षेत्रको माटोमा लवणको मात्रामा वृद्घि हुने देखिन्छ ।,” चौधरीले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ ।

नयाँ बाचा

गत वर्ष जब मोदीले चुनाव लड्न बनारस निर्वाचन क्षेत्र रोजे तब उनले भनेका थिए,“ मुझे माँ गंगा ने बुलाया है ( गंगा माताले मलाई बोलाएकी छिन)”।

निर्वाचन अभियानका क्रममा धेरै पटक उनले गंगा नदी सफा गर्ने वाचा गरेका थिए । चुनावी जित संगै नयाँ सरकारले २०३७ करोड भारु अर्थात ३३८ मीलीयन अमेरीकी डलर नमामी गंगा परियोजनाको लागि विनियोजन गर्नुका साथै यस परियोजनाको लागि स्वैच्छिक आर्थिक  योगदानको लागि गंगा शुद्धिकरण कोष (क्लीन गंगा फन्ड) को स्थापना पनि गर्यो।

विनियोजित रकमको ठूलो हिस्सा नदीमा विसर्जित ढल निकासहरुलाई प्रशोधन गर्नको लागि आवश्यक पर्ने ट्रिटमेन्ट प्लान्टहरुको निर्माणमा खर्च हुने छ ।

सरकारद्धारा घोषित जलमार्ग विकास परियोजना भनिने गंगा नदी सम्बन्धी अर्को परियोजना छ जसमा गंगा नदीको १६२० किलोमीटरको खण्डमा जहाजहरु आवत जावत गर्न सक्ने जल मार्ग विकासको परिकल्पना गरिएको छ । तर यो परियोजनाले बैज्ञानिक तथा धार्मिक गुरुहरुबाट कडा आलोचना खेप्नु परेको छ ।

बनारसको केदार घाटमा अवस्थित विद्या मठका प्रमुख स्वामी अभीमुक्तेस्वरानन्द सरस्वतीका अनुसार , नयाँ सरकारले गंगा नदीको प्राचीन शुद्धता र सौन्दर्य पुनःस्थापना गर्ने भन्दै आशा देखाएको थियो । तर त्यसको एक हप्ता पनि नबित्दै गंगाको पानी यातायात प्रयोजनको लागि प्रयोग गर्ने भन्दै नयाँ परियोजनाको घोषणा गरेर उक्त आशालाई आफैले निरासामा बदल्ने काम गरेको छ ।

नयाँ परियोजनाको लागि गंगा नदीमा आवश्यक पानीको स्तर कायम गर्नको लागि वाँध तथा तटवन्धहरुको आवश्यकता पर्छ जसको प्रभाव नदीमा पानीको परिमाण तथा बहाबको गतिमा प्रत्यक्ष रुपमा पर्दछ । “नदी थुन्नु प्राकृतिक स्रोत शोषणको एकदमै निकृष्ट रुप हो । यस्तो प्रवृतिले गर्दा गंगालाई नदी होइन पोखरी बनाउदैछ,” उनले द थर्डपोल डट नेटलाई भने । स्वामीले वर्तमान सरकारको ट्रिटमेन्ट प्लान्ट निर्माणमा दिएको जोड प्रति पनि आपत्ति प्रकट गरे किनकी पूर्व सरकारहरुले पनि ट्रिटमेन्ट प्लान्ट निर्माणमामा जोड दिएका थिए तर पनि नदी सफाइमा असफल रहेका थिए ।

“ यो सरकार पनि ढल निकास ब्यवस्थापनमा खर्च गर्न जादै छ । ढल निकास ब्यवस्थापन गंगा सफाई कार्यक्रम संग सम्बन्धित नभएर शहरी विकास योजनासंग सम्वन्धित छ । प्रथमतः हामी किन ढललाई नदीको पानीमा निकास गर्न दिइरहेका छौ । ” उनले प्रश्न गरे ।

ढल निकास प्रशोधन केन्द्र

बनारसमा सन १९८६ देखिनै ढल निकास प्रशोधन संयन्त्रहरु ( ट्रिटमेन्ट प्लान्ट) संचालनमा ल्याइएको छ जसले दैनिक रुपमा १०२ मिलियन लिटर दुषित पानी शुद्धिकरण गरि नदीमा पठाउने गरेको छ ।

तर सन् १९९० को सुरु देखि नै बनारस सहरवाट उत्पादन हुने ढलवाट निकास हुने दुषित पानीको परिमाण ३०० मिलियन लिटर प्रतिदिन हुने गरेको छ । यसरी हेर्दा सहरवाट उत्पादन हुने तीन भागमा एक भाग ढल निकास मात्र ट्रिटमेन्ट प्लान्ट संग जोडिएको छ ।

सन् १९९३ मा सुरु भएको गंगा एक्सन प्लान (ग्याप) को दोश्रो चरणले अर्को ट्रिटमेन्ट प्लान्ट र नयाँ ढल निकासको व्यवस्था गर्नु पर्ने देखायो ।  तर जमीनको अभावले ट्रिटमेन्ट प्लान्ट वन्न सकेन र नयाँ ढल निकास कुनै शुद्धिकरण संयन्त्र संग जोडिन पनि सकिएन । जापानको अन्तराष्ट्रिय सहयोग एजेन्सी (जाइका) र जवाहरलाल नेहरु राष्ट्रिय नगर नविकरण मिसन (Jawaharlal Nehru National Urban Renewal Mission) को आर्थिक सहयोगमा निर्माण हुने भनिएको थप २ वटा ट्रिटमेन्ट प्लान्टहरुको निर्माणमा पनि ढिलाई भएको छ ।

बनारसमा संचालीत सम्पूर्ण ढल निकास ट्रिटमेन्ट प्लान्टहरुको व्यवस्थापन गंगा प्रदुषण नियन्त्रण एकाई (Ganga Pollution Prevention Unit) ले गर्ने गर्दछ । तर यसका प्रोजेक्ट म्यानेजर एस.के बरमन को विचारमा यस परियोजनाको नाम नै उपयुक्त छैन ।“गंगा प्रदुषण नियन्त्रण एकाइ गंगा नदी सफाई संग सम्बन्धित छ भन्ने बुझाइ नै गलत छ । यसले त अन्य सहरहरुमा खानेपानी विभागले गर्ने जस्तो सरसफाइ र ढल निकास प्रशोधनको काम गर्ने गर्छ ।” बरमनले भने ।

केन्द्रिय सहरी विकास मन्त्रालयका सचिव सुधिर कृष्णाले जुन २०१४ मा बनारस सहरको भ्रमण गरे । निरीक्षणको क्रममा उनले धेरै ढलका निकासहरु प्रशोधन संयन्त्रसंग जोड्न बाँकिनै रहेको देखे । यसले नदी सफाइ कार्यक्रमलाई कुनै फाइदा पुगेको देखिएन ।  यसरी नै , केन्द्रिय प्रदुषण नियन्त्रण बोर्डको एक टोलीले सन २०१३ मा गरेको निरीक्षणमा  गंगा नदीमा  स्थापना भएका ५१ वटा ढल प्रशोधन केन्द्र मध्ये ६० प्रतिशत मात्र पूर्ण रुपमा संचालनमा आएका तर बाँकि एक तिहाई  प्रशोधन केन्द्रहरु बन्द रहेको पाइएको थियो ।

त्रिपाठीका अनुसार ढल निकास प्रशोधन संयन्त्रहरुले मात्र नदी प्रदुषण समस्या समाधान गर्न सक्दैन किनकी बनारसमा रहेका साना उद्योगहरुले नदीमा विसर्जन गर्ने फोहोर पदार्थ तथा पानीमा कडा धातु (हेभी मेटल) को मात्रा प्रचुर रुपमा हुने गर्दछ जसलाई यस्ता  ट्रिटमेन्ट प्लान्टहरुले प्रशोधन गर्न सक्दैनन् ।

सन् २०१० मा प्रकाशित वनारस हिन्दु विश्वविद्यालयको एक अध्ययन प्रतिवेदनमा नदीमा विसर्जन गरिएको फोहोर पानी तथा प्रशोधन गरिएको पानी सिचाइ गरिएको जमीन साथै त्यहाँ उत्पादित तरकारीहरुमा कडा धातुको मात्रा एकदमै धेरै पाइएको थियो । “२० वर्ष भन्दा वढि समय सम्म फोहोर पानी सिचाइ गरिएको कृषि योग्य जमीनमा कडा धातु ठूलो मात्रामा जम्मा भएर बसेको छ । यसले गर्दा त्यहाँ उत्पादित सबै तरकारीहरुमा क्याडमीयम, सिसा र निकेल लगायतका कडा धातुहरुको मात्रा स्वास्थ्यको दृष्टिकोणले सुरक्षित स्तर भन्दा धेरै वढि पाइएको छ, ” अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यसरी कलकारखानाहरु र दैनिक घरायसी उपभोग दुवै स्रोतहरुबाट निस्कने फोहोरको ठूलो मात्रा नदीमा खुल्ला रुपमा विसर्जन हुने गरेको छ । सहरमा उत्पादित फोहोर जम्मा गरी सुरक्षित विसर्जन गर्ने व्यवस्था भएको ठाउंहरुमा चुस्तता छैन भने कतिपय ठाउंमा भने यस्तो व्यवस्था छदै छैन जसका कारण उत्पादन हुने फोहोरहरु खुल्ला रुपमा ढलमा फालिन्छ जुन गएर नदीमा मिसिन्छ ।

बनारसमै जन्मी हुर्केका र गत १ दशक देखि सहरमा पर्यटक घुमाउने काम गर्दै आएका ६१ वर्षीय हरिस कुमार सिंह आसी खोलाको ढलतिर देखाउँदै भन्छन् गंगामा मिसिने वरुण नदी र आसी नदीको बिचमा अवस्थित भएकोले यस सहरलाई बनारस भनी नामांकरण गरिएको थियो ।

आसी नदीको यहि ढल भएको ठाँउमा सानामा उनले डल्फिन देखेका थिए । तर अहिले आसी नदीलाई ढल भन्नु पर्दा उनको आँखामा आँसु भरिएर आउँछ । “नेताहरु गंगा नदीको विजोग छ भन्दै ठूला ठूला भाषण गर्छन र सफाइको वाचा गर्छन । तर गंगा नदीको प्राचीन शुद्धता र सुन्दरतालाई पुनः स्थापित गर्ने हो भने यसको लागि पैसा वा परियोजाना भन्दा पनि दृढ संकल्पको आवश्यकताको छ । ” सिहं भन्छन् ।

One comment

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.