पद्मा नदीमा स्थापना गरिने बंगलादेशको पहिलो आणविक उर्जा केन्द्रको संचालन तथा सुरक्षा पानी अभावका कारण जोखिममा पर्न सक्ने सम्भावना रहेको छ ।

पद्मा नदीमा निर्माणाधिन २००० मेघावाटको रुपपुर आणविक उर्जा केन्द्रले देशमा रहेको बढ्दो विद्युतको माग पुरा गर्नुका साथै रित्तिदो  प्राकृतिक ग्यासमा रहेको वर्तमान निर्भरतामा कमी ल्याउने बंगलादेशले आशा लिएको छ ।

तर भारतको गंगा नदीबाट निस्कने पद्मा नदीमा घटदो पानी वहावको कारण रुपपुर  आणविक उर्जा केन्द्रको संचालन तथा सुरक्षा जोखिममा पर्न सक्ने देखिन्छ । किनकी आणविक उर्जा केन्द्र चिस्याउनको लागि ठूलो परिमाणमा पानीको  आवश्यकता पर्दछ ।

वंगलादेशले रुस सरकार संग पब्ना जिल्लामा रहेको पद्मा नदीमा आणविक उर्जा संयन्त्र स्थापनाको लागि संझौता पत्रमा सन् २०११ मा हस्ताक्षर गरेको थियो । बंगलादेशको आणविक उर्जा आयोग र रुसको सरकारी स्वामित्वमा रहेको आणविक उर्जा संस्थान एटम्सट्रोयएक्पोर्ट (Atomstroyexport) बिच भएको संझौता अनुसार उक्त आणविक उर्जा परियोजना सन २०२१ सम्ममा पुरा हुनेछ ।उर्जा केन्द्र परियोजना निर्देशक डा. शव्कत अकवरले जानकारी दिए अनुसार , यस परियोजनाको संभाब्यता अध्ययन तथा वातावरणीय प्रभाव मुल्याङ्कन पुरा भई प्रतिवेदन समीक्षाको क्रममा रहेको छ ।

प्यासी आणविक केन्द्र

संसारभरीका उर्जा आणविक केन्द्रहरु प्रायः जसो ठूला ताल तलैया, नदी तथा समुन्द्रको छेउमा अवस्थीत छन् किनकी पानीको अभावका कारण यस्ता संयन्त्रहरुमा आणविक दुर्घटना हुने संभावना रहन्छ ।रुपपुर उर्जा आणविक संयन्त्रमा अवश्यक पर्ने पानीको परिमाणको ’boutमा स्वअध्ययन गरेका मेकानिकल इन्जिनीयर महवुवुर रहमानका अनुसार यस उर्जा संयन्त्र संचालनको लागि प्रति मिनेट ४ लाख ५५ हजार ग्यालेन पानीको आवश्यकता रहेको छ ।

विशेषज्ञहरुले के चेतावनी दिएका छन् भने यदि रुपपुर अणविक उर्जा संयन्त्रलाई चिसो बनाई राख्न ब्यवस्था गरिएको प्रणालीलाई पानी अभावका कारण बन्द गरीने हो भने संयन्त्रमा रहको रियाक्टर पग्लेर चेर्नोवील र फुकुसीमा आणविक भट्टी दुर्घटना जस्ता ठुलो दुर्घटना निम्त्याउन सक्ने छ ।

आणविक उर्जा उत्पादनको कार्यक्षमता अर्थात इफिसियन्सी करिव ३३ प्रतिशत हुने अनुमान गरिन्छ । सामान्य अर्थमा भन्ने हो भने आणविक केन्द्रवाट उत्पादित कुल परिमाणको एक तिहाइ उर्जा मात्र विद्युतको रुपमा प्रसारण लाईन सम्म पुग्ने र बाँकि उर्जा तापको रुपमा वायुमण्डल वा चिस्याउन प्रयोग भएको पानीमा खेर जाने गर्दछ । रुपपुर उर्जा संयन्त्र पनि यसको अपवाद हुने छैन ।उर्जा संयन्त्रलाई चिस्याउनको लागि पद्मा नदीबाट चिसो पानी ल्याइने छ र तातो पानी पुनः नदीमा नै फर्काइने छ । यसले गर्दा नदीको पारिस्थितिक प्रणालीमा ठूलो असर पार्न सक्ने संभावना रहन्छ ।

पानी बहावमा भारतीय नियन्त्रण

गंगा नदीबाट उत्पन्न हुने प्रमुख नदी पद्मा भारतमा उदगम भई सिमा बाहिर निस्कन्छ । भारतले ७०को दशकमा हुग्ली नदीको पानी मोडी कोलकता वन्दरगाहमा जम्मा हुने माटो तथा बालुवाको थिगरलाई बगाउनका लागि गंगा नदीको किनारै किनार फरक्का बाँध निर्माण गर्यो।

तर भारतीय बाँधका कारण बंगलादेशको पद्मा नदीमा पानी बहावको मात्रामा उल्लेख्य कमी ल्यायो । यसले गर्दा पद्मा नदी द्वारा सिंचित कृषि योग्य जमीनको विनाश हुनुका साथै कैयौ वस्तीहरु विस्थापीत हुन पुगे । अहिले पनि प्रत्येक सुख्खा याममा यस नदीमा पानीको अभाव रहन्छ ।

बंगलादेश जल विकाश बोर्डमा रहेको तथ्याङ्ककका अनुसार पछिल्ला १२ वर्ष देखि पद्मा नदीको औषत बहाब २२ हजार ३ सय घन फिट प्रति सेकेन्ड (क्युसेक)रहेको छ । यसो हेर्दा उर्जा संयन्त्रलाई चाहिने करिब ३४५ क्युसेक पानी प्रति दिन सजिलै उपलब्ध हुने देखिन्छ ।

जसरी सन् २०११ को मे महिनामा नदीको बहाब ३१ सय क्युसेक मा झरेको थियो त्यसरी नै सुख्खा मौषममा पानी बहाबमा तिव्र रुपमा आउने कमीले यस आणविक उर्जा संयन्त्रको संचालन तथा सुरक्षामा ठुलो खतरा ल्याउने छ ।

परियोजना निर्माणकर्ताहरु भने उर्जा संयन्त्रको लागि नदीमा पानी पर्याप्त मात्रामा रहेको दावी गर्दछन । “ उर्जा संयन्त्रले पानी अभावको समस्या कहिल्यै पनि सामना गर्नु पर्ने छैन । भूमिगत जल उपयोग गरेर पनि उर्जा संयन्त्रलाई संचालन गर्न सकिन्छ ” डा. अकवरले दावी गरे ।

तर स्वतन्त्र रुपमा यस आणविक उर्जा संयन्त्रको अध्ययन गरेका इन्जिनीयर रहमानका अनुसार यस परियोजनाको लागि अनुमान गरिए भन्दा निकै वढि मात्रामा पानीको आवश्यकता पर्दछ ।

तर परियोजनाको संभाब्यता अध्ययन तथा वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन सार्वजनीक नगरिएको अवस्थामा यस्ता दावीहरुको सत्यता मापन गर्न त्यति सजिलो भने छैन ।

यस बाहेक परियोजनाका अन्य चुनौतीहरु पनि रहेका छन् । आणविक उर्जा संयन्त्र संचालको लागि यसमा रहेको कन्डेन्सर तथा चिस्यान प्रणालीको लागि एकदमै कञ्चन पानीको आवश्यकता पर्दछ ।

तर वर्षा याममा पद्मा नदीको पानी धमीलोहुनुको साथै यसले ठूलोमात्रामा माटो तथा बालुवाका कणहरु बगाएर ल्याउने गर्दछ । यस्तो पानी आणविक उर्जा संयन्त्रमा प्रयोग पूर्व शुद्घ बनाउनुपर्ने हुन्छ ।

महवुवले यस समस्यको समाधान गर्न एउटा ठूलो पोखरी निर्माण गर्नु पर्ने वताए जसमा धमिलो पानी लाई जम्मा गरी यसमा रहेको बालुवा, माटो तथा अन्य ठोस पर्दाथहरु थिग्रए पछि पानीलाई उर्जा संयन्त्रमा प्रयोग गर्न सकिने छ ।

अधिकारीहरुको अनुसार ठूलो मात्रामा पानीको आवश्यकता पर्ने यस संयन्त्रको नजिकै पानी शुद्घिकरण गर्ने अर्को संयन्त्रको स्थापना गरी उर्जा संयन्त्रमा आवश्यक पर्ने शुद्घ पनीको आपूर्ती गरिने छ ।

पद्मा नदीको पानीको अतिरिक्त रुपपुर उर्जा परियोजनाको लागि संयन्त्रमा आइपर्न सक्ने आपतकालिन अवस्थामा प्रयोग गर्नको लागि अन्य जलासायको पनि ब्यवस्था गर्नु पर्ने हुन्छ ।

भूकम्पीय जोखिम

यस आणविक उर्जा संयन्त्रको लागि भूकम्पको जोखिम पनि उत्तिकै रहेको छ । बंगलादेश भूकम्पीय दृष्टिकोणले निकै सक्रिय ३ वटा फल्ट लाइनहरु नजिकै रहेको छ । ति फल्ट लाईन मध्ये एउटामा गत महिना गएको भूकम्पले नेपालमा ८ हजार भन्दा वढि मानिसको ज्यान लिएको थियो ।

“कुनै प्राकृतिक प्रकोप तथा दुर्घटनाका कारण रुपपुर उर्जा संयन्त्र ध्वस्त भएमा यसको ३० किलोमीटर वरीपरी वसोवास गर्ने करीव ३५ लाख मानिसहरुलाई अविलम्व अन्यत्र सार्नुपर्ने हुन्छ जुन कार्य बंगलादेशको लागि असम्भव हुनेछ ।” अन्तराष्ट्रिय आणविक उर्जा एजेन्सी

(आइएइए) का पूर्व सुरक्षा निर्देशक डा. जसीम उद्धिन ले भने ।

यद्यपी परियोजनाको इन्जिनीयरीङ्ग पक्षमा निक्कै सुधार आए पनि यसको जापानमा गए जस्तो शक्तिशाली भूकम्पीय धक्काहरु सहन सक्ने क्षमता छैन , उनले थपे । त्यसमा पनि यस उर्जा संयन्त्र मानिसहरुको घना बस्ती भएको क्षेत्रमा रहेको छ । यसले गर्दा पनि जोखिम अझ बढेको छ ।

परियोजनाका अधिकारीहरुले जानकारी दिए अनुसार भूकम्पीय कम्पन मापनको लागि परियोजना स्थलमा आवश्यक उपकरणहरुको जडान गरि  भूकम्पीय गतिविधिको अनुगमन भइरहको छ ।

“रुपपुर आणविक उर्जा संयन्त्र राष्ट्रिय मात्र होइन अन्तराष्ट्रिय चासोको विषय हो । उर्जा संयन्त्रको रक्षा तथा सुरक्षाको प्रत्याभुती गर्न स्थानीय तथा उर्जा संयन्त्रले प्रभाव पार्न सक्ने अन्य देशहरुका नियम तथा कानुनका साथै अन्तराष्ट्रिय आणविक उर्जा एजेन्सी को मार्ग दर्शनलाइ पालना गर्दै आइएको छ” डा. अकवरले भने ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.