मेरो घरको भित्ता कालो ध्वाँसोले ढाकेको छ र खाना पकाउँदा मेरो आँखा पिरो हुन्छ’, भारतको उत्तरी राज्य उत्तर प्रदेशस्थित सानो गाउँ मामुराकी ३६ वर्षीया प्रतिभा देवीले भनिन् । यो गाउँको जनसंख्या जम्मा तीन सय दुई छ ।

यसै महिना सार्वजनिक संयुक्त राष्ट्रसंघ औद्योगिक विकास संगठन (युनिडो) को ‘सबैका लागि दिगो ऊर्जा (सस्टेनेबल इनर्जी फर अल) प्रतिवेदनअनुसार प्रतिभा देवीजस्तै भारतको एक अर्ब ३० करोड जनसंख्याको दुईतिहाइ मानिस खाना पकाउन दाउरा र गुइँठामा निर्भर छन् । दाउरा र गुइँठा बाल्दा अत्यधि कार्बन उत्सर्जन हुने गर्छ ।

‘स्वच्छ इन्धन नपाएका विश्वको आधा जनसंख्या भारत, चीन र बंगलादेशमा बसोबास गर्छन’, राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘जनसंख्याको ठूलो हिस्साले खाना पकाउन स्वच्छ इन्धन नपाउनेमा भारत पहिलो स्थानमा छ ।’

सफा इन्धनको अभावमा यो सस्तो ऊर्जाको प्रयोगले मानव स्वास्थ्य, विशेषगरी महिला र बालबालिकाको स्वास्थ्य बिग्रिँदै गएको चिकित्सकहरू बताउँछन् । ‘ठोस इन्धनले घरभित्रको वातावरण निकै प्रदूषित बनाउँछ’, दिल्लीस्थित श्वासप्रश्वाससम्बन्धी विज्ञ प्रतीक कामराजले भने, ‘खाना दिनदिनै बनाइन्छ, यसमा ठोस इन्धन प्रयोग गर्दा घरमा फैलने धुवाँको कण वर्षभरिमा घरबाहिर हुने प्रदूषणभन्दा बढी हुन्छ । इपिडोमिक अध्ययनले वायुप्रदूषण र मुटुको रोग अर्थात् हृदयाघातबीच सीधा सम्बन्ध भएको देखाएको छ ।’

‘सबैभन्दा नराम्रो कुरा के भने वायुप्रदूषण पीडितको आफ्नै घरमा हुन्छ’, सन् ७० को दशकमा दाउरा, कोइला र गुइँठाजस्ता घरायसी ठोस इन्धनको प्रभाव अध्ययन गरेका युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेका ग्लोबल इन्भाइरोमेन्टल हेल्थका प्राध्यापक किर्कस्मिथले भने, ‘भान्साको प्रदूषण चार सय एक घन्टासम्म चुरोट बाले बराबर हुन्छ ।’

विश्व स्वास्थ्य संगठनले गत मार्चमा जारी गरेको ‘हाउसहोल्ड एअर पोलुसन एन्ड हेल्थ’ प्रतिवेदनमा घरायसी प्रदूषणका कारण बालबालिकाले श्वास लिँदा हुने धुवाँका कणहरूका कारण निमोनियाबाट पाँच वर्षभन्दा कम उमेरका ५० प्रतिशत बालबालिकाको मृत्यु हुने उल्लेख गरिएको छ । वार्षिक रूपमा ३८ लाखभन्दा बढी बालबालिकाको मृत्यु घरायसी प्रदूषणका कारण हुने हृदयाघात, मुटुको रोग, नशाको रोग, फोक्सोको क्यान्सरलगायतका नसर्ने रोगबाट हुने प्रतिवेदनमा जनाइएको छ ।

सबैका लागि प्रशस्त मात्रामा इन्धन उपलब्ध गराउन भारतले निकै ठूलो चुनौती भोग्दै आएको छ । युनिडोका अनुसार लगभग ८५ प्रतिशत ग्रामीण भारतीय खाना पकाउन परम्परागत इन्धनमा निर्भर छन् भने ४५ प्रतिशतको बिजुलीमा पहुँच छैन ।

भारतभर कार्बन उत्सर्जन गर्ने ठोस इन्धनको प्रयोग नै चासोको विषय भएको वातावरणवादी बताउँछन् । ‘जब स्रोतको प्रयोग अदिगो हुन्छ र ऊर्जा निकाल्ने प्रविधि असक्षम हुन्छन, त्यसको चरम नकारात्मक प्रभाव स्वास्थ्य, वातावरणका साथै राष्ट्रको आर्थिक विकासमा पनि पर्छ’, भारतीय गाँउहरूमा यस विषयमा काम गरेका टाटा इन्स्टिच्युट अफ सोसियल साइन्स मुम्बईका शारित भौमिकले भने ।

‘गाउँका महिला आफ्ना बालबालिकाको शिक्षा र आयआर्जनको सम्भावनामा समय दिनुपर्नेमा आफ्नो महत्वपूर्ण समय इन्धन जम्मा गर्नमा लगाउन बाध्य छन्’, भौमिकले भने ।

महाराष्ट्रका गाउँमा घरायसी प्रदूषणको अनुसन्धान गरेका नयाँदिल्लीस्थित सेन्टर फर साइन्स एन्ड इन्भाइरोमेन्टका अरुण कुमारन कान्दाधका अनुसार परम्परागत मान्यताका कारण यो समस्या समाधान गर्न निकै कठिन छ ।

‘गाईको गोबर सित्तैमा उपलब्ध छ भने खाना पकाउने ग्यास (एलपीजी) र ग्यास चुलो किन्न किन पैसा खर्च गर्ने भन्ने सोच धेरै गाउँलेको छ’, कान्दाधले प्रस्टाए, ‘खाना पकाउने र इन्धनको जोहो गर्ने काम महिलाको भएका कारण पुरुषहरू त्यसमा पैसा खर्च गर्न अनिच्छुक देखिएका छन् ।’

विज्ञहरूका अनुसार यो समस्या समाधानका लागि प्राकृतिक संसाधनमाथिको निर्भरता कम गर्न स्थानीय निकाय र गैरसरकारी संस्थाले लामो समयसम्म धेरै काम गर्नुपर्नेछ । उदाहरणका लागि इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्टले पूर्वी राज्य उडिसामा सुरु गरेको अभियानले राम्रो नतिजा देखाएको छ । सन् २००४ देखि यो फन्डले उडिसाका आदिवासी समुदायका महिलाको स्वास्थ्यमा सुधार गर्न र प्राकृतिक साधनमाथिको निर्भरता कम गर्न उनीहरूलाई धुवाँरहित चुलो प्रयोग गर्न समक्ष बनाएको छ । यो कार्यक्रम राज्यका सात जिल्लामा आदिवासी समुदायको खाद्य सुरक्षा र जीविकोपार्जन सुधार कार्यक्रमको एउटा हिस्सा हो ।

यसैगरी उत्तरी राज्य त्रिपुरामा आदिवासी महिला समिति नामक अर्को गैरसरकारी संस्थाले धुवाँरहित चुलो प्रवद्र्धन गरेको कार्यक्रमका एक अधिकृतले बताए, ‘यो सस्तो छ र वनजंगल बढाउन मद्दत गर्छ ।’

पर्यावरणविद् मीना कपाहीका अनुसार उनको प्रतिवेदन ‘इनडोर एअर पोलुसन ः सोर्सेज, हेल्थ इफेक्ट एन्ड मिटिगेसन स्ट्राटेजिज’ मा घरभित्रको वायु प्रदूषण धेरै रोग र मृत्युका लागि कारण भएकाले सर्वसाधारण र नीतिनिर्माताले तत्काल हस्तक्षेप गर्नुपर्नेमा जोड दिइएको छ । मोतियाविन्दु र कम तौलका बच्चाको जन्म, असामान्य जन्मजस्ता समस्या परम्परागत इन्धन प्रयोगका कारण भइरहेको कपाहीले उल्लेख गरेकी छन् ।

लामो समयसम्म घरायसी वायु प्रदूषणमा परेकामा नै त्यसको प्रभाव देखिने कान्दाधले बताए । यो समूहमा विशेषतः बालबालिका, बुढापाका र श्वासप्रश्वास तथा मुटुसम्बन्धी दीर्घ रोगले ग्रसित पर्छन् ।

भौमिकका अनुसार घरायसी प्रदूषणका कारण भएका रोगको रोकथामका लागि सर्वसाधारण र नीतिनिर्मातालाई समस्याको जरो नै निर्मूल गर्न शिक्षित गर्नु हो । घरायसी प्रदूषणबाट प्रभावित व्यक्तिको वैज्ञानिक तथ्यांक संकलन गरिनुपर्छ र घरायसी प्रदूषण कम गर्न जनचेतना बढाउनुपर्छ ।

विज्ञहरूका अनुसार घरायसी प्रदूषण कम गर्न सकियो भने यसले संयुक्त राष्ट्रसंघले तोकेको सह्रस्राब्दी विकास लक्ष्यको धेरै अंश प्राप्त गर्न मद्दत गर्छ । यी लक्ष्य विश्वका सबै देश र ठूला विकासे संस्थाले राम्रो, समृद्ध र समानतामा आधारित विश्व निर्माणका लागि स्वीकार गरेका हुन् ।

घरायसी प्रदूषणको खतरालाई सम्बोधन गर्दा सहस्राब्दी विकास लक्ष्य ४ (बाल मृत्युदर कम गर्ने) र सहस्राब्दी विकास लक्ष्य ५ (मातृ स्वास्थ्यमा सुधार ल्याउने) लाई सम्बोधन गर्न सकिन्छ साथै लैंगिक समानता (सहस्राब्दी विकास लक्ष्य ३) लाई पनि सशक्त बनाउन सकिन्छ । खाना पकाउन दिगो इन्धनको स्रोत उपलब्ध हुँदा महिलाले आयआर्जनका लागि समय निकाल्न सक्छन् जसले अति गरिबी र भोकमरी निवारण (सहस्राब्दी विकास लक्ष्य १) गर्छ ।

अन्त्यमा स्वच्छ घरमा ऊर्जाको प्रयोगले वातावरणलाई दिगो बनाउँछ (सहस्राब्दी विकास लक्ष्य ७) पनि मद्दत गर्छ । ‘यो सबैको जित हुनेछ’, भौमिकले भने ।

One comment

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.