कश्मीरको उच्च पर्वतीय चरन क्षेत्रमा बमगोली छरेर, चरन क्षेत्रमा प्रतिबन्ध लगाएर भारतीय सेनाले मानिस र जनावरलाई चोटपटक र मृत्युको मुखमा धकेलिरहेको छ ।

राज्य सरकारले गत वर्ष सार्वजनिक गरेअनुसार त्यस क्षेत्रमा छरिएका बम विस्फोट भएर अहिलेसम्म ६३ जना मानिसको मृत्यु भइसकेको छ । अन्य अनुमानले सो संख्या निकै बढी भएको देखाएका छन् ।

राज्यमा ठूलो संख्यामा सेनाको उपस्थितिले भारत अधिनस्थ कश्मीरका भेडागोठाला भेडाच्याङ्ग्रा चराउने ठाउँको अभावमा सङ्घर्षरत छन् । भारतीय सेनाले राज्यको अधिकांश मुख्य चरन क्षेत्र आफ्नो अधिनमा राखेको छ, जसले गर्दा त्यो क्षेत्र पशुपालक किसानको पहुँचमा छैन ।

तोसा मैदान त्यस्तै एउटा चरन क्षेत्र हो । कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट ७० माइल पश्चिममा पर्ने चरन क्षेत्र भारतीय सेनाको तालिम केन्द्र भएका कारण भेडागोठाला र पशुका लागि जोखिमपूर्ण बनेको छ । राज्य सरकारले गत वर्ष सार्वजनिक गरेको तथ्यांकअनुसार सेनाले तालिमका क्रममा छाडेका नपड्किएका बमगोलीबाट अहिलेसम्म ६३ को मृत्यु भइसकेको छ ।

सन् १९६४ मा तत्कालीन कश्मीर सरकारले भारतीय सेनालाई लिजमा लिनुपूर्व सयौं वर्षदेखि तोसा मैदान चरन क्षेत्र थियो । बेलायती उपनिवेशको अन्त्यको बेला सन् १९४७ मा भारत र पाकिस्तानबीच विभाजन भएदेखि नै कश्मीरमा सेनाको बाक्लो उपस्थिति छ । साधारणतया आधुनिक कश्मीरको एकतिहाइ भाग पाकिस्तान नियन्त्रित छ भने बाँकी भारतको अधिनमा छ । भारततर्फ बस्ने कश्मीरले स्वतन्त्रताको लागि सन् १९८९ मा हतियार उठायो जुन सन् १९९० को मध्यमा उत्सर्गमा पुग्यो र अहिले पनि त्यो कुनै न कुनै रूपमा निरन्तर छ ।

प्रतिरक्षा मन्त्रालयका अनुसार सेनाले हाल कश्मीरको २८ हजार आठ सय ४० हेक्टर भूमि अधिग्रहण गरेको छ जबकि कश्मीर राज्य सरकारका अनुसार सेनाले ५३ हजार तीन सय ५३ हेक्टर भूमि अधिग्रहण गरेको छ र त्यो अधिकांश गैरकानुनी हो ।

केही उच्च पर्वतीय चरनमा वस्तुभाउको चरनमा प्रतिबन्धले पशुपालन व्यवसायमा चुनौती थपिएको कश्मीरको पशु तथा भेडापालन विभागले जनाएको छ । राम्रो चरनको अभावले गर्दा पशुले आवश्यक पोषण पाउँदैनन् ।  सहरीकरण र अतिक्रमणले चरन क्षेत्र पहिले नै कम भएको थियो । ‘प्रतिपशु एक हेक्टर राष्ट्रिय चरन उपलब्ध रहेकोमा जम्मु र कश्मीरमा ०.४ हेक्टर चरनमात्र उपलब्ध छ र धेरै क्षेत्र पहुँचभन्दा बाहिर छ’, विभागको प्रतिवेदनमा उल्लेख छ ।

विगतमा तोसा मैदान भेडा, बाख्रा र अन्य पशुको प्रमुख चरन क्षेत्र थियो । ‘कश्मीरका २५ प्रतिशत भेडा यहीँ चरन गर्थे, अहिले यो क्षेत्र कठिनमात्र भएको छैन, जोखिमपूर्ण पनि छ’, पशुपालन विभागका एक अधिकृतले भने । ‘छरिएका बमहरू पड्किँदा हजारौँ पशु मरे’, उनले थपे ।

‘हाम्रा पिता पुर्खाले भन्थे, तोसा मैदानको घाँस भेडापालकका लागि अद्वितीय थियो, धेरै टाढाटाढाबाट उनीहरू भेडा चराउन आउँथे’, स्थानीय भेडापालक फयाज मलिकले थर्ड पोल डट नेटलाई भने । यो वर्ष अप्रिलको अन्त्यमा सेनाको लिज समाप्त भएको छ । छिमेकी ३० गाउँका बासिन्दाले विरोध गरिरहे पनि सेनाले त्यसको प्रयोग गरिरहेको छ ।

गाउँलेहरू सेनाको लिज नवीकरण रोक्न गए । उनीहरूले आफ्नो घरनजिक सेनाको अभ्यास हुँदा विगत वर्षमा धेरैको मृत्यु भएको, सयौँ विस्थापित भएको, कृषि र पशुपालनमा आघात पुगेको र पर्यटनको विकास नभएको आरोप लगाएका थिए । तालिम केन्द्र (फायरिङ रेन्ज) नभएको भए नजिकैको गुलमार्गमा जस्तै चरनमा फेरि घाँस पलाउने थियो ।

हालैको घटना, यसै वर्षको मे महिनामा फालिएको बम पड्किँदा एक बालिकाको घटनास्थलमै मृत्यु भयो भने उनका भाइले खुट्टा गुमाउन पुगे । केही वर्षअगाडि बमलाई खेलौना भनेर खेलाउँदा तीनजना केटाकेटीको मृत्यु भएको थियो ।

गाउँलेहरूले मानवअधिकारवादीका साथै भारत समर्थित र कश्मीरी स्वतन्त्रतासम्बन्धी नेताबाट समर्थन पाएका छन् । उनीहरू भन्छन्— नपड्किएका छरपस्ट गोलाबारुदबाट घाइते र मृत्यु हुनेको सङ्ख्या सरकारी तथ्याङ्कमा उल्लेख भएभन्दा निकै धेरै छ । कश्मीरमा काम गरेका भारतीय सेनाका अवकाशप्राप्त जनरल सैयद अटा हुसेनले हालै एउटा लेखमा लेखेका छन्, ‘कागजातमा यो बहिष्कृत क्षेत्र हो, जहाँ नागरिक प्रतिबन्धित छन् तर यथार्थ भने अर्कै छ ।’

उनले जोड दिए,  ‘बालबालिका र भेडागोठाला यो क्षेत्रमा बढी जोखिममा परेका व्यक्ति हुन् । उनीहरू सेनाले छाडेपछि यो क्षेत्रमा आउँछन् र अलपत्र बमको सिकार बन्छन् ।’ सेनाले नपड्किएका गोलाबारुद हटाउने गर्छ तर लापरबाहीका कारण कहिलेकाहीँ यस्ता गोलाबारुद छुट्ने उनले बताए । सेना हटेपछि स्थानीय प्रहरीले त्यस क्षेत्रको सरसफाइ गर्ने गर्छ । स्थानीय बासिन्दा भने यो भनाइमा विश्वास गर्दैनन् । ‘यो सत्य हुन्थ्यो भने धेरै मानिस र जनावर मर्ने थिएनन्’, मलिकले भने ।

गत महिना कश्मीरको वनविभागले तोसा मैदानलाई पर्यावरण संवेदनशील क्षेत्र घोषणा गर्न र वन्यजन्तु विभागलाई हस्तान्तरण गर्न माग गरेको थियो । विभागको एक अध्ययनमा मानवीय र पशुको क्षतीका अतिरिक्त बन्दुक सिकाउने क्रममा हजारौँ रूखबिरुवा नोक्सान भएको उल्लेख छ ।

 

 

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.