पानी

तिब्बतमा बन्ने बाँधले भूकम्पको जोखिम बढाउँदै

तिब्बतको दक्षिण–पूर्वको त्यो क्षेत्र जहाँ जटिल भूगोल र कमजोर सतह छन् । त्यहाँ विगतमा केही भएन भन्दैमा भविष्यमा पनि केही हुँदैन भनेर ढुक्क हुने अवस्था छैन
नेपाली

विगत केही वर्षका प्रतिवेदनले तिब्बती पठारमा उच्चस्तरको भूगर्भीय क्रियाकलाप हुने गरेको देखाएकाले त्यहाँ बाँध बनाउने चीनको योजनाले निम्त्याउन सक्ने दुष्प्रभाव र खतराका बारेमा सबैको चिन्ता बढेको हो ।

बाह्रौ पञ्चवर्षीय योजनाअन्तर्गत चीनमा बाँध बनाउने काम निकै बढेको छ । यो योजनामा १५ प्रतिशत उर्जा नवीकरणीय स्रोत विशेष गरी जलविद्युत्बाट उत्पादनबाट गरिने उल्लेख छ। त्यसकै प्रतिफलस्वरुप चीनको दक्षिण–पश्चिम तिब्बती पठारका याङ्त्से, मेकोङ र सालविन नदीमा विशेष गरी क्विङ्घाई, सिचुवान, युनान प्रान्त र तिब्बत स्वायत्त क्षेत्रमा बाँध बनाउने काम निकै बढेको छ ।

यस क्षेत्रमा २० वटा निर्माण सम्पन्न भएका र ४० वटा बन्दै गरेकासमेत गरी करिब ६० वटा बाँध बनाउने योजना छ । जलस्रोतको धनी क्षेत्रमा त्यसको दोहन गर्दा उच्च भौगोलिक जोखिम सिर्जना हुन सक्छ । सन् २०१२ मा प्रोब इन्टरनेसनलले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ, “९८.६ प्रतिशत बाँध र पश्चिम चीनको ९९.७ प्रतिशत जलविद्युत् उत्पादन क्षमता सामान्य र उच्च भौगर्भिक जोखिमको क्षेत्रमा पर्छन् ।”

पहिले भौगर्भिक क्रियाकलाप निकै कम हुने तिब्बतको खाम क्षेत्रमा सन् २०१३ को अगस्टमा अनुमान नै नगरिएको खतरनाक भूकम्प आएको थियो । गत वर्षभन्दा अगाडि र सन् १४८० पछि यो क्षेत्रमा दुईवटा भूकम्प रेकर्ड भएका थिए । अगस्टमा आएका दुई भूकम्प रेक्टर स्केलमा ४.२ देखि ५.७ म्याग्निच्यूटका थिए । ती भूकम्पमा परी ८७ जनाले ज्यान गुमाएका थिए । सोही भूकम्पका कारण त्यस क्षेत्रमा ४५ हजार घर भत्केका थिए ।

लानकान (मेकोङ) मा नजिक नजिक चारवटा ठूला जलविद्युतका बाँध बनाउने योजनाले यस्ता भुकम्पको खतरा बढेको छ ।  रुमेई (तिब्बती भाषामा रोङमेई) निर्माण सम्पन्न भएपछि तीन सय १५ मिटरको तिब्बतकै अग्लो र विश्वको दोस्रो अग्लो बाँध हुनेछ ।

“तिब्बतको दक्षिण–पूर्वको त्यो क्षेत्र जहाँ जटिल भूगोल र कमजोर सतह छन् । त्यहाँ विगतमा केही भएन भन्दैमा भविष्यमा पनि केही हुँदैन भनेर ढुक्क हुने अवस्था छैन,” खाम क्षेत्र र तिब्बती पठारमा सन् २००९ देखि भूकम्पको अनुगमन गरिरहेका भूगर्भशास्त्री एड्रियन मुनले भने ।

मुनका अनुसार सन् २०११ का दुवै क्राइस्ट चर्च र जापानको तोहोकु भूकम्प (यी दुई क्रमशः ६ र ९ म्याग्निच्युटका थिए) प्रभाव नपार्ने गरीे सहर बनाउने तरिका र आशा गरिएभन्दा बढी खतरनाक थिए । त्यस कारण तिब्बतको पनि त्यही किसिमको समस्या भविष्यमा नपर्ला भन्न सकिँदैन । चीनको नीतिनियममा भौगर्भिक क्रियाकलापलाई हेरेर बाँध बनाउनु पर्ने उल्लेख छ, “तर न्युजिल्याण्ड र जापानको उदाहरणले अनुमान गरिएको जोखिमलाई अनुमान नगरिएको जोखिमले खर्लप्पै निल्नेछ भन्ने प्रष्ट हुन्छ ।”

चीनमा बाँध बनाउने कुरा त्यसले आन्तरिकरूपमा सामाजिक प्रभाव र तल्लोतटका छिमेकी राष्ट्रमा पार्ने पर्यावरणीय प्रभावका कारण विविदित विषय बन्दै आएको छ । सन् २०११ मा ठूला बाँधले मत्स्यपालनमा पारेको नकारात्मक प्रभावका बारेमा र भिओन्हाई बाँधका कारण माथिल्लो याङत्से नदीका दुर्लभ माछा नास भएकाले सरकारले आफ्नै वातावरण संरक्षण नियम उलंघन गरेको भन्दै चिनियाँ भूगर्भशास्त्री फान झिओले सरकारलाई खुला पत्र लेखेका थिए । केही वैज्ञानिकले विगतका भूकम्प पनि बाँधकै कारण आएको भन्ने आरोप लगाएका छन् । यसमा सबैभन्दा विभत्सकारी जिङपिङपु बाँधका कारण सन् २००८ मा वेन्चुन प्रान्तमा आएको भूकम्प थियो ।

नियमित र निकै खतरानाक भौगर्भिक क्रियाकलापका साथै तिब्बती पठारमा निर्माण भएका बाँध फुटेमा बाँधभन्दा तल्लो सतहको जमिन डुब्ने भयावह स्थिति आउन सक्छ । मेकोङ र सालविन नदी कमजोर सतहबाट बग्ने भएकाले यो चिन्तालाई थप बल मिलेको छ । त्यस क्षेत्रमा बाँध बनाउने काम बढिरहेकाले भौगर्भिक जोखिमका बारेमा निष्पक्ष लेखाजोखा तत्काल आवश्यक भएको छ । यद्यपि, बाँध निर्माणका बारेमा आमनागरिकलाई निकै कम सूचना दिइने गरेको छ ।

चीनको उर्जा आपूर्तिलाई सुनिश्चित गर्न दीर्घकालमा आउन सक्ने भौगर्भिक जोखिमलाई नजरअन्दाज गरिएको छ । चीनले २० प्रतिशत नवीकरणीय उर्जासहित सन् २०३० मा उर्जा आपूर्ति दोब्बर गर्ने लक्ष्य लिएको छ । वास्तवमा ठूला बाँध भत्केमा त्यसको परिणाम भोग्नुपर्ने चीनको दक्षिण–पश्चिमका बासिन्दाले आफ्नो भनाई जोडदाररूपमा राख्नु पर्नेछ ।